‘सुकुम्बासी बस्तीमा डोजर चलेछ!’ किचनको डाइनिङ टेबलमा बसेर मोबाइल चलाउँदै गरेको छोरो बोल्यो।
‘यसले पनि आजभोलि समाचार पढ्न थालेछ है,’ किचनमा साग पखाल्दै गरेकी आमा व्यङ्ग्यात्मक शैलीमा बोलिन्। सायद सधैँभरि मोबाइल तेर्सो बनाएर गेम खेलिरहेकी देखेकी होलिन् र भनिन् क्यार।
‘जसले पनि आफ्नो हैसियत अनुसारको चलाउने त हो, उता अमेरिकाले ठुलठुला मिसाइल चलाउँछ, हाम्रा शासकले डोजर! जहाँ जे चलाए पनि पिसिने त निमुखा नै हुन्,’ आमा-छोराको वार्तालापमा किचन छेउको लिभिङ रुममा बसिरहेको बाउ किचनमा नै आएर मिसिए।
‘केका निमुखा हुनु? हजुर भन्दा धनी छन्। सुकुम्बासी होइन हुकुमबासी हुन्,’ आमाले छोटो अभिव्यक्ति तर अलिक कडा स्वरमा दिइन्।
‘मेरा ममी-ड्याडीको कहिल्यै कुरै मिल्दैन। जुनसुकै विषयमा डिबेट गरी हाल्ने,’ सायद बा-आमाका स-साना विषयमा सधैँभरि भइरहने विवादबाट दिक्क मानेर होला अलिक रिसाए झैँ तरिकाले छोरो बोल्यो।
‘बाबु तिमी सानै छौँ अहिले, बिहेपछि थाहा पाउँछौँ आफैले...’ बाउले बिग्रिन लागेको माहौललाई सुधार्ने हेतुले माहौललाई हास्यास्पद बनाए। आमाले कड्के नजरले हेर्दै मुस्कुराएको प्रस्ट देखियो।
‘हजुरले जे भने पनि सुकुम्बासी भन्नेहरू कति धनी छन् मलाई थाहा छ। आफ्नो घर जमिन भएर पनि फ्रीमा बस्न पाएर बसेका हुन्। कम्ताका छन् यिनीहरू! जे भयो ठिक भयो,’ आफ्नो पुरानो अभिव्यक्तिलाई अझ जोड दिन आमालेले तर्क गरिन्।
‘त्यस्तो दुर्गन्धमा बाध्यता नभई मान्छे बस्दैन। त्यो बस्तीको बाटो हुँदै जाँदा गाडीको सिसा लगाउने तिमी नै होइन? तिमी एक रात गएर त्यो बस्तीमा निदाउन सक्छौ?’ बाउ पनि के कम आफ्नो हट छोडेनन्।
‘मेरो घर हुँदा हुँदै त्यहाँ किन निदाउन जाऊँ?’ आमाले प्रश्न गरिन्।
‘तिनीहरू पनि घर भएको भए किन त्यहाँ जान्थे र?’ बाउ चाहिँले प्रतिप्रश्न गर्यो।
‘ह्या! कति डिस्कस हो,’ छोरो कड्कियो।
‘तेरी आमा मुख चलाउँछे अनि,’ बाउले दोष जति श्रीमतीलाई दिएर आफू जोगिन खोजे।
‘म त पन्युँ चलाउँदै छु, आफू हो मुख चलाउने त,’ अघि पखालेको साग तातो कराइमा ओइरिँदै आमा पनि जोगिन खोजिन्। किचन कोठा इजलास झैँ हुन लाग्यो। बा-आमा वादी/प्रतिवादी हुँदा छोरो जो न्यायाधीशको भूमिकामा देखिए जस्तो।
‘सबैले आ-आफ्नै हैसियत अनुसार चलाउने त हो, सरकार डोजर चलाउने, ममी पन्युँ चलाउने, ड्याडी मुख चलाउने, म मोबाइल चलाउने,’ यति बेला छोराको पालो आयो माहौललाई हँसाउने।
‘खुब जानेको छ बोल्न, जस्तो बाउ त्यसै छोरा,’ यति बेला पनि आमा मुस्कुराएको प्रस्ट देखियो।
‘मैले अघि फेसबुकमा पढेको थिएँ, लगभग ९० प्रतिशत त सुकुम्बासी नै होइनन् रे। जे भयो ठिक भयो,’ केही समयको मौनतापछि आमा फेरि बोलिन्।
‘देशको गरिबी तथा सुकुम्बासीको समस्यालाई कुनै गणितको फर्मुला लगाएर व्याख्या गर्दा यसको निराकरणमा पुगिँदैन, तिमिले फेसबुकमा पढेको तर्कले तथ्यसम्म त पुर्याउला तर न्यायसम्म पुर्याउँदैन। यसको दीर्घकालीन समाधानका लागि सुकुम्बासीलाई शिक्षा, सिप र रोजगारसँग जोडाउनै पर्छ,’ बाउले नर्म स्वरमा बहसको निचोड निकाल्न प्रयास गरे।
बाहिर कोही कराएको आवाज आयो- ‘घरमा को हुनु हुन्छ? यहाँ कोठा खाली होला?’
आमा खुसी भइन्। लगभग २ महिनादेखि दोस्रो तलाको दुई कोठा खाली नै थियो। ‘यहाँ तरकारी हेर्नु है।’ भन्दै हतारिँदै बाहिर बार्दलीमा निस्किइन्। तल सडकमा एक टिपरमा केही सर-सामानहरू सहित श्रीमान्-श्रीमती जस्ता देखिने दुई सडकबाट हेर्दै माथि बोलाउँदै थिए भने एक सानी केटी त्यही टिपरको झ्यालबाट हेरिरहेकी थिई। सायद ती श्रीमान्-श्रीमती जस्ता देखिने दुई जोडीकी छोरी हुनुपर्छ। उनीहरूले लगाएका कपडा मैला र पुराना जस्ता देखिन्थे।
‘कोठा खाली होला म्याडम?’ श्रीमान् चाहिँले बोल्यो।
‘हेर्नु न दिदी! सरकारले एक्कासि बस्ती खाली गर भन्यो, कोठा खोज्दै पो आइयो,’ बार्दलीबाट केही उत्तर नआउँदै श्रीमती बोलिन्।
‘कोठा खोज्दै आउनु भएछ, हाम्रोमा त छैन अन्त कतै खोज्नुहोस् ल,’ बार्दलीबाट यति भन्दै आमा भित्र छिरिन्।
‘दोस्रो तलाका कोठामा पर्दा नदेखेर सोधेको हो, थियो कि खाली कोठा त? के हो के हो?....’ यस्तै गुनगुन केही समय बाहिर सडक सुनियो।
‘को रहेछन्? बस्छन् रे त?’ आमा भित्र छिर्ने बित्तिकै छोराले सोध्यो।
‘सुकुम्बासी रहेछन्, भाडा तिर्न नसक्लान् भनेर कोठा छैन भनिदिएँ,’ आमाले उत्तर दिइन्।
बाउको अनुहारमा हेर्यो छोराले। धेरै कुरा व्यक्त गर्न लागे झैँ देखिन्थ्यो बाउको अनुहार तर उनी मौन भए। सोचे होला सायद खाना खाने बेला के माहौल बिगार्नु। जस्तो कि सुकुम्बासी पनि मौनतामा नै निस्किए सोचे होलान्- फेरि देशको माहौल के बिगार्नु? बिगार्नु परे सायद हाम्रै भविष्य बिगारौँला न्यायको आशामा।