मलाई सधैँ लाग्थ्यो, माया–प्रेम सकिने बेला जोडिहरू अन्तिम पटक किन भेट्छन् होला भनेर। आज आफैँलाई त्यो अवस्था परेको थियो।
आजको साँझ अरू दिनजस्तो थिएन। तराईको मौसम त्यसै पनि गर्मी तर असार महिनामा दिनभर पानी परेर आकाशमा बादल थिए। हावामा अनौठो चिसोपन थियो, अनि मेरो मनभित्र एउटा नबुझिने डर। पाँच वर्षदेखि जसलाई आफ्नो संसार मानेको थिएँ, आज उसैसँग अन्तिम पटक भेट्न जाँदै थिएँ।
फोनमा उसले केवल यत्ति भनेकी थिई— ‘एक पटक भेट्न आउनु, अन्तिम पटक हाम्रो पहिलो भेट भएको ठाउँ।’
झन् दिमाग घुमेजस्तो भयो—’धनगढी, जोकर ताल’, जुन हाम्रो पहिलो भेट थियो। आज मनमनै कामना गर्छु, त्यो दिन तिमीसँग भेट नभएको भए हुन्थ्यो। आज यो छट्पटी, बेचैनी हुने थिएन होला।
म धेरै बेर ऐनाअगाडि उभिएँ। के लगाउने? के भन्ने? कसरी उसलाई हेर्ने? मनमा हजार प्रश्न थिए। तर उत्तर एउटै थियो— आजपछि ऊ मेरो हुने छैन। हामी सधैँ भेट्ने त्यो पार्कमा पुगेँ। उही बेन्च, उही रुख, उही बाटो… तर आज सबै फरक लागिरहेको थियो। किनकि आज प्रेमको अन्तिम अध्याय लेखिन लागेको थियो।
ऊ अलि पर उभिएकी थिई। सेतो कपडामा, आँखा राताम्मे। मैले देख्नेबित्तिकै मुस्कान दिन खोजेँ तर त्यो मुस्कानमा पीडा धेरै थियो।
‘आयौ?’ उसले बिस्तारै सोधी।
‘तिमीले बोलाएपछि नआउने कसरी?’ मैले जवाफ दिएँ।
केही समय हामी दुवै चुपचाप बस्यौँ। न हाँसो थियो, न पुरानो रमाइलोपन। केवल मौनता, जुन हजार शब्दभन्दा भारी थियो।
उनले बिस्तारै भनिन्— ‘तिम्रो बिहे हुँदैछ रे?’
म केही क्षण मौन भएँ। टाउको तल झुकाएर भनेँ— ‘हो… घरको मान्छेले मिलाएको।’
उसका आँखा फेरि भरिए।
‘हामीले त सँगै बुढो हुने सपना देखेका थियौँ नि…’
त्यो सुनेर मेरो मुटु एकछिन रोकिनेजस्तो भयो। पाँच वर्षको प्रेम, हजार सपना, लाखौँ कुरा— सबै आँखाअघि चलचित्रझैँ घुम्न थाले। मलाई अझै सम्झना छ— पहिलो भेट, पहिलो फोन, रातभर जागेर कुरा गरेको, सानातिना झगडा, फेरि मिलाप… अनि ‘कहिल्यै नछोड्ने’ वाचा। तर जिन्दगीले हाम्रो वाचाभन्दा ठुलो निर्णय गरिदियो।
‘म तिमीलाई दोष दिन्न,’ ऊ फेरि बोलिन्, ‘तर एउटा कुरा सम्झिनू, तिमीलाई कसैले म जति माया गर्न सक्दैन। हामी भौतिक रूपमा जति नै टाढा भए पनि यो मनको दूरी सधैँ नजिक नै हुनेछ। सुत्नुअघि सधैँ मेरो मानसपटलमा तिमी खेल्नेछौ।’
मेरो आँखाबाट आँसु झर्यो। पहिलो पटक उसले मेरो आँसु पुछिदिई। तर विडम्बना— आज अन्तिम पटक।
मैले उसको हात समाएँ।
‘यदि समय फर्किन्थ्यो भने, म फेरि तिमीलाई नै रोज्थेँ।’
ऊ हल्का मुस्कुराई, तर त्यो मुस्कानमा टुटेको मन लुकेको थियो।
साँझ बिस्तारै अँध्यारोमा बदलिँदै गयो। छुट्टिने समय आइपुग्यो।
उसले आफ्नो झोलाबाट एउटा सानो डायरी निकालेर दिई— ‘यसमा हाम्रो पाँच वर्षका सम्झना छन्, जसमा मैले दिएका सबै उपहार छन्। जब मलाई सम्झिन्छौ, खोल्नू।’
मेरो घाँटी अवरुद्ध भयो। म केही बोल्न सकिनँ।
त्यो दिन मैले प्रेम गुमाएँ। तर पाँच वर्षको माया कहिल्यै गुमेन।
पूरै पाँच वर्ष तिम्रो हात समातेर जिन्दगी बिताउने सपना देखेको थिएँ। तिमी बिना एक दिन पनि सोच्न नसक्ने म, तिमी बिना एक पल पनि कल्पिँदा छट्पटी हुने म, आज तिमीलाई आफ्नै हातले टाढा पठाउन बाध्य भएँ। माया सकिएर होइन, परिस्थिति अगाडि हारेर।
हाम्रो प्रेम गलत थिएन तर समय गलत थियो। परिवारको अवस्था, घरको जिम्मेवारी, समाजको कुरा अनि मानिसहरूको हाँसो— यी सबैले हाम्रो प्रेमभन्दा ठुलो ठाउँ लियो।
मन भारी थियो। तर अन्तिम भेट नभेटी कसरी बाँच्ने? म चुपचाप तिमीलाई भेट्न गएँ। उही ठाउँ, जहाँ कहिल्यै छुट्टिने कुरा गरेका थिएनौँ।
तिमीले मलाई हेर्दै भन्यौ— ‘हामी यति कमजोर थियौँ र?’
मैले गहिरो सास फेरेँ।
‘कमजोर होइनौँ, बस परिस्थिति बलियो भयो।’
तिमी रुन थाल्यौ।
‘पाँच वर्षको माया यत्तिकै सकिन्छ?’
मैले तिम्रो आँसु पुछ्दै भनेँ— ‘माया सकिएको छैन, बस हामीलाई त्याग्नुपरेको हो।’
घरको हालत राम्रो थिएन। परिवारको जिम्मेवारी काँधमा थियो। आफ्ना मान्छेको खुसीका लागि आफ्नै खुसी गुमाउनुपरेको थियो। समाज पनि यस्तो थियो— हामी रुँदा कोही हाँस्ने, हामी हार्दा कोही रमाउने।
त्यही भएर हामीले प्रेमभन्दा ठुलो त्याग रोज्यौँ।
तिमीले रुँदै भन्यौ— ‘तिमी बिना बाँच्न सकुँला?’
म पनि भित्रभित्रै टुटेको थिएँ। तर आँसु लुकाएर भनेँ— ‘बाँच्नुपर्छ किनकि कहिलेकाहीँ माया पाउनुभन्दा सम्झनामा राख्नु ठुलो हुन्छ।’
हामी धेरै बेर चुपचाप बस्यौँ। बोल्न खोजेका हजार शब्द घाँटीमै अड्किएका थिए।
तिमीले अन्तिम पटक मेरो हात समात्यौ र भन्यौ— ‘यदि अर्को जन्म साँच्चै हुन्छ भने, म फेरि तिमीलाई नै खोज्नेछु तर त्यो जन्ममा परिस्थिति हाम्रो विरुद्ध नहोस्।’
मेरो आँखाबाट आँसु झरिरहेकै थियो।
पहिलो पटक लाग्यो— माया हार्दैन, परिस्थिति जित्छ।
छुट्टिने बेला आयो। तिमी बिस्तारै टाढा गयौ। बीच बाटोमा एकपटक फर्केर हेर्यौ। त्यो नजरमा गुनासो पनि थियो, माया पनि थियो अनि अधुरो सपना पनि।
आज तिमी टाढा छौ। म पनि आफ्नै जिम्मेवारीमा हराएको छु।
तर राति कहिलेकाहीँ मनले सोध्छ— ‘यदि परिवारको स्थिति राम्रो भएको भए, के आज हामी सँगै हुन्थ्यौँ?’
र मनभित्रबाट एउटा आवाज आउँछ— ‘हामी रुँदा कोही हाँस्छन् भनेर त्याग गरियो तर माया कहिल्यै सकिएन।’
आज पनि कहिलेकाहीँ त्यो पार्कको बेन्च सम्झिन्छु। त्यो अन्तिम भेट सम्झिन्छु। अनि मनमनै सोच्छु— ‘कतै उसले पनि मलाई सम्झिरहेकी होला?’