जब काखमा बसेकाहरू
उडाउँछन्– सिमलको भुवासरि
जो आँखामा थिए–
रमिता हेर्न मात्र तम्सिन्छन्
कानमा राखेकाहरूले
बदनामीको शङ्खघोस् गर्छन्
मुटुमा राखेर गर्व गरिरहेको मान्छे
फुत्त डेरा सर्न खोज्छ
ऊ पर पुग्ने बहाना खोजिरहन्छ
सम्झिनुहोस् –
तपाईं मरिसक्नु भयो।
नमर्नु भनेको बाँच्नु मात्र होइन
बरु राख्छन् भुईँको धुलो टिपेर शिरमा
बनाउन खोज्छन् पत्थरलाई मूर्ति–
अनि फाल्छन् पत्थरको तीर
तपाईंको कोमल हृदयमा
शिरमा छस् भन्दै बनाउँछन् भुईँको धुलो।
धुलो नै सही
धुलो बनेरै
सम्बन्धको धुलो चाट्न खोज्दा पनि
धुलोकै गन्ध आइरहन्छ भने–
तपाईं मरिसक्नु भयो।
नमर्नु भनेको बाँच्नु मात्र होइन
सम्झिनुहोस्
काखले हेपेको दिन
काँधले हेपेको दिन
पाखुराहरू यसै हेप्न थाल्छन्
औलाहरूले हेप्ने दिन नआउँदै
श्वासले हेप्न सक्छ।
श्वासले हेपेको दिन–
तपाईंलाई कसैले हेप्न सक्दैन
त्यसपछि तपाईंलाई कसैले हेप्दैन––
उठ्नुहोस् अब समय चिन्नु पर्छ
ब्युँझनुहोस्!
आफन्तको नक्कली आवरण बोकेर आइसके।
पिठ्यूँमा थोरै भरोसा राख्नुस्
अस्तित्वलाई काँधमा राखेर उभिनु पर्छ–
छोडेर जानेहरू जान्छन्–
आउनेहरू पनि होलान् तिमीलाई सम्झेर
गएकाहरूले पश्चात्ताप मानुन्
आउनेहरूले फेरी तिम्रो जीवनको प्रशंसा गरुन्
जस्तो –
नमर्नु भनेको बाँच्नु मात्र होइन
र बाँच्नु भनेको श्वास फेर्नु मात्र हैन।