‘यसपालि तिहारमा टीका लगाउन आइज है,’ भनेर ठाइली दिदीले फोन गर्नुभयो। मैले मञ्जुर गरेँ।
बा–आमा हुँदा तिहारमा सातै दिदीहरू माइत आउनुहुन्थ्यो। घर रमाइलोले भरिन्थ्यो। तर पहिले बा बित्नुभयो, त्यसपछि आमा पनि बित्नुभयो। बा–आमा बितेपछि तिहारको त्यो रौनक हरायो। दिदीहरू आफ्नै घर–परिवारमा व्यस्त हुनुभयो। हाम्रो तिहार क्रमशः औपचारिकतामा सीमित हुँदै गयो। म भने नजिककी दिदीकहाँ गएर टीका लगाउने गर्न थालेँ।
तर आज ठाइली दिदीले अचानक बोलाउनुभयो। उहाँको सम्झना आउनासाथ मन श्रद्धाले झुक्यो— अत्यन्त सोझी, छलकपट नजानेकी दिदी। ‘सोझाको पीडा दैवले पनि देख्दैन’ भन्ने उखान उहाँकै जीवनमा लागू भएको थियो।
म सम्झनामा हराएँ…
ठाइली दिदीको बिहेको सम्झना त मलाई भएन, तर उहाँ पहिलोपटक सुत्केरी हुने महिनामा छोरी भेट्नका लागि सामानको जोरजाम गर्न आमाको सक्रियता म राम्रोसँग सम्झन्छु।
म एकाएक आजभन्दा साठी वर्षअघि अर्थात् दुई हजार बाइस सालको वैशाखमा पुग्छु; जुन बेला ठाइली दिदी पहिलोपटक सुत्केरी हुने महिनामा हुनुहुन्थ्यो।
***
दुई/चार दिनदेखि आमा अति प्रसन्न हुनुहुन्थ्यो। काम गर्दागर्दै मनमा के सोच्नुहुन्थ्यो अनि मुसुक्क हाँस्नुहुन्थ्यो। बा तरकारीबारीमा सागपातको स्याहार गरिरहनुभएको थियो। आमाले बालाई घरमा बोलाउनुभयो।
बा आएर खाटमा बसेपछि आमाले भन्नुभयो, ‘होइन, तपाईँले थाहा पाउनुभएको छैन? छोरी सुत्केरी हुने दिन आइसकेको!’
‘किन थाहा नपाउने! अस्ति पनि त्यही भन्थिस्, हिजो दिनभरि दुई–तीन चोटि नै भनिस् होलिस्। आज पनि यही भनिरहेकी छेस्। यसरी दिनहुँ भनिरहँदा पनि थाहा हुँदैन त! थाहा छ। हन तँलाई यो सुत्केरीको नसा लागेको हो कि के हो! सान्दुलही भर्खर चोखिएकी छे, उसलाई स्याहार गर्दै फुर्सद छैन, फेरि के को तातो लागेको? छोरी त अहिले सुत्केरी भएकी छैन नि!’ बाले भन्नुभयो।
‘त्यसो भनेर कहाँ हुन्छ! सर्दाम ठिक पार्दै गर्नु परेन!’ आमाले भन्नुभयो।
‘के सर्दाम ठिक गर्ने?’ बाले भन्नुभयो, ‘पाखनभेद, ठुलो ओखती घरमै छँदैछ। इलाइची, दालचिनी, जाइफल, ज्वानो, सुकुमेल, मिश्री मधेसबाट आउँदा वर्षैदिनलाई पुग्ने गरी लिएरै आएको हो। अरू के चाहियो?’
‘त्यतिले हुन्छ? ठुलो कुरा मह र गाईको घिउ चाहिँदैन?’ आमाले भन्नुभयो।
घरमा दुईवटा लैना भैँसी थिए। टिनका टिन घिउ घरमै थियो, तर आमालाई भैँसीको घिउले हुँदैनथ्यो। गाईकै घिउ र मह पनि मौरीको होइन, कठ्यौरीको मह चाहिन्थ्यो— सुत्केरी ओखती बनाउन।
बाले भन्नुभयो, ‘त्यो केही ठुलो कुरो भएन। भोलि बिहानै ठुलो छोरालाई पठाउनू। दुलही सुत्केरी हुँदा ल्याएकै हो। कता–कता पाइन्छ, उसलाई सबै थाहा छ। सबै घुमेर घिउ पनि ल्याइदिन्छ, मह पनि ल्याइदिन्छ। त्यो तैले भनेजस्तो कन्टारभरिको कठ्यौरीको मह चाहिँ ल्याउन सक्दैन। कसैले यसो एक–दुई माना ओखतीका लागि राखेको पायो भने ल्याउँछ। चाहिन्छ भने तोरी पनि ल्याइदिन्छ। त्यति भए भएन?’
‘त्यो त भयो,’ आमाले भन्नुभयो, ‘यसपालि छोरी र सम्धिनीलाई मात्र होइन, ज्वाइँलाई पनि एकसरो लुगा हालिदिन मन थियो।’
‘ज्वाइँलाई दिएपछि ज्वाइँका दाजुहरूलाई पनि दिनुपर्ला नि त!’ बाले भन्नुभयो।
‘ज्वाइँका दाजुहरूलाई त एक–एक जोर धोती दिँदा भइगयो नि।’
‘ल, भइगयो। भोलि छाडी पर्सि म सिन्धुली गएर सबै कपडा ल्याइदिउँला।’
यति भनेर बा फेरि फूलबारीको स्याहार गर्न जानुभयो।
दाज्युले केही दिन लगाएर गाईको घिउ, मह र दश पाथी तोरी बोकाएर ल्याउनुभयो।
अब घरमा कामको चटारो भयो।
सुत्केरी पुवामा हाल्ने जडीबुटी कुट्ने, भुट्ने, पिस्ने, छिन्कने, केलाउने, निफन्ने आदि काम मात्र होइन; मालभोग धानको एक मूरी चामल र त्यति नै चिउरा तयार गर्नुपर्ने भयो। त्यसमाथि दश पाथीजति तोरी पनि पेल्नुपर्ने भयो।
ढुकुटीबाट धान निकाल्ने, सुकाउने, निछोट्ने अनि बिहानै दुई बजे उठेर ढिकीमा धान कुट्ने, निफन्ने र बोरामा थन्क्याउने, ढिकीमै चिउरा कुट्ने र चेपुवामा तेल पेल्ने कामसमेत दैनिक नियमित काममा थपियो।
केही दिनमै यी सबै सामान तयार भए। आमाको मागबमोजिम बाले कपडा पनि ल्याउनुभयो।
नवजात शिशुका लागि भनेर भोटो, कानेटोपी र तोरीको सिरानी सिलाउन सुचिकारलाई जिम्मा लगाइयो।
हाम्रो घरमा छोरा र छोरीमा खासै विभेद थिएन। आर्थिक–सामाजिक क्षेत्रमा समान हैसियत थियो। कतिपय अवस्थामा त छोरालाई पर र छोरीलाई ओर गर्नुहुन्थ्यो— आमाले। बा–आमा ‘छोरी घरका गहना हुन्’ भन्नुहुन्थ्यो। नभन्दै तीज, दशैँ, तिहारजस्ता चाडबाडमा दिदीहरूले उधुमै रमाइलो गर्नुहुन्थ्यो। घरको आर्थिक हैसियत बढोत्तरीमा दिदीहरूको ठुलो हात थियो।
तर हाम्रो घरजस्तो छोरीलाई इज्जत गर्ने त्यो बेलाको जमाना थिएन। अन्यत्र छोरीलाई धेरै विभेद गरिन्थ्यो। ‘छोरीलाई बाँसको बोट र छोरालाई सुन्तलाको बोट’सँग तुलना गरिन्थ्यो। छोरी मरिहाली भने पनि कुनै चिन्ता हुँदैनथ्यो, ‘छोरी मरी; बढाघर परी’ भन्ने कहावत प्रचलनमा थियो। त्यो बेलाका गीतकारहरूले ‘हरे, के गरुँ छोरीको जन्म पाएँ, अघिनै चुकी कर्ममा हारी आएँ’ जस्ता गीत रचेर छोरीलाई गाउन सिकाउँथे।
यस्तो बेला बुहारीले छोरो पाओस् भन्ने चाहना सबै सासूहरूमा हुनु स्वाभाविकै मानिन्थ्यो। त्यसैगरी हाम्री ठाइली दिदीकी सासूले पनि आफ्नो कान्छी बुहारीको पहिलोपालि छोरै होस् भन्ने चाहना राख्नुभएको रहेछ।
‘नाति होस्’ भनेर मनमनै भगवान्सँग प्रार्थना गर्नुभएको थियो दिदीकी सासूले।
आज दिदीलाई व्यथा लागेको थियो। गाउँबाट दुईवटी सुढेनी पनि झिकाइयो। बाहिर ज्योतिषी धुलौटो लिएर बसे। घरभित्र नानी जन्मिएपछि सुढेनीले थाल बजाउने अनि थाल बजेको समय पारेर नानीको ग्रहदशा हेर्ने चलन थियो।
झन्डै दुई घन्टाको प्रतीक्षापछि सुढेनीले ढ्वाङ्ग आवाज आउने गरी थाल बजाइन्। ज्योतिषीले त्यही समय पारेर धुलौटोमा के–के लेखे। त्यसपछि ज्योतिषीले ‘जोत्ने कि पोत्ने?’ भनेर कराए। भित्रबाट आवाज आयो— ‘पोत्ने!’
‘थुक्क, मरिहालिछ नि!’ ज्योतिषीले थुतुनो आँगनतिर फर्काएर थुके।
दिदीले छोरी पाउनुभएको कुरा प्रकट भयो। घरका सबै छाँगाबाट खसेजस्ता भएछन्।
ज्योतिषी अरू कोही थिएनन्; घरपरिवारकै एकजना सदस्य थिए। उनी एकछिन घोरिए, गमखाए र गोजीबाट पात्रो निकाले। पाना पल्टाएर निकै बेर हेरे, धुलौटोमा के–के लेखे अनि कराए— ‘सालनाल नकाट है अहिले!’
अनि सासूआमातर्फ हेरेर जोतिषीले भने, ‘बच्ची नराम्रो नक्षेत्र पारेर जन्मिछ।’
एकछिन रोकिएर उनले फेरि भने, ‘मूल नक्षत्र र कालजोग परेछ। यस्तो जोग परेर जन्मेकाहरूले बाउ, काका, बडाबाउ पिर्छन्। यो बच्चीको अनुहार हेर्नेबित्तिकै बाउ–बडाबाउहरू ठाउँको ठाउँ रगत छादेर मर्न सक्छन्। अर्को कुरा, यसलाई आमाको दूध पनि ख्वाउनु हुँदैन। आमाको दूध ख्वाए हजुरआमा मर्छिन्। घरमा सालनाल काटे आमा मर्छिन्। मैले आफूले देखेजानेको भनेँ। अब के गर्नुपर्ने हो, चाँडै गर्नू!’
ज्योतिषीको कुरा सुनेपछि परिवारमा सन्नाटा छायो। धेरै बेर कसैले केही बोल्न सकेनन्। धेरै बेरपछि ज्योतिषीले नै सालनालसहित माइत पठाउने विकल्प अघि सारे र त्यसैमा सबैको समर्थन जुट्यो।
यता हाम्रो घरपरिवार काममा व्यस्त थियो। छोरी सुत्केरी भएको खबर आउने प्रतीक्षामा आमा बाटोभरि आँखा ओछ्याएर बसिरहनुभएको थियो। बच्चा जन्मिएपछि त्यो समाचार लिएर मान्छे आउला र माइतमा गर्नुपर्ने तयारी गर्नुपर्ला भन्ने बा–आमाको सोच थियो। तर खबर गर्ने मान्छे आएन; दिदी नै पो बोकिएर आउनुभयो!
दिदीलाई त्यो अवस्थामा देखेर आमा ‘के भो मेरो बाबुलाई!’ भन्दै रुन थाल्नुभयो। आमासँगै दिदीका पनि बलिन्द्र आँसुका धारा बगे।
सँगै अन्तरी बज्यै पनि आउनुभएको थियो। उहाँले भन्नुभयो, ‘चुप लाग्नुस्। पहिले सुत्केरीलाई सुत्ने ठाउँको व्यवस्था गर्नुस्। यहाँ नानीको साल सर्किन आँटिसक्यो।’
अँगेनाको मूल ओछ्यानमा सुत्केरी सानी भाउजू सुत्नुभएको थियो। अर्को छेउमा दिदीलाई ओछ्यान लगाइयो। दिदीलाई सुत्ने व्यवस्था गरेर नानीको सालनाल काटिसकेपछि अन्तरी बज्यैले घरको नालीबेली सुनाउनुभयो।
दाज्युले प्रतिवाद गर्नुभयो र भन्नुभयो, ‘यस्तो पनि कतै हुन्छ! भोलि नै समाज राखेर त्यो ज्योतिषी भन्नेको उछितो काढ्छु!’
आमाले भन्नुभयो, ‘हुन दे बाबु! यो छोरी यहीँ बस्छे। अब ‘भैँसीलाई सिङको भारी हुँदैन।’ त्यस्ता अधर्मी ज्योतिषी भएको घरमा म छोरी पठाउँदिनँ अब।’
‘पठाए पठाउनुस्, नपठाए नपठाउनुस्। तर बच्चीलाई आमाको दूध चाहिँ नखुवाउनू। आमा–हजुरआमा दुवैलाई पिर्छ भनेको छ,’ अन्तरी बज्यैले भन्नुभयो।
‘सान्दुलही सुत्केरी नभएकी भए त मैले पनि जानेकै थिएँ कसको दूध ख्वाउने भन्ने! अब सान्दुलही सुत्केरी छे, उसैको दूध ख्वाएर दुई वटै नातिनी बचाउनुपर्ला!’ आमाले भन्नुभयो।
बेलुकादेखि ठाइली दिदीलाई हनहनी ज्वरो आयो। केही समयपछि पेट पनि दुख्न थाल्यो। बा, आमा, दाज्यु, दिदीहरू र ठूली भाउज्यू रातभरि जागै रहेर सुत्केरी दिदीको स्याहार–सुसार र औषधिमूलोमा लाग्नुभयो।
दिदीलाई बिसन्चो घट्नुको साटो झन् बढ्दै गयो। भोलिपल्ट एकाबिहानै दाजु मुरलीधर कर्ण डाक्टरलाई लिन भलुवाही जानुभयो।
भलुवाही निवासी मुरलीधर बिरामी उपचारका लागि त्यो भेगका एकमात्र विकल्प थिए।
झम्केसाँझ परेपछि दाज्युले डाक्टर लिएर आइपुग्नुभयो।
डाक्टरले प्राथमिक उपचार गरे। दिदीको शरीरमा अत्यधिक रक्तस्रावका कारण रगतको मात्रा आवश्यकताभन्दा धेरै कम भएको रहेछ। सङ्क्रमण पनि भएको रहेछ।
डाक्टरले राति अबेरसम्म लगाएर उपचार गरे; औषधि खान दिए, पानी चढाए। एकातिर दिदीको दूध गानिएर कष्ट भइरहेको थियो भने अर्कोतर्फ बच्चीले दूध खान नपाएर रोइरहेकी थिई। डाक्टरले हप्कीदप्की पारेर ‘जे पर्छ, परेको म बेहोर्छु’ भन्दै बच्चीलाई आमाको दूध ख्वाउन लगाए।
रातिदेखि दिदीको बिरामी बिसको उन्नाइस हुँदै गयो। डाक्टरले दस–बाह्र दिन बसेर उपचार गरे। दिदीको अवस्थामा केही सुधार भयो। डाक्टर गए। दिदीको बिरामी फेरि बल्झियो। फेरि डाक्टरलाई बोलाइयो। यसरी पाँच–छ महिनासम्म निरन्तर उपचारपछि ठाइली दिदी बिस्तारै खुट्टा टेक्न सक्ने हुनुभयो।
यसबीच भिनाजु पनि आउनुभयो। उहाँले छोरीले आमाको दूध खाने अनुमति पाएकोलाई अनुमोदन मात्रै गर्नुभएन; छोरीलाई हेर्दा आफू नमर्ने भन्दै काखमा लिनु पनि भयो। भिनाजुको साहस र समर्थनले हाम्रो पुरै परिवार प्रफुल्ल भयो।
भिनाजुले आमासँग भन्नुभयो, ‘हजुरकी छोरी घर लैजाऊँ भने मेरा दाजु, भाउजू, आमा सबै मरिहाल्छन्। त्यसो भएकाले सर्लाहीको जग्गामा लगेर राख्नुपर्यो। त्यहाँ घर छैन। घर बनाउन कम्तीमा पनि पाँच–छ महिना लाग्छ। त्यसपछि हजुरकी छोरी उतै लिएर जान्छु।’
नभन्दै यता दिदी तङ्ग्रिँदै हुनुहुन्थ्यो। खाना पनि खान थाल्नुभयो। मुसुक्क हाँसेर ‘अब चाहिँ बाँच्छु जस्तो लागेको छ’ भन्न थाल्नुभएको थियो। यसैबीच भिनाजु पनि आउनुभयो। दिदीलाई एकपटक राम्रै डाक्टरलाई देखाउनुपर्ने कुरा गर्नुभयो।
आमाले भन्नुभयो, ‘मारे पाप, पाले पुण्य भनेर हजुरलाई जिम्मा लगाएको हो। अब हजुरले लाने भनेपछि हामीले हुँदैन भन्न मिलेन।’
भोलिपल्टै भिनाजुले दिदीलाई सर्लाहीको खड्काटोलमा लिएर जानुभयो।
आमा मनमनै दङ्ग पर्नुभयो र भन्नुभयो— ‘मैले साँच्चै देउताजस्तो ज्वाइँ पाएछु!’
त्यसपछि तीन–चार वर्ष दिदीसँग भेटघाट भएन।
पच्चीस सालतिर मैले र कान्छी दिदीले प्राइमरी स्कुल पास गर्यौँ।
जिल्लाभरि अरू ठाउँमा स्कुल थिएनन्; एउटा हाइस्कुल सदरमुकाममा मात्र थियो। त्यही पनि स्कुलमा छात्रबास थिएन। डेरा गरेर बस्ने अनुकूल परिस्थिति भएन। छोरा–छोरीलाई कहाँ लगेर पढाउने होला भनेर बा चिन्तित हुनुहुन्थ्यो। यसैबीच ठाइली दिदीले ‘यहाँ हाइस्कुल नजिकै छ; भाइबहिनी यहीँ पठाइदिनू’ भन्ने खबर पठाउनुभएछ।
सोहीबमोजिम हामीलाई लिएर बा दिदीको घरतर्फ लाग्नुभयो।
भोलिपल्ट हाम्रा लागि आवश्यक चाँजोपाँजो मिलाएर बा फर्कनुहुने भयो।
बा फर्कने बेला दिदी बलिन्द्र आँसुका धारा बगाएर रुनुभयो। दिदी बिहेमा समेत यति रुनुभएको थिएन होला। रुँदै बासँगै पछि लागेर धेरै परसम्म जानुभयो। दिदी रोएको देखेर कान्छी दिदी र म पनि रुँदै पछि लाग्यौँ।
बाले पटक–पटक फर्किन आग्रह गर्दा पनि दिदी फर्किन मान्नुभएन र बालाई अँगालो हालेर काहाली–काहाली रुनुभयो। दिदीको यस्तो व्यवहार देखेर बा अगाडि बढ्न सक्नुभएन र बाटोको छेउमा बसेर दिदीलाई नरुन र घर फर्कन आग्रह गरिरहनुभयो।
बाका आँखा पनि रसाएर आए। बाले पनि नदेखिने गरी आँसु पुछ्नुभयो।
दिदी डाँको छोडेर रुँदै घर फर्किनुभयो। हामी पनि दिदीसँगै घर फर्कियौँ।
भएको के रहेछ भने, भिनाजुले दिदीलाई सौता हाल्नुहुने भएको रहेछ। दिदीलाई लिएर जाँदा घरमा चौध–पन्ध्र वर्षकी केटी थिई। दिदीले ‘यो केटी को हो?’ भनेर सोध्दा भिनाजुले ‘तँ रोगी भइस्; काम गर्न सक्दिनस्, त्यसैले काम गर्न राखेको’ भन्नुभएको रहेछ। होला त नि भनेर पाँच–सात महिना दिदीले केही वास्ता गर्नुभएनछ।
तर भिनाजुको निको चाल नदेखेपछि दिदीको मनमा शङ्काको बादल मडारिन थालेछ। पछि चियो गर्न थाल्नुभएछ। आफूले जे नहोस् भन्ने सोच्नुभएको थियो, आखिर त्यही भयो। भिनाजुको नोकर्नी केटीसँगको लसपस थाहा पाएपछि दिदी छाँगाबाट खसेजस्तो हुनुभएको थियो। त्यसपछि ठाइली दिदी धोका र विश्वासघातको जलनमा पिल्सिनुभयो।
दिदीले आफ्नो श्रीमान्को घरमा राखेकी नोकर्नीसँगको अवैध सम्बन्ध छुटाउन हरसम्भव प्रयास गर्नुभएछ। ‘म बाँचेको के सार भयो र!’ भन्दै राति उठेर पक्काबाँधतिर जानु पनि भएछ, रुनुभएछ, कराउनुभएछ। आफ्ना सात वटी दिदीबहिनीले चाहिँ सौता नपाउने, मेरो मात्र कस्तो भाग्य रहेछ भनेर विक्षिप्तजस्तै हुनुभएको रहेछ। घरमा दिदी र भिनाजुको बीचमा चलिरहेको घरझगडाको चरम अवस्थामा बाले हामीलाई दिदीको घरमा पुर्याउनुभएको रहेछ।
हामी दिदी सुत्ने कोठामा सुत्थ्यौँ। जतिखेर बिउँझँदा पनि दिदी रोइरहनुभएको देख्थ्यौँ।
लोग्नेमान्छेले आफ्नो निहित चाहना पूरा गर्न कसरी आफ्नो नैतिकता गुमाउँछ भन्ने दिदीले पहिलोपल्ट अनुभव गर्नुभएको थियो। तर दिदीले सोचेको जस्तो त्यो बेलाको जमाना थिएन। जसले पत्नीमाथि उपपत्नीको क्रम बढाउँदै लैजान सक्थ्यो, त्यो त्यत्तिकै समाजमा नैतिकवान् र पुरुषार्थी ठहरिन्थ्यो। ‘मर्दका दशवटी हुन्छन्’ भन्ने भनाइ थियो त्यो बेला। समाजमा बग्रेल्ती बलात्कारका घटना हुन्थे, तर यसमा पनि महिलालाई नै दोषी ठानिन्थ्यो।
यस्तो महिला–पीडित सामाजिक परिस्थितिमा दिदीले के पो गर्न सक्नुहुन्थ्यो र! आफ्नो भाग्यलाई दोष दिनुभयो, आफूले आफैँलाई सम्झाउनुभयो, चित्त बुझाउनुभयो। बरु यस्तो सामाजिक परिस्थितिमा आफ्नी हुर्केकी बहिनी राख्न त्यति उचित ठान्नुभएन। अपगाल पो खेप्नुपर्ने हो कि भनेर पनि दिदी चिन्तित हुन थाल्नुभएको थियो। नभन्दै एकदिन बालाई आउन खबर पठाउनुभयो।
खबर पुगेको भोलिपल्टै बा आइपुग्नुभयो। पहिले बाले हामीलाई लिएर आउँदा काम गर्ने नोकर्नी माइत पठाइएको थियो— बाले देख्नुहुन्छ भनेर। तर यसपालि काम गर्ने नोकर्नीलाई लुकाउने आवश्यकता ठानिएन।
बाले स्थिति आकलन गरेर दिदीलाई भन्नुभयो, ‘तैँले काम गर्ने भनेर किन यी नानीलाई राखेकी?’
यसपालि दिदी रुनुभएन। मानौँ उहाँको शरीरमा भएका सबै आँसु सकिसकेका थिए वा श्रीमान्को पुरुषार्थमा आत्मसमर्पण गर्नुभएको थियो। उहाँले भन्नुभयो, ‘मैले सकिनँ बा! हजुरकी छोरीले लाख कोसिस गर्दा पनि छुटाउन सकिनँ। यो नोकर्नी होइन; अब मेरी सौता भइसकी। दुई जीउकी छे।’
बा छाँगाबाट खसेजस्तो हुनुभयो।
बाको एक्कासि आवाज फुत्कियो— ‘कस्ती अभागी रहिछ मेरी छोरी!’
यत्ति भनेर बाले रोदन रोक्न सक्नुभएन; रुन थाल्नुभयो।
दिदीले रुँदै भन्नुभयो, ‘नरुनु बा! मेरो कर्ममा यस्तै रहेछ। दैवले लेखेको टर्दो रहेनछ।’
भिनाजु आउनुभयो र भन्नुभयो, ‘बाले चिन्ता लिनु पर्दैन। म सुनलाई सुनकै दर्जामा र पित्तललाई पित्तलकै दर्जामा राख्छु।’
मानौँ समाजमा उपपत्नी ल्याउनु लोग्ने मान्छेको आफ्नो अधिकार हो, तर व्यवस्थापनमा कुनै त्रुटि हुन नदिने भिनाजुको आशय थियो।
बाले केही बोल्न सक्नुभएन।
दिदीपट्टि हेरेर बाले भन्नुभयो, ‘सीता बाटोमा भोकाउँछे कि; चिउरा भए थोरै पोको बनाइदे त।’
दिदीले ‘आज नजानू’ भनेर लाख प्रयत्न गर्दा पनि मान्नुभएन। बा त्यही दिन कान्छी दिदीलाई लिएर फर्कनुभयो।
***
घडी हेरेँ। बाह्र बजेर पैँतिस मिनेट गैसकेको रहेछ। ठाइली दिदीको जीवनसँग जोडिएका विगतका घटना–प्रतिघटनाको साक्षी मात्र थिएँ म। दिदीको पक्षमा म केही गर्न सक्दिनथेँ।
ती दिनको सम्झनामा हराएँछु; सिरानी लपक्कै भिजेछ। उठेर पानी पिएँ र पल्टिएँ। निदाउन प्रयत्न गरेँ, सकिनँ। ठाइली दिदीको दुःखद कथा अझै सकिएको थिएन। दिदीको प्रजनन पीडा सम्झन थालेँ। भिनाजुलाई वंशपरम्परा थाम्न छोरो चाहिने भूत चढेको थियो; दिदीले निरन्तर बीस वर्ष लगाएर तेह्र वटी छोरी जन्माउनुपर्यो।
चौधौँ पालामा वंशपरम्परा थाम्ने छोराको पदार्पण भएपछि मात्र सन्तान उत्पादन गर्ने कठिन र दर्दनाक प्रक्रिया अन्त्य भयो।
छोरी जन्मिने क्रममा दिदी अर्धबेहोस हुनुहुन्थ्यो। सुढेनीहरूले सालनाल सही र सुरक्षित तरिकाले काट्न अल्छी गरेर अत्यधिक रक्तस्रावका कारण कतिपय बच्चीहरू तुरुन्तै खेर गए, कतिपय कुपोषणले र कतिपय यथोचित उपचार नपाएर खेर गए।
त्यत्रो शारीरिक मूल्य चुकाएर जन्मिएको छोराले बा–आमाको बुढेसकालमा सहारा बन्नुपर्ने हो, तर त्यस्तो भएन। उहाँ विदेशमा रमाउनुभएको छ। छोरीहरूले पालैपालो गरेर बा–आमाको स्याहार–सुसार र औषधिमूलो गर्दै आउनुभएको छ।
बिहान उठेपछि मन भारी भइरह्यो। दिदीलाई फोन गरेर मन हल्का बनाउन खोजेँ।
मैले दिदीलाई फोन गरेर यसपटक तिहारमा आउने प्रतिबद्धता दोहोर्याउँदै भनेँ— ‘यसपटक म गाईतिहारकै दिन आइपुग्छु। हामी दुवै बा–आमा गुमाएका दिदीभाइ आ–आफ्ना विगतलाई खोदलेर दुःख–सुख बाँड्ने धोको छ।’