जसरी नाङ्गो मानिसलाई नाङ्गो भन्न नसकेर
सामाजिक कचहरी अनिर्णित हुन्छ!
त्यतिबेला अबोध बालकले कुरिकुरी गर्दा
कचहरी निशब्द हुन्छ र सत्यबोध हुन्छ
त्यसैले त पातलो धर्सोमा गएर
अड्किदो रहेछ जिन्दगी
भङ्गालो र मुल्छाहरूमा नडग्ने अहंकार
विश्वासका साना-साना बहावमा गएर अडिँदो रहेछ।
बेकाबु बतासले हल्लाउन नसक्ने अभिमान
स्वाभिमानका सिर्सिरे हावासँग कायल हुँदो रहेछ
डढेलोको अघि अविचलित हुने मानवीय अहं
स्पर्शको न्यानो रापले जल्दो रहेछ।
हिमवतखण्डका चिसाचिसा गुफाहरूमा
जमेको अविश्वास पगाल्न
विश्वासको उज्यालोले पोतिएको
एक झल्को रश्मीको किरण काफी हुँदो रहेछ।
केही धापहरू हुनेरहेछन्
जसले मांसपेशीमा स्पर्श मात्रै गराउँदैनन्..
अन्तरमनमै तरङ्गित पार्दै जीवन जिउनुको
सार्थकता अनुभूत गराउँछन्।
केही पापहरू हुनेरहेछन्
जसले गौडो-गौडोमा फाले मात्रै लगाउँदैनन्..
इन्द्रियहरूमा जीवनभर आगो लगाउँदै चिहानमा
पुगेपछि मात्रै सेलाउँछन्।
केही रापहरू हुनेरहेछन्
जसले सुषुप्त रूपमा उकुसमुकुस मात्रै गराउँदैनन्
सुतिरहेको योद्धालाई जगाउँदै विस्फोट गराउँछन्।