‘बुवाले छोडेर जाँदा जन्मेको मात्रै थिइस्, मैले अनेक हण्डर खाएर तँलाई हुर्काएँ, बढाएँ, पढाएँ। सुखका दिन आऊलान् कि जस्तो लाग्दै थियो, तैंले नै छोडेर जान लागिस्। भाग्यमा लेखेको कुरा नमेटिने रहेछ छोरा!’ निर्मलाले गहभरि आँसु पारेर भनिन्।
राजन उठेर आमाको नजिकै गयो र विनम्र भावले भन्यो, ‘हो आमा! तिमीले गर्नुसम्म दुःख गर्यौ। अब त रोग, शोक र उमेरले पनि गाली सक्यो, तै पनि रातदिन कपडा सिलाएर मलाई पाल्छ्यौ, तिम्रो यस्तो दुःखको कमाइ खाएर म कति दिन बसूँ? आफ्नो देशमा कुनै काम पाइँदैन अनि विदेश नगएर के गरूँ त आमा?’
निर्मलाले कुनै प्रतिक्रिया जनाइनन्। पोल्टोबाट एउटा पोको झिकेर उसलाई दिँदै भनिन्- ‘तेरो जिद्दीको अगाडि मेरो कहिले के लागेको छ र बाबु! तर मसँग तैंले मागे जति पैसा छैन, यिनै नाक कानका गहनाहरू छन्, लगेर बन्धकी राख् र कता पैसा बुझाउनु पर्ने हो बुझा। यो मंगलसुत्र चाहिँ बाँचिन्जेल लगाइ राख्ने रहर थियो। त्यतिले पुगेन भने यो पनि लिएर जालास्।’
आमाका मर्मभेदी शब्दहरू सुनेर राजन निःशब्द भयो। अमिलो अनुहार लगाएर पोको समायो र चुपचाप बाहिर निस्क्यो।
राजन हिँडेपछि निर्मला छतमा गइन्। चैतको महिनाको मध्याह्नको समय थियो। टन्टलापुर घाम लागिरहेको थियो। बतास छिनछिनमा मडारिँदै आउँथ्यो।
धूलो, पात पतिङ्गरहरू उडाउँदै लैजान्थ्यो। कुनै कुनै पातहरू अलि परसम्म पुग्थे, कुनै बत्तिएर त्यही झर्थे। निकैबेरसम्म प्रकृतिको त्यो चर्तिकला हेरेर बसिन्।
मनमनै सोचिन् – ‘आखिर हुरीले नउडाउने त के रहेछ र! चाहे यी पातहरू हुन् या मान्छेका सपना!’
राजन अबेर साँझ घरमा आयो। निर्मलाले चिया लिएर आइन्। बैठक कोठामा बसेर आमा छोरा कुरा गर्न थाले। राजनले आमालाई भन्यो- ‘आज मेनपावर कम्पनीलाई पैसा बुझाएँ, अब टिकट पनि आउँछ ... तर आमा ! तिमी एक्लै कसरी बसौली? तिम्रो ब्लडप्रेसरको औषधि कसले ल्याइदेला? बिरामी पर्दा कसले हेरिदेला भन्ने सोचेर मलाई औडाहा हुन थाल्यो ... नजाऊँ कि जस्तो पो लाग्न थाल्यो!’
भाग्यले कङ्गाल बनाइसकेकी निर्मला छोराको खुसीको लागि फेरि नाङ्गेझार भइन्। ऊ आफ्नो सपनाको संसारमा निश्चिन्त भएर रमाउन पाओस् भन्ने सदिच्छाले हौसला उसलाई दिँदै भनिन्- ‘ल ....! के भन्छ यो? ... हुने- हुनामी त रोकेर कसैले रोकिँदैन! तै पनि के भइहाल्ला र मलाई! त्यस्तै परे पनि तेरो मामा नजिकै छन्। नचाहिँदो चिन्ता नगर। पखेँटा लागेको उड्नकै लागि हो बाबु। आँट गरी सकिस्, अब ढुक्क भएर जा।’
राजनले राहत त महसुस गर्यो तर मन भने प्रफुल्ल भएन। तै पनि ऊ भोलिपल्टदेखि आफ्नो तयारीमा लाग्यो। निर्मला भने आफ्ना बेवारिसे दिनहरूका कल्पना गर्दै पिरोलिँदै बसिन्। दिनहरू पत्तै नपाई बितेर गए। अन्ततः निर्मलालाई कहिल्यै नआए हुन्थ्यो लागेको दिन आएर छोड्यो। अर्को दिन राजन दुबई प्रस्थान गर्ने भयो।
दुबई जाने अघिल्लो साँझ।
राजन बैठक कोठामा बसेर प्याकिङ गर्दै थियो। निर्मला खाटमा टोलाएर बसेकी थिइन्। अगाडि स्वर्गीय पति विक्रमको तस्बिर थियो– शान्त, सौम्य र गम्भीर मुद्राको। तस्बिर हेर्दै बहकिँदै गइन्। विगतका निर्मम स्मृतिहरूमा पुगिन्।
त्यति बेला देशमा सशस्त्र द्वन्द्वको डरलाग्दो कहर थियो। दिनै मानिसहरू मरेका र मारेका मात्रै समाचारहरू सुनिन्थे। विक्रम सल्यानको गुराँसेको लेकको टेलिफोनको टावरको सुरक्षामा खटिएको थियो।
अन्तिम पटक कुरा हुँदा उसले भनेको थियो- ‘अब एक महिना मात्रै त हो निर्मला, अर्को महिना बदली हुन्छ अनि त हाम्रा खुसीका दिन आइहाले नि!’
विक्रमले बदलि भएर त आउन पाएन। सात दिनपछि ऊ सरकारी हेलिकप्टरमा सेता कपडाका पोकामा बाँधिएर आयो। न अनुहार चिनिन्थ्यो न शरीर नै – सरकारी कागजलाई विश्वास गरेर उसको सद्गत गरिएको थियो। यसरी कलिलो उमेरमै उनको दाम्पत्य जीवनको बाटै मेटिएको थियो। यति बेला उनी त्यही क्षणमा पुगेकी छन् र उस्तै पीडाले आहत भएकी छन्।
***
राजनले प्याकिङ सकेर आमालाई झुलुक्क हेर्यो। आमा बेसार पात जस्तै पहेँलिएकी थिइन्। न आमाले उसलाई राम्रोसँग हेर्न सकिन् न उसले नै। दुबैको मन भारी थियो। भन्ने र सुन्ने धैर्य कसैमा थिएन। तै पनि एकछिन बसेर कुरा गरे। अन्त्यमा निर्मलाले भनिन्, ‘जा बुवा सुत्! नत्र भोलि गाह्रो हुन्छ तँलाई....’
ऊ उदास मन लिएर आफ्नो कोठातिर लाग्यो।
उनी झ्यालबाट बाहिरतिर हेर्न थालिन्। घर अगाडि सडक बत्तीहरू पिलपिलाइरहेका थिए। तर, अलि पर भने अँध्यारो उस्तै थियो। बेला बेलामा टोलका भुस्याहा कुकुरहरू कल्याङकुलङ गर्थे, एम्बुलेन्स र प्रहरीका गाडीहरू साइरन बजाउँदै दगुर्थे। तिनले रातलाई अझै भयावह महसुस गराउँथे।
निर्मलालाई डर लागे जस्तो भयो। त्यहाँबाट उठिन्। ओछ्यानमा गएर पल्टिन्। र आफैले आफैलाई प्रश्न गरिन्- ‘के हिजो मैले लोग्नेलाई युद्धमा जानबाट रोक्न सकें? भोलि छोरालाई नजा भन्न सक्छु? नियतिले किन सधैं मलाई यस्तै धर्म सङ्कटमा पार्छ? एउटा जीवन बाँच्नको मैले कति पटक मर्नुपर्छ?’
रातभरि मनमा यस्तै तर्कनाहरू चलिरहे। झिमिक्क ननिदाई निर्मलाले त्यो रात बिताइन्।
भोलिपल्ट बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो। राजनले ट्याक्सीमा सामान राख्दै थियो। निर्मलाले दैलोमा साइतको घडा थापिसकेकी थिइन्। पूजा थालीमा रातो दही-अक्षता पनि मुछेकी थिइन्। हेर्दाहेर्दै बिदाइको अत्यन्त कठिन पल आइपुग्यो। उनले काँपेका हातले छोरालाई टीका लगाइदिइन्। दहीको सगुन खुवाइन्। उनी त बोल्न सकिनन्। उनका आँसुहरूले मुटु फुट्ने गरी बोले। राजनले चरण स्पर्श गर्यो र अवरूद्ध कण्ठले भन्यो - ‘आफ्नो ख्याल गर्नू, धेरै पीर नगर्नू है आमा। म दिनदिनै भिडिओ कल गर्छु।’
राजन भावविह्वल भएर ट्याक्सी चढ्यो। निर्मलाले चुपचाप ट्याक्सीलाई हेरिरहिन्। ट्याक्सी ओझेल पर्यो। त्यसपछि उनी भावशून्य भएर भुइँमा बसिन्।
***
राजन दुबईको लागि एयर अरेबियाको जहाजमा बोर्डिङ भयो। उडेको एकैछिनमा जहाजले देशै नाघिसकेको थियो। तर, ऊ भने घरबाटै बाहिर निस्किन सकेको थिएन। आमाका काँपेका हातले टिका लगाइदिँदाको स्पर्श र उनको गाला हुँदै बग्दै गरेका आँसु र उनका निःसहाय आगतको कल्पनाले मर्माहत भएर बसेको थियो। हरेक पल असैह्य हुँदै गयो र उसले मनमनै भन्यो, ‘ हो रहेछ आमा! भाग्यमा लेखेको कुरा मेटिँदो रहेनछ!’
करिब पाँच घण्टामा ऊ दुबई पुग्यो। दुबइको ‘अलरिगा’ स्ट्रिटको ‘अल जनाह’ भन्ने होटलमा हाउस किपिङको काम गर्न थाल्यो। काम कल्पना गरे जस्तो त थिएन। तर, त्यो उसैले रोजेको बाटो थियो, नहिँडी सुख थिएन। काम गर्दै जाँदा ऊ निकै भावुक हुन्थ्यो, एकल आमाले चरम गरिबी बाबजुद उसलाई हुर्काउन, पढाउन गरेको दुःख र आफूले मरिमेटेर विशिष्ट श्रेणीमा बिबिए (BBA) पास गरेको कुरा सम्झिन्थ्यो, हातको झाडु – पोछा, मैला तन्ना र टाबेलहरू हेर्थ्यो र मुटुमा गाँठो पार्दै आफैलाई भन्थ्यो- ‘काम र माम दिन नसक्ने डिग्रीको पनि के अर्थ हुँदो रहेछ र!’
उसको ड्युटी सप्तरीको सुमन रजकसँग पर्थ्यो। हुन त उनीहरूका पृष्ठभूमि, भूगोल र जात त फरक थिए। तर, जीवनका भङ्गलाहरू उस्तै थिए। छोटै समयमा उनीहरू आत्मीय भए।
कुरै कुरामा एक दिन रजकले निकै भावुक भएर भन्यो- यहाँको संसार त अचम्मको रहेछ राजन! न छोडेर हिँड्न सकिने न बसेर उन्नति हुने। झुण्डयाइराख्दो रहेछ यो ठाउँले। घरमा आमाबुवा, श्रीमती र बच्चाहरू मेरै आश गरेर बस्छन्। तलब सबै पठाइदिन्छु तै पनि खानै पुग्दैन भन्छन्। यता आउने बेलाको ऋण कहिले तिरिसक्ने? कसरी परिवारको खान पान, शिक्षा-दीक्षा र उपचारको व्यवस्था मिलाउने? कहिलेकाहीँ त यतै मरिन्छ कि जस्तो पो लाग्छ त राजन!’
राजन स्तब्ध भयो। हातको भ्याकुम क्लिनरको पाइप भुइँमा खस्यो। रजकले वास्ता गरेन। एउटा निराश हाँसो छोडेर ऊ अर्कोतिर लाग्यो। त्यसपछि राजनले आफू पनि रजककै नियतिमा धकेलिँदै गएको अनुभूति गर्यो। त्यो दिन, दिनभरि नै ऊ व्याकुल भएर बस्यो।
अनुभूति जे जस्तो भए पनि समय बित्दै गयो। एकदिन ऊ दुबई क्रिकतिर गयो। विशाल पर्सियन खाडीको किनारमा उभिएर चारैतिर हेर्यो। त्यसपछि किनारैकिनार हिँड्दै गयो। मनमा अरू केही थिएन, आमा मात्रै थिइन्। यता आउने कुरामा आमाको अव्यक्त अस्वीकृति, आफ्नो हठसँग हारेको मातृत्वको त्यो मौन पीडा आफैले महसुस गर्यो।
घरबाट हिँड्दाका उज्याला सपना र यहाँको तितो यथार्थ पनि सम्झ्यो। त्यसपछि अरू केही पनि सम्झिन मन लागेन उसलाई। किनार भेट्ने लालसामा निरन्तर उर्लिने समुद्रका तिनै पराजित लहरहरू हेरेर टोलाइबस्यो।
क्रिकबाट कोठामा आइपुग्दा निकै अबेर भइसकेको थियो। खाना बनाएन। ओछ्यानमा गएर पल्टियो। त्यहीबेला आमाको भिडिओ कल आयो। मोबाइलमा आमा देख्नासाथ सारा मानसिक थकानहरू बिर्सियो। कल रिसिभ गर्यो। एकटकले उनलाई हेर्यो, चाउरी पर्दै गएको आमाको अनुहारमा कत्ति पनि कान्ति थिएन। त्यो देखेर मुटु निचोरिए जस्तै पीडा भयो। आमाले भनिन्, ‘यत्रो वर्ष कुनै दिन नछुट्टि बसेको, छ महिना भेट्न नपाउँदा त एक जुगै भए जस्तो लाग्दो रहेछ बाबु!’
गहभरि आँसु पारेर भन्दै गइन्, ‘एकपटक आइजो न, पछि फेरि फर्केलास् नि बरू’
आमाको ममतामयी शब्दहरू सुनेर ऊ विह्वल भयो, गम्लङ्ग अंगालो हालेर रोउ जस्तो लाग्यो। तर, विडम्बना! ऊसँग आउने, जाने प्लेन भाडा र आमालाई दुई जोर राम्रा कपडा किनेर लैजाने पैसा पनि थिएन।
आमाले फेरि सोधिन्, ‘धेरै गाह्रो भएको भए छोडेर आइजो, यत्रा वर्ष त चलेको थियो, अब पनि चल्छ बाबु!’
राजनको मुख च्याप्प सुकेको थियो, बलैले घुटुक्क थुक निल्दै भन्यो - ‘गाह्रो भएको छैन आमा! अलि पछि आउला म, बरू तिमी आफ्नो ख्याल गर्नु।समयमा औषधि खानु, दुःख नकाट्नु है!’
यस पटक उसले आमासग लामो कुरा गर्न सकेन। छोटैमा टुङ्गायो। बरण्डामा गएर वरिपरि हेर्यो। दृष्टिले नभ्याउने पर्सियन खाडीलाई अँध्यारोले खर्लप्पै निलेको थियो। कतै केही पनि देखिँदैनथ्यो। कोठामा आयो, झ्याल ढोका बन्द गरेर ओछ्यानमा पल्टियो। निदाउने प्रयास गर्यो। तर, पटक्कै आँखा लागेनन्।
हेर्दाहेर्दै जिन्दगीको नसोचेको मोडमा पुगिसकेको थियो। दिनदिनै ऊ विरक्तिँदै गयो, तर काम छोडेर फर्किन भने सकेन कहिलेकाहीँ ऊ निकै असमञ्जसमा पर्थ्यो र आफैलाई सोध्थ्यो- मालिकको निरन्तर हेपाइ सहेर यही न्यून तलबमै चित्त बुझाएर बसूँ? या फर्केर घर जाऊँ? गएँ भने आमालाई के जबाफ दिऊँ? बन्धकी राखेका उनका गहनाहरू कसरी निखनूँ? कता काम खोजूँ ? के गरेर बाँचू?’
कुनै निष्कर्षमा पुग्दैनथ्यो र आफैसँग दु:ख पोख्दै भन्थ्यो- राज्य नै निकम्मा भएपछि नागरिकले पनि कहाँ बाटो पाउँदो रहेछ र!’
एकदिन बिहानै मामाको टेलिफोन आयो। पहिला कहिल्यै गर्दैनथे, कुनै अनिष्टको आशंकाले उसको मनमा चिसो पस्यो। उसले हेलो भनिनसक्दै मामाले सिधै भने- ‘भान्जा! आमालाई अस्पताल भर्ना गरेको छु। डराउनु पर्ने त छैन तर आउन चाहिँ आऊ!’
उसले अतालिँदै सोध्यो- ‘केही भइसकेको त होइन नि मामा?’
‘होइन भान्जा, अहिलेसम्म ठिक छ।’
‘अहिलेसम्म ठिक छ’ को अर्थ कहिलेसम्म हो भन्ने कुरा दिमागमा घुमिरह्यो। मन त्यहाँ अडिनै मानेन। रजकलाई बोलायो। उसलाई लिएर अफिस गयो। त्यो महिनाको तलब बुझ्न बाँकी थियो। त्यही लिएर हिँड्यो। त्यही पैसाले टिकट काट्यो। रजकले उसलाई एयरपोर्टसम्मै पुर्याउन आयो र छुट्टिने बेला भावुक हुँदै भन्यो- ‘पीर नगरी जा राजन, आमाको राम्रोसँग उचार गर। मेरो तर्फबाट यो २० हजारको फलफूल किनेर लगिदे। यहाँ कुबेरको खजाना भेटिँदैन भन्ने थाहा पाइहालिस्,अब दोबाटोमा साग बेचेर भए पनि आफ्नै देशमा आमासँगै बस्। म फर्किन सकिछु भने नेपालमा भेटौंला, होइन भने एउटा साथी थियो, उतै मरूभूमिमा लड्दै होला भनेर सम्झिनू।’
राजनको जहाज काठमाडौंको लागि उड्यो। झ्यालबाट जमिनतिर हेर्यो। मरूभूमिको छातीमा ठडिएका ती सुन्दर महलहरू कत्ति पनि आकर्षक लागेन उसलाई। सडकमा कमिलाका ताँती जस्तै गुडिरहेका गाडीहरू भने आफै जस्ता लागे-ती गन्तव्य भेट्न व्यग्र थिए, ऊ आमालाई भेट्न। करिब पाँच घण्टाको तनावपूर्ण यात्रापछि काठमाडौं ओर्लियो।
ट्याक्सी लिएर सिधै अस्पताल पुग्यो। मामा बरन्डामा बसेका थिए। उसलाई देख्नासाथ मामा खुसी भए। उनले वार्डतिर लिएर गए। अनेक उपकरणहरूले जेलिएकी आमालाई देखेर ऊ स्तब्ध भयो। केहीबेरपछि आमाको गोडा समाउदै अबरूद्ध आवाजमा भन्यो– ‘म आइपुगें आमा !’
आमाले ओठ चलाइन तर आवाज निस्केन। शिथिल हातहरू विस्तारै ऊतर्फ बढाइन्। उसले च्याप समात्यो र गहिरो पछुतो भावकासाथ भन्यो, ‘तिमीलाई एक्लै छोडेर जानु हुँदैनथ्यो! मैले ठुलो पाप गरें आमा।’
निर्मलाले आँखा चिम्लिन्। आँखा चिम्लिँदा परेलाले गह निचोर्यो। मकैका गेडा जस्ता आँसु बरर् झरे। उसले हेर्न सकेन। पछाडि फर्कियो। पछाडि डाक्टर उभिएका थिए। उनले बाहिर लगेर भने - ‘ अब अपरेसन रोक्न मिल्दैन, बेलुकासम्म ‘ओपन हर्ट सर्जरी’ गर्नै पर्छ। दश लाख जम्मा गरिदिनु होला।’
डाक्टरको कुरा सुनेर राजनको सातोपुत्लो उड्यो। मामाले पनि मुन्टो निहुँराए। झल्यास् उसले बुबाले काम गरेको निकायको अस्पताल सम्झ्यो। मामालाई लिएर त्यही पुग्यो। निर्देशकलाई भेट्यो। आमाको रिपोर्ट देखाएर आर्थिक सहयोगको याचना गर्यो। तर, उनले भावहीन शब्दमा भने- ‘हेर्नुस्, हाम्रो निश्चित प्रकृया हुन्छ। पहिला बोर्डको बैठक बस्नुपर्छ, त्यसले सिफारिस गर्नुपर्छ र माथिबाट स्वीकृति पनि आउनु पर्छ। कागजकै भरमा दश लाख दिन मिल्दैन राजन बाबु!’
‘त्यतिबेलासम्म आमाको प्राणै गयो भने? ’- राजनले सोध्यो।
‘जन्म र मृत्यु त कसको बसमा हुन्छ र राजन भाइ!’
राजनले कुरा बुझ्यो, जुरूक्क उठेर हिँड्यो। कोठाबाट निस्केपछि मामालाई भन्यो- ‘देख्नुभयो त मामा! एकातिर पहिला पैसा बुझा अनि मात्रै शल्यक्रिया गर्छु भन्छ, अर्कोतिर प्रक्रिया पुग्यो भने मात्रै उपचारको बाटो खुल्छ भन्छ। प्रक्रियाको परिबन्धमा परेका हामी निमुखाले गुहार्न जाने ठाउँ कहाँ छ? समय कहाँ छ?’
मामा बोल्न सकेनन्। चुपचाप आँखा मुसारे। ऊ नजिकैको कपुरको रूखको छायाँमा गएर बस्यो। पसिना पुछेर निकैबेर सोच्यो। मामालाई अस्पताल पठायो र आफू घरतिर दौडियो।
घर पुगेर आमाको बाकस खोल्यो। रातो मखमलले बेरेको एउटा पोकोमा बुबाको मरणोपरान्त वीरता पदक र अर्कोमा घरको लालपुर्जा भेट्यो। त्यो लिएर हस्याङफस्याङ गर्दै पुनः अस्पताल गयो। मामालाई लालपुर्जा दिएर पैसा खोज्न पठायो।
मामा पैसा खोज्न गए, ऊ आमाको नजिकै गएर बस्यो। उनको होस हराइसकेको थियो। श्वास पनि बढिरहेको थियो। मामालाई पटक -पटक फोन गर्यो तर सम्पर्क भएन। उसको पसिना छुट्दै थियो। त्यही बेला डाक्टरहरू आए। अगाडिको टिभी ‘मनिटर’ हेरे। उसलाई बाहिर पठाए। करिब आध घण्टा जति पछि एक जना बाहिर आएर भने- ‘हामीले सक्दो प्रयास गर्यौं तर सफल भएनौ!’
राजनको दिमाग शून्य भयो। दौडेर वार्डमा गयो। आमालाई सेतो कपडाले छोपिएको थियो। कपडा पल्टाएर हेर्यो। मंगलशुत्र गलामै थियो। तर, देहमा प्राण थिएन। अनुहारमा गहिरो शान्ति थियो, लोग्नेको शोक थिएन, छोराको विरह थिएन। निस्तव्ध शान्ति थियो, अरू केही पनि थिएन।
बुबाको पदक आमाको छातीमा राखिदियो र विलौना गर्दै भन्यो- ‘के गरूँ आमा! यो देशका लागि बुवाले जीवनै उत्सर्ग गरे! तिमीले आफ्नो सिउँदोको सिन्दुर दियौ, सारा सपना दियौ, खुसीहरू दियौ। तर, त्यो संवेदनाहीन कुर्सीले तिम्रो आँसुको दह देखेन, मुटुको कहिल्यै निको नहुने घाउ देखेन। तिमी बाँच्ने आशमा झुण्डिरहयौ, तर यो देशको तन्त्रले आफ्नो प्रक्रिया मात्रै बचायो, तिमीलाई बचाएन।’
समाप्त