देवीरमण आफ्ना परिवारका साथ २०३५ सालतिर तेह्रथुमबाट मोरङको पथरी झोडामा बसाइँ सरेका थिए।
पथरीमा उनको राम्रै फलिफाप भयो। सुरुमा भविष्यको आशाबाहेक उनीसँग केही थिएन तर मेहनत, विद्वत्ता र अनुशासनका बलमा छोटो समयमै उनी त्यस भेगका प्रतिष्ठित व्यक्तिका रूपमा गनिन थाले।
संस्कृतका मन्त्रहरू केवल पाठ गर्ने मात्र होइन, उनको प्रत्येक उच्चारण स्पष्ट, स्वर शुद्ध र व्याख्या अर्थपूर्ण हुन्थ्यो। विवाह, व्रतबन्ध, रुद्री, नारायणपूजा, गृह प्रवेश वा श्राद्ध— कुनै पनि धार्मिक अनुष्ठान देवीरमणबिना पूरा हुँदैन भन्ने विश्वास गाउँभरि गहिरिँदै गयो।
उनको सम्मान केवल पुरोहित हुनुमा मात्र सीमित थिएन; गाउँका सानातिना झैझगडा मिलाउन वा आर्थिक सारो-गाह्रो फुकाउन समेत उनी अग्रसर हुन्थे। पछि छोरा गणेशलाई पनि जजमानी पेसामा जोडेपछि त उनीहरूको उन्नति दिन दुगुना रात चौगुनाका दरले हुन थाल्यो।
बाहिरबाट हेर्दा यो परिवारमा कुनै अभाव देखिँदैनथ्यो— सम्मान, सम्पत्ति र आत्मीयता सबै थियो। तर देवीरमणको हृदयको एउटा कुनामा कहिल्यै नमेटिने घाउ थियो। त्यो घाउको नाम थियो— सानी।
सानी उनकी छोरी थिइन्। त्यस बेला सानै उमेरमा विवाह गरिदिने चलन भए तापनि उनले छोरीलाई १५ वर्ष पुगेपछि मात्र बिहे गराएका थिए। दुई वर्षपछि सानी गर्भवती भइन्। दुवै परिवार नयाँ सदस्यको व्यग्र प्रतीक्षामा थिए तर नियतिको निर्णय अर्कै रहेछ। प्रसूतिका क्रममा चिकित्सकले शिशुलाई त बचाए तर आमालाई बचाउन सकेनन्।
अस्पतालको त्यो दिन सम्झिँदा आज पनि देवीरमणको मुटु चिरिन्छ। त्यही नवजात शिशु आज सबैले ‘नातिबाबु’ भनेर चिनिने होनहार युवक बनेको थियो।
हाईस्कुलको पढाइ सकेर दार्जिलिङको गभर्मेन्ट कलेजमा नातिबाबु प्रथम भएको समाचार आउँदा देवीरमणको अनुहार उज्यालो हुन्थ्यो। उनी मनमनै प्रार्थना गर्थे— ‘भगवान्! छोरीलाई लगे पनि उसको छोरालाई सधैँ सफल बनाइदिनू।’
तर उनलाई थाहा थिएन, विधाताले उनको अर्कै परीक्षा लिने तयारी गरिरहेका थिए।
आज देवीरमणको जीवनको भरोसाको केन्द्र— नातिबाबु दार्जिलिङमा उच्च शिक्षा पूरा गरेर फर्कँदै थियो। घरमा विशेष सरसफाइ र सजावट गरिएको थियो। भान्छाबाट मीठा-मीठा परिकारको बास्ना आइरहेको थियो।
केही बेरमा काँकडभिट्टाबाट आएको बस पथरीमा रोकियो र नातिबाबु ओर्लियो। देवीरमणको अनुहारमा खुसीले छाउन पुग्यो। तर त्यो उज्यालो केही मिनेट पनि टिकेन। नातिबाबु ओर्लिए लगत्तै पछि-पछि एउटी सुन्दरी युवती पनि ओर्लिइन्। देवीरमणको मनमा अनेकौँ आशङ्काहरू उब्जिए, अनुहार फुस्रो बन्यो।
घर पुगेर सामान्य हालचाल सोधपुछ भएपछि नातिबाबुले ती युवतीको परिचय गराउँदै भन्यो– ‘बाबा! यिनी तेजस्विनी, हामीसँगै पढेकी कलेजकी साथी। हामीले सँगै जीवन बिताउने निर्णय गरिसकेका छौँ।’
तेजस्विनीले दुवै हात जोडेर सबैलाई नमस्कार गरिन्। देवीरमणले टाउको मात्र हल्लाए। उनका भविष्यका योजनाहरू एकैछिनमा सिसाको झ्याल फुटेझैँ छिन्नभिन्न भए। नातिबाबुको विवाह यसरी होला भन्ने उनले सपनामा पनि सोचेका थिएनन्। आफ्नै फराकिलो आँगनमा भव्य मण्डप बनाएर, देश-विदेशका आफन्तलाई डाकेर ठुलो भोज खुवाउने सपना थियो उनको।
उनले अँध्यारो मुख लगाउँदै नातिबाबुलाई भने– ‘विवाह भनेको दुई जनाको मिलन मात्र होइन, दुई परिवारको पनि मिलन हो। ग्रहगोचर हेर्नुपर्छ, नाडी मिल्नुपर्छ। खड्गाष्टक पर्यो भने विवाह सफल हुँदैन।’
देवीरमणले फेरि थपे— ‘गाउँभरिका मानिसहरू यस्ता कुरामा मलाई नसोधीकन निर्णय गर्दैनन्, तर आफ्नै नातिले भने...’
वाक्य पूरा हुन नपाउँदै नातिबाबुले भन्यो– ‘यी सब पुराना कुरा हुन् बाबा! अब यस्तो हेराइ-देखाइ गर्नु पर्दैन। हाम्रो मन मिलेको छ, पुग्यो त!’
‘दुई जनाको मन मिलेपछि पुग्यो र?’
‘मेरो विचारमा त पुग्छ,’ नातिले स्पष्ट शब्दमा भन्यो।
नातिको यस्तो जवाफले देवीरमणलाई बज्रपात भएझैँ भयो। केही बेर सन्नाटा छायो। देवीरमणले फेरि अर्को प्रश्न गरे, ‘अनि तिम्रो थर चाहिँ के नि नानी?’
नातिबाबुले तेजस्विनीतिर हेर्यो। तेजस्विनीको अनुहारमा कुनै डर थिएन, बरु एउटा अद्भुत आत्मविश्वास थियो। उनले सहजै भनिन्, ‘हामी विश्वकर्मा समुदायका हौँ बाबा!’
देवीरमणको घरमा केही क्षण अघिसम्म रहेको पकवानको सुगन्ध, पाहुनाको चहलपहल र हाँसो— सबै एकैपटक सुनसान बन्यो। देवीरमणलाई लाग्यो, कसैले उनको छातीमाथि शताब्दीऔँ पुरानो गह्रुङ्गो ढुङ्गा राखिदिएको छ।
त्यसो त देवीरमण आफैँ जातपातमा त्यति कटर विश्वास गर्दैनथे। तराईमा बसाइँ सर्ने क्रममा कयौँ पटक उनले कथित तल्लो जातका मानिसको घरमा खाना खाएका थिए। बाध्यतामा खाएको भए पनि त्यसलाई उनले स्वाभाविक मानेका थिए। उनी भन्ने गर्थे— ‘मानिस पहिले मानिस भएर जन्मिन्छ, त्यसपछि समाजले मानिसलाई उच-निच बनाउँछ।’
तर तराई झरेर पुरोहित कर्म गर्न थालेपछि जीविकाका लागि उनले आफ्ना कतिपय व्यक्तिगत विश्वासलाई तिलाञ्जली दिनुपरेको थियो। यहाँ उनी धर्म, संस्कार र धार्मिक कर्मकाण्डका प्रवक्ता बनेका थिए। यसैका कारण समाजमा उनको मान-मर्यादा र वैभव बढेको थियो। त्यसैले यो सामाजिक परिपाटीलाई बेवास्ता गर्ने सामर्थ्य उनीसँग थिएन। तर अर्कातिर, आफ्नी प्यारी स्वर्गीय छोरीको प्रतिमूर्ति नातिबाबुको जीवनको सवाल थियो।
उनी मानसिक अन्तर्द्वन्द्वले छटपटाउन थाले। उनको शरीर काँप्न थाल्यो। कान्छा भाइ राधारमणले दाजुलाई यसरी निरीह बनेको पहिलो पटक देखेका थिए।
बेलुका खाना खाएर सबै आ-आफ्नो कोठामा गए। देवीरमण रातभरि सुत्न सकेनन्। समय कसैको दुःख-दर्द सुनेर रोकिँदैन; ऊ आफ्नै गतिमा अघि बढिरहन्छ। रात बित्यो, उज्यालो भयो। आज उनले एउटा कठोर निर्णय लिनु थियो— जसले उनको वा नातिबाबुको जीवनमा ठुलो आघात पुर्याउने निश्चित थियो।
राति नातिबाबु र तेजस्विनी पनि निदाउन सकेका थिएनन्। उनीहरूको मानसपटलमा विगतका अनेकौँ दृश्यहरू चलचित्रझैँ घुमिरहेका थिए।
नातिबाबुले सम्झियो— कलेजको पहिलो दिन। सबै विद्यार्थी आ-आफ्नो ठाउँमा अनुशासित भएर बसेका थिए। एकछिनमा एउटी युवती कक्षामा प्रवेश गरिन्— उनी तेजस्विनी थिइन्। उनले चारैतिर नजर दगुराइन्, तर कतै सिट खाली थिएन। नातिबाबु बसेको नजिकै एउटा सिट खाली देखेर उनी नजिकिइन् र सोधिन्, ‘यो सिट खाली हो?’ नातिबाबुले ‘हो’ भनेपछि उनी त्यहीँ बसिन्।
पहिलो दिन भएकाले प्राध्यापकले परिचय कार्यक्रम राखेका थिए। सबैले आफ्नो नाम र ठेगाना बताए। तेजस्विनीले आफ्नो घर दार्जिलिङको बतासेडाँडा बताइन्। अब नातिबाबुको पालो थियो। उसले ठेगाना त सजिलै भन्यो, तर नाम भन्ने बेला अकमकाउँदै भन्यो— ‘मेरो नाम... नातिबाबु हो।’
उसको नाम र भन्ने शैली सुनेर कक्षामा हाँसोको फोहोरा छुट्यो। तेजस्विनी पनि मुस्कुराइन्, तर उनको मुस्कानमा उपेक्षा होइन, एउटा कौतूहल र जिज्ञासा थियो।
कक्षा सकिएपछि उनले नातिबाबुलाई सोधिन्, ‘तपाईँलाई यो नाम कसले राखिदिएको नि?’
‘मलाई धेरै माया गर्ने मान्छेले,’ नातिबाबुले गम्भीर हुँदै भन्यो। तेजस्विनीले त्योभन्दा अगाडि सोध्ने हिम्मत गरिनन्।
बिस्तारै उनीहरूको सामीप्य बढ्दै गयो। पुस्तकालयमा अध्ययन गर्ने विषयहरू पनि उस्तै-उस्तै थिए। दुवै जना छलफल गर्दै पढ्न थाले। कलेजको प्राङ्गणपछाडिको चौतारामा नियमित भेट हुन थाल्यो।
एकदिन तेजस्विनीले सोधेकी थिइन्— ‘नातिबाबु, तिमीलाई सबैभन्दा बढी डर केसँग लाग्छ?’
नातिबाबुले एकछिन रोकिएर भनेको थियो— ‘मलाई आफूले माया गर्ने मान्छे गुमाउनुपर्छ कि भन्ने डर लाग्छ।’
‘किन?’
‘मैले जन्मँदै मलाई माया गर्ने आमा गुमाइसकेको छु। त्यसले मेरो मनमा गहिरो अभावको घाउ बनाएको छ। अब फेरि कसैलाई गुमाउनु नपरोस् भन्ने लाग्छ।’ उसले उल्टै सोध्यो, ‘अनि तिमीलाई नि?’
‘मलाई चाहिँ मेरो मन र क्षमताभन्दा पनि मेरो थरका आधारमा कसैले मूल्याङ्कन गर्छ कि भन्ने डर लाग्छ।’
‘त्यस्तो पनि हुन्छ र?’
‘हुन्छ, मैले धेरै भोगेकी र देखेकी छु,’ तेजस्विनीले उदास हुँदै भनेकी थिइन्।
त्यसपछि उनीहरू कक्षाकोठातर्फ लागेका थिए।
वर्षहरू बित्दै जाँदा उनीहरूको प्रेम वैशाखको पालुवाजस्तै मौलाउँदै गयो। यस बिचमा उनीहरूले जीवनभर एक-अर्काको साथ नछोड्ने कसम खाइसकेका थिए।
तेजस्विनीको घर दार्जिलिङको बतासेडाँडाको एउटा सानो गाउँमा थियो। उनको घरको झ्यालबाट पारिपट्टि नेपालका हरिया डाँडाकाँडा, फुलेका गुराँस र टाढा टल्किरहेको कञ्चनजङ्घा प्रस्ट देखिन्थ्यो। उनलाई त्यो दृश्य अति नै मनोरम लाग्थ्यो; घण्टौँ झ्यालमा बसेर नेपालपट्टिको प्राकृतिक सौन्दर्य हेरिरहन्थिन्। नियतिले उनको कर्मथलो त्यही नेपाल नै बनाउन लागेको सम्झेर उनी मनमनै दङ्ग पर्थिन्।
उनकी आमा दार्जिलिङकै स्वास्थ्य चौकीमा नर्स थिइन्। बहिनी १० कक्षामा पढ्दै थिइन्। दुवै दिदी बहिनीले छात्रवृत्ति पाएका थिए। उनका बाबा पल्टनमा भर्ना भएको भोलिपल्टै सहिद भएका रहेछन्। कहिलेकाहीँ बाबालाई सम्झेर उनी घण्टौँसम्म सहिद पार्कमा बस्थिन्। नातिबाबु जीवनमा आएपछि भने विगतका दुःखका दिनहरू सम्झनाबाट बिस्तारै धमिलिँदै गएका थिए।
एकदिन नातिबाबुले तेजस्विनीसँग विवाह गर्ने निर्णय तेजस्विनीकी आमालाई सुनाएको थियो। आमाले भन्नुभएको थियो— ‘बाबु! निर्णय गर्न जति सजिलो हुन्छ, त्यसलाई निभाउन त्यति नै कठिन हुन्छ। यदि तिमीहरूमा एक-अर्काप्रति सच्चा विश्वास छ भने मेरो पूर्ण आशीर्वाद छ।’
भोलिपल्ट कलेजको दीक्षान्त समारोह थियो। प्रमुख अतिथिले प्रमाणपत्र बाँड्दै उज्ज्वल भविष्यको कामना गरे। नातिबाबु र तेजस्विनीले पनि कलेजको पोसाकमा सँगै र छुट्टाछुट्टै धेरै तस्बिरहरू खिचे। दार्जिलिङ छाड्नुअघि तेजस्विनीले ती तस्बिरहरू बैठक कोठामा सजाएर टाँगेकी थिइन्।
त्यसपछि पथरी जाने दिन आयो। तेजस्विनीले सबैका लागि उपहारहरू किनिन् र भोलिपल्ट बिहानै दुवै जना पथरीका लागि प्रस्थान गरे।
तर पथरीको वातावरण भने सोचेभन्दा सर्वथा फरक र अनपेक्षित भइदियो।
लामो मौनतापछि देवीरमण तेजस्विनीतिर फर्किए र सुस्तरी फुसफुसाए– ‘मलाई माफ गर छोरी! तिमीलाई बुहारीका रूपमा स्वीकार गर्ने साहस ममा भएन।’
तेजस्विनीको अनुहारमा कुनै विचलन आएन। मानौँ उनी देवीरमणको मुखबाट यही उत्तर सुन्न मानसिक रूपमा तयार भएरै आएकी थिइन्।
उनले नम्र तर दृढ स्वरमा भनिन्— ‘बाबा! यसमा हजुरको कुनै दोष छैन। शताब्दीऔँ पुरानो रूढिवादी साङ्लोले हजुरलाई बाँधेको छ; वास्तवमा हामी सबै बाँधिएका छौँ। हाम्रो जीवन त अझै लामो छ। गारोहरू त्यसै ढल्दैनन्, साङ्लोहरू आफैँ चुँडिँदैनन्। हामी यसका लागि सङ्घर्ष गर्छौँ। हजुर सन्तुष्ट हुनुभयो भने मात्र हामीलाई शक्ति मिल्छ।’
देवीरमणले टाउको उठाएर तेजस्विनीलाई पुलुक्क हेरे— त्यहाँ उनले एउटी साधारण युवती होइन, नामजस्तै सच्चा ‘तेजस्वी’ देवीको स्वरूप देखे।
तेजस्विनीप्रति उनको मनमा एकाएक अगाध श्रद्धा र भरोसा जागेर आयो। उनले अलि उच्च र भावुक स्वरमा भने— ‘छोरी! तिमी नातिबाबुलाई छाडेर एक्लै जान सक्दिनौ। जान्छौ भने यसलाई पनि सँगै लिएर जाऊ। तिमीबिना यो यहाँ खुसीसाथ बाँच्न सक्दैन। म यसलाई दुःखी भएको हेर्न सक्दिनँ। नातिबाबु रोयो भने मेरी स्वर्गीय छोरी सानीको आत्मा पनि रुनेछ। म यिनीहरूलाई रुवाएर कसरी खुसी हुन सक्छु र?’
परिस्थितिले एकाएक कोल्टो फेर्यो। मनको आकाश सफा भयो। बिहानको सूर्य तेजोमय भएर झुल्कियो।
केही क्षणपछि देवीरमणको घरअगाडि काँकडभिट्टा जाने बस रोकियो। तेजस्विनी र नातिबाबुले देवीरमण र परिवारका सबै सदस्यलाई झुकेर ढोगे र चाँडै शुभ समाचार लिएर फर्किने वाचा गरे।
बस पूर्वतर्फ हुइँकियो तर यसपालि देवीरमणको मनमा कुनै अँध्यारो थिएन। आफूले गरेको साहसिक निर्णयबाट आफै सन्तुष्ट थिए।