कविता
म पागल थिएँ
घोर अन्धकार राति स्मशान धाइरहने तान्त्रिक गुरूका चेला जसरी
गुरू विद्यामा पारंगत हुने अभीप्सामा
मुहानमा बुलबुल उभरेको पानी झैं
स्निग्ध थियो मेरो प्रेम
बदलामा
यो निस्पाप हातमा धारिलो खंजर थमाइदिएको हो
सयौं मानिसका औंलाहरू काटिए
मेरा यी औंलाहरूले समाएर यही खंजरले
यो अविचलित शान्त पथ
लासका छिन्नभिन्न अंगहरू झुण्डिरहेको
कंकालय भो,
म अहिंस्रकको कायामा हत्या र हिंसाका टाटाहरू
छ्यापिएर परित्यक्त
यो खण्डहरमा
जुनबेला म दृष्टिगोचर गर्दै थिएँ
मातृस्नेहपूर्ण आफ्नै आमाको औंला।
मेरो बाटोबीच मै उभिएर
एक निर्भीक तिमीले
छेक्नलाई नआएको भए,
तथागत
अन्तिम एक औंला
आफ्नै आमालाई वीभत्स मारेर पुगाउने थिएँ।
थियो मेरो पनि मुटु
कसैको पीडायुक्त आहटमै
अंकुरिएको कर्कलो जस्तै पग्ली जाने
ठान,
गुरूसित बसेका अगम्य प्रेम प्रस्फुरिट यो छाती
हिउँ पग्लेर झरेपछि यथावत रहेको कालो चट्टान झैं थिग्रिएको छ
यी हातहरूमा हेर
पहाडहरू छिचोल्दै चुम्न आउने
घामका नरम छिर्कामिर्का किरणले सिंचित
लकीरहरू मेटिएर
सयौं मानिसका रगतहरूमा लुटपुटिएका धर्साहरूले अखडा जमाए।
यो क्षण,
युगौंदेखि कुनै प्राणी अविचरित मन्दिर जसरी
बंजर मेरो यो मनमा
बन्द प्रेमको ढोका उघारिदिँदा
एकाएक
मेरो आफ्नै काया प्यालेष्टिनी भूमि झैं
जर्जर पाएँ,
विक्षिप्त आगोको सहस्र झिल्का झरेर डढेलो लागेको
जंगल झैं खरानी पाएँ
तथागत,
यो घोर अपराधी
यी रक्त रंजित हत्केला फिंजाएर
एक अंजुली प्रेम भिक्षा माग्दछ
अब यो प्रेमको दैलाबाट मैले निर्वाण मार्ग तय गर्नु छ।