पहिलाका गोठालाहरू—
चिटिक्क देखिन्थे,
टक्क दौरा–सुरुवाल,
टिलिक्क जुत्ता,
रङ्गिन टोपी लगाउँथे।
मिठो बोल्थे,
ठुला–ठुला गफ गर्थे,
आकाश–पाताल एक पार्थे,
तर काम गर्दैनथे—
बरु दूध चोर्थे।
गोठ गोबरले भरिन्थ्यो,
झिँगाहरू भन्किन्थे
झ्याल–ढोका खुला छोडिन्थ्यो
छिमेकीहरू निर्बाध आउँथे–जान्थे
मानौँ गोठको ढोका होइन,
सिमाना नै हराएको थियो।
गोठ भद्रगोलमा हुन्थ्यो
भित्रभित्र माकुराले
सयौँ जालो टाँसेका हुन्थे
धुलो र मैलोको बादलले
गोठलाई नै ढाकेका हुन्थे।
तर गोठालाहरू
मजाक गरेर दुनियाँ हँसाउँथे
अनि आफ्नै आत्मरतिमा रमाउँथे।
अहिलेका गोठालाहरू—
धेरै बोल्दैनन्
खासै नियम र अनुशासन मान्दैनन्
कालो लुगा लगाउँछन्
कालै चस्मा ढल्काउँछन्
तर बिहानदेखि साँझसम्म
गोबर सोरिरहन्छन्
पानी–चारा मिलाइरहन्छन्
भत्किएको गोठ बनाइरहन्छन्।
तीन महिनामा गर्ने काम
एक महिनामै सिद्ध्याउँछन्
फटाफट यति छिटो हिँड्छन् कि—
मानौँ यिनलाई
गोठ सुधार्ने,
सजाउने
हतारो छ।
अनुहार रुखो होला तर
नियत सफा देखिन्छ,
परम्परा तोडेका छन्
तर गोठप्रति बफादार देखिन्छ।
तर तिनलाई पनि स्वेच्छाचारी बन्ने छुट छैन—
अहंकारभन्दा यहाँ अर्को ठुलो झूट छैन।
ज्ञातव्य रहोस्,
खरानीभित्र पनि
अझै अंगार बाँकी हुन्छ
र पछि त्यही अंगार नै
फेरि आगो बन्न सक्छ।