जब–जब विपत्तिका बादल छाउँछन्,
जब–जब आँधीले हाम्रो यात्रा रोक्छ,
जब–जब अन्धकारले उज्यालो छोप्छ,
जब आगोको लप्काले हाम्रो देश जलाउँछ,
जब भूकम्पको कम्पनले धर्ती हल्लाउँछ
त्यही बेला
हामीलाई
एउटा अदृश्य धागोले बाँध्छ-
प्रेमको,
सद्भावको,
संस्कृतिको,
आत्मीयताको।
त्यो कुनै पुराणमा कल्पिएको छैन
त्यो कुनै कुरानमा लेखिएको छैन
न त्यो कुनै काशीमा पाइन्छ
न त्यो कुनै काबामा भेटिन्छ
न कुनै वेदाश्रममा पढाइन्छ
न कुनै मस्जिदमा सिकाइन्छ।
तराईको रापले
त्यसलाई जलाउन सक्दैन
हिमालको चिसोले
त्यसलाई जमाउन सक्दैन।
त्यो धागो-
जसका लागि
यस धर्तीका सबै मानिस
एउटै कथाका पाना हुन्
एउटै आत्माका स्पन्दन हुन्।
जात–जाति, धर्म–सम्प्रदाय
जे भए पनि
सबैभन्दा पहिले
ती सबै
नेपाल आमाका सन्तान हुन्।
इतिहासका केही क्षणमा
हामीले आफ्नै घर जलायौँ
आफ्नै घरका भित्ताहरू चर्कायौँ
आफ्नै सपनाहरू घाइते बनायौँ।
रिसले कहिलेकाहीँ
हातमा लाठी उठायौँ
क्रोधले कहिलेकाहीँ
एकअर्का विरुद्ध बन्दुक बोक्यौँ।
तर
एउटा धागो छ-
अदृश्य तर अटुट,
अमूर्त तर अटल,
जसले हामीलाई
सधैँ जोगायो।
टाउकाहरू फेरिए,
शासनहरू आए गए,
समयका पानाहरू पल्टिए,
तर हाम्रो प्रेम,
हाम्रो सद्भाव,
हाम्रो सहिष्णुता,
हाम्रो भाइचारा
कहिल्यै फुटेन।
त्यही अदृश्य धागोका कारण
हाम्रो साथ, हाम्रो सान्निध्य
कहिल्यै टुटेन
किनकि-
हामी जहाँ बसे पनि,
जहाँ पुगे पनि,
जे माने पनि,
जे ठाने पनि-
हामी हिमाल हौँ,
हामी पहाड हौँ,
हामी तराई हौँ
हामी एक हौँ
हामी एक हौँ।