रातिको खानापछि तिमी आफ्नो कोठामा सुत्न गयौ। म भने बाहिर हलमा रहेको सानो बेडमा निद्रासँग युद्ध लड्न थाले। मनभित्र अनेकौँ कुराहरू खेलिरहेका थिए, काश, एकछिन मात्र तिमीसँग छतमा बसेर मनको कुरा पोख्न पाए, तिमीलाई मेरो भावना बताउन पाए भने सायद तिमीले मेरो मनमा तिमीप्रतिको यो गहिरो माया बुझ्ने थियौ कि ?
हामी सुत्न गएको बेला रातको ठ्याक्क ११ बजिरहेको थियो। म तिम्रै बारेमा सोचिरहेको थिएँ। तिम्रो कोठाको झ्याल पर्दाले छोपिएको थियो, तर भित्रबाट बत्तीको मन्द उज्यालो बाहिर निस्किरहेको थियो। मेरो मनमा कता-कता आशाको सानो ज्योति बलिरहेको थियो, काश, तिमी ढोका खोलेर बाहिर निस्केर मेरो छेउमा आएर बसिदिए हुन्थ्यो।
तर केही समयपछि तिम्रो कोठा अन्धकारमा डुब्यो। त्यो बत्ती निभ्दा मलाई लाग्यो, मेरो मनको एउटा आशा पनि त्यसैसँगै निभ्यो। मैले मनमनै तिमीलाई शुभरात्री भनेर सुत्ने प्रयास गरे। तिमीसँग कुरा गर्न मन थियो, तर मसँग त्यति हिम्मत थिएन कि तिमी सुतेको कोठाको ढोका ढकढकाएर तिमीलाई उठाऊँ।
मानिस टाढा हुँदा त्यति टाढा हुँदैन, जति तिमी मबाट मात्र ६–७ पाइलाको दूरीमा थियौ। तर त्यो रात मलाई यस्तो लागिरहेको थियो मानौँ तिमी मबाट अर्कै संसारमा कोसौँ कोस टाढा छौ।
तिम्रो बारेमा सोच्दासोच्दै लगभग रातिको १ बजिसकेको थियो। अचानक तिम्रो कोठाको झ्यालबाट फेरि बत्तीको उज्यालो देखिन थाल्यो। तिमीले ढोका खोल्यौ। मेरो मुटुको धड्कन बढ्न थालेको थियो। यो यस्तो लाग्यो मानौँ तिमीले मेरो मनको कुरा सुनिरहेको थियौ र मसँग कुरा गर्न आएकी छौ।
तर अफसोस, तिमी त भान्सामा पानी पिउन मात्र उठेकी रहिछौ।
म तिर हेर्दै तिमीले निद्राले झ्याप्प परेको स्वरमा सोध्यौ, ‘सुतेनौ ?’
‘निद्रा लागिरहेको छैन,’ मैले जवाफ फर्काएँ।
तिमीले सोधेको थियौ, तर मसँग उत्तर थियो, बस तिम्रै बारेमा सोचिरहेको थिएँ भन्ने। त्यो शब्द भने ओठसम्म आएन।
‘ल, सुत। बिहान चाँडै उठ्नुपर्छ,’ भन्दै तिमी आफ्नो कोठामा फर्कियौ र भित्रबाट चुकुल लगायौ।
म भने तिमीलाई सम्झी-सम्झी निद्रा नलागेर हैरान भइरहेको थिएँ। कहिले यता कहिले उता कोल्टो फेरिरहेको थिएँ, कहिले आँखा चिम्म गरेर निद्रा खोजिरहेको थिएँ। तर निद्रा मरे पनि आउँदैनथ्यो।
घडीतिर आँखा गयो रातको लगभग २ बजेको थियो। खै किन हो, निद्रा कतै थिएन। शायद तिमीसँग एकछिन भए पनि मेरो मनको कुरा भन्ने तिर्खा थियो। फेरि यो क्षण मेरो जीवनको यस्तो दुर्लभ क्षण थियो, जति बेला तिमी मेरो एकदम नजिक थियौ तर पनि यति टाढा।
म आफ्नो मनमा बगिरहेको भावनालाई थाम्न सकिनँ। ढोका खोलेर तिमीसँग मनको कुरा पोख्ने अठोट गरेर तिम्रो कोठातिर हिँड्न थाले। ढोका ढकढकाउने हात उठाएको मात्र थिएँ कि, अचानक तिम्रो कोठाको बत्ती बल्यो र तिमीले ढोका खोलिदियौ।
एक्कासि अँध्यारो हलमा मलाई आफ्नो सामुन्ने देखेर तिमी एकछिन डरायौ।
‘के भयो? किन उठेको?’ डराएकै स्वरमा तिमीले सोध्यौ।
म मनको कुरा भन्न उठेको थिएँ, तर तिमीलाई देखेर अक्कबक्क भएँ। ‘बाहिर कस्तो जाडो छ। तिम्रो कोठामा भएको ओढ्ने देऊ न,’ भनेर मात्र बोल्न सके।
तिमीले आँखा ठुलो पार्यौ। तिम्रो नाक रिसले पूरै रातो भयो। ‘यही मात्र भन्नु थियो र ?’ भन्दै रिसाएर भन्यौ। तिमीले भित्रबाट ओढ्ने ल्याएर मेरो जिउमा फालिदियौ र ढोका अलिकति जोडले बन्द गरिदियौ।
म भने आफूलाई गाली मात्र दिइरहेको थिएँ भन्न नसकेको मनको कुरा। कस्तो कमजोर हिम्मत मेरो ?
बेडमा ओढ्ने राखेर फेरि तिम्रो कोठाको ढोका ढकढकाएँ। तिमीले एकछिनमा ढोका खोल्यौ, ‘के भयो?’
तिम्रो मुहारमा अझै रिस स्पष्ट देखिन्थ्यो। तर मेरो मनले भनिरहेको थियो तिम्रो मनमा पनि मप्रति मेरो जस्तै भावना छ, तर तिमी चाहिरहेकी छौ कि म पहिले मेरो मन खोलूँ।
तिम्रो रिस शान्त पार्न म तिमीलाई मन पर्ने कुरा सोधेँ, ‘चिया खान्छौ ?’
यो प्रश्न यस्तो थियो, जसको जवाफ कहिल्यै ‘नाइँ’ हुँदैनथ्यो। मध्यरात होस् वा बिहान, तिमीलाई सधैँ चिया खान मन पर्थ्यो। म भान्सामा चिया बनाउन गएँ। तिमीले ढोका बन्द गरेर शायद पल्टिन गयौ।
भान्साको सानो बत्तीमा तिम्रो अनुहार झल्किए जस्तो भयो। दूध हाले, चिनी हाले तर मनको कुरा त्यो चियाको कपमा हाल्न सकिन। चिया बनाउँदै गर्दा मेरो मनमा अनेकौँ सपनाहरू खेलिरहेका थिए। तिमीलाई मन पर्ने स्वादमा चिया बनाउँदै सोचिरहेको थिएँ ‘अब चिया खाँदै मेरो मनको कुरा भन्छु।’
एकछिनपछि चिया पाक्यो। दुई कप बनाएको थिएँ, एउटा तिम्रो, अर्को मेरो।
ढोका ढकढकाएँ। हातमा चियाको कप बोकेर उभिएँ। तर तिमीले ढोका खोलेनौ।
केही बेरपछि फेरि ढकढकाएँ। फेरि पनि ढोका खुलेन। बाहिरबाट बत्तीको उज्यालो अझै आइरहेको थियो। मैले निकै बेर प्रयास गरे, तर तिम्रो ढोका खुलेन। मेरो हातमा भएको चियाको कप सेलाउँदै चिसो हुँदै गयो। तिमी ढोका खोल्छौ भन्ने आशामा म दुवै हातमा चियाको कप बोकेर कति बेर उभिएँ, मलाई होस् नै भएन।
र म ?
म अझै त्यही ढोकाअगाडि उभिरहेको थिएँ। अझै तिमीलाई पर्खिरहेको।
आज पनि, कहिलेकाहीँ जब मेरो दुवै हातमा चियाको कपहरू हुन्छन्, म त्यही पुरानो रातमा फर्किन्छु, त्यो चिसो हुँदै गएको चिया, त्यो मन्द उज्यालो, र कहिल्यै नखुलेको त्यो ढोका। त्यो रात जे भन्न चाहेको थिएँ, त्यो कुरा ओठसम्म आएर मनभित्रै गडिएर फर्कियो।
न तिमीले सुन्यौ, न मैले भन्न सके।
आज पनि ती दुई कप चिया मेरो आँखाअगाडि छन्। एउटा तिम्रो, अर्को मेरो। एउटा कहिल्यै नपुगेको, अर्को एक्लै चिसिएको।
सायद केही कुराहरू अधुरै राम्रा हुँदो रहेछन्। सायद केही ढोकाहरू नखुल्नुको पनि आफ्नै कारण हुन्छ र सायद, त्यो नभनिएको माया, त्यो चिसो चियाको कपमा जमेको, जीवनभरको सबैभन्दा इमानदार प्रेम हो।