जुन बेला भँगेरा जस्तै थुपु-थुपु उफ्रन्थेँ म
लाग्थ्यो, यी ठुला मान्छेले जस्तै कहिले हिँडुँला?
बिस्तारै गर्न थालियो पानी पँधेरो
देख्थेँ
पारि डाँडामा सुसाइरहेको अग्लो सल्ला
त्यतिखेर लाग्थ्यो-
यस्तै अग्लो कसरी बन्न सकुँला?
खै बाल्यकालै थियो त्यो
चञ्चल-चुलबुल
पानीका फोकाजस्तै थिए सपनाहरू
कहिले पल्लाघरे मालती र
साइला दाइ सँगै हिँडेको देखिन्थ्यो
लाग्थ्यो आफूलाई पनि त्यस्तै साथी बनाउन पाए…
पल्ला घरमा झगडा पर्दा,
तरकारीमा नुन नहालेको निहुँमा
नुन नै कम खाने अठोट हुन्थ्यो मनमनै
सायद बाल्यकालकै उपज थियो त्यो
सपना पनि त त्यस्तै रहेछ आखिर
कहिले ठुलो हुने रहर
सल्लाको उचाइ जस्तै
त कहिले मालतीको जस्तै
जोडीको खोजीमा पिल्सिँदै जानुपर्ने
तर घाम पनि कहाँ पूर्वमा मात्रै सीमित रहने रहेछ र!
केही बेरमै अस्ताउने रहेछ, डुब्ने रहेछ डाँडापारिबाट
उमेर छिप्पिएपछि गुमाएको मेरा बा जस्तै
खुइय!
यो समय पनि कस्तो
जम्यो जोडी
थपिए बचेराहरू
जोडिए सम्पत्ति
अब त आउनुपर्ने हो शीतलता
पिपलको फेदमुनि जस्तै
लहराउनुपर्ने हो खुसी
उडिरहेका सुवाहरूमा जस्तै
रहरहरू-
उड्नुपर्ने हो खुला आकाशमा
तर
फेरि पनि उही चिन्ता
उही छटपटी
आखिर कति दौडनुपर्ने हो
यो सारा आफ्नो बनाउनका लागि
ओ सपना!
मलाई तिमीमाथि पनि शंका उब्जियो
तिमी मेरो सारथि हौ कि हत्यारा?
अब त म निश्चिन्त भएँ-
सपनाहरू मेरा हत्यारा हुन्।
ए सपनाहरू
नगर न लुकामारी
बस बरु क्षितिजपारि
कहिल्यै नदेखिने गरी!
यी मेरा खुइलिन थालेका आँखा
अनुपम दृश्य हेर्न चाहन्छन्
फुलेका मेरा कपाल
थाकेको मेरो मन
बर्खे भेलले फुटाएको
पक्की सडकका अलकत्राजस्तै
छरिएका मेरा जर्जर कुर्कुच्चाहरू
यी सबैलाई अब चाहिएको छ
शीतलता, कोमलता र मौनता!