फूलहरू फक्रेनन्
तुसारोले खाएपछि
हिमालहरू हाँसेनन्
हुस्सुले ढाकेपछि
म व्यर्थै दौडिरहेँ
उसको यात्रा टुट्दा पनि।
मलाई खेद्नेहरू
सकसमा परेका छन्
म अप्ठेरो भिरमा हिँडिरहेको छु
तिनीहरू मलाई पासो थाप्छन्
म पासो चुँडालेर
गन्तव्य टेक्छु।
तिनीहरू मेरो यात्रामा भयभीत हुन्छन्
मेरो यात्रा
मेरो जिन्दगी हो
मैले आफैले
जिन्दगीको गीत लेख्नु पर्छ।
शब्दहरू छरिएका होलान्
शब्दहरू मिलाउनु पर्ला
अर्थहरू हराएका होलान्
अर्थहरू खोज्नु पर्ला
जीवन अथाह समुद्र हो
जीवनको गीत लेख्न पनि
सिङ्गो जीवन पढ्नु पर्ला।
म जिन्दगीको गीत लेख्छु
तिनीहरू मृत्यु गीत गाउँछन्
म अमरत्वको कुरा गर्छु
तिनीहरू दासत्वका कुरा गर्छन्
म मूलबाटो हिँडौँ भन्छु
तिनीहरू चोर बाटो हिँडौँ भन्छन्
म हाँसेर बाँचौँ भन्छु
तिनीहरू रोएर बाँच् भन्छन्
म दिएर खाऔँ भन्छु
तिनीहरू लुटेर खाऔँ भन्छन्
तिनीहरू निष्ठाहीन छन्
म निष्ठाको कुरा गर्छु।
म कयौँ पटक अवाक् बनेको छु
आमाको स्मृतिमा
आमा ऊर्जा भर्थिन्
म संकल्पको लडाइ लड्थेँ
आमा जीवनको गीत गाउँथिन्
म जीवनको गीत लेख्थेँ।
आमा स्नेहकी मुहान थिइन्
दुख-सुख विपत्तिमा
मलाई याद छ
आमासँग झगडा गर्दै
मैले घाम-जून मागेको
मलाई कोक्रोमा सुताएर
अनेकौँ बुहार्तन बेहोर्दै
साँझ बिहान लेकबेसी गरेको
जब म लाडिएर काखमा सुत्थेँ
थकित आमाका आँखाबाट
पीडामा आँसु तप्प झर्थे
थाहा थिएन मलाई
आमा किन रुन्थिन्?
मेरो टाउको सुमसुम्याउँदै
सायद, वात्सल्य बग्यो या पीडा
तिर्नै नसकिने
दश धारा दूधको भारा बोकाई
आमा,
श्रद्धाको फूल चढाउँछु तिमीलाई
आज आकाश खुलेको दिन छ।