जागिर कस्तो हुन्छ भन्ने अनुभव लिएँ! उहिले उहिले बुढापाकाले भन्थे, ‘सके उद्यम गर्नु, नसके जागिर खानू!’ सुरुमा दोस्रो लाइन पक्रिएँ। जागिर भनेको जा अनि गिर रहेछ। अस्थायी जागिरप्रति निराशा बढ्यो। ग्रामीण विकास पढेको मान्छेले अरूको जागिर खान्छस्? मनले बारबार प्रश्न सोध्यो मलाई। ग्रामीण विकासको पढाइले सुरुदेखि नै कृषि उद्यम गर्ने हुटहुटी बढाएको थियो। त्यही भएर विदेशको अवसर त्यागेर आफ्नै ठाउँमा कृषि उद्यमको योजना बनाएँ मैले।
काम गर्दा स-साना अवरोध र समस्या पूर्वानुमान थियो मलाई। व्यक्तिको मन र समाज परिवर्तन गर्न सकिन्छ भन्ने आँट थियो। उदाहरणीय काम आफ्नै ठाउँमा गरेर स्थानीयलाई थोरबहुत रोजगारी दिने खाका बनाएर सहरबाट गाउँ फर्किएँ म! पढेको मान्छे गाउँ फर्कँदा धेरैले अनेकन् अड्कल काटे। केहीले प्रतिस्पर्धी ठाने। कतिले राजनीति गर्न आएको ठाने। केहीले सरकारी अनुदान कुम्ल्याउन आएको भने। केहीले प्रेममा असफल भएर भौँतारिएको अनुमान लगाए। अरूले के भन्छन् र के ठान्छन्, बालै भएन। कृषि उद्यम गरेर थोरबहुत आम्दानी र आत्मसन्तुष्टि लिने प्रस्ट उद्देश्य थियो मेरो।
गाउँ फर्कने सोचका कारण प्रेम सम्बन्ध बिराम लाग्यो। सहर आएको मान्छे गाउँ फर्किन्छस् बुद्धु भनेर झपारी निशाले। दुईमध्ये एक निर्णय गर्नुपर्ने भयो। गाउँमा गएर कृषि कर्म गर्ने निर्णयबाट पछाडि हटिनँ। कृषि कर्म गर्ने भन्ने बित्तिकै रिसाई। मैले माटो रोजेँ, उसले सहरको सुखसयल रोजी। फरक त्यसैमा पर्यो।
कामको सुरुवात गर्न चाहेँ तर आफ्नो ठुलो प्लट जग्गा थिएन। बल्लतल्ल सानोतिनो चक्ला बनाएँ। कतिले बाँझो बसोस्, दिन्नँ भने! खेत जोत्नभन्दा मान्छेको मन जोत्न गाह्रो रहेछ। खासमा रिस, ईर्ष्या र डाहले भरिएको हुँदो रहेछ मान्छेको मन। अरू कसैले प्रगति गर्दा चित्त दुख्ने रहेछ। उद्यममैत्री समाज होइन भन्ने ठहर्याएँ। रिसले मान्छेहरू भुतभुताउँदा रहेछन्। गरिब भएर वा कमजोर भएर शरण पर्दा कठैबरा भन्दा रहेछन्। जब व्यक्तिले प्रगति वा उद्यम गर्न खोज्छ तब मानिस शत्रु बनेर खुट्टा तान्दा रहेछन्। कस्तो विडम्बना ग्रामीण समाजको!
सिँचाइका लागि आफैँले आकाशे पानी संकलनको पोखरी बनाएँ। मुहानका लागि स्थानीयले अनेक बखेडा निकाले। दिएनन्। यी सबैका बाबजुद पनि उन्नत कृषिका लागि मल, बीउ, औजार जम्मा गरेँ। उत्पादनको कार्य सुरु गरेँ। किताबमा पढ्नु र गाउँले मन पढ्नु फरक रहेछ। कृषि र कृषकका दुःख बल्ल बुझेँ। ग्रामीण समाजका सकारात्मक र नकारात्मक पक्षको थोरबहुत जानकार थिएँ!
व्यवसाय गरेको वरिपरि घना जङ्गल थियो। साह्रै मनमोहक! मनमा साँच्चै आनन्द आउँथ्यो। चराचुरुङ्गीको मन्त्रमुग्ध आवाजले सङ्गीत भरेको भान हुन्थ्यो। नाच्न र गाउन नआउनेलाई पनि नाचौँ नाचौँ र गीत गुनगुनाऔँ जस्तो! छुट्टै स्वर्ग। प्रकृतिमा रमाएर मात्र कहाँ हुन्थ्यो र? उद्यम गर्नु थियो। सजिलो पटक्कै रहेनछ। समुद्रबाट मोती टिप्नु सरह भयो।
गाउँ घुम्नु, पर्यटक बन्नु र गाउँमा व्यवसाय गर्नु फरक रहेछ। गाउँमा किसानका दुःख र पीडा कति कति! त्यसैले त पहाडका गाउँका गाउँ खाली हुँदै गएछन्। किसान काम गरिरहेकालाई खेतबारी किन बाँझो राखेको भनेर सोधेँ मैले। धेरै जसोले खेती गर्नुभन्दा अन्य क्षेत्रमा दैनिक मजदुरी काम गर्दा उपलब्धि हुने बताए। पहाडी बस्तीको असली वास्तविकता फेरि बुझेँ।
अब पहाडमा मान्छे नरहेपछि ती सडक, ती विद्यालय तथा पूर्वाधार के काम? गाउँका मान्छेलाई अनेकन् कुराले लखेट्यो। सबैभन्दा धेरै किसानलाई लखेट्यो। कृषि प्रति विकर्षण बढ्नु नेपाल र नेपालीका लागि राम्रो होइन। नेपालले प्रगति गर्ने कृषि क्षेत्रबाटै हो। हेर्दा हेर्दै पहाड भूत बस्तीमा परिणत भयो।विडम्बना!
काम गर्थेँ म तर भनेजस्तो भएको थिएन। उपलब्धि कम थियो। हताश भएको बेला स्थानीय नेता आएर आफ्नो पार्टीको केन्द्रीय नेतालाई भनेर अनुदानको पहल गर्ने कुरा बतायो। २०%-३०% चाहिँ उता मिलाउँदा खर्च हुन्छ। ‘सहमत हुनुहुन्छ भने तुरुन्तै कुरा अगाडि बढाउँछु’। टाउको हल्लाएँ। मनमनले देशका भाइरस ठानेँ तिनलाई। बोलिनँ।
चराचुरुङ्गीको बासै मेरो खेतीमा! चराले खाएर सकिँदैन भन्ने लाग्थ्यो, होइन रहेछ। नोक्सानी धेरै। त्यति मात्र कहाँ हो र! दिउँसोभरि बाँदरको गोठालो बस्नुपर्ने! तैपनि कतिखेर झुक्क्याउँछन्, झुक्क्याउँछन् पत्तै नहुने। क्षणभरमा बाली सखाप! मान्छेभन्दा बाठो बाँदर! दिनभर बाँदर र चराचुरुङ्गी, रातभर दुम्सी, मृग र बँदेलको रजाइँ। बरु दिउँसो हाहा र हुहु गर्न मिल्ने तर राति केही गर्न नसकिने! कसलाई मुद्दा हाल्नु! कसलाई गुनासो गर्नु! किसानका दुःख त्यति मात्र रहेनछन्। असिनापानी, हावाहुरी, खडेरी जस्ता प्राकृतिक विपत्तिको मार पनि किसानले नै सहनुपर्ने! कृषि बिमा नाम मात्रको! सकिनँ सरकार। थकित भएँ म।
कृषि उद्यममा पुरै असफल भएँ। राज्यको अर्थतन्त्रमा योगदान गर्ने कुरा कल्पना भयो। कृषि कर्ममा लागेपछि मात्र थाहा पाएँ कि समयमा मल र बीउ समयमा नपाइँदो रहेछ। आधुनिक कृषि औजार, सिँचाइ, कृषि मजदुरको तनाव हुँदो रहेछ। अझ त्योभन्दा बढी तनाव फसल नोक्सानी गर्ने बाँदर, दुम्सी, बँदेल, चराचुरुङ्गीको अतिक्रमण सहनु पर्दो रहेछ। कृषिभन्दा सहरका मान्छे (पर्यटक) गाउँमा घुमाउने काम ठिक रहेछ। बरु पुरै पहाड जङ्गल बनाउनु ठिक रहेछ।
गाउँमा कृषि कर्म गर्न एउटा मात्र चुनौती होइन, बहुमुखी चुनौती रहेछन्! किसानले मौसमसँग, बजारसँग, समाजसँग लड्नुपर्दो रहेछ। हुँदाहुँदै बाँदर, बँदेल र दुम्सीसँग हार्नुपर्दो रहेछ। कृषि फसल नोक्सान गर्ने जङ्गली जनावर पाल्ने कि मान्छेलाई सहरमा लगेर पाल्ने निर्णय गर्नुपर्छ सरकार अब। मेरो त सबै लगानी डुब्यो डुब्यो! उद्यम गरेर कमाउने र अर्थतन्त्रमा योगदान दिने धोको अधुरै रह्यो। गाउँ बसौँ कि सहर फर्कौँ, दोधारमा परेँ। भूतपूर्व प्रेमिकाले संयोगवश कतै भेटिन् भने के भन्ने होला सरकार उसलाई?