कुनै बेला एक सोच आउँथ्यो, म पनि यस्तो व्यस्त हुँ कि एकछिन अड्किने र रुमलिने फुर्सद नहोस्। आधा जवानीको संघर्ष व्यस्त हुनको लागि व्यस्त रहेर बित्यो। हाल, रुमलिन र बरालिन होइन, कहिलेकाहीँ लाग्छ सास फेर्ने फुर्सद पाए हुने। म मात्र व्यस्त होइन, विवाहको तेह्रौँ वर्ष लाग्दै गरेको हामी दुवै जना, म र मेरो श्रीमती पनि। उसको व्यस्तता झन् कठिन छ।
म एउटा ट्राभल अफिस, एउटा भाषा सेन्टर र ट्रान्सलेटरको काम गर्छु। कहिलेकाहीँ सेमिनारहरूमा अनुवादकको काम पनि। मेरो श्रीमती एउटा होटेलमा। हामी दुवै व्यस्त छौँ। कहिलेकाहीँ एकअर्कासँग एकछिन अड्किएर कुरा गर्ने फुर्सद पनि रहन्न। सायद यसैले होला व्यस्त वर्षहरूसँगै सम्बन्धहरू चिसो हुँदै जाने रहिछ।
म एउटा सेमिनारमा अनुवादकको काम गर्दै थिएँ। एक जना वक्ताले सब मानिसहरूको बिचमा प्रश्न गर्नु भयो, ‘तपाईंको विवाह भएको समय कति भयो?’
मैले भनेँ, ‘१३ वर्ष।’
उहाँले चाख लाग्दो गरी भन्नुभयो, ‘वाउ!’
उहाँले मलाई अझै सोध्नु भयो, ‘तपाईं आफ्नो श्रीमतीलाई माया गर्नु हुन्छ?’
उहाँको प्रश्नको उत्तर मैले सबैलाई घमन्डका साथ सुनाएँ, ‘एस, म आफ्नो श्रीमतीलाई धेरै माया गर्छु।’
‘अनि तपाईंले आफ्नो श्रीमतीलाई माया गर्छु भनेर कसरी प्रकट गर्नु हुन्छ? के तपाईं उहाँलाई फूलहरू दिनुहुन्छ? अझसम्म विवाह पछाडि तपाईंले आफ्नो श्रीमतीलाई फूल दिनुभएको छ? तपाईं आफ्नो श्रीमतीलाई एक वर्षमा कति वटा फूल दिनुहुन्छ?’
उहाँको प्रश्नको जवाफ मैले हाँसेर ‘छैन’ भनेँ। सबै जना गललल हाँसे। माहौल एकछिन हाँसोमा परिणत भयो।
उहाँले अझै मलाई सोध्नु भयो, ‘साँचै दिनु भएको छैन?’
मैले अझै थपेँ, ‘मैले विवाह अगाडि फूल दिएको छु। तर विवाह पछाडि दिएको छैन होला, सायद। याद नै भएन। सायद मैले दिएँ कि? वा दिइनँ।’
यो भन्दै गर्दा यो वास्तविकता थियो। मैले सायद विवाह पछाडि मेरो श्रीमतीलाई फूल दिएको छैन। सेमिनार सकियो। सबै सहभागीहरूसँग कुरा गर्दा गर्दै साँझ पार्न लागेछ।
श्रीमतीको याद आयो। हामी दुवै जनाको व्यस्तताले हाम्रो राम्रो कुराकानी नभएको ३-४ दिन भइसकेको थियो। नयाँ वर्षको माहौल भएका कारण उनी पनि धेरै नै व्यस्त थिइन्। केही दिन अगाडि सामान्य मन-मुटाव पनि भएको थियो। झन् त्यस माथिको नयाँ वर्षको समय र त्यसमा उसको र मेरो आफ्नै आफ्नै व्यस्तता।
बाटोमा आउँदै थिएँ। साँझ पर्न लाग्दै थियो। मैले श्रीमतीलाई कल गरेँ र कफीको लागि बोलाएँ। दिउँसो त्यो वक्ताको कुरा सम्झना आयो। हुन त यस्तो सेमिनार मैले पहिले पनि गरेको। हामी श्रीमान्-श्रीमतीले नै विवाह र पारिवारिक सेमिनारहरू धेरै चोटि लिएका छौँ। तर कहिलेकाहीँ सामान्य कुरा पनि अभ्यास गर्दैनौँ।
बाटोमा जाँदै गर्दा एउटा फूल पसलमा छिरे। रातो गुलाबको फूल, जसलाई एउटा प्लास्टिकको सोली जस्तो राख्दै गर्दा झन् आकर्षक देखिने रहिछ। फूलको मूल्य मात्र एक सय रुपैयाँ।
मलाई थाहा छ, श्रीमती रिसाएकी छ। सामान्य मनमुटाब भएको हो। मैले त्यसलाई सामान्य नै मानेर उसलाई फकाउने वा बोलाउने काम गरेको थिएन, छैन।
कफी पिउन अगाडि बस्दै गर्दा उसको रिस वा घुर्की प्रस्ट देखिन्छ। कफी अगाडि, उसले मुख फोर्दै सोधी, ‘अनि आज कहाँबाट कफी पिउने फुर्सद भयो त?’ मलिन अनुहारमा यो प्रश्न गर्दै गर्दा उसको आँखा म तिर थिएन। ऊ टाढा-टाढा हेर्दै थिई।
उसका आँखाहरूले अरू नै बताइरहेका थिए र प्रश्न सामान्य थिएन। तर उसको एक प्रश्नमा उसका सबै मनको अशान्ति, रिस, असन्तुष्टि, अपर्याप्तता, दुखेसो, गुनासो, थकान, निराश, कठिनता सब बताइरहेका थिए।
मैले अघि किनेर ल्याएको फूल निकालेर उसलाई दिएँ। एउटा सामान्य जादु, उसको अनुहारमा अर्कै प्रकारको चमक देखियो। जो म वर्णन गर्न सक्दिनँ। उसले फूल हातमा दिँदै गर्दा उसको अगिको अनुहार र अहिलेको मुस्कान र हाँसो सहितको अनुहारमा आकाश पातालको फरक थियो।
उसले मेरो हात समाउँदै सरी भन्दै सुनाई- ‘आई एम सरी। म व्यस्त भएँ। म रिसाएको छैन। यो तपाईंले बिहेपछि दिनुभएको दोस्रो फूल हो।’
ओहो! मैले मेरो प्रश्नको जवाफ पाएँ र समाधान पनि। मान्छे कति व्यस्त हुन्छ, काम काम काम। मान्छे दौडिएको छ, कुदेको छ। प्रकृतिको सबैभन्दा व्यस्त मान्छे, काम नै नभए पनि मोबाइल र कफी-चिया गफ। अनि यस्तोमा सम्बन्ध? आज धेरै परिवार टुक्रिएका छन्। धेरै सम्बन्धहरू खतरामा छन् तर समाधान एक छिन रोकिनुस्, हेर्नुस्, एउटा सय रुपैयाँको फूलले बहुमूल्य हाँसो र खुसी फर्काउन सक्छ, भत्किन लागेको सम्बन्ध फेरि बनाउन सक्छ। एक फूल न त हो तर यसले प्रेम प्रकट गर्न सक्छ।