मानिसको जीवनलाई बाहिरबाट हेरेर उसको कथा बुझ्न सकिँदैन। कसैको अनुहारमा मुस्कान देखिँदैमा उसको मनमा वसन्त फुलेको हुन्छ भन्ने छैन।
कतिपय मुस्कानहरू आँसु लुकाउने पर्दा मात्र हुन्छन्। कतिपय मानिसहरू भीडको बिचमा उभिएर पनि यति धेरै एक्ला हुन्छन् कि आफ्नै सासको आवाजसमेत अपरिचित लाग्न थाल्छ। म पनि त्यस्तै एउटा पात्र हुँ— जसले जीवनसँग हाँस्न खोज्यो, तर नियतिले पटक–पटक रुवाइरह्यो।
मानिसहरूले मेरो अनुहार देखे, मेरो चाल देखे, मेरो मौनता देखे तर मेरो मनभित्र प्रत्येक रात मच्चिने आँधी कसैले देखेन। कसैले सोधेन, ‘तिमी साँच्चै कस्तो छौ?’ सबैले मेरो शरीर हेरे, तर मेरो आत्मा बिस्तारै थाक्दै गएको कसैले महसुस गरेन।
मानसिक रोग शरीरमा लाग्ने चोटजस्तो हुँदैन। यसमा रगत बग्दैन, पट्टी बाँध्नुपर्दैन, एक्स-रेमा देखिँदैन। तर यसले मानिसको अस्तित्वलाई भित्रैदेखि टुक्रा–टुक्रा बनाइरहेको हुन्छ। यही अदृश्य पीडाले मलाई पनि लामो समयसम्म थलायो। यस्तो लाग्थ्यो, म बाँचेको छु तर जीवन भने बाँचिरहेको छैन।
कहिलेकाहीँ बिहानको घाम झ्यालबाट कोठाभित्र पस्थ्यो तर त्यो उज्यालो मेरो मनसम्म आइपुग्दैनथ्यो। संसार आफ्नो गतिमा दौडिरहेको थियो तर म भने आफ्नै विचारहरूको अँध्यारो सुरुङभित्र अल्झिरहेको थिएँ। वरिपरि मानिसहरू थिए, परिवार थियो, आफन्त थिए, साथीहरू थिए, तर मेरो मनले भने सबैबाट टाढिएको अनुभव गर्थ्यो।
हजारौँ शब्द बोल्न सक्ने जिब्रो मौन हुन्थ्यो किनकि मनका घाउलाई शब्दले सजिलै बयान गर्न सकिँदैन। रात मेरो सबैभन्दा कठिन साथी बनेको थियो। संसार निदाइसकेपछि मेरो मन जाग्थ्यो। पुराना सम्झनाहरू, असफलताहरू, डर, चिन्ता र अनुत्तरित प्रश्नहरूले मेरो सिरानी घेरिहाल्थे। निद्रा आँखासम्म आइपुग्थ्यो, तर मनको अशान्तिले उसलाई फर्काइदिन्थ्यो।
त्यो मौन रातमा कहिलेकाहीँ आफ्नै सासको आवाज पनि भारी लाग्थ्यो। लाग्थ्यो, म आफैँसँग युद्ध गरिरहेको एउटा थाकेको सैनिक हुँ। मानिसहरू भन्थे, ‘सकारात्मक सोच’, ‘धेरै नसोच’, ‘घुम्न जाऊ, सबै ठिक हुन्छ।’ उनीहरूको नियत राम्रो थियो तर मानसिक पीडाको गहिराइ उनीहरूले देखेका थिएनन्।
डुबिरहेको मानिसलाई किनाराको सुन्दरता सुनाएर बचाउन सकिँदैन; उसलाई हात समातेर बाहिर निकाल्नुपर्छ। त्यस्तै मानसिक रोगसँग संघर्ष गरिरहेको मानिसलाई सबैभन्दा बढी चाहिने कुरा उपदेश होइन; साथ, धैर्य र बुझाइ हो। यद्यपि जीवनले मलाई केवल रुवाएन, यसले धेरै कुरा सिकायो।
आँसुले मानिसलाई कमजोर मात्र बनाउँदैन, कहिलेकाहीँ त्यही आँसुले मानिसलाई सबैभन्दा बलियो पनि बनाउँछ। अँध्यारोले नै उज्यालोको मूल्य सिकाउँछ। पीडाले नै करुणा सिकाउँछ। असफलताले नै उठ्न सिकाउँछ। र एक्लोपनले नै आफूलाई चिन्न सिकाउँछ।
मैले बिस्तारै बुझ्न थालेँ— जीवन भनेको कहिल्यै नहार्नेहरूको कथा होइन; हजारौँ पटक ढलेर पनि फेरि उठ्नेहरूको कथा हो। आँधीले रूखलाई हल्लाउन सक्छ, तर जरो गहिरो छ भने त्यसलाई उखेलेर लैजान सक्दैन।
मेरो जीवनमा पनि धेरै आँधी आए तर आशाको एउटा सानो दीपक कहिल्यै निभेन। कहिलेकाहीँ त्यो झिलिमिली मात्र भयो तर पूर्ण रूपमा निभेन। कहिलेकाहीँ जीवन एउटा खुला पुस्तकजस्तो देखिन्छ तर त्यसका सबैभन्दा गहिरा अध्यायहरू कसैले पढ्न सक्दैन।
बाहिरबाट हेर्दा म पनि अरूजस्तै सामान्य मानिस थिएँ। मेरो अनुहारमा मुस्कान थियो, ओठमा केही शब्द थिए, आँखामा केही सपना थिए। तर त्यो मुस्कानभित्र एउटा मौन चित्कार थियो, ती आँखाभित्र अविरल वर्षा थियो र ती सपनामाथि निराशाका कालो बादल मडारिरहेका थिए।
मानिसहरू भन्थे, ‘तिमी त ठिकै देखिन्छौ।’ म मुस्कुराउँथेँ। तर त्यो मुस्कान सत्य थिएन, त्यो त केवल संसारलाई ढुक्क पार्ने एउटा अभिनय थियो। वास्तविक म त आफ्नै मनको अँध्यारो कोठामा कैद भइसकेको थिएँ। जहाँ हरेक दिन आशाले ढोका ढकढक्याउँथ्यो तर निराशाले त्यो ढोका खोल्न दिँदैनथ्यो।
मानसिक रोगले मलाई एकैचोटि ढालेको थिएन। त्यो त पानीको थोपा–थोपा झरेर चट्टान घिस्रिएझैँ बिस्तारै मेरो आत्मविश्वास, मेरो उत्साह र मेरो अस्तित्वलाई क्षयीकरण गर्दै गयो। सुरुमा मैले यसलाई सामान्य थकान ठानेँ। पछि तनाव होला भन्ने सोचेँ। त्यसपछि समयले सबै ठिक पार्छ भन्ने भ्रम पालेँ।
तर समय मात्र पर्याप्त रहेन। मनको घाउलाई पनि हेरचाह चाहिँदो रहेछ, ठिक शरीरलाई जस्तै। रात मेरा लागि केवल समय थिएन, एउटा परीक्षा थियो। संसार निदाइसकेपछि मेरो मन जाग्थ्यो। सम्झनाहरूले ढोका ढकढक्याउँथे। असफलताहरूले मनको ऐनामा आफ्नै अनुहार देखाउँथे। भविष्यको डरले छाती भारी बनाउँथ्यो। अनि म झ्यालबाहिरको अँध्यारो हेर्दै सोच्थेँ— के कहिल्यै मेरो जीवनमा पनि उज्यालो फर्केर आउला?
धेरै पटक म आफ्नै अस्तित्वसँग प्रश्न गर्थेँ। ‘के म साँच्चै कमजोर छु?’ ‘किन म यति धेरै थाकेको छु?’ ‘किन मेरो मनले शान्ति भेट्न सक्दैन?’ ती प्रश्नहरूको उत्तर कसैसँग थिएन। उत्तर खोज्ने यात्रामै मैले आफूलाई अझ धेरै हराएको पाएँ।
तर प्रकृतिले मलाई एउटा अद्भुत पाठ सिकाइन्। मैले देखेँ— हिउँदले रुखका सबै पात झारिदिन्छ, तर वसन्त आउँदा त्यही रुख फेरि हरियालीले भरिन्छ। नदीलाई ठुलो चट्टानले रोक्न खोजे पनि नदीले आफ्नो बाटो बनाइहाल्छ। रात जति नै लामो भए पनि बिहानलाई रोक्न सक्दैन। अनि मैले सोचेँ— यदि प्रकृतिले कहिल्यै आशा छोड्दिन भने, म किन हार मानूँ?
त्यस दिनदेखि मैले आफूलाई घृणा गर्न छोडेँ। आफ्ना आँसुहरूलाई कमजोरी होइन, मनको भाषा मान्न थालेँ। आफ्ना घाउहरूलाई लुकाउन होइन, स्वीकार गर्न सिकेँ। किनकि घाउ स्वीकार नगरी उपचार सम्भव हुँदैन।आज म अझै यात्रामै छु। म पूर्ण छैन। कहिलेकाहीँ अझै मन भारी हुन्छ। कहिलेकाहीँ पुराना घाउहरू फेरि पोल्छन्। तर फरक यति मात्र छ— पहिले म अँध्यारोसँग हार्थेँ, आज म उज्यालोतर्फ हिँडिरहेछु। पहिले म आफैँलाई दोष दिन्थेँ, आज म आफैँलाई माया गर्न सिक्दै छु।
सबैभन्दा बलिया मानिसहरू कहिल्यै नरोएका होइनन्; सबैभन्दा बलिया त तिनै हुन्, जसले रोएपछि पनि फेरि उठ्ने साहस जुटाएँ। आँधीले फूल झार्न सक्छ, तर बोटको जरा उखेल्न सक्दैन। त्यसै गरी, दुःखले तिम्रो हाँसो केही समय चोर्न सक्छ, तर तिम्रो भविष्य चोर्न सक्दैन— यदि तिमीले आशा छोडेनौ भने।
जीवनले मलाई सिकाएको सबैभन्दा ठुलो सत्य यही हो— मानिस तबसम्म हार्दैन, जबसम्म उसले आफ्नो आशाको अन्तिम दीपक निभ्न दिँदैन। अँध्यारोले सूर्यलाई कहिल्यै हराउन सक्दैन; उसले केवल केही समयका लागि ढाक्न सक्छ। त्यसैले म आज पनि विश्वास गर्छु— मेरो जीवनको बिहान अझै बाँकी छ। मेरा सपनाहरू अझै जीवित छन्। र म पनि... अझै जीवित छु, फेरि उठ्नका लागि।
‘म सक्दिन’ भन्ने सोच र ‘म सक्छु’ भन्ने विश्वासबिचको दूरी नै जीवनको सबैभन्दा ठुलो युद्ध हो। यो युद्ध अरू कसैसँग होइन, आफ्नै मनसँग लड्नुपर्छ। म पनि त्यही युद्धको एउटा थाकेको योद्धा थिएँ। यस्तो लाग्थ्यो, जीवनका सबै ढोकाहरू बन्द भइसकेका छन्। हाँस्न बिर्सिएको थिएँ, सपनाहरू ओइलाइसकेका थिए र हरेक बिहान बोझजस्तै लाग्थ्यो।
तर एक दिन मैले एउटा सानो सत्य बुझेँ— अँध्यारो आफैँले कहिल्यै उज्यालोलाई हराउन सक्दैन। उज्यालो आउन केही समय लाग्न सक्छ, तर आउँछ अवश्य।
मानसिक पीडा कमजोरी होइन। यो पनि एउटा रोग हो, जसलाई बुझाइ, उपचार, परिवारको साथ र आफ्नै धैर्य चाहिन्छ। त्यसबाट भागेर होइन, स्वीकार गरेर र बिस्तारै सामना गरेर बाहिर निस्कन सकिन्छ। घाउ लुकाउँदा निको हुँदैन; उपचार गर्दा निको हुन्छ। मनको घाउ पनि त्यस्तै हो।
जीवनले मलाई धेरै पटक ढाल्यो। कहिलेकाहीँ यस्तो लाग्यो, अब उठ्न सक्दिनँ। तर त्यस बेला मैले आफूलाई एउटा प्रश्न सोधेँ— ‘यदि म आज हार मानेँ भने, भोलिको सुन्दर दिन कसरी देख्ने?’ यही प्रश्नले फेरि उठ्ने शक्ति दियो। यदि आज तिम्रो मन भारी छ भने, यो सम्झ— तिमीले खराब दिन बिताइरहेका छौ, तर तिमी खराब मानिस होइनौ। तिमी थाकेका छौ, तर समाप्त भएका छैनौ। तिम्रा आँसुहरूले तिम्रो मूल्य घटाउँदैनन्। बरु तिनले तिमीले कति ठुलो संघर्ष गरिरहेका छौ भन्ने देखाउँछन्।
उपचार लिनु लाजको कुरा होइन। आफ्ना प्रियजनसँग मन खोल्नु कमजोरी होइन। ‘मलाई सहयोग चाहिन्छ’ भन्न सक्नु नै वास्तविक साहस हो। जसरी भाँचिएको हड्डीमा उपचार गरिन्छ, त्यसरी नै थाकेको मनलाई पनि उपचार र समय चाहिन्छ। जीवनमा कहिलेकाहीँ बादल यति बाक्ला हुन्छन् कि सूर्य हराएजस्तो लाग्छ। तर सत्य के हो भने सूर्य हराएको हुँदैन, केवल केही समयका लागि ढाकिएको हुन्छ। ठिक त्यसै गरी, तिम्रो खुसी पनि हराएको छैन। त्यो केही समयका लागि पीडाले ढाकेको मात्र हो।
आज एउटा सानो कदम चाल। झ्याल खोल। ताजा हावा सास फेर। केही बेर घाममा बस। मन पर्ने गीत सुन। कसैसँग कुरा गर। आवश्यक परे चिकित्सक वा मनोपरामर्शदातासँग भेट। साना कदमहरू नै एक दिन ठुलो परिवर्तन बन्छन्। आफ्नो विगतलाई दोष दिएर भविष्य निर्माण हुँदैन। हिजोको पीडा तिम्रो परिचय होइन; त्यो तिम्रो यात्रा हो। तिम्रो परिचय त त्यो साहस हो, जसले तिमीलाई आज पनि उठ्न प्रेरित गरिरहेको छ।
याद राख, संसारका धेरै महान् मानिसहरूले पनि कठिन मानसिक संघर्ष पार गरेका छन्। उनीहरू विशेष भएर होइन, हार नमान्ने निर्णय गरेर अगाडि बढेका थिए। तिमी पनि सक्छौ।
आज तिमी रोइरहेका हुन सक्छौ। भोलि तिमी मुस्कुराउनेछौ। आज तिमीलाई बाटो हराएको जस्तो लाग्न सक्छ। भोलि तिमी नै अरूका लागि बाटो देखाउने मानिस बन्न सक्छौ। आज तिमीलाई आफ्नो कथा अधुरो लागिरहेको होला। तर जीवनले अन्तिम पाना अझै लेखेको छैन।
त्यसैले उठ। बिस्तारै भए पनि उठ। एउटा पाइला चाल। फेरि अर्को पाइला चाल। किनकि विजय भनेको कहिल्यै नढल्नु होइन; हरेक पटक ढलेपछि फेरि उठ्नु हो। विश्वास गर— यो पीडा पनि एक दिन सम्झना बन्नेछ। यो आँसु पनि एक दिन शक्तिमा बदलिनेछ। अनि तिमी आफैँलाई ऐनामा हेरेर गर्वका साथ भन्न सक्नेछौ— म टुटेको थिएँ, तर समाप्त भएको थिइनँ। मैले अँध्यारोसँग युद्ध गरेँ र अन्ततः आफ्नै उज्यालोसम्म आइपुगेँ।’