देहरादूनमा अझै घाम निस्केको थिएन। डिसेम्बरमा बिहान, बिहानै घाम नदेखिनु अनौठो होइन। हामी घामभन्दा पहिले नै बाहिर निस्क्यौँ।
देहरादूनको सडक राति ढिला सुतेको मान्छे जस्तो लमतन्न पसारिएको थियो। त्यो पूरै नब्युँझिसकेको सडकमा म भने एकदम फुर्तिलो भएर उभिएको थिएँ। ठाडो पर्खालमा चढ्न खोज्दै खस्दै गरेको कमिला जस्तै— कैयौँ वर्षदेखिको मेरो यता आउने प्रयास बल्ल सफल भएको थियो। यसपालि अमेरिकाबाट नेपाल आउँदादेखि नै मनमा पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको विशाल नेपालको सिमाना अनुभव गर्नेछु भन्ने थियो। म मेरो उत्साहलाई कोसिस गरेरै लुकाइरहेको थिएँ।
त्यही यात्राको सिलसिलामा म, मेरो दाजु कुसुमराज र दाजु–साथी नरेश महेन्द्रनगरबाट दुई दिन लगाएर यहाँसम्म आइपुगेका थियौँ। सन्तोष अझै बाहिर निस्केको थिएन। हाम्रो हिजोदेखिको गाइड र ड्राइभर। ऊ मज्जाले नेपाली बुझ्थ्यो तर उत्तर चाहिँ हिन्दीमै दिन्थ्यो। कसैले नेपाली नम्बरबाट फोन गर्यो भने 'नमस्कार दाजु' बाट उसको कुरा सुरु हुन्थ्यो र बाँकी कुरा हिन्दीमा। हिजो बाटोमा आउँदा दुई–तीन वटा नेपाली लोकदोहोरी गीत सुनाइसकेको थियो।
घाम र सन्तोष दुवै एकैचोटि हाम्रा अघि उभिए।
सन्तोषले सोध्यो, ‘किधर जाना है?’
मलाई पहिलो सासमै भन्न मन थियो, ‘खलङ्गा।’
केही भनिनँ। सन्तोष आफैँ अघि सरेर भन्यो, ‘मसुरी चल सकते है।’
मैले सोधेँ, ‘मसुरी कति टाढा छ र?’
‘२०–२५ किलोमिटर होगा।’
‘के छ त्यहाँ?’
‘बहुत लोग जाते है। पहाडी है। कभी–कभी बरफ भी गिरती है। बहुत सुन्दर है। जाना है तो बोलो।’
तर मलाई अन्त कतै जानु थिएन, मन त खलङ्गा पुगिसकेको थियो। अङ्ग्रेज र गोर्खालीहरूबीच दुई शताब्दीअघि भएको प्रसिद्ध नालापानी लडाइँको स्थल। यो ठाउँ र त्यस घटनाबारे पाठ्यक्रम र इतिहासका पुस्तकहरूमा पढ्दै आएको थिएँ। मलाई जान्न मन थियो, सन्तोषको 'देखने की जगह' मा मैले निकै लामो समयदेखि जान खोजेको खलङ्गा छ कि छैन। मेरो मनमा गोर्खाली सैनिकहरूले नालापानी किल्लामा देखाएको वीरताको कथा घुमिरहेको थियो। त्यो र त्यस्तै वीरताको जगमा उभिएर नेपाल कहिल्यै पनि ब्रिटिस साम्राज्यको उपनिवेश बनेको थिएन। म जान्न चाहन्थेँ, यो बनबासा निवासी भारतीय नागरिकलाई त्यसबारे केही थाहा छ कि छैन।
कुसुम दाइले भन्नुभयो, ‘अरे टायर पनि बनाउनु छ नि। पहिले त्यता लागौँ। फेरि टायर पङ्चर भयो भने गाह्रो पर्छ।’
हामी चढेको गाडीको एउटा टायर हिजो बिहानै पङ्चर भएको थियो। जगेडा टायरमा हुइँकिरह्यौँ दिनभर।
सन्तोष निस्फिक्री देखियो— ‘हाँ हाँ। वो तो कर लेंगे। किधर भी जाएँगे, रस्ते मे मिल ही जाएगा।’
कुसुम दाइले म र नरेश दाइतिर फर्किँदै भन्नुभयो, ‘जाने हो र मसुरी?’ अलि–अलि नकारात्मक उत्तर त प्रश्नमै थियो।
नरेश दाइले भन्नुभयो, ‘के जानु? हामी त्यत्रो पहाड बसेर, देखेर आएका मान्छेहरू।’
मैले पनि हाँस्दै भनेँ, ‘हो। यता दिल्लीतिर बस्नेलाई पो चिज होला।’
सन्तोषले फेरि भन्यो, ‘एक साइन्सका म्युजियम जैसा है। उधर भी लोग जाते है।’
सन्तोषलाई अलि हतार थियो। ऊ फटाफट काम सकेर घर फर्किन चाहन्थ्यो। उसकी श्रीमती दुई जीउकी थिइन्।
मलाई भने अरू केहीमा मन थिएन।
भन्न त मन लागेको थियो, ‘खलङ्गा जाऔँ।’ तर भनिसकेको थिइनँ।
झन्डै दुई सय वर्षपछि एक जना भारतीय ड्राइभरले त्यो ठाउँबारे अनभिज्ञता नै देखाए पनि आश्चर्यको कुरा केही थिएन। आफैँलाई भने सोध्न मन लाग्यो— हामी आफैँ हाम्रो इतिहासप्रति कतिको सचेत छौँ?
नेपाल र अङ्ग्रेजबीचका विभिन्न युद्धस्थलहरू जाने क्रममा, केही दिनअघि बुटवल बजारको सिरानमा रहेको जितगढीतिर गएको थिएँ। एक जना झन्डै बीस वर्षको युवा, उजिर सिंहको नेतृत्वमा नेपाली सेनाले अङ्ग्रेज जनरल ‘उड’ लाई हराएको ठाउँ हो त्यो।
त्यहाँ वरिपरिका पाका मान्छेहरूसँग कुरा गर्दा थाहा भएको थियो, जितगढीको धेरै भाग हालको सैनिक छाउनीभित्र पर्दो रहेछ। लामो समयदेखि जितगढी संरक्षणको आवाज उठाउँदै आएका पाका मान्छेहरूमा चिन्ता भेटिएको थियो। सबैको एउटै कुरा थियो— तत्कालीन लडाइँका कैयौँ भाग सैनिक छाउनी बाहिर पर्छन्। बाहिर परेका संरचनाहरूको पनि संरक्षण गर्नुपर्छ।
नेपाल–अङ्ग्रेज युद्धपछि तराईको सबैजसो भाग इस्ट इन्डियाको अधीन भएको थियो। जहाँ–जहाँ इस्ट इन्डिया कम्पनी फौजले हारेको थियो, त्यो ठाउँमा मात्रै उनीहरूले छोडेका हुन्। त्यही हारको कारण थियो सुगौली सन्धिमा बुटवल, लुम्बिनी र सुनवलसम्मको भूभाग भारतको नबनेको। त्यसै कारणले हामीले बुद्ध नेपालमा जन्मेका हुन् भनेर गर्व गर्न पाएका छौँ। त्यो महत्त्वपूर्ण इतिहासको संरक्षण नभए जस्तो लाग्यो।
हामीले जानी–नजानी आफ्नो इतिहासका धेरै पाटाहरूमा ध्यान दिएका छैनौँ। केही समयअघि समाचार छापिएको थियो— त्रि.वि.वि. को इतिहास विभागमा एउटै पनि विद्यार्थी छैनन्। हामी कहाँबाट र कसरी आयौँ भन्ने थाहा भएन भने अगाडिको बाटो पनि अस्पष्ट हुन सक्छ।
नरेश दाइले भन्नुभयो, ‘अहिलेसम्म आइपुगेका भारतीय सहरहरूमध्ये देहरादून एकदम मनपर्यो। पहाडको फेदीमा बसेको, चिसो–चिसो ठाउँ।’
‘नेपाली फ्लेभरको,’ मैले थपेँ र सबै हाँस्यौँ।
सन्तोष हामी नजिकै आयो र भन्यो, ‘एक बलिभद्र स्मारक है। जाना है?’
म त प्रसन्न भएँ। ‘ल जाऊँ।’
हामी सबै गाडीमा बस्यौँ।
नरेश दाइले सोध्नुभयो, ‘बाटो थाहा छ? कहिल्यै गएका छौ?’
‘हाँ, एक बार गया था। नेपाल से कोई बडा साहब आया था इधर। उसको लेकर गया था।’
गाडीमा बस्दै गर्दा कुसुम दाइले भन्नुभयो, ‘हिजोदेखि हामी यति पर आइपुग्यौँ। यहाँसम्म थियो है नेपाल।’
मैले भनेँ, ‘नैनीताल, गढवाल, हृषिकेश, हरिद्वार र देहरादून सबै तत्कालीन गोर्खाको सीमाभित्र पर्थ्यो। यहाँबाट पनि झन्डै ४०० किमी पश्चिम काँगडा किल्लासम्म। काँगडा किल्ला भने गोर्खाली फौजले जितेन। गोर्खालीहरूले काँगडाका राजा संसारचन्दलाई जिते पनि, तिनलाई सहयोग गर्न आएको पन्जाबका राजा रणजीत सिंहको फौजसँग हारेर फर्किए। तर गोर्खालीहरूको सबैभन्दा ठुलो हार इस्ट इन्डिया कम्पनीको फौजसँग भयो। विसं १८७१ र १८७२ मा चलेको लामो लडाइँपछि भने गोर्खाली शासन र सेनाको स्वभाव बदलियो। त्यो एकदम ठुलो टर्निङ प्वाइन्ट हो, हाम्रो इतिहासमा। इस्ट इन्डिया कम्पनी–गोर्खा लडाइँले नेपालको भौगोलिक सिमानालाई स्थायी बनायो।’
गाडी उकालो लाग्न थाल्यो। ठुलो साइनबोर्ड देखियो, ‘बलभद्र स्मारक संरक्षण समिति’ लेखिएको।
त्यहाँबाट उकालो लाग्दै गर्दा मेरो मन भने वायुपङ्खी घोडा चढेर २०० वर्षभन्दा पनि अगाडि पुग्यो। विसं १८७१ को कार्तिक महिनाबाट इस्ट इन्डिया कम्पनी र गोर्खालीहरूबीच युद्ध सुरु भएको थियो। त्यो लामो युद्धको पहिलो लडाइँ यही ठाउँमा भयो।
उकालो चढ्दै गर्दा मैले आँखाले भ्याएसम्म चारैतिर हेर्न थालेँ। कताबाट र कसरी आए होला विशाल अङ्ग्रेजी सेना। माथि थुम्कोमा बसेको सानो टुकडीमा युद्ध उन्माद पलायो होला। ‘आयो गोर्खाली’ भनेर सबै चिच्याए होलान्।
सोच्दै–सोच्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेको एउटा पङ्क्ति मनमा आयो:
नसुती चारै प्रहर,
खुबैसित लडेर बलभद्र कुँवर।
कस्तो असम्भव सङ्घर्ष भयो त्यहाँ।
धेरै लेखिएको र सिनेमाले पनि समेटेको एउटा रोमन लडाइँको कथा मनमा आइरह्यो। जम्मा ३०० रोमन सैनिक ‘स्पार्टन’हरूले दसौँ हजारको पर्सियन फौजलाई रोकेका थिए। यहाँ पनि झन्डै त्यस्तै घटना घटेको थियो। करिब ६०० जनाले ४००० भन्दा बढी सङ्ख्याका तालिमप्राप्त सैनिकहरूलाई महिनादिनभन्दा बढी रोकेको कथा।
गाडी सानो बाटोमा बिस्तारै उकालो लागिरहेको थियो।
मैले सन्तोषलाई सोधेँ, ‘के छ यता?’
सन्तोष स्टेरिङ घुमाउन व्यस्त थियो, ‘मुझे पक्का पता नहीं है। बलभद्र नाम का कोई था, उसी के नाम पर यह स्मारक बना है। पर कुछ तो बडा किया होगा बलिभद्र ने। तभी तो लोग उसे आज भी याद करते हैं। है कि नहीं?’
हामीहरू कसैले केही भनेनौँ। एक पटक मलाई उसले भनेको ‘बलिभद्र’ सच्याउन मन लाग्यो तर सच्याइनँ। भारतीय लवजमा बलभद्र कुँवर भन्दा ‘बलिभद्र’ नै सुहायो।
मेरो मनमा सन्तोषले भनेको वाक्य ‘कुछ तो बडा किया होगा’ बारम्बार घुमिरह्यो।
बाटो अझै सकिएको थिएन। शङ्का लाग्यो— हामी ठीक बाटोमा त छौँ?
नरेश दाइले सोध्नुभयो, ‘सन्तोष, तिमीलाई पक्का थाहा छ, बाटो यही हो?’
‘और तो कोई रस्ता नहीं है। बहुत साल पहले आया था। यही होना चाहिए।’
मैले आफैँलाई भनेँ, ‘यही नै सही बाटो हो। यो ठाउँबारे पढेका कुराहरू सम्झिँदा, यो पहाडी नै ठीक स्थान हो जस्तो देखिन्छ। अब कुनै पनि बेला यो बाटो देब्रे मोडिनेछ र उकालो लाग्नेछ।’
सायद दुई–तीन मिनेटभित्र त्यस्तै भयो र अचानक करिब सय मिटर जति पर एउटा ढोका जस्तो देखियो। त्यसको माथि अर्धवृत्ताकार बोर्ड थियो। जसमा लेखिएको थियो— ‘बलभद्र कुँवर, युद्ध स्मारक १८१४’।
हामी गाडीसहित भित्र छिर्यौँ।
ढोकैमा बायाँपट्टि कालो चिल्लो मार्बल थियो। त्यहाँ अङ्ग्रेजीमा लडाइँको बयान लेखिएको थियो। पाँचदेखि छ सय गोर्खालीहरू, जसमा बालबालिका, महिला र कुमाउँका स्थानीयहरू पनि थिए। उनीहरूले ठुलो अङ्ग्रेज फौजसँग लडेको युद्धको संक्षिप्त विवरण लेखिएको थियो। गोर्खाली फौजको पानीको स्रोत आक्रमणकारीले नियन्त्रण नगर्दासम्म उनीहरूले देखाएको आश्चर्यपूर्ण साहसको कुरा पनि उल्लेख गरिएको थियो। अङ्ग्रेज फौजतर्फको हताहती सङ्ख्या ८८१ र घाइते सङ्ख्या १५३५ रहेछ। हामी गाडीबाट ओर्लेर हेर्न र फोटो खिच्न व्यस्त भयौँ।
डाँडाको शिरमा अलिकति समथर जमिन थियो। त्यसको केही भाग सिमेन्टको पर्खालले घेरिएको थियो। पर्खालमा पेटी जस्तो बनाइएको थियो। हिँड्न र बस्न मिल्ने ठाउँ रहेछ। उत्तरपट्टि ठाडो ढलान रहेछ— एकदम ठाडो; मान्छे खस्यो भने खुर्मुरिँदै तल पुग्न सक्थ्यो। पश्चिमपट्टि केही परसम्म गोरेटो देखियो। त्यसपछि त्यो सानो गोरेटो कता जान्छ, प्रस्ट थिएन। पर्खालले घेरेको क्षेत्रभित्र भुइँभरि कालो, चिल्लो टायल ओछ्याइएको थियो। बीच भागमा छ–सात फिट अग्लो मण्डप जस्तो बनाइएको रहेछ। त्यो मण्डपसम्म पुग्न चौडा सिँढी थियो। मण्डपको बीचमा झन्डै २० फिट अग्लो स्तम्भ (पिलर) थियो। स्तम्भको टुप्पोमा दुई वटा खुकुरी र तिनीहरूको बीचमा सानो छत्र जस्तो संरचना थियो।
म सिँढी उक्लेँ। मण्डपको मध्य भागमा पुगेपछि मन पुर्खाको सम्मानले भरियो र दुवै हात आफैँ जोडिए।
वरिपरि घुमेर हेर्यौँ। ऐतिहासिक ठाउँमा सिमेन्ट र मार्बलले छोपिनु अनौठो लागिरह्यो। सम्भव भएसम्म पुरानै संरचना जोगिएको भए कति रोमान्चक हुन्थ्यो होला। पर्खालबाहिर केही चुरोटका बट्टा र रक्सीका खाली सिसी पनि देखिए। मनको गहिरोमा चस्स भयो। म एकैछिनका लागि बहकिएँ र बिर्सिएँ, यो भूमि नेपाल होइन।
बिर्सिएँ, एउटा अकाट्य सत्य: यो ठाउँ २१० वर्षदेखि ब्रिटिस इन्डिया र इन्डियाको भाग हो। यहाँको प्रशासन वा जनमानसमा यो थुम्को ओझेलमा पर्नु त्यति आश्चर्यको कुरा होइन। फेरि पनि जितगढी, रसुवागढी र सिन्धुलीगढी सम्झनामा आए। हामीले आफ्नो सीमाभित्र रहेका ऐतिहासिक स्थान र तथ्यहरूको सम्भार कति तत्परतासाथ गरेका छौँ?
नरेश दाइले भने, ‘जाऊँ अब?’
मैले भनेँ, ‘एकैछिन बसौँ अझै। मलाई यसो वरिपरि घुम्न मन छ।’ मलाई धेरैभन्दा धेरै फोटो खिच्नु थियो।
हामी सिमेन्टको पर्खालबाहिर घुम्न थाल्यौँ।
अहिले बनाइएको संरचनाभित्र पाँच–छ सय मान्छे अट्न सक्ने जस्तो लागेन। मान्छे अटाएर मात्रै भएन, लडाइँका बन्दोबस्तीका सामान र हातहतियार पनि अटाउनुपर्थ्यो। किल्लाको वास्तविक घेरा हालको सिमेन्टको घेराभन्दा ठुलो हुनुपर्छ। म अलि पर गएँ। त्यहाँ लहर मिलाएर राखिएका जस्ता ढुङ्गाहरू देखिए। केही पर्खाल जस्तो भाग बाँकी रहेछ। झारपातले छोपिएको। घाँस र झारपातले छोपिएका ढुङ्गाहरू चुपचाप थिए। लामो ध्यानमा बसेजस्ता। यी सायद साक्षी हुन् त्यो लडाइँका। कतिले तोपका गोला रोकेर गोर्खाली ज्यान पनि बचाए होलान्।
यही वरिपरि कतै उभिएर बलभद्रले भने होलान्, ‘जे सुकै होस्, यो किल्ला हामीले छोड्नु हुँदैन।’
कुनै ढिस्कोमाथि उभिएर भने होलान्, ‘आइमाई मान्छेले पर्खाल लगाऊ।’
बन्दोबस्ती मिलाउने जिम्मेवारी लिएका गोर्खाली सैनिक अधिकारी— अङ्गद कार्कीले भने होलान्, ‘सकेजति पानीका घैँटा भर। लडाइँको बेला चाहिन्छ।’
पूरा तयारी नगर्दै लडाइँको दिन आयो। औपचारिक युद्धको घोषणाअघि नै अङ्ग्रेजको धावा खुल्यो।
अङ्ग्रेजहरूले पटक–पटक आक्रमण गरिरहे र हारिरहे। हरेक पटक आफ्ना अफिसर र सैनिकहरू गुमाइरहे। दिल्लीबाट थप सैनिक र हातहतियार पनि थपिए। गोर्खालीको सानो फौज, बिना कुनै थप सहयोग लडिरह्यो। हरेक पटक अङ्ग्रेजी फौजले किल्लाको पर्खाल भत्काउँदा महिलाहरूले हतार–हतार पर्खाल लगाए। किल्लाको पर्खाल चढ्न खोज्ने जनरल जिलेस्पी र अरू कमान्डरहरू भित्र छिर्न नपाएरै ढले।
अङ्ग्रेजहरू पछि हटे। प्रत्यक्ष लडाइँको बाटो छोडेर घेराबन्दी र गोलाबारीमा लागे, लडाइँको रूप फेरियो। त्यसपछिको लडाइँ तोपको मारक क्षमता र बन्दोबस्तीका सामानमा भर पर्न थाल्यो। ती दुवै कुरामा गोर्खालीहरू निकै कमजोर थिए। दिनरात निरन्तर तोपका गोलाहरू बर्सिन थाले। खाने चामलमा बारुद मिसिन थाल्यो। किल्ला बाहिरको पँधेरामा जान नसकिने भयो। किल्लाभित्र भरेर राखेका पानीका घैँटाहरू फुटे। किल्लाको पर्खाल पनि ठाउँ–ठाउँमा भत्किन थाल्यो। गोर्खालीहरू आफ्ना मृत साथीका लासको छेउमा बसेर लडिरहे। अन्तिम समयमा भात पकाउने पानी नभएर काँचै चामलको फाँको हालेका सैनिक र कमान्डरभित्र के त्यस्तो कुरा थियो जसले उनीहरूलाई लडिरहन प्रेरित गर्यो। डर र लोभ त्यागेर उनीहरू लडिरहे, आत्मसमर्पण गरेनन्। बिना पानी पनि उनीहरू अर्को तीन दिनसम्म लडे। अभावले सीमा नाघ्यो, आफ्नै निर्णयमा किल्ला छोडेर निस्के। तर उनीहरूले रचना गरेका वीरगाथाहरू र एक चोइटो नेपाल सधैँका लागि त्यहाँ छुट्यो।
आज २१० वर्षपछि, म सम्झन खोजिरहेछु इतिहासमा अङ्कित ती गाथाहरू।
सम्झिन्छु, त्यो सिपाही, जसका तलका दाँत झरे, लडाइँको क्रममा। ओठ छिया–छिया भए। जो कसोकसो गरी इस्ट इन्डिया कम्पनीको सैनिक छाउनीमा पुग्यो। उपचारपश्चात् जब उसलाई इस्ट इन्डिया फौजले आफूतिर मिल्न भन्यो, उसले भन्यो, ‘जहिलेसम्म म बाँच्नेछु, त्यो बेलासम्म स्वजातिका निम्ति मात्र बन्दुक र खुकुरी लिनेछु।’
सम्झिन्छु, लड्दा–लड्दा थाकेका, जब अङ्ग्रेजहरू किल्लाभित्र पसे, त्यहाँ एउटा जीवित बालक, आफ्नी मृत आमाको शरीरमा घोप्टिएको थियो। त्यो बच्यो कि बाँचेन होला। शिशु अवस्थामा देखेको त्यो क्रूर लडाइँले उसको बाँकी जीवन कसरी प्रभावित गर्यो होला?
अङ्ग्रेजहरूले ध्वस्त किल्लामा योद्धाहरूको क्षतविक्षत शरीर, केही हतियार र बन्दोबस्तीका सामान मात्र भेटे। त्यो लडाइँ उनीहरूको अनुमानभन्दा गाह्रो र चुनौतीपूर्ण भयो।
त्यो लडाइँको दुई शताब्दीपछि, म त्यो किल्लामा लडेका मान्छेहरूको चित्र बनाउन खोज्दैछु, जसको नाम कतै लेखिएको छैन। जसले पानी बोके। पर्खाल ठडाए। सैनिकलाई खाना पकाएर खुवाए, आँपको अचार बनाएर पठाए। ती मान्छेहरू जसले तरबार बनाए, वाणको टुप्पो तिखारे। घाइतेहरूको उपचार गरे। तिनीहरूको इतिहास कहाँ छ। नालापानीमा झन्डै साढे पाँच–छ सय मान्छेहरूले लडेको इतिहास छ। ती अनाम योद्धाहरू, ती गुमनाम वीरहरू, जसले नेपाललाई सधैँ स्वतन्त्र रहने बल दिए। कतिका परिवार सदाकालका लागि विखण्डित भए होलान्। कति मानिसहरू जीवनभरका लागि घाइते र कमजोर शरीर बोकेर बाँच्न बाध्य भए होलान्। लडाइँको मोर्चामा ज्यान थाप्ने मात्र होइन, पूर्व टिस्टादेखि पश्चिम काँगडासम्मका किसानहरू, जसले आफ्नो आम्दानीको आधा भाग राज्यलाई बुझाए। म सम्झिन खोजिरहेको छु ती सबैका अनुहार।
म खोजिरहेको छु, ती इतिहासको अँध्यारोमा हराएका अनुहारहरू, मानौँ मलाई कुनै सरकारी फारम भर्नु छ।
कतिका नाक चुच्चा थिए होला। कतिका नाक थेप्चा थिए होला। कति काला वा गोरा हुँदा हुन्। कति जनाको अनुहार नेपालको नक्सामा भएका चुच्चाहरूसँग मिल्न पुग्छ। कति जनाको अनुहार नेपाली पहाडको थाप्लोमा भएको थेप्चो भागसँग मिल्न पुग्छ। यो सत्य सधैँ सबैभन्दा उज्यालो हुनुपर्छ— उनीहरूले लडेको नेपाल, जति राजाका, शासकका सन्तानहरूको हो, त्यति नै ती अनाम नागरिकका सन्तानहरूको पनि हो। यहाँको लडाइँ जति बलभद्रको हो, त्यति नै ती समयको धूलोले छोपिएका सैनिकहरूको पनि हो।
नेपाली विद्वतवृत्तमा प्रशस्त छलफल छ। पृथ्वीनारायण महत्त्व दिन लायक पात्र हुन् वा होइनन्। ती आततायी हुन् वा एकीकरणका जनक। उनले वा उनका सन्तान राजाहरूले गरेका कति कामहरू अत्याचार हुन् वा रणचातुर्य। इतिहासमा यस्ता कैयौँ गाथाहरू छन्, जो विवादित छन्। अनेकन रौँ ठाडो पार्ने वीरताका कथाहरू, छलछाम, कपटपूर्ण राजनीति, कूटनीति— ती सबैको जगमा छेकेर आजको नेपाल उभिएको छ।
लाग्दछ, नेपालको इतिहासको लेखन दुई विपरीत अतिहरूबाट गुज्रिरहेको छ। एउटा पक्ष भन्छ, नेपाल एकीकरण हुँदै भएको छैन। त्यसले सम्पूर्ण देशमा एकत्व सिर्जना गरेन। यो गोर्खा राज्यको भौगोलिक विस्तार मात्रै हो।
अर्को पक्षले भनिरहन्छ— त्यस अभियानका नेताहरूलाई महिमामण्डित गर्न खोज्छ। त्यो समयका पात्र र व्यवस्थापनमा भएका कमजोरीहरूलाई बेवास्ता गर्छ। मानौँ ती अलौकिक र कल्पनाभन्दा पनि परका श्रेष्ठ मान्छेहरू हुन्।
नेपालको राज्य व्यवस्था परिवर्तन अनुरूप, पञ्चायत व्यवस्थामा पछिल्लो र अहिले पहिलो विचार हावी छ। नेपाली इतिहास लेखनको तेस्रो पक्ष, जुन तथ्यको विश्लेषण गर्छ र हरेक घटना र पात्रको उपयुक्त गुण–दोषको उजागर गर्छ। सायद यही तेस्रो पक्ष नै सत्यको सबैभन्दा निकट पनि छ। यसले ती सबै गुमनाम सैनिकहरूलाई पनि चिन्दछ, जसले झन्डै ७० वर्षको राज्य विस्तार र त्यसमा रहेको एकीकरणको तत्त्वलाई पनि चिन्दछ। अहिलेको समयमा यो पक्ष सबैभन्दा मधुरो र कमजोर सुनिन्छ।
म यी सबै कुरा नालापानी खलङ्गामा उभिएर सोचिरहेको छु, जहाँ बलभद्र र उनका अनाम साथीहरूले यो ठाउँको आत्मासम्म गड्ने गरी आफ्नो परिचय रोपिदिएका छन्। उनीहरूको गर्जन गहिरोसँग आरोपित छ, यो ठाउँमा। उनीहरूको गर्जन र परिचयसँगै मुछिएर, एक टुक्रा नेपाल आज पनि यहाँ बचिरहेको छ। त्यसैले त, आज दुई शताब्दीपछि, यहाँ आउने बनबासाको भारतीय नागरिक भन्दछ, ‘कुछ तो बडा किया होगा।’
नरेश दाइले भन्नुभयो, ‘अब जानुपर्छ।’
जाँदाजाँदै त्यो असम्भव लडाइँका ज्ञात, अज्ञात योद्धाहरूको सम्झना आयो। तिनीहरूको रगत र पसिनाले आजको नेपाली भूगोल लेखिएको हो। नेपालको अस्तित्व रहँदासम्म यिनीहरूको रगत र पसिनाको सुवास फैलिरहने छ। उनीहरू जुन दुर्दमनीय चेतनासाथ संसारको सबैभन्दा आधुनिक सैनिकसँग लडे, त्यसको बीउ विशाल राज्य बनाउने सपनामै रोपिएको थियो।
ओरालो झर्दै गर्दा सन्तोषले फेरि भन्यो, ‘दाइ, आप लोग इतनी दूर से यहाँ आए। आपको तो पता होगा, यहाँ क्या हुआ था। कुछ तो बड़ा ही हुआ होगा।’
म अब त्यहाँ नालापानी लडाइँको कथा सुरु गरौँ कि नगरौँ भन्ने दोधारमा परेँ। तर सन्तोषले फेरि सोधेन। दाइहरू पनि दिनभरि जाने ठाउँको योजना थाल्नुभयो।
गाडीले ऋषिकेशतर्फको बाटो समात्यो।

(केशवराज ज्ञवालीको उपन्यास ‘अज्ञात’ हालसालै फाइन प्रिन्टबाट प्रकाशित भएको छ।)