जब कोही हराउँछ नजरबाट
आँखाहरूले हरेक भीडमा उसैलाई खोजिरहन्छन्
यो हजारौँको भिडमा किन शून्यताले
पिरोलेको होला?
किन म एकातिर, सारा शहर अर्कोतिर हुँदैछ अचेल?
किन मन मनजस्तो नभएको होला?
किन उसले भनेजस्तै ढुङ्गा नै भइसकेको हो र?
सोच्दासोच्दै बरर आँखाबाट आँसु खस्छ
तब न पुछिदिने मान्छेको कमी महसुस हुन्छ।
मलाई थाहा छ
ऊ फर्किन चाहँदैन
ऊ आफ्नै शून्यतामा हराउन चाहन्छ
खोजिरहन्छ यी आँखाहरूले
तर थाहा छ ऊ पटक्कै फर्किन चाहँदैन
एक्लै बस्न चाहन्छ
कतै हराउन चाहन्छ
तर उसलाई पर्खेर बसेको त्यो मान्छेलाई
न भोकले छुन्छ
न निद्राले अँगाल्छ।
ऊ पर्खिरहन्छ
एकनास बाटो हेर्दै
जसरी बचेराहरू
गुँडमा माउलाई पर्खिन्छन्।
भोक लागेर होइन
एक्लोपनको डरले।
समय त कति बलवान छ
म रोकिएँ, मेरो श्वास रोकिए पनि
घडीका सुईहरू घुमिरहन्छन्
रातहरू बितिरहन्छन्
एक्लोपनले सताइरहन्छ।
सुनसान रातमा कोही आएजस्तो
झ्यालबाट आउने हरेक आवाजमा
लाग्छ— सायद ऊ आयो कि।
तर ढोका उस्तै बन्द रहन्छ,
मनको ढोका र तिमी आउने आशा भने खुल्लै रहन्छ।
उसले आफूलाई बिर्सिन्छ
तर उसैमा हराउँदा हराउँदै
शून्यतामा शून्य सरि नै गुमनाम हुन्छ।
बिर्सिने सबै बिर्सेलान्
खोला तर्नेले त लठ्ठी बिर्सिन्छ भन्छन्।
तर ऊ कसैको परवाह नगरी
मनमा आशाको दियो बाल्दै
ऊ पर्खिरहन्छ
त्यसरी नै,
जसरी वर्षाको बाटो हेर्दै
सुक्खा धरतीले बादल पर्खिन्छ।
एक भोकोले खाना पर्खिन्छ,
अँध्यारोले बिहान पर्खिन्छ
अन्यायमा परेकोले न्याय पर्खिन्छ
जसरी टुहुरा सपना बोकेका आँखाले
एउटा उज्यालो बिहान पर्खिन्छन्,
र जसरी
सानो बचेराले गुँडभित्र बसेर
माउको स्पर्श पर्खिन्छ।
अनि म उसैलाई।
कहिलेकाहीँ
जानेहरू फर्किँदैनन्
फर्किनेहरू पनि त फर्किँदैनन्,
तर पर्खिने मनले
पर्खन कहिल्यै छोड्दैन।
झरी बादल हावा हुरीको परवाह नगरी
पर्खिरहन्छ।
जसरी क्षितिजपारिको दियो हेरेर
कोही ढुक्कसँग बस्छ
सहारा ठानेर।
पर्खनु पनि त कोही आउँछ भन्ने आशा हुनु हो।
कोही आउने नै छैन भने त
यो पर्खाइमा यो संसार किन रुमलिन्थ्यो र?
कोही छ, नजिक छ यतै कतै छ
वरिपरि छ।
आँसुको लक्ष्मणरेखा नाघेर त
कसलाई हराउन मन होला र?
सारा संसार एकातिर हुँदा पनि
म एक्लो वृहस्पति बनेर पर्खिरहन्छु है।