त्यो रमणीय शान्त तलाउ
मैले छेउको घाँसमा बसेर हेरिरहेँ
अहँ आज पनि आएनन्
अब ती आउँदैनन्
एक जोडी हाँस
पोहोर साल त हो
दिन नबिराइ
सररर उडेर सँगसँगै
फिँजिएको पखेटाले हावा छेल्दै
हवाईजहाज जस्तो तल तल झर्दै
ल्यान्ड गर्दथे दुवै जोडी
छपलक्क तलाउमा
सँगसँगै पौडँदै पौडँदै
म सोच्दथेँ
युगल प्रेमीको प्रेमकथा पनि
यस्तै हुँदो हो
हाँसको जोडी जस्तै
घरी चुच्चो-चुच्चो जोड्ने
घरी मायाले स्पर्श गर्ने
एक पल पनि नछुट्टिईकन
त्यो रमणीय शान्त तलाउ
एकलास शून्य शून्य जस्तो
अहँ कहीँ कतै देखिएनन्
अब ती आउँदैनन्
एक जोडी हाँस।