आषाढको महिना थियो। आकाश गड्याङगुडुङ गर्दै थियो। लाग्थ्यो, अब केही बेरमै मुसलधारे पानी पर्छ। बेलाबेलामा चम्किने चट्याङ र त्यसपछि गुन्जिने गर्जनले म झसङ्ग हुन्थेँ। खाटमा पल्टिएको म, हातमा फोन, वरिपरि सन्नाटा अनि आकाशको गर्जन, त्यो क्षणमा मेरो साथी यिनै थिए।
बत्ती गयो। मलाई बत्ती जाँदा ग्यालरीका पुराना फोटोहरू हेर्ने बानी छ। औँलाले स्क्रोल गर्दै जाँदा दस वर्षअघिको आफ्नो चिल्लो अनुहार देखेँ। अनायासै मुस्कान आयो।
त्यही बेला बुवाको एउटा वाक्य सम्झिएँ— ‘एसइई भनेको त फलामे ढोका हो। यो पार गरेपछि त पुग्यो।’
त्यो बेला लाग्थ्यो, साँच्चै अब सबै संघर्ष सकिन्छ होला। तर आज महसुस हुन्छ, त्यो त जीवनको लामो यात्राको पहिलो ढोका मात्रै रहेछ।
औँलाले फोटोहरू स्क्रोल गरिरह्यो प्लस टु, कोरोना, ब्याचलर सुरु भएको दिनदेखि अन्तिम दिनसम्म। हरेक फोटोले एउटा समय बोकेको थियो। तर मन भने झन् बेचैन हुँदै गइरहेको थियो। जुरुक्क उठेर चिसो पानी पिएँ। लामो सास फेरेँ र झ्यालछेउमा गएर पानी परेको हेर्न थालेँ। सायद त्यो वर्षाले मेरो मनभित्रको बेचैनी पनि बगाइदिए हुन्थ्यो।
मन एकदमै थाकेको थियो। मस्तिष्कले एउटा पूर्णविराम खोजिरहेको थियो यो निरन्तरको दौडबाट, यो थकानबाट, यो अन्तहीन सोचबाट।
सानो हुँदा म गर्वका साथ भन्थेँ, ‘एक दिन म ठुलो मान्छे बन्छु।’
त्यति बेला अग्ला दाइहरूलाई हेरेर अचम्म मान्थेँ। आज मेरो अनुहार बाक्लो दारीले ढाकिएको छ। केही दिन दारी नमिलाए कसैले ‘अंकल’ भनिदिँदा अझै पनि झसङ्ग हुन्छु। समय... साँच्चै कति चाँडो बितेछ। उमेरसँगै जिम्मेवारीहरू बढ्दै गए, अनि ती जिम्मेवारीले काँध झन्–झन् भारी बनाउँदै लगे।
हामी सानो हुँदा जीवन कति सजिलो थियो, हैन?
आज पनि सम्झिन्छु स्कुलबाट फर्कँदै गर्दा अरूको घरको घण्टी बजाएर भागेका दिनहरू। पहिलो पटक साइकल चलाउँदाको डर र उत्साह। कुनै चिन्ता थिएन, कुनै दबाब थिएन। थियो त केवल रमाइलो।
तर बिस्तारै त्यो मुस्कान हरायो। आफूभित्रको त्यो निश्चल बालक कतै हराउँदै गयो।
अहिले कसैले मजाकमा, ‘कस्तो बच्चाजस्तो गरेको!’ भनिदिँदा मुस्कुराउँछु। तर भित्रभित्रै लाग्छ समय फर्काउन मिल्ने भए, म आफूलाई बाल्यकालबाट कहिल्यै ठुलो नहुन भन्थेँ होला।
बाल्यकालमा पेट नभर्दा रोए पुग्थ्यो।
आज त्यही पेट भर्नका लागि कति संघर्ष गर्नुपर्छ। त्यति बेला न परिवारको चिन्ता थियो, न समाजको, न ‘कसले के भन्छ?’ भन्ने डर। तर समयसँगै त्यही कुराहरूको जालमा आफैँ अल्झिँदै गएँ।
प्लस टु पढ्दाको त्यो सर्लक्क कोरेको कपाल, फेसवासले धुने अनुहार, हेयर क्रिम लगाएर बाहिर निस्कने उत्साह...
आज भने मुख धुन पनि कहिलेकाहीँ अल्छी लाग्छ। पहिले छिनछिनमा ऐना हेर्ने म, अहिले बाक्लो दारीले छोपिएको अनुहार हेर्न पनि मन लाग्दैन।
समयले धेरै कुरा सिकायो। जिम्मेवारी सिकायो। हार स्विकार्न सिकायो। संघर्ष गर्न सिकायो। तर यति धेरै यात्रा, यति धेरै थकान र यति धेरै हारपछि पनि मनले खोजिरहेको त्यो पूर्णविराम भने अझै भेटिएको छैन।
बाहिर पानी बिस्तारै रोकियो। काला बादलहरू पनि बिस्तारै पन्छिन थाले। केही बेरपछि घाम लाग्नेछ। अनि सायद आकाशमा इन्द्रेणी पनि देखिनेछ।
सायद जीवन पनि यस्तै हो।
झरी सधैँ रहँदैन। बादल पनि सधैँ टिक्दैन। कुनै दिन यी सबै अँध्यारा हट्नेछन्। कुनै दिन जीवनले पनि इन्द्रेणीका रङहरू भर्नेछ।
सायद त्यो दिन, मनले खोजेको पूर्णविराम पनि भेटिनेछ।