म त्यो चोखो पानी हुँ
जसले कसैको तिर्खा मेटाउन सकिनँ
म त्यो नदी हुँ
जसले कुनै सागर भेटाउन सकिनँ।
तर तड्पिएका माछाले
कहिल्यै खल्लो भयौ भनेनन्
धमिलो यो समाजमा
म कहिल्यै सङ्लो भइनँ।
बाफ हुने रहर मेरो पनि छन्
साफ हुने रहर मेरो पनि छन्
पानी हुँ तर यो ग्लानिले
म त दिनदिनै सखाप हुँदै छु।
आज मेरो मुहान कता कता सुक्न लागेको छ
आज मेरो ज्यान कता कता दुख्न लागेको छ।
पानीको कुनै आकार हुँदैन
पानीको कुनै सौन्दर्य हुँदैन
जुठो-
फोहोर-
अँ?
हँ?
आखिर कसले बनाएको होला?
आज म जहर भएकी छु
तर कुनै बेला
संसारभरि नै खडेरी
लाग्यो भने मलाई
पिउँछौ कि पिउँदैनौ?