अभिव्यञ्जना र आनन्दमात्र साहित्यको अभिष्ट हुँदैन, यसले जीवनका विविध आयामहरू उघार्छ। कतिपय आयाम वा संक्षेत्रहरू मूर्त हुन्छन् त कतिपय अमूर्त। कतिपय स्वीकृत्रिमा हुन्छन् त कतिपय अस्वीकृत।
कतिपय भावनात्मक हुन्छन् त कतिपय भौतिकी। यी आयाममध्ये मानिसको आन्तरिक उद्वेग–आवेग, आवश्यकता र अकाङ्क्षाका ढोका खोल्ने वैचारिक आयाम अस्तित्ववाद हो। यसले मानिसको स्वतन्त्रता, एक्लोपन र हराएका अर्थहरूको अन्वेषण, अभिव्यञ्जना र अभिव्यक्ति गर्दछ।
स्वतन्त्रता र रोजाइहरू, उकुसमुकसको प्रकाशन भनौ मुक्तिको खोजी गर्छ। निस्सारता, व्यग्र निराशा, हतासको प्रकाशन गर्दछ। मानिसको यो पाटो सधैँ देखिएको हुँदैन। अन्तर्पीडाबाट विक्षिप्त मानिसको व्यथा शारिरिक व्यथाभन्दा जटिल र पीडादायी हुन्छ। त्यसलाई उठाउन भने असजिलो हुन्छ।
मानिसको त्यो पाटो सबै देखिएको–देखाइएको हुँदैन। चेपिएको–चेप्ट्याइएको, दबे–दबाइएको हुन्छ। अस्तित्ववादले मानिसको त्यही आन्तरिक र निसिस्याई टिपेर अर्थको, भनौ अस्तित्वको खोजी गर्छ।
नेपालमा आयामेली आन्दोलनकहरूले जीवनको देखिएको आयाम वा लम्बाइ र चौडाइलाई मात्र उल्लेख नगरी गहिराई र घनत्वमा पुगेर सबै आयाम खोतल्नु पर्छ भनी सम्पूर्णताको आह्वान गरेका थिए। अक्सर स्रष्टाहरू देखिएको यथार्थलाई प्रकाश पार्छन्, त्यो भन्दा अहम् यथार्थ अस्तित्वलाई त्यति ध्यान दिदैनन्।
आन्तरिक मानिसको चित्र उतार्न गाह्रो पनि पर्छ। विश्वेश्वरप्रसादका शब्दमा त्यसो गर्न पागलपन विक्षिप्त्वाच्छन्नले आछन्न व्यक्ति चाहिन्छ। वैयक्तिक जीवनका भोगिदा सन्दर्भ, अर्थ र मूल्यलाई नउदिनिदिए व्यक्ति आफैभित्र गुम्सिन्छ। मनभित्रको मानिस लेख्नु सार्है असजिलो कुरा हो।
यही सन्दर्भलाई लिएर अस्तित्ववादी साहित्य जन्मियो। मृत्यु बोकेर जन्मिएको मानिस, दुख झेल्न (तर सुखको अभिष्ट राखेर) जन्मिएको मानिस जिउने क्रममा निस्सार निरर्थकता बोध गर्छ, विवशताको भूमरीमा पर्छ, सिसिफस जस्तै हुन्छ, आत्मत्याग गर्न बेर लगाउँदैन। आफैलाई महत्ताहीन सम्झन्छ र मानवसत्ता प्रतिनै वितृष्ण बन्नसक्छ।
यिनै सन्दर्भ र वास्तविकतामा अस्तित्ववादी साहित्य जन्मिएको हो। भनौ अस्तित्ववादी दर्शन जन्मिएको हो। यसले प्राकृतिक अस्तित्वभन्दा माथि व्यक्तिको अस्तित्व रहन्छ, मानिस मृत्युसाथै लिएर जन्मिएको हुन्छ र आफ्ना पीडा, संघर्ष, दुख, विपर्यय र विसंगति बाध्यताबीच मानिसले अस्तित्वको खोजी गर्छ भन्ने आधारभूत मान्यता राख्दछ। म अर्थवान छु (आइ एम द भ्याल्युड पर्सन) भन्ने जीवनको सत्य,व्यक्तिको अनुभूति र अभिव्यक्तिको आशय यसले राखेको हुन्छ।
अस्तित्ववादका प्रणेता दार्शनिक सोरेन किर्केगाड हुन्। अठारौँ शताब्दीमा उनले आफ्ना समयका साहित्यिक, दार्शनिक र धार्मिक प्रतिष्ठानहरूलाई मानव अस्तित्वको प्रधान कार्यलाई गलत रूपमा प्रयोग गरेकोमा प्रतिवाद गरेर अस्तित्ववादको विउ रोपेका थिए। नैतिक र धार्मिक अर्थवत्तामा आफै उदाहरण बन्नुपर्ने दायित्वका उनीहरू आफै स्खलित भएको किर्केगाडको आरोप थियो।
उनी दार्शनिक सत्य र व्यक्तिगत सत्यबीचको भिन्नतामा विचरण गर्थे। भनौं यी दुईबीच खाडल हुनुहुन्न भन्ने मान्यतामा थिए। यदि त्यसो हुँदो हो त व्यक्तिहरू छद्म नाममा लेख्दैनथे। साहित्यकार, दार्शनिक र धार्मिक ठूलाबडाहरू आफै उदाहरण बन्थे। उनी हेगेलियन द्वन्द्ववादको प्रभुत्वबाट ग्रसितहरूको उग्र प्रतिवादमा थिए। धार्मिक संस्थामा जरा गाडेको विसङ्गतिले मानव अस्तित्वलाई अल्मल्याएको कुराको विपक्षमा थिए।
कसैले पनि जीवन्त सत्यलाई कम आँक्ने काम गर्नु हुन्न भन्ने उनको स्वर थियो। उनको निष्कर्ष थियो– जीवनको अर्थ अमूर्त प्रणालीबाट फेला पर्दैन, भावुक, गहिरो र जिम्मेवार हुनेले मात्र जीवनको अर्थ खोज्न सक्छ। उनका कृतिहरू डर कम्पन (फियर एण्ड ट्रेमलिङ) र मृत्युपर्यन्तको रोग (सिकनेस अन टु डेथ) ले जीवन र अस्तित्वको यही सेरोफोरमो खोजी गरेका छन्।
अस्तित्वको खोजीको क्रममा उनले तीन चरण उल्लेख गरेका छन्। पहिलो सौन्दर्यको चरण हो, जहाँ आनन्दको खोजी, संवेगात्मक अनुभव र बैराग्यबाट बच्ने प्रोत्साहनका उपायहरू रहन्छन्। यो शून्यता र निराशामा समाप्त हुन्छ। दोस्रो नैतिक चरण हो। यसमा नैतिक आचरणका नियमहरू, सामुदायिक प्रतिवद्धता रहन्छन्, जुन सुखका पनि बारबन्देज हुने गर्दछन्। सौन्दर्य वा सोचको जीवन राम्रो भएपनि गहिरो आन्तरिक सत्य बाह्य मापदण्डमा निर्भर गर्दछ भन्ने यस चरणले बताउने कुरा हो।
तेस्रो चरण उच्च स्तरको चरण हो, जहाँ परमेश्वरको अगाडि व्यक्ति एक्लै खडा हुन्छ। यसका लागि विश्वासको छलाङ जरुरी छ किनभने धार्मिक सत्यले मानवसत्यलाई अवज्ञा गर्दछ। किर्केगाडका विचार मानव अस्तित्वका लागि निकै रुपान्तरणकारी मानिन्छ।
अस्तित्ववादी दर्शनका महान् प्रयोक्ता फ्रेडरिक नित्जेले ईश्वरको मृत्युको घोषणा गरेर अस्तित्ववादी बनेका थिए। उनका अनुसार ईश्वरको अनुयायीहरूको भ्रामक र ढौंगीपनका कारण उनीहरूले ईश्वर मारे। मानिसहरूले आफ्नै भौतिक संसारमा मात्र भएको स्वीकार्नु पर्छ। मानिस भौतिक संसारको चेतनशील सानो अंश हो, उसले यसरी बाँच्नु पर्छ कि जीवनभन्दा बाहिर केही छैन। बाँच्न असफल हुनु, जोखिम लिन डराउनु, आफ्नै क्षमतामा असफलता हुनु हो।
नित्जेले शुरु गरेको अस्तित्ववादले मानिस मानिस आफैलाई आफ्नो इतिहासमा आफ्नो अस्तित्व र संसारको अस्तित्वलाई अर्थ दिन्छ। त्यसो गर्न उसले दूई कुरामा जोड दिन्छ। पहिलो, शरिर (मानवीय) क्षमताको सीमा अहिलेसम्म कसैले निर्धारण गरेको छैन। दा्स्रो, मानवीय जीवनका लागि नयाँ नैतिकता जरुरी छ। नैतिकताले जीवन कसरी जिउने भन्ने नैतिक संहिता र दिशानिर्देशलाई जनाउँदैन।
मानिस र उसका प्रजातिलाई जोगाइ राख्न अहिलको नैतिकता अहङ्कारी छ। नैतिकता भनेको विनम्रताको नैतिकता हो, गैरमानव प्राणीहरूभन्दा फरक मानिसहरू इतिहास र स्मृतिका उत्पादन हुन्, उनीहरूको दायित्व र जिम्मेवारी पनि फरक छ।
नैतिकताका नाममा मानिसका ठूला संभावनामाथि बन्देज लगाउनु हुन्न। मानवीय मूल्य र नैतिकताहरू मानीय अस्तित्व र महत्ताका लागि उसैद्वारा सिर्जित कुरा हुन्। उनी भन्ने गर्दथे बाँच्नु भनेको पीडा हो, जीवीत रहनु भनेको त्यही भोगाइमा अर्थ भेट्टाउनु हो।
चर्चित कृतिहरू थस स्पोक जुराथष्ट्र, वियोण्ड गड एण्ड इभिल, दी बर्थ अफ ट्रेजेडी, दी गे साइन्स, नैतिकताको समयसीमा, दी एन्टी क्राइष्टमा उनले आफ्नो अस्तित्ववादी दृष्टिकोण प्रयोग गरेको छन्।
उन्नाइसौँ शताब्दीमा उपन्यास फ्योदोर दोस्तोभ्स्कीले नोट्स फ्रम अण्डरग्राउण्ड मार्फत अस्तित्ववादी दर्शनलाई उचाइ दिए। उनका अस्तित्ववादी धारणा तीन मान्यतामा आधारित थिए, पहिलो मानिसलाई तर्क र विवेकका अधारमा मात्र बुझ्न र ब्याख्या गर्न सकिँदैन। उसका तर्कहीन इच्छाहरू हुन्छन् जसले तर्क र तथ्यलाई ओझेलमा पारिदिन्छ।
दोस्रो, दोस्तोएभ्स्कीले आफ्ना पात्रहरू मार्फत भनेका छन् मानिसहरू कतिपय जिम्मेवारीमा बोझको सामना गर्दछन् र कल्पनिक रूपमा त्यसलाई अस्वीकार गर्दछन्।
तेस्रो, दुख–विपत्ति पूर्व निर्धारित कुराभन्दा पनि जागरुकता, आध्यात्मिक जागरण र प्रामाणिक अस्त्तित्वका लागि महत्त्वपूर्ण मार्ग हो। यसर्थ तर्कप्रति आलोचनात्मक चेत, उच्च तहको स्वतन्त्रता र दुखको मूल्य दोस्तोभ्स्कीका अस्तित्वका आधार हुन्। यी नै कुरा उनको अपराध र दण्ड, ब्रदर्स करामाजोभमा पनि पाइन्छ। उनी अल्बेएर कामु, फ्रेडरिक नित्जे र जाँ पल सात्र्रबाट प्रभावित थिए।
फ्रान्सेली बहुआयामिक व्यक्तित्व जाँ पल सात्र्र अस्तित्ववादी सिर्जनामा विख्यात नाम हो। दोस्रो विश्वयुद्धको समय र तत्पश्चात लेखिएका उनका सिर्जनाले विक्षिप्त मानव समाज, उसले भोगेका पीडा र जन्मनुको दुखदायी कुराहरूलाई उजागर गर्दै त्यसबाट मुक्ति वा अस्तित्वको खोजी गरेका छन्। मानव जीवन ब्यर्थ छ भन्ने व्यग्र निराशाका स्वरहरू उनका कृतिहरूको प्रधान विषय हो।
उनका अनुसार अस्तित्व सारभन्दा अगाडि हुन्छ र शून्यबाट शुरु हुन्छ। स्वतन्त्रता एउटा भारी पनि हो। मानिस मौलिक रूपमा स्वतन्त्र भएका कारण उसले के सिर्जना गर्छ सारका लागि जिम्मेवार हुन्छ। जिम्मेवारी खुसीको छनौट होइनन्, दुखका बोझ हुन्। मानिसका छनौटले सधैँको पीडाको प्रतिवद्धता गर्दछ।
सधैँ स्वतन्त्रता र खुसी खोजिरहँदा व्यक्ति मृत्युसम्मको यात्रा गर्छ। जीवनमा खुसीका लागि दौडिन सकिन्छ, पुग्न सकिन्न। सात्र्र यसलाई खराब भाग्य भन्न रुचाउँछन्। यसो भन्दैमा संसारलाई अँध्यारो मात्र देख्नु हुन्न, उज्यालो खोज्नका लागि नै यसो भनिएको हो। उनको निष्कर्ष छ कि अस्तित्व सारभन्दा अगाडि हुन्छ। आफ्ना विचारलाई सात्र्रले उनका कृतिहरू हुनु र नहुन (विइङ एण्ड नोथिङनेस), मानवतावाद र अस्तित्वदा, नाउसी, सेन्ट जेनेट र दी वर्ड्समा व्यक्त गरेका छन्।
अर्का फ्रेन्च दार्शनिक अल्बेएर कामु सात्र्र जसरी नै दोस्रो विश्वयुद्धको सेरोफेरोमा मानिस, अस्तित्व, पीडा र त्यसबाट मुक्तिका अभिव्यक्ति दिन्छन्। उनका दी स्ट्रेन्जर, दी प्लेग, दी मिथ अफ सिसिफस, एक्जाइल एण्ड दी किङडम र दी फलमा मानिसका बेतुकीपन, स्वतन्त्रताको इच्छा र मानवीयताका स्वरहरू प्रतिध्वनित छन्।
उनको लेखनको केन्द्रीय भाव मानवीय अवसाद वा बेतुकीपन हो जसले जीवन अर्थहीन छ भन्छ। त्यहा मानवीय चाहना र मौन तथा चिसो ब्रहण्डबीचको अन्तद्र्वन्द्व छ। उनी अस्तित्ववादसँग जोडिए पनि त्यो पगरीलाई उनी अस्वीकार गर्दछन्। उनका अर्थमा जीवनको कुनै अन्तर्निहित उद्देश्य नभए पनि विद्रोह, स्वतन्त्रता र उत्साहका साथ बाँच्ने तर्क गर्दछन्।
उनका कृतिहरूको निष्कर्ष छ कि जीवन अर्थहीन छ, वा यदि अर्थवान् छ भने पनि त्यो खोजी गर्न असमर्थ छ। अर्को अर्थमा आफ्नो अस्तित्व खोजीका लागि मानिस आफै हतास छ, मौन छ र उदासीन छ। हतास वा उदासिनताकको मुक्ति आत्मत्याग वा जीवनबाट पलायन होइन, परिस्थितिलाई स्वीकारेर डट्नु हो। उनको कृत्रिमा सिसिफस बिम्ब घुमिरहन्छ। कामुका विचार र प्रयोगमा विरोधाभाष पनि पाइन्छ जुन अस्तित्ववादीहरूको सामान्य विशेषता पनि हो।
अतिवास्तविक र दुस्वप्नका कथाहरूका कारण काफ्काएस्क विचारका प्रतिपादक फ्रान्ज काफ्का अघिल्लो शताब्दीका सर्वाधिक मानिएका अस्तित्ववादी स्रष्टा हन्। उनका सिर्जना एक्लोपन, जैवनिक भ्रम र बेतुकी सांसारिक नियम र यान्त्रिकताको विक्षिप्तताले सिर्जना गरेको शून्यका वरिपरि छन्।
सात्र्र र कामुबाट अत्यधिक प्रभावित काफ्का आफ्नै जीवन र बाल्यकालमा पिता हर्मन काफ्काबाट उनीप्रति गरिएका व्यवहारलाई प्रतीकात्मक ढङ्गले सिर्जनामा उतारेकाले ती उनका अन्तरस्वामित्वका विषय बनेका छन्। उनले मेटामोर्फोसिस, दी क्यासल, दी जजमेन्ट, अमेरिका, लेटर अफ मेलिना, विफोर द ल, पेनाल कोलोनीबाट अस्तित्ववाद, व्यग्र निराशा र वेतुकी लेन्सबाट जीवनलाई नियालेका छन्।
काफ्काइ दर्शन विचित्र, अवास्तविक, निरर्थकता र कर्मचारीतन्त्रीय शैलीले सिर्जना गरेको भारले बर्बाद पारेको जीवन हो। उनलाई परिवारदेखि समाज र प्रेमिकासम्मले बर्बाद पारेको थिए, त्यसैको प्रतिबिम्बन कृतिहरूमा छ र त्यसैको आधारमा काफ्काइ दर्शन बनेको छ।
काफ्काका अघि केही बिम्ब छन्, बुबा नर्मन काफ्काको बडेमाको आकृति छ, जुन ईश्वरभन्दा महान् अनि राक्षसभन्दा डरलाग्दो छ। उनलाई बुवाको बिम्ब (व्यवहार र व्यक्तित्व) ले जीवनभर थिच्यो, उठ्नै दिएन; परिणामतः आफूलाई यति हीन सम्झे कि उनी केही पनि होइनन्, विवाह पनि गर्न सकेनन्, चाहेको विषय पढ्न पनि पाएनन्। रोगी बने, मानसिक बेचैनीमा रहे। बुवाको डरले विपनामा मात्र होइन, सपनामा पनि आफूलाई निरर्थक सम्झिरहे। त्यही निरर्थकतामै युवाअवस्थामा जीवनबाट बिदा भए।
दोस्रो बिम्ब कर्मचारीतन्त्र र न्यायप्रणालीको छ। बुवाको कारण वकिल बने, वकालती उनलाई मन नपर्ने विषय थियो; त्यसपछि देखे न्याय र कर्मचारीतन्त्रले जीवनलाई कसरी बर्बाद गरेको छ भन्ने।
अर्को बिम्ब सामाजिक हैसियतको विद्रूपपन हो, जहाँ पैसा बोल्छ, सम्बन्ध हैसियतले निर्धारण गर्दछ। यी तीन कुराले काफ्काका कृत्रिमा भयङ्कर भय र भ्रमको यथार्थता (हाइपर रियालिटी) देखिन्छ। उनका प्रधान पात्रमा वैयक्तिक डर असुरक्षा छ, आफ्ना अयोग्यताको डर, बाँच्न नसक्ने डर, पागलपनको डर र प्रेमको डर छ। उनको चर्चित कृति मेटामोर्फोसिसले यही कुरा बताइरहेको छ।
मेटामोर्फोसिसको प्रमुख पात्र ग्रेगर साम्सा विपनामा मात्र होइन, सपनामा पनि कीरा बनेर जीवनलाई व्यग्र निरासामा पाउँछ, विपनाले मात्र होइन सपनाबाट पनि ऊ लघारिएको छ। ग्रेगर साम्सा प्रतीकका रूपमा उतारेर पारिवारिक वातावारण, सामाजिक संस्कृति र शासकीय व्यवहारले व्यक्तिलाई राम्रो वा नराम्रो बनाउँछ, उसका व्यक्तिगत छनौट र स्वतन्त्रता यसैबाट निर्धारित हुन्छ, गतिशीलता वा गतहीनता, सिर्जना वा आफ्नै अन्त्य यसैबाट निर्धारित हुन्छ भन्ने देखाइएको छ।
काफ्काका कृतिको बुवा बिम्ब अस्तित्वको अति प्रभावकारी प्रयोग हो। उनको आफ्नै जीवन भोगाइ सापेक्ष्यमा उनका अनुभूति छन्– यथार्थ निकै भारी हुन्छ, त्यसैले मानिसहरू भ्रम पालेर त्यसैलाई खुसी भन्छन्। कामु र सात्र्रबाट प्रभावित भए पनि अन्तर्मनसम्म पुगेर आफैमाथिको प्रयोगमा उनका कृतिले दिएको अस्तित्ववादी दर्शन सात्र्र र कामुभन्दा कैयन उचाइमा छ।
काफ्कालाई लेखन आदर्श मान्ने हङ्गेरियन कवि/आख्यानकार लाज्स्लो क्रास्ज्नाहोर्काइ आफ्ना कृतिहरू सातान टाङ्गो, प्रतिशोधको उदासीनता, युद्ध अनि युद्ध, सेइवो दियर विलो, हख्र्त ०७७६९ मा काफ्काएस्क दर्शन (शून्य आनन्द?), खोज्छन्। जीवन अँध्यारो संसारको अद्भुत यात्रा र व्यग्र निराशा हो भन्ने सन्देशमार्फत अविश्रान्त सङ्घर्ष गर्न उनका कृतिले समजलाई उत्साह दिन्छ।
लाज्स्लो भन्छन्– ‘जब म काफ्का पढिरहेको छैन, म काफ्का विषयमा सोचिरहेको हुन्छु, जब काफ्काका विषयमा सोचिरहको हुन्न, मैले काफ्कालाई गुमाइरहेको हुन्छु।’ फ्रान्ज काफ्काले झैँ लाज्स्लोले जीवन हेर्ने सङ्क्षेत्र निराशा र अर्थहीनतामा छ, एक्लिएको छ, त्यसैमाथि राज्यव्यवस्थाका नाममा ब्यूरोक्रेसीले थिचेको छ र यस अवस्थामा जीवनको अर्थ र ओजन खोज्न सङ्घर्षरत रहनुको विकल्प छैन, सफल असफल जे भए पनि।
नेपाली साहित्यमा पनि अस्तित्ववादी प्रयोगले घनत्व पाएको छ। विश्वेश्वरप्रसाद कोइराला, पारिजात, दौलत विक्रम विष्ट,प्रेमा शाह, वानिरा गिरि, ध्रवचन्द्र गौतम, गोविन्दबहादुर मल्ल ‘गोठाले’ विजय मल्लले अस्तित्ववादलाई प्रयोग गरेका छन्। विश्वश्वरका पात्रहरू काफ्काका गैगर साम्सा नभएपनि दोस्तोएभ्स्की र सात्र्रका जस्ता छन्।
दौलतविक्रम, ध्रुवचन्द्र, मल्ल बन्धुहरूले विश्वेश्वरलाई पछ्याएमा छन्। शिरीषको फूल, महत्ताहीन, मैले नजन्माएको छोरो, मानुषी, व्यर्थ प्रयास, मृत्यु लगायतका कविताहरूमा पारिजातले समातेको फ्रान्ज काफ्काको व्यग्र निराशालाई प्रेमा शाह, बानिरा गिरी, मञ्जुल, हरिभक्त कटुवालहरूले पक्ष्याएका छन्।
साहित्यमा मात्र होइन, कलाका अन्य माध्यममा पनि व्यग्र निरासाको मानिसलाई मुक्ति र महत्ताका लागि सिर्जना भएका छन्, अभियान नै चालिएका छन्। सङ्गीतमा जन्मिएको बिट जेनेरेशन यसैको उपज थियो। जाज, पङ्क, रकरिविलिएन, हिपीहरूले सङ्गीत र श्ववरमार्फत अस्तित्वको ध्वनि जगाए।
रोज्सो सरेस र बिल्ली होलिडेले उदास आइतवारमार्फत प्रेम निराशाको स्वर फैलाए। कलामा फ्रान्सिस बेकन, जीन डुवुफेट, अल्बर्टो गियाकोमेटोहरूले जीवनको नवीन मूल्य मानकीकरण गर्न खोजे। परम्परागत मूल्य मानकका सीमा भत्काएर नवीन मानकीकरण भएपछि अर्थ, महत्त्व र मायामा जीवनका परिभाषा पाइन्छन्, त्यही नै अस्तित्व हो भन्नेमा नयाँ पुस्ता आएको छ। प्रविधि र मानिसको गतिशीलताबाट सांस्कृतिक पहिचान एस्सिमिलेसन (ठूला पहिचानमा मिसिएका) हराउँदै छन्।
बदलिएका स्वतन्त्रता, विचार, जिम्मेवारी र मानव मूल्यलाई कृत्रिम बौद्धिकताले विस्थापन गर्दै गएकोले अस्तित्वमा बेगलखाले चुनौती आएको छ। यस अर्थमा अघिल्लो शताब्दीमा नित्जेहरूले शुरु गरेको निस्क्रिय शून्यवाद (निहिलिक्म) र तीसको दशकको विटजेनेरेशनले शुरु गरेको सक्रिय शून्यवादी अभियान जस्तै अर्को अस्तित्ववादी आन्दोलन हुने निश्चित छ।
अति निराशाको शून्यता, आत्मिक आनन्दबाट विच्छेद, व्यग्र विसङ्गति, अतिसय हतास र संस्था र सामाजिकताको चेपुवाबाट निस्कन नसकेको मानिसलाई जगाउन नै अस्तित्ववाद प्रयोग भएको छ। अस्तित्ववादीहरू अँध्यारो सत्य प्रस्तुत गर्दछन्। अस्तित्ववादका कोणीय विन्दुमा मृत्यु, निजी स्वतन्त्रता, एकान्तीकरण र अर्थहीनता रहेर जीवनलाई चतुष्कोणीय सङ्क्षेत्रमा हेर्ने गर्दछ।
पहिलो कोण जन्मदा नै मानिस मृत्युसाथ आएकोले मृत्युको अवश्यम्भाविता छ भन्छ। दोस्रो कोण स्वतन्त्रतामा व्यक्तिका चयन र जिम्मेवारी रहेका छन्, ती आफैमा बोझिला छन्। तेस्रो केणमा एक्लोपन छ। आधारभूत एक्लोपनले मानिसलाई गाँजिरहेको छ। र चौथो कोण अर्थहीनता भनौ वा अघिल्ला तीनकोणका बावजुद पनि अर्थको खोजी हो। अर्को अर्थमा जीवनको कुनै अन्तरनिहित अर्थ नभएकोले अर्थहीनताको चिन्तनसँग लड्न हाम्रो आफ्नै उद्देश्य र मूल्यमानक सिर्जना गर्ने जिम्मेवारी पनि हामीमै छ।
सात्र्र, काफ्का, पारिजात–प्रेमा, कामु, दोस्तोएभ्स्की, दौलत विक्रम, विश्वेश्वर, भिर्जनिया उल्फ, परविन शाकिर, आर्थर सोपेन्हाउअर सबै यही अस्तित्वको चतुष्कोणीय वृत्तिमा छन्। उनीहरूको साझा स्वर मानिस केही पनि होइन, आफूलाई जसरी तयार गर्छ त्यही हो। त्यही नै अस्तित्व हो।