तिमीले धर्मलाई
शक्तिको हतियार बनायौ
उठायौ हृदयभन्दा अग्ला पर्खालहरू
छुट्टायौ काँडेतारले
करुणाका आत्माहरू
निभायौ प्रेमको उज्यालो दीप
घोल्यौ दयाको नदीमा
घृणाको विष।
तर हावाले कहिल्यै सोधेन
तिमी हिन्दु कि मुस्लिम?
घामले कहिल्यै छुट्टाएन
तिमी कुन धर्मको निधार?
वर्षाले कहिल्यै रोकेन
तिमी कुन धर्मको आँगन?
तैपनि तिमीले
मन्दिर बाँड्यौ
मस्जिद बाँड्यौ
बाँड्यौ ग्रन्थका आवरणहरू
तर बाँड्न सकेनौ रातो रगत
बाँड्न सकेनौ अकाट्य मृत्यु
चिर्न सकेनौ चिहानको मौनतालाई।
त्यसैले आऊ
अँगालो हालौँ
सम्मान गरौँ एकअर्कालाई
रोपौँ प्रेमका फूल
प्रेम, दया र मानवतासँगै
चन्द्र-सूर्य मुनि
नेपाली भएर बाचौँ
मानिस भएर बाँचौँ
मानिस भएर बाँचौँ!