रातको १२ बजेको थियो। जेठ महिनाको तराईको उखरमाउलो गर्मी बिस्तारै सेलाउँदै गएको थियो। कार्यालयको पुरानो भवनको माथिल्लो तलामा रहेको सानो कोठामा एक्लै बसिरहेको थिएँ। टेबलमाथि फाइलहरूको थुप्रो थियो, भित्तामा टाँगिएको घडीले समयको गति सुनाइरहेको थियो। झ्यालबाट बाहिर हेरेँ। सडक सुनसान थियो। टाढा कतै बत्ती झिलिमिली गरिरहेको थियो। मन भने वर्तमानमा नभई विगततिर फर्किरहेको थियो।
जीवन एउटा यात्रा हो, जहाँ हरेक मोडमा नयाँ अनुभवहरू भेटिन्छन्। यो कहिले खुसीको उज्यालो बिहान जस्तै हुन्छ, त कहिले दुःखको अँध्यारो रात जस्तै। जीवनलाई सधैँ एउटै रंगमा देख्न सकिँदैन किनकि यसमा अनेकौँ उतारचढावहरू आउँछन्। मानिस जन्मिएदेखि नै संघर्ष सुरु हुन्छ।
बाल्यकालमा सिकाइका चुनौतीहरू हुन्छन्, युवावस्थामा सपना र जिम्मेवारीहरूको भार हुन्छ अनि प्रौढ अवस्थासम्म आइपुग्दा अनुभव र समयको गहिरो पाठ हुन्छ। कहिले सफलता हात लाग्छ, कहिले असफलताले बाटो रोक्छ। कहिले आफ्ना मानिसहरूको साथ पाइन्छ, कहिले एक्लोपनले परीक्षा लिन्छ।
तर जीवनको सुन्दरता नै यही हो कि कुनै अवस्था स्थायी हुँदैन। दुःख सधैँ रहँदैन, सुख पनि सधैँ टिक्दैन।
भनिन्छ, ‘जीवन नदी जस्तै हो, कहिले शान्त बग्छ, कहिले भेल बनेर उर्लिन्छ; तर कहिल्यै रोकिन्न।’
मानिसले जीवनमा धेरै सपना देख्छ। केही पूरा हुन्छन्, केही अधुरा रहन्छन्। केही मानिसहरू बाटोमा भेटिन्छन् र सधैँका लागि सम्झना बनेर बस्छन्। केही सम्बन्धहरू समयसँगै टाढा हुन्छन्। यिनै भेट, बिछोड, हार, जित, आँसु र मुस्कानले जीवनलाई अर्थपूर्ण बनाउँछन्।
जब कठिन समय आउँछ, त्यति बेला धैर्यको आवश्यकता पर्छ। किनकि ‘जीवनको सबैभन्दा अँध्यारो रातपछि नै उज्यालो बिहान आउँछ।’ उतारचढावहरू जीवनका शत्रु होइनन्, ती त जीवनका शिक्षक हुन्। तिनैले मानिसलाई परिपक्व बनाउँछन्, बलियो बनाउँछन् र आफूभित्रको शक्ति चिनाउन मद्दत गर्छन्।
जीवन भनेको केवल सास फेर्नु होइन, हरेक अनुभवलाई स्विकार्दै अगाडि बढ्नु हो। किनकि ‘जीवनमा आउने हरेक उतारचढाव एउटा अध्याय हो, र ती सबै अध्यायहरू मिलेर नै हाम्रो जीवनको कथा बन्छ।’
हिजो जस्तै लाग्थ्यो जब मैले पहिलो पटक एउटा संस्थामा जागिर सुरु गरेका थिएँ। हातमा नियुक्ति पत्र थियो, आँखाभरि सपना थिए। समाजका लागि केही गर्ने, संस्थालाई नयाँ उचाइमा पुर्याउने, आफ्नो परिवारलाई सुख दिने र एक दिन नेतृत्वको स्थानमा पुग्ने आकांक्षा थियो। त्यो बेला जवान थिएँ। ऊर्जाले भरिएको थिएँ। बिहान सबैभन्दा पहिले कार्यालय पुग्ने र साँझ सबैभन्दा पछि निस्किने कर्मचारीमध्ये एक थिएँ। कामप्रतिको समर्पण देखेर सबैले प्रशंसा गर्थे। वरिष्ठहरूले भविष्य उज्ज्वल रहेको आश्वासन दिन्थे।
समय बित्दै गयो। एक वर्ष, पाँच वर्ष, दस वर्ष...
संस्थाको लागि मैले अनगिन्ती परियोजनाहरू सफल बनाएँ। दुर्गम गाउँहरूमा पुगेँ। बाढी, पहिरो र महामारीका बेला दिनरात खटिएँ। धेरै मानिसहरूको जीवनमा परिवर्तन ल्याउन योगदान दिएँ। तर हरेक वर्ष मैले सोच्ने गर्थेँ— ‘अब अर्को वर्ष मेरो पालो आउला।’ तर त्यो अर्को वर्ष कहिल्यै आएन।
नयाँ-नयाँ मानिसहरू आए। कतिपय मेरो अनुभवभन्दा कम थिए तर अवसर उनीहरूले पाए। म भने कामको जिम्मेवारी थपिँदै जाँदा पनि उही कुर्सीमा बसिरहेँ। यसबिच जीवनले आफ्नै गति लियो। छोराछोरी हुर्किए, विद्यालय गए, कलेज पुगे। बाबुआमा बिते। गाउँको पुरानो घर जीर्ण भयो। साथीहरू कोही विदेश पुगे, कोही व्यवसायमा सफल भए। म भने संस्थाको एउटा कोठामा बसेर अझै अर्को लक्ष्य पूरा गर्ने तयारीमा थिएँ।
एक दिन कार्यालयको अभिलेख हेर्दा मैले थाहा पाएँ— मैले त्यहाँ काम गर्न थालेको ३२ वर्ष भइसकेछ। म केही बेर स्तब्ध भएँ।
जुन सपना लिएर आएको थिएँ, तीमध्ये केही पूरा भए, धेरै अधुरा रहे। समाजका लागि केही गर्ने सपना पूरा भयो। हजारौँ मानिसको जीवनमा सानो भए पनि सकारात्मक प्रभाव पार्न सकेँ। तर आफ्नो लागि सोचेका धेरै कुरा समयको भीडमा हराएँ।
मैले उपन्यास लेख्ने सपना देखेको थिएँ, अधुरै रह्यो।
देशका विभिन्न ठाउँ घुम्ने इच्छा थियो, पूरा भएन।
परिवारसँग धेरै समय बिताउने चाहना थियो, तर अधिकांश समय बैठक र प्रतिवेदनमै बित्यो।
अब ऐनामा हेर्दा अनुहारमा चाउरीहरू थिए। कपाल सेताम्मे भइसकेको थियो। उमेरले आधा शताब्दी पार गरिसकेको थियो। मसँग अहिले पदभन्दा ठुलो अनुभव थियो, तलबभन्दा ठुलो आत्मसन्तुष्टि थियो र सफलताभन्दा ठुलो कथा थियो। मैले महसुस गरेँ— मानिसले देखेका सबै सपना पूरा हुँदैनन्। केही सपना गन्तव्य बन्छन्, केही सपना यात्राको साथी मात्र।
घडीले रातको एक बजेको संकेत गर्यो। मैले टेबलमाथि रहेको अन्तिम फाइल बन्द गरेँ। बत्ती निभाउनुअघि मैले कोठालाई एक पटक हेरेँ। त्यो कोठामा मेरो युवावस्था थियो, मेरा संघर्ष थिए, मेरा अधुरा सपनाहरू थिए र मेरा सफलताका मौन साक्षीहरू पनि।
हिजो जस्तो लाग्छ, संस्थामा पहिलो दिन पाइला टेकेको। तर थाहै नपाई आधा शताब्दी उमेर कटेछ। सपनाहरूको हिसाब गर्न खोज्दा जीवन नै बितेछ।
हराएका सपनाहरू सम्झनाहरू जस्तै हुन्छन्, जो समयको धुलोले ढाकिए पनि मनको कुनै कुनामा सधैँ जीवित रहन्छन्। हरेक मानिसले आफ्नो जीवनमा असंख्य सपना देखेको हुन्छ— कसैले ठुलो मान्छे बन्ने, कसैले संसार घुम्ने, कसैले आफ्नो परिवारलाई सुखी बनाउने। तर जीवनले सधैँ सपनाले रोजेको बाटोमा हिँड्न दिँदैन।
कतिपय सपना गरिबीका कारण हराउँछन्, कतिपय जिम्मेवारीहरूको भीडमा हराउँछन्। केही सपना परिस्थितिको आँधीले उडाएर लैजान्छन् भने केही सपना समयको प्रवाहसँगै आफैँ ओझेल पर्छन्। कहिलेकाहीँ रातको एकान्तमा बसेर विगत सम्झँदा मनले सोध्छ— ‘यदि त्यो सपना पूरा भएको भए आज जीवन कस्तो हुन्थ्यो होला?’
तर उत्तर कसैसँग हुँदैन।
हराएका सपनाहरूको पीडा गहिरो हुन्छ, तर तिनले जीवनलाई एउटा अमूल्य पाठ पनि सिकाउँछन्। सबै सपना पूरा हुनका लागि मात्र देखिएका हुँदैनन्। केही सपना हामीलाई अघि बढ्न प्रेरणा दिनका लागि जन्मिएका हुन्छन्।जीवनको यात्रामा मानिसले धेरै कुरा गुमाउँछ तर सपनाहरू हराए पनि आशा हराउनु हुँदैन। किनकि एउटा सपना हराउनु भनेको जीवन सकिनु होइन, नयाँ सपनाको जन्म हुनु हो।
आज पूरा नभएका सपनाहरू भोलि कथा बन्न सक्छन्, अनुभव बन्न सक्छन् वा अर्को पुस्ताका लागि प्रेरणा बन्न सक्छन्।
हराएका सपनाहरूले आँखाबाट टाढा हुन सक्छन् तर मनबाट कहिल्यै हराउँदैनन्। तिनीहरू जीवनको पुस्तकमा अधुरा भए पनि सबैभन्दा भावुक अध्याय बनेर बस्छन्।
र म शान्त रातमा घरतिर लागेँ जहाँ अब पद, प्रतिष्ठा वा पुरस्कारभन्दा ठुलो कुरा उनको प्रतीक्षामा थियो— आफ्ना मानिसहरूको साथ र बितेका वर्षहरूको अनुभूति।