सपना देख्नु र सपना पूरा गर्नुबीचको दूरी सायद भाग्यले नै तय गर्दोरहेछ।
घरको कमजोर आर्थिक अवस्था, पारिवारिक अभाव र जिम्मेवारीले उमेरभन्दा पहिले नै काँध भारी बनाइदियो। सानो भाइको भविष्य सम्झिँदा आफ्नो सपना स्वार्थजस्तो लाग्यो अनि आमाबुबाको आँखामा टिलपिलाएका आँसु देख्दा आफ्ना रहरहरू आफैँसँग हार्न थाले। अनि बाध्य भएर विदेशिएँ।
कहिलेकाहीँ लाग्छ, मान्छेको जिन्दगी पनि नदीजस्तै रहेछ। नदीले आफ्नो बाटो आफैँ रोज्दैन, उसलाई पहाडले जहाँबाट बग्न बाध्य बनाउँछ, त्यहीँबाट बग्नुपर्छ। मान्छेको जिन्दगी पनि त्यस्तै रहेछ— सपना आफ्नो हुन्छ, तर बाटो परिस्थितिले निर्धारण गरिदिन्छ।
गुल्मीको इश्मा गाउँपालिकाको एउटा सामान्य परिवारमा जन्मिएको म, सानैदेखि प्रकृतिको काखमा रमाउने मान्छे। डाँडाकाँडा मेरा साथी थिए, हरियाली मेरो संसार थियो, गाउँका गोरेटाहरू मेरा यात्राका सहयात्री थिए। बिहानको घाम, पाखामा फुलेका फूल, चराहरूको चिरबिर, खेतका आली र गाउँको माटोको सुगन्धसँग मेरो बाल्यकाल बित्यो।
मेरो कहिल्यै ठूलो सपना थिएन। अरूले करोडौँ कमाएको देखेर लोभ लाग्दैनथ्यो। मलाई त केवल यति लाग्थ्यो- कुनै दिन सरकारी जागिर खाऊँला, आफ्नै गाउँमा बसूँला, आमाबुबाको आँखामा खुसी देखूँला, भाइको पढाइ राम्रोसँग चलाइदिऊँला अनि आफ्नो माटोमै एउटा सम्मानजनक जीवन बाँचूँला।
त्यो सपना सानो थियो। तर त्यो सपनाभित्र मेरो सम्पूर्ण संसार अटाएको थियो। समय बित्दै गयो। बाल्यकाल जवानीमा बदलियो। खेल्ने हातले किताब समाउन थाल्यो। गाउँका बाटाहरूमा हिँड्ने खुट्टाले भविष्यका बाटाहरू खोज्न थाल्यो।
किताबका पानाहरू पल्टाउँदै गर्दा मैले भविष्यका धेरै तस्वीरहरू कोरेँ। कहिले आफूलाई कार्यालयको कुर्सीमा बसेको देखेँ, कहिले आमाबुबालाई नयाँ कपडा लगाइदिएको कल्पना गरेँ, कहिले भाइलाई राम्रो विद्यालयमा पढिरहेको देखेँ। तर सपना देख्नु र सपना पूरा गर्नुबीच एउटा ठूलो शब्द रहेछ। घरको अवस्था विस्तारै आँखाअगाडि खुल्दै गयो। अभावका दिनहरू बढ्दै गए।
आमाबुबाको अनुहारमा उमेरभन्दा धेरै चिन्ताका रेखाहरू देखिन थाले।
घरमा आवश्यकता धेरै थिए, साधन थोरै।
आफूलाई भन्दा धेरै परिवारको चिन्ता लाग्न थाल्यो। र एक दिन एउटा यस्तो मोड आयो, जहाँ मैले आफैँलाई प्रश्न गरेँ- ‘मेरो सपना ठूलो कि मेरो परिवारको दुःख ठूलो?’
उत्तर दिन मलाई धेरै समय लागेन। मैले आफ्नो सपना मारिदिएँ।
सरकारी जागिर खाने सपना देखेको एउटा युवा अन्ततः हातमा पासपोर्ट बोकेर परदेश जाने तयारी गर्न थालेँ। त्यो दिन सम्झँदा आज पनि मन भारी हुन्छ।
घरबाट निस्किने बेलामा आमाको अनुहार हेर्न सकिनँ। किनकि उहाँको आँखामा आँसु थियो। बुबा सधैँझैँ बलियो बन्न खोज्दै हुनुहुन्थ्यो। तर उहाँको मौनताले हजारौँ कुरा बोलिरहेको थियो।
भाइलाई हेरेँ। उसको आँखामा एउटा प्रश्न थियो- दाइ, तपाईं कहिले फर्किनुहुन्छ? मसँग उत्तर थिएन। के भनूँ?
छिट्टै आउँछु भनूँ भने झूट हुन्थ्यो।
धेरै समय लाग्छ भनूँ भने उसको मन दुख्थ्यो। त्यसैले केवल मुस्कुराएँ।
कहिलेकाहीँ एउटा मुस्कान संसारकै सबैभन्दा ठूलो झूट हुँदो रहेछ है।
घरबाट त निस्किएँ। तर पछाडि फर्केर हेर्दा त्यो मेरो लागि केवल घर मात्र थिएन; त्यहाँ मेरो बाल्यकाल थियो, मेरो पहिलो सपना थियो, आमाको माया थियो, बुबाको पसिना थियो, भाइको भविष्य थियो र मेरो आफ्नै पहिचान थियो। गाउँको त्यो बाटोमा पाइला अघि बढ्दै थिए तर मन भने हरेक पाइलासँग पछाडि फर्किरहेको थियो।
जिपको झ्यालबाट गाउँ टाढिँदै गयो। डाँडाहरू साना हुँदै गए। गोरेटाहरू आँखाबाट हराउँदै गए। तर मनभित्र एउटा आवाज लगातार आइरहेको थियो— तँ भागेको होइनस् सन्तोष, तँ परिवारको दुःखसँग लड्न गएको होस्।
त्यही आवाजले मलाई सम्हाल्यो। परदेश आइपुगेँ।
परदेश आएको पनि आज १०९५ दिन अर्थात् ३ वर्ष भएछ। यहाँ आकाश ठूलो छ, तर आफ्नो आँगन छैन। यहाँ भवनहरू अग्ला छन्, तर आफ्नै गाउँको पहाड जस्तो आत्मीयता छैन। यहाँ पैसा कमाउन सकिन्छ, तर आमाको हातको खाना किन्न सकिँदैन। यहाँ हजारौँ मानिस भेटिन्छन्,
तर आफ्नो दुःख बुझ्ने एउटा आफ्नै मान्छे भेट्न गाह्रो हुन्छ। दिनभरि काम गरिन्छ। शरीर थाक्छ। तर रात परेपछि मन थाक्न थाल्छ। कोठाको झ्याल बन्द हुन्छ। बाहिर सहरको उज्यालो हुन्छ। तर भित्र अँध्यारो।
घरबाट फोन आउँछ, जोरजोरसँग रोएर आफ्नो दुःख बुबाआमालाई सुनाउन मन लाग्छ तर सक्दिनँ। ममा त्यो हिम्मत आउँदैन। दारी फुल्दै गरेका बा र कपाल फुल्दै गरेकी मेरी आमालाई म मेरो दुःख सुनाएर अरू पीडा दिन सक्दिनँ।
भाइको फोन आउँदा भने मन अझै कमजोर हुन्छ। उसले आफ्नो पढाइका कुरा गर्छ। भविष्यका कुरा गर्छ। म उसलाई हौसला दिन्छु। राम्रोसँग पढ, तेरो भविष्य राम्रो हुनुपर्छ।
उसलाई के थाहा, उसको भविष्य राम्रो होस् भनेर उसको दाइले आफ्नो वर्तमान बेचिरहेको छ। उसलाई के थाहा, उसको किताबको एउटा पानामा दाइको पसिना मिसिएको छ। उसलाई के थाहा, उसले लगाउने एउटा कपडामा दाइको अधुरो रहर लुकेको छ। उसलाई के थाहा, उसको भविष्यको उज्यालोका लागि दाइले आफ्नो जवानीको धेरै उज्यालो परदेशको अँध्यारो कोठामा छोडिरहेको छ।
१३/१४ घन्टाको काम र त्यो थकानपछि कहिलेकाहीँ आफैँलाई सोध्छु- सन्तोष, तेरो सपना कहाँ गयो?
मनले भन्छ, त्यो त अझै इश्माको कुनै डाँडामुनि बसेर तिमीलाई पर्खिरहेको छ। सायद अबको केही वर्ष घर फर्किन्छु। सायद केही पैसा बचाउँछु। सायद ऋण तिर्छु। सायद घर बनाउँछु। सायद आमाबुबालाई सुख दिन्छु। सायद भाइको भविष्य बनाउँछु।
तर एउटा कुरा निश्चित छ; परदेशीले आफ्नो जवानी भने कहिल्यै फिर्ता पाउँदैन, समय फर्किँदैन।
गाउँमा चाडपर्व आउँछन्। घरमा सबै जम्मा हुन्छन्। आँगनमा हाँसो हुन्छ। तर मेरो लागि चाडपर्व पनि कहिलेकाहीँ पीडाको अर्को नाम बन्छ। अरूले परिवारसँग फोटो खिच्छन्, म मोबाइलको स्क्रिनमा परिवारको फोटो हेर्छु। अरूले टीका लगाउँछन्, म कामको पोसाक लगाउँछु। अरूले सेलरोटीको सुगन्ध महसुस गर्छन्, म सम्झनाको सुगन्धमा पेट भर्छु।
मेरो कथा केवल मेरो कथा होइन। यो त ती हजारौँ नेपाली युवाहरूको कथा हो, जसले आफ्ना आमाबुबाको सपना पूरा गर्न आफ्नो सपना थन्क्याएका छन्।
यो ती आमाहरूको कथा हो, जो छोरालाई विमानस्थलसम्म पुर्याएर घर फर्किँदा बाटोभरि आँसु पुछ्छन्। यो ती बुबाहरूको कथा हो, जो छोरालाई बलियो बन्नू भन्छन्, तर छोरा गएपछि एक्लै बसेर भित्तातिर हेर्दै आँसु झार्छन्।
यो ती भाइबहिनीहरूको कथा हो, जसको पढाइको शुल्क तिर्न दाजु परदेशमा पसिना बगाइरहेको हुन्छ। किनकि जीवनमा सबैभन्दा ठूलो कमाइ पैसा होइन रहेछ। आफ्ना मान्छेको आँखामा आफूले दिएको खुसी रहेछ।
र यदि कहिल्यै मेरो कथा पढेर कसैको आँखाबाट आँसु झर्यो भने, त्यो आँसु केवल सन्तोष नेपालीका लागि नहोस्। त्यो आँसु त्यो आमाका लागि होस्, जसको छोरा परदेशमा छ। त्यो बुबाका लागि होस्, जसले आफ्नो दुःख लुकाएर छोरालाई हौसला दिन्छन्। र त्यो आँसु ती सबै नेपाली युवाहरूका लागि होस्, जो आफ्नो देश, गाउँ, परिवार र सपना छोडेर रोजीरोटीको खोजीमा परदेशको कठोर घाममुनि आफ्नो जिन्दगी पोलिरहेका छन्।
तर परदेशीको वास्तविक हिसाब पैसाले हुँदैन। उसको हिसाब त हराएको जवानीमा हुन्छ, छुटेको परिवारमा हुन्छ, नदेखेका चाडपर्वमा हुन्छ, आमाको कपाल फुलेको खबरमा हुन्छ, बुबाको कमजोर हुँदै गएको शरीरमा हुन्छ। भाइको ठूलो हुँदै गएको उमेरमा हुन्छ र सबैभन्दा बढी— आफ्नै आँखाबाट चुपचाप झरेका ती आँसुहरूमा हुन्छ।
गुल्मीको एउटा सामान्य छोरो। सरकारी जागिर खाने सपना बोकेको एउटा युवा। प्रकृतिलाई माया गर्ने एउटा कोमल हृदय। तर आज परदेशको एउटा कुनामा बसेर आफ्नो परिवारको खुसीका लागि आफ्नै सपनाको चिहानमाथि उभिएर मुस्कुराउन सिकिरहेको छु।
यदि यो कथा तपाईंको मनमा छोयो भने, एकपटक आफ्नो घर सम्झनुहोस्। आफ्नी आमा सम्झनुहोस्। आफ्नो बुबा सम्झनुहोस्। परदेशमा भएको आफ्नो दाजु, भाइ, दिदी वा साथी सम्झनुहोस्।