काला बादलले दिनको उज्यालोमाथि
रात ओछ्याएझैँ उनको मन ढाकेको छ निराशाले
आकाश निलो छ;
बादलहरू उज्यालोको भयले
मुटु थर्काउँदै हुइँकिसकेछन्
मनमोहक हरियाली छ जताततै।
स्कुल पढ्दा रेशमले लेखेको प्रेमपत्र
र डाले घाँस काट्दा हातमा समाएको
स्मृतिको उर्लाइ वर्षाको राप्ती बनिरहँदा
उनले रोमाञ्चक छलाङ लगाइन्!
हिजो बेलुका मात्रै खाना दिँदा
हेमन्त अकारण रिसाएको,
मधुमासमा एकाकार दुई हृदय
लेकसाइडमा मन परेको गहना
किन्न खोज्दा चिरा परेको,
सासूआमाको वचनवाण चल्दा
हेमन्त कर्णको कवचकुण्डल नबनेको,
जस्ता चेतना प्रवाह समय पछाडि दौडेर
अतृप्त अभिलाषाका पहरामा ठोकिएका छन्।
सुनौलो आभाले मुस्कुराएको बिहानीमा
स्कुल पढ्दाको एल्बमको
रमेशको तस्बिर अझ बढी कान्तिमय बनेर आयो
अनायासै याचना फुत्क्यो,
‘म सायद कति सुखी हुन्थे होला…!’
शिवप्रतिको श्रद्धाले मनलाई शुद्ध पार्ने-
महिनामा
ऊ प्रतिका भावनाहरूले हृदय कञ्चन-
बनिरहेको थियो;
हेमन्तले मूलद्वारमा बजाएको घण्टीले-
पूजामा निदाएको मनलाई झङ्कृत गर्यो
र,
सबिनाले पुष्पाञ्जली अर्पण गरिन्!
नजिकको पर भयो परको मनबाट गएन;
अब पहिलेझैँ मुटु दुई धड्कन उही रहेन!