‘ममी! अघि पुलिसहरू गाडीमा ठुलो माइक लगाउँदै हिँडिरहेका थिए नि! साइलाहरू त डराएनन्, गाडीको पछि-पछि दौडिरहेका थिए, म त दौडिनँ नि!’ आठ वर्षको विवेकले तरकारी पकाइरहेकी आफ्नी आमा सावित्रीलाई उत्सुकतापूर्वक भन्यो।
‘ठिक गरिस्, त्यसरी दौडिनु हुँदैन,’ सावित्रीले भनिन्।
‘तिनीहरू को हुन् ममी? किन माइकमा भन्दै हिँडेका?’ विवेकले कोठाभित्र केही खोज्दै फेरि सोध्यो।
‘पुलिसहरू हुन्,’ सावित्रीले छोटो उत्तर दिइन्।
‘डोजर लगाएर हाम्रो घर भत्काउने रे ममी, हो र?’ खाटमुनिबाट बल निकाल्दै विवेकले सोध्यो।
‘खै, त्यस्तै भन्छन्,’ सावित्रीले भनिन्।
उनले छोरातिर हेरिन्। आठ वर्षको बालकले पनि थाहा पाइसकेको थियो— थापाथलीको सुकुम्बासी बस्ती, जसलाई उनीहरूले आफ्नो घर मानेका थिए, अब डोजर लगाएर हटाइने चर्चा भइरहेको थियो।
‘बाबाले पनि रोक्न सक्नुहुन्न हो?’ विवेकले भित्तामा झुन्डिएको आफ्नो बुवाको तस्वीरतिर हेर्दै भन्यो। तस्वीरमा कमानसिंह युवावस्थामा हाफभेस्ट लगाएर मुस्कुराइरहेका थिए।
सावित्री केही बोलिनन्। सायद विवेकले आफ्ना बाबुलाई अझै पनि कुनै शक्तिशाली व्यक्तिका रूपमा कल्पना गर्थ्यो। त्यो विश्वास तोड्न उनी चाहँदिनथिन्।
‘मेरो साथी आयुषहरूको घर त नभत्काउने रे ममी! हाम्रो मात्रै किन भत्काउने?’ विवेकले फेरि प्रश्न गर्यो।
‘किन रे?’ सावित्रीले उल्टै सोधिन्।
‘उनीहरूको त कागज छ रे! हाम्रो कागज छैन र?’
‘खै, बाबालाई थाहा होला,’ सावित्रीले भनिन्।
‘बाबाले पुलिसलाई भनेपछि मान्दैनन् र?’
सावित्रीले उत्तर दिइनन्। उनलाई थाहा थियो, यस्तो निर्णय कसैको व्यक्तिगत आग्रहले रोकिने अवस्था थिएन।
‘बाबाको साथी पुलिस छ भनेको होइन र ममी, अस्ति बाबाले?’
‘अहिले बाबा आएपछि सोध,’ सावित्रीले भनिन्।
‘मेरो साथी निर्मलले भनेको, हामीलाई अर्कै ठाउँमा लग्छ रे! निर्मल, प्रतिभा, आशिष र म फेरि सँगै बस्न पाइन्छ?’
‘पाइन्छ बाबु,’ सावित्रीले सान्त्वना दिँदै भनिन्, ‘तिम्रा सबै साथीहरूसँग फेरि भेट हुन्छ।’
साँझको खाना पाकिसकेको थियो। सावित्रीले टिनको एक कोठे घरको ढोकाबाट बाहिर हेरिन्। बिस्तारै अँध्यारो फैलिँदै थियो। बागमती नदीको पानी कालो देखिन थालेको थियो।
केही घर पर उनको माइती थियो। त्यहीँ उनले कमानसिंहसँग प्रेम गरेकी थिइन् र पछि दुवैले प्रेमविवाह गरेका थिए। उनले माइतीतिर हेरिन्। वरिपरि सुनसान थियो। कमानसिंह कतै देखिएनन्।
उनी फेरि भित्र आइन् र खाटमा बसिन्।
‘ममी! हामीलाई टाढा लगेर राख्यो भने म स्कुल कसरी जाने?’ विवेकले आमासँगै बस्दै सोध्यो।
‘रोक न विवेक! कति धेरै कुरा सोधेको? बाबा आएपछि सबै सोध,’ सावित्रीले कोठाका सामानतिर हेर्दै भनिन्।
त्यत्तिकैमा पल्लो घरकी कान्छी आफ्नी सानी छोरीलाई लिएर भित्र आइन्।
‘सावित्री दिदी! हामीलाई त होटलमा लगेर राख्छ रे त! हो र?’ उनले सोधिन्।
‘ए कान्छी, आऊ बस। खै, कसैले रङ्गशालामा राख्छ भन्छन्,’ सावित्रीले उत्तर दिइन्।
विवेक र कान्छीकी छोरी बाहिर खेल्न गए। घरबाट निस्किनेबित्तिकै सडक थियो।
‘त्यहाँ मोटरसाइकल धेरै कुद्छन् है बाबु, छेउमा खेल्नु!’ सावित्रीले चिच्याएर भनिन्।
बच्चाहरूले सुने कि सुनेनन्, थाहा भएन।
‘त्यो परको चन्द्रे दाइले त होटलमा राख्छ रे भनेका थिए,’ कान्छीले भनिन्, ‘खाना पनि दिन्छ रे। तर कति दिन राख्ला र त्यसरी?’
‘खै! सीता दिदीले रङ्गशालामा लैजान्छ भनेकी थिइन्। उनले नगरपालिकामा काम गर्ने मान्छेलाई सोधेकी रे,’ सावित्रीले भनिन्।
‘अनि त्यहाँ कसरी बस्ने? टेन्ट बनाएर राख्ने हो?’
‘त्यो त थाहा छैन कान्छी,’ सावित्रीले टाउको हल्लाइन्।
त्यत्तिकैमा बाहिर ठुलो आवाज आयो। कसैले झगडा गरिरहेको जस्तो सुनिन्थ्यो।
दुवै जना बाहिर निस्किए।
नुवाकोटे कान्छा र श्याम एकअर्कालाई समातासमात गरिरहेका थिए। वरिपरिका मानिसहरूले छुट्याउने प्रयास गरिरहेका थिए।
‘तिमीहरू जस्ताले गर्दा आज सबैको घर भत्किने भयो!’ श्याम कराइरहेको थियो, ‘तेरो पहाडमा त जग्गा छ रे!’
‘छ! टन्नै छ! त्यही भएर तँजस्तासँग यहाँ आएर बस्नुपरेको हो?’ नुवाकोटे कान्छाले प्रतिवाद गर्यो।
अरू मानिसहरूले उनीहरूलाई अलग गरे। बच्चाहरू भने फेरि खेल्न थाले।
सावित्री र कान्छी भित्र फर्केर आए।
‘दिदी, तपाईँहरूको सामान यत्ति मात्रै हो?’ कान्छीले कोठातिर हेर्दै सोधिन्।
‘अँ, के छ र? यही नै हो,’ सावित्रीले भनिन्।
‘अनि टिभी, दराज, खाटहरू कसरी लैजाने?’
‘खै! सरकारी गाडी आउँछ रे,’ सावित्रीले बन्द टिभी तिर हेर्दै भनिन्।
‘सबै जथाभावी कोचारेर लैजाने हो भने त फुटाइदेलान् नि!’
‘त्यही त,’ सावित्रीले चिन्तित हुँदै भनिन्।
त्यत्तिकैमा विवेक दौडिँदै भित्र आयो।
‘ममी! आशिषहरू त हामीसँग नजाने रे! उनीहरू मधेस जाने रे, ठुलोबुवाकोमा!’
‘अनि त्यहाँ कति दिन बस्ने रे?’ कान्छीले सोधिन्।
‘त्यहीँ स्कुल छ रे! त्यहीँ पढ्ने रे!’ विवेकले एकै सासमा भन्यो।
त्यसै बेला कमानसिंह घरभित्र पसे।
‘यस्तो बेलामा पनि सबै आ-आफ्नै झगडा गर्छन्,’ उनले भने, ‘मिलेर बस्नुपर्ने बेलामा।’
कान्छी उठिन्।
‘ल दिदी, म जान्छु। हाम्रो पनि खाना खाने बेला भयो।’
उनी छोरीलाई लिएर बाहिरिइन्।
‘बाबा! हजुरको साथी पुलिस छ भनेको होइन?’ विवेकले तुरुन्तै सोध्यो।
‘थियो, अहिले अर्कै ठाउँमा सरुवा भएर गइसक्यो,’ कमानसिंहले उत्तर दिए।
‘उहाँलाई भनेर हाम्रो घर नभत्काउन भन्न मिल्दैन र?’
कमानसिंहले केहीबेर छोरातिर हेरे, अनि हल्का मुस्कुराए। त्यसपछि चुप लागे।
सावित्रीले खाना परोसिन्।
‘हामीलाई होटलमा राख्यो भने त ममीले खाना बनाउनै पर्दैन होला है?’ विवेकले भन्यो।
सावित्री कमानसिंहतिर हेरेर हल्का मुस्कुराइन्।
‘मैले धाराबाट पानी बोक्न पनि पर्दैन होला है बाबा?’
‘हो हो, अब चुप लागेर खाना खा,’ कमानसिंहले सम्झाए, ‘खाना खाने बेला धेरै बोल्नु हुँदैन।’
खाना खाइसकेपछि सावित्री जुठा भाँडा लिएर बाहिर गइन्। विवेक पनि पछि लाग्यो। बाहिर बाल्टिनमा पानी राखिएको थियो। सावित्रीले भाँडा माझिन्, विवेकले पानी खन्यायो। त्यो उनीहरूको दैनिक अभ्यास थियो।
‘सानो जात भनेर कसैले कोठा दिँदैनन् रे,’ कमानसिंहले भने, ‘त्यो परको टलक दाइहरू कोठा खोज्न जाँदा कसैले दिएन रे।’
केहीबेर मौनता रह्यो।
‘म यही बाबुजत्रो हुँदा प्युठानबाट यहाँ आएको,’ कमानसिंह बिस्तारै बोल्न थाले, ‘पहिरोले हाम्रो घर बगाइदिएको थियो। बाबा-आमासँग यहीँ आएँ। यहीँ हुर्किएँ। तिम्रो र मेरो बिहे पनि यहीँ भयो। बाबा-आमा बिते। लालपुर्जा दिन्छौँ भनेर वर्षौँ बिते। बाबु पनि यत्रो भइसक्यो। सानैदेखि यहीँलाई घर सम्झिएँ। तर आखिर यो हाम्रो रहेनछ।’
सावित्री चुपचाप सुनिरहिन्। उनका मनमा पनि उस्तै अन्योल थियो।
विवेक खाटको कुनामा पल्टियो। सावित्रीले उसलाई कम्बल ओढाइदिइन्। तर उसका आँखा अझै खुल्लै थिए।
‘बाबा, मेरो बल र क्रिकेट ब्याट पनि लैजान पाइन्छ होला है?’
‘पाइन्छ,’ कमानसिंहले भने, ‘सबै लैजान पाइन्छ।’
‘नयाँ ठाउँमा खेल्ने ठाउँ हुन्छ?’
‘हुन्छ बाबु, जहाँ गए पनि खेल्ने ठाउँ हुन्छ।’
‘अनि मेरा साथीहरू पनि सँगै हुन्छन्? विकास, निर्मल, प्रतिभा, सानी, आकाश...’
‘हुन्छन्,’ कमानसिंहले उसको टाउको मुसार्दै भने, ‘सबै भेटिन्छन्।’
‘अनि विकासको कुकुर ज्याकी पनि?’
यसपटक कमानसिंहले उत्तर दिएनन्।
उनी उठेर ढोका लगाउन गए। बाहिर सडक सुनसान भइसकेको थियो। अबेरसम्म गफ गर्ने मानिसहरू आफ्ना घरभित्र पसिसकेका थिए। सायद सबैजना भोलिका दिनबारे आफ्नै परिवारसँग कुरा गरिरहेका थिए।
बागमतीको पानी अँध्यारोमा अझ कालो देखिन्थ्यो।
कमानसिंहले बत्ती निभाए। माथि खाटमा सावित्री र विवेक सुते। कमानसिंह भने सधैँझैँ भुइँमा म्याट ओछ्याएर सुते।
केहीबेरपछि विवेक अचानक जुरुक्क उठ्यो।
‘डोजर आयो! डोजर आयो!’ उसले ढोकातिर औँला देखाउँदै चिच्यायो।
सावित्री र कमानसिंह दुवै झस्किएर उठे।
‘के भयो?’ कमानसिंहले सोधे।
विवेकले केही बोलेन। फेरि पल्टियो। ऊ निद्रामै बोलेको रहेछ।
‘सपना देखेछ,’ सावित्रीले छोरालाई थपथपाउँदै भनिन्।
कोठा अँध्यारो थियो। तर सावित्री र कमानसिंहका आँखा भने खुल्लै थिए।
विवेकका प्रश्नहरू अझै कोठाभित्र गुञ्जिरहेको जस्तो लाग्थ्यो। ती प्रश्नहरूको उत्तर न सावित्रीसँग थियो, न कमानसिंहसँग।