कलियुगमा अचम्मको धेरै चिज
हुन सक्छन्
अप्ठ्यारो नमान्नु यहाँ
पाप रोपेर पुण्यको सपना देख्ने
यत्रतत्र देखिन सक्छन्!
कलियुगमा।
त्यस समय,
गौतम बुद्धलाई दुख दिएर
बदनाम देवदूत भएको थियो
साँच्चै कुँडिएका त स्वयं पिता बनेका
शुद्धोदन पनि हुन सक्छन्।
कलियुगमा,
दार्शनिकले स्वयं सतीत्वको
अपहरण गरेको हुन सक्छ,
दुर्जनले विद्वानको भेषमा
सभा हाँकेको हुन सक्छ,
न्यायालयमा न्यायको व्यापार हुन सक्छ,
शिक्षालयमा नैतिकताको व्यापार हुन सक्छ
त्यस समय,
मुख्य दोष त शकुनिको
चालको थियो
दुर्योधन दुशासन त कर्मले नै बदनाम छन्,
यहाँ त स्वयं कृष्ण बनेर
द्रौपदीको वस्त्र हरण गरिएको पनि
हुन सक्छ!
सत्य युगमा,
माताको रूपमा पुजिएकी पात्रले
आफ्नै भतिजलाई वनबास पुर्याइन्
रामको कथामा कैकेयीभन्दा ज्यादा
चाल त दासी बनेर आएको
गलत पात्रको हुन सक्छ
कलियुगमा,
बेकार हुँदैन कुनै छोराछोरीको आँसु
जहाँ समाजको पासो थापेर
कर्तव्यबाट भाग्ने र मेहनती सन्तानलाई
उल्टै स्याबास पनि
नदिनेहरूबाट कहीँ कतै
त्यसै पनि सन्तानहरू जबरजस्ती
नालायक
बनाइएका हुन्छन्।
कलियुगमा,
गलत तत्त्व कृष्णको भेषमा पनि
घुमेको हुन्छ,
र सजिलै सरल स्त्रीको सर्वस्वहरण गर्दछ,
राधा बनाएर प्रेमपूजा गर्छु भन्छ,
उद्देश्य पूरा भएपछि समाजको
पासो थापेर नगरबधू बनाउँछ,
र ऊ फेरि पूजनीय पवित्र बनेर यात्रामा निस्कन्छ
अर्की राधा फसाउन।
कलियुगमा,
यदाकदा छोरीकै बदनाममा
त्यही कुलको काका पर्ने
लागेको हुन सक्छ,
झन् पराई घरको त के कुरा सम्पत्तिमै
धेरै प्रकारको पासो थापेर
जिउँदो चिहानको यात्रा गराइन्छ,
सज्जन स्त्रीलाई बदनाम गराई
कुटिल चालबाज हरूलाई आधुनिकताको
संज्ञा दिएर कूलभरि प्रचार गराइन्छ।
हिजो सम्मको चुरापोते
लुगामा सभ्यता खोज्नेहरू
आज मजाले बिकिनीका
स्वपिसमा सजिएकालाई वाह-वाह
गर्दै तमाम प्रशंसा बर्साइन्छ।
कलियुगमा,
छोरीको चेतना बुझ्ने ज्वाइँको निम्ति
मन्दिरको कुना कुनामा भक्ति
आराधना गरिन्छ,
बुहारीको मन बुझ्न खोज्ने छोरा
हरबखत नालायक ठहरिन विवश हुन्छ।
कलियुगमा,
नारीहरूको सम्मान पैसामा तौलिन्छ
पैसा नभए पराईदेखि आफ्नै रगतको
साइनो सम्मलाई बोझ बनी
लासलाई मात्र साइनो लगाइन्छ
जिउँदै हुँदा आँसु देख्न मन छैन
सक्षम नभई बिहे नामबाट पन्छाउन
सजिलो लाग्छ
म जाँदिन भन्दै रुँदा फेरि समाजको पासो
थापिन्छ, हुत्त्याइन्छ गोहीहरूको कुण्डमा
र
कहीँ कतै दुष्टताको आहारा बनिसकेर
तृप्त पारेर पुनर्जीवन प्राप्त भएको
देखेपछि तमाम इच्छा पूरा नगरेको
आरोपमा बाण चलाइन्छ!
कलियुगमा,
स्तन बोकेका हरेक स्त्री पूजनीय माता हुँदैनन्
पूतना, कैकेयी र सुपर्णखा पनि हुन सक्छन्
हरेक कृष्णको भेषमा घुमेका पुरुष
आफ्नै दैलो भित्र अन्यायको चरमा यातनामा
कुनै स्त्रीलाई जिउँदै नर्क देखाएर
पतिदेव बनेका पनि हुन सक्छन्
शिक्षण पेसाका कोही शिक्षक
सिकारी बनेर आफ्नै छात्राको
अस्तित्व मेटाउने पनि हुन सक्छन्
र
‘रावण’को
आचरण भएका धर्म विवेकहीन
हरदम मानवताको उपेक्षा गर्ने
अर्को मान्छेलाई मान्छे नसोच्ने
आकार मात्रका मानिसहरू
‘राम’को नाममा
डुलिरहेका पनि हुन सक्छन्।