चिहानबाट होइन,
बेचिएको कारखानाको भग्नावशेषबाट निस्किए मार्क्स
कोटमा उन्नाइसौँ शताब्दीको धुलो थियो,
तर आँखामा एक्काइसौँ शताब्दीको महाव्याधि।
उनले 'घोषणापत्र' तेर्स्याउँदै सोधे-
‘कमरेड, के इतिहासले मुक्ति पायो?’
मैले भनेँ-
‘बाजे, इतिहास त लिलाम भयो!
तपाईंको 'द्वन्द्वात्मक भौतिकवाद' अचेल
'दाउपेचात्मक कमिसनवाद'मा अनुवाद भएको छ।
यहाँ ‘वर्ग संघर्ष’ मर्यो बाजे,
केवल ‘पदसंघर्ष’ चल्दैछ।
हँसिया र हथौडाको के कुरा गर्नु?
अचेल हँसियाले जनताका सपना खुर्किन्छन्,
र हथौडाले शासकका अहंकारका बुर्जाहरू ठडिन्छन्।’
उनले बरबराए-
‘संसारका मजदुरहरू एक हौ! भन्ने नि?’
मैले शान्त भावमा-
‘मजदुरहरू त एकै छन् बाजे,
खाडीको तातो बालुवामा पसिना बगाउँदै,
कोही त्यहीबाट बाकसमा फर्किँदै छन्।
कोही यही ‘श्रम’ नपाई बसेका छन्।
कमरेडलाई ‘सरम’ छैन बाजे!
अनि.. तपाईंका अनुयायीहरू भने,
तपाईंकै 'वाद'को अफिम सुँघाएर
आफ्नै वर्गलाई लट्ठ्याउने नयाँ 'पुजारी' बनेका छन्।’
मार्क्सले चस्मा पुछे र मौन रहे
उनी फेरि त्यही भग्नावशेषमा हराउनुअघि मैले देखेँ-
उनी निकै डराइरहेका थिए!
कतै यी कमरेडहरूले-
उनकै सेतो दाह्री काटेर,
बजारमा 'साम्यवाद'को नयाँ 'ब्रान्ड' पो बेच्ने हुन् कि!