हाम्रै सहरका व्यस्त मार्गमा
अभिमन्यु जीवित छन् आज पनि
कुरुक्षेत्रको धुलोका कणहरूमा होइन,
लथालिङ्ग मस्तिष्क झिलिमिली कोठाहरूमा
र स्वप्निल उन्माद भरिएका
ऊर्जाशील युवाका नयनहरूमा।
चक्रव्यूहहरू दैनिक बनिरहेका छन्—
सबै प्राचीन बाण र रथका होइनन्,
हुन् रुग्ण प्रतिस्पर्धा, बेरोजगारी,
अपेक्षा र कलुषित असफलताका।
प्रवेश गर्ने मार्ग त प्रशस्तै देखिन्छन्
तर
बहिर्गमन कौशल न कसैले सिकाउँदछ
न देखिन्छ नै।
हामी अभिमन्यु जस्तै गर्भदेखि नै सफलता
र साहसका कथा सुन्दै हुर्किन्छौँ
तथापि, पराजयलाई आत्मसात् गर्ने
चुकझैँ अन्धकारमा उज्यालो कसरी खोज्ने
त्यो अनुशीलन अधुरै रहन्छ।
उत्तर-आधुनिक आकाङ्क्षाहरूको चक्रव्यूहभित्र
मानिस एक्लै पर्छ
लक्ष्यहरू वरिपरि ठिङ्ग उभिएका हुन्छन्
कौरव सेनाजस्तै गरी
र
समयको तीरले निरन्तर
हमला गरिरहन्छ मनको निशानामा।
अभिमन्युको कथा
पराजयको कथा पक्कै होइन,
यो त अदम्य साहसको कथा हो
विजय–पराजयको विनिर्माण माथि उठेर
आफ्नो कर्तव्य पथमा अडिग रहने
अटल विश्वासको गाथा हो यो।
त्यसैले,
जब युवा सिसिफसले झैँ
सपनाको भारी बोकेर
अनिश्चित गन्तव्यतर्फ अघि बढ्छ
अनि अनेकौँ चुनौतीहरूको मोर्चाबन्दी बिच पनि
उसले साहसिक पाइला रोक्दैन
त्यही क्षण अभिमन्यु फेरि अस्तित्वमा आउँछ।
युद्धभूमि फेरिएको छ
चक्रव्यूहहरू बदलिएका छन्
तर साहसको अर्थ उही छ—
र,
आकाङ्क्षाहरूको अजङ आकाशमुनि
हरेक संघर्षरत मनहरूले
आफ्नै तवरमा लेखिरहेको छ
एउटा नयाँ महाभारत
जहाँ अभिमन्युहरू
हारेर पनि शाश्वत हुन्छन् यो विनिर्माणको समयमा।