दिन आज पनि उसैगरी बित्ने जिद्दी कसेर आएको छ। मैले हिसाब राख्न छोडेको धेरै भयो।
कुनै बेला यही दिन खण्ड–खण्डमा विभाजिन्थ्यो। कक्षाको चालीस मिनेट एक युगझैँ लाग्थ्यो।
आज दिन कुनै परिचित व्यक्तिझैँ भएर आउँछ, जसको उपस्थितिसँग म अभ्यस्त भइसकेको छु। जसलाई म बस्न कर पनि गर्दिनँ, र पनि ऊ बसिदिन्छ।
सानोमा हाम्रो घरमा टिभी हेर्न आउने कुनै फोहोरी बालकझैँ, जसलाई म घृणा गर्थेँ…
चैतको अन्त्य आइसकेको छ, तर नयाँ वर्षको सुरसार छैन। बरु नयाँ युगको कर्कश आवाज पहिलेभन्दा झन् जोडले टाउको दुखाउन आइपुग्छ। राजमार्ग अहिले मौनता साधेर बसेको छ। यस्तो भएको पनि धेरै दिन भयो।
तल चोकमा चर्किएका नारा र बेलाबेला पड्किने बन्दुकका आवाजसँगै यो एकछिन चलायमान बन्छ। एम्बुलेन्स र प्रहरीका गाडीहरू यसैमाथि दौडिन्छन्। बिहान सबेरै निस्कने र साँझ ढिलो फर्किने जुलुस पनि राजमार्गको सौन्दर्यको अर्को हिस्सा बनेको छ।
‘देशमा फेरि नयाँ युग आउनेवाला छ…’
ओहो, यो मुलुकमा कति छिटो युग बदलिन्छ। परिवर्तनको पनि कति छोटो आयु!
सायद हरेक दशकमा कुनै बालक जवान बन्छ र अदम्य साहस र विश्वासको भ्रम पालेर देश बदल्ने आशा राख्छ…
यो देशका लागि यति अभिशाप नै काफी छ।
सोह्र वर्षअघि यही महिना म पनि परिवर्तनको हार्दिक इच्छा राखेर भीडको एउटा हिस्सा बन्न पुगेको थिएँ। त्यो बेला हामीले ठूलो उत्सव पनि मनाएका थियौँ। त्यसपछि पनि सडकमा ओर्लिने अनेक कारणहरू आए— टनकपुर, महाकाली…
यो चक्र चलिरह्यो। चलिरहने नै भयो।
अनि मैले आफूलाई यी सबैबाट अलग्याउने निधो गरेँ।
अहिले म स्वतन्त्र छु…
मेलामा हराएको कुनै बालकझैँ।
तल कोठामा केटाहरू तास खेलिरहेका छन्। हल्ला गरिरहेका छन्। तर उनीहरू खराब भने होइनन्।
‘चुप, चुप ओए…’ ऋषि अरूलाई सावधान गराउँछ।
केटाहरू सानो स्वरमा बोल्न थाल्छन्।
‘माथि?’
‘अँ…’
एकछिनका लागि वातावरण फेरि शान्त बनिदिन्छ।
खेतको बीचमा राजमार्ग कुरेर बसेको एउटा पेट्रोल पम्प छ, जसको माथिल्लो तलामा बसेर म यो सब लेख्दै छु।
रामचन्द्र काउन्टरमा बसेर उँघिरहेको छ। ऊ आजकल फुर्सदिलो भएको छ। यहाँ कुनै गाडी रोकिँदैन। नम्बर टिप्ने, बिल थमाउने औपचारिकताबाट ऊ धेरै दिनदेखि मुक्त छ।
आकाशको सपना देखाउँदै बतासले एक भारी धुलो उडाएर लैजान्छ अनि बीचमा नपुग्दै खसालिदिन्छ।
रामचन्द्र हतारिँदै झ्याल लगाउँछ। म पनि त्यसै गर्छु।
अब यो कोठामा म साँच्चै एक्लो भएँ।
घामको प्रकाश काठको झ्यालबाट चियाउँदै छतमा झुन्ड्याइएका सिपीहरूमा छरिन्छ।
म माथि हेर्छु। कुनै बगरबाट उठाइएका यी टुहुरा सिपीहरू कुनै प्रार्थनारत फूलझैँ लाग्छन्, जसलाई कसैले ईश्वरविहीन मन्दिरमा चढाएर बिर्सिदिएको छ।
कस्तो अचम्म! यिनीहरू दुई जोडी गोडासँगै यहाँ आएका थिए…
हाँस्दै, जिस्किँदै आएका दुई मुहार…
कसैको सम्झना टाँसिएका यी गुच्छाहरूमा अहिले धुलो टाँसिएको छ।
छेउको टेबलमा टेलिफोन बजिरहेको छ। तर म उठाउन चाहन्नँ। या भनूँ, आँट गर्न सक्दिनँ। म खाटबाटै लम्किन्छु र तार निकालिदिन्छु।
मैले ओछ्यान छोडेको छैन। मिलाउन अहिले जाँगर पनि छैन। प्रायश्चितस्वरूप म सिरानी उठाउँछु र आफ्नो मुख ढाक्छु। आफ्नो निष्क्रियताप्रतिको लज्जाबोध मेरो यसरी प्रकट हुन्छ।
एफएममा एघार बजेको कार्यक्रम…
सायद एघार बजे नै आउँछ होला।
म भित्ताको घडी नियाल्छु। भर्खर दस बज्दै छ।
‘केटीजस्तो मोरो, खाली रेडियो सुनेर बस्छ…’ सानोमा भाइ मेरो पोल बुवासँग यसरी लगाउँथ्यो।
उसले मलाई ठूलामान्छेले झैँ गाली गर्न कसरी जानेको थियो, म बुझ्न सक्दिनँ।
‘किन, ठुले? के भयो तँलाई?’ बुवा मुस्कुराउँदै सोध्नुहुन्थ्यो।
म बुवाको मुहारमा खुलेको हाँसो हेर्दै टोलाउँथेँ।
‘फुटबल खेल्छस्? बजारबाट फुटबल ल्याइदिन्छु।’
‘हुन्छ।’
‘फुटबलमा हिलो लाग्छ। यो यत्तिकै सुन्दर छ।’ म फुटबलमाथि गाला धस्दै स्वैरकल्पनामा हराउँथेँ।
भाइ मेरो हातबाट कतिबेला खोसेर साथीहरू भेला पारी खेल्न दौडिन्थ्यो।
‘सर…’
‘ए सर…’
रामचन्द्र ढोका ढकढक्याउन आइपुग्छ।
‘हजुर?’
म ढोका खोल्दै सोध्छु।
‘फोन आएको छ, हेटौँडाबाट…’
मेरो एकान्तता नचाहँदा–नचाहँदै खलबल्याउनुपरेकोमा ऊ पछुतो मानेझैँ गर्छ।
‘होल्डमा छ?’ म सोध्छु।
ऊ टाउको हल्लाउँछ।
म बिस्तारै तल ओर्लिन्छु। ऊ मेरो पछिपछि आउँछ।
‘हेलो।’
बाबाको आवाज सुनिन्छ।
‘हजुर?’
‘के छ, ठुले? खबर?’
‘ठीकै छ,’ म जवाफ फर्काउँछु।
‘के गर्दै छस्? खाना खाइस्?’
रामचन्द्र मेरो अगाडि कुर्सी राखिदिन्छ। म कुर्सीमा बस्छु।
‘अँ, अब एकैछिनमा।’
एकछिन हामीलाई मौनताले बाँध्छ।
बाबाको आवाज फेरि सुनिन्छ, ‘एकछिन है, यहाँ ममी बोल्छे रे।’
अचानक मेरा हत्केला मुट्ठी बनिदिन्छन्।
‘हेलो।’
म बोल्ने तयारी गर्दै हुन्छु।
ममी फेरि बोलाउनुहुन्छ, ‘ओए…’
‘हजुर?’
‘दीपक?’
‘बोल्दै छु त…’
‘अँ… सुन न, गाडी कुदेका छन् कि छैनन्?’
म आफूले जानेका सबै कुरा बताउँछु।
ममी भन्दै जानुहुन्छ— ‘आज राति छोड्ने भनेको छ… तीन वटा ट्याङ्कर। चनाखो भएर बस्नु है। रामचन्द्रेको भर नपर्नु, तँ आफैँ हेर्नु।’
म निःशब्द हुन्छु। रामचन्द्रले सुन्यो भने उसलाई कस्तो लाग्दो हो।
‘हुन्छ।’
हाम्रो गफ टुङ्गिन्छ। म सरासर माथि उक्लिन्छु।
ऋषि तलबाट दौडिँदै, मलाई ‘खाना खाने होइन’ भन्दै सोध्छ।
घडी हेर्छु। एघार बज्नै लाग्यो।
सरला आउने बेला भयो…
‘तिमीहरू खाँदै गर, म एकछिनमा…’
स्मृति कहाँकहाँबाट चिमोट्न आइपुग्छ।
अब म ४५ सालको मंसिर महिनामा पुग्छु।
‘तिमीहरू खाँदै गर, म एकछिनमा…’ भन्दै साथीहरूलाई छोडेर म बाहिर निस्किएको थिएँ।
परबाट सरला…
कपालमा केतकी फूल सिउरिएकी…
मेरै अगाडिबाट मुस्कुराउँदै जान्छे।
म पनि नीलो ज्याकेट लगाएर उसको पछिपछि लाग्छु। हिँड्दाहिँड्दै हामी एउटा मन्दिरनजिक पुग्छौँ।
‘जीवन यसरी नै बितिजाला… हामी सधैँ जवान रहौँला…’ मैले प्रार्थना गरेको थिएँ।
सत्र वर्षपछि आज आफूलाई हेर्छु।
‘यो समयलाई जित्न खोज्दा शून्यबाहेक केही हात लाग्ने छैन।’
रेडियो खोल्छु। एघार बजे सरला आउँछे।
बाहिर सडकमा झन्डा बोकेर कोही दौडिरहेको छ। पछाडिबाट प्रहरीहरू उसको पिछा गरिरहेका छन्। जसै उसलाई दौडिन गाह्रो हुन्छ त्यो मानिस झन्डा भुइँमा हुर्याउँछ र अझ जोडले दौडिन्छ।
रामचन्द्र काउन्टरको झ्यालबाट चियाउँदै यो दृश्य हेरिरहेको छ।
रेडियो खोल्छु। एघार बजे सरला आउँछे।
वास्तवमा, सरला र म सँगै रेडियोमा गएका थियौँ। ऊ मेरो साथी मात्र भएर गएकी थिई, मेरै करले। तर अन्त्यमा परीक्षामा म फालिएँ। उसको स्वर ‘मीठो’ भएकाले ऊ छानिई।
अब यही स्वर अहिले मेरो दैनिकी बनेको छ।
एघार बजे सधैँ ऊ आउँछे। ऊ नआएको बेला म रेडियो सुन्दिनँ।
‘तिमी मलाई बुझ्दैनौ,’ उसले मलाई भनेकी थिई।
‘किन बुझ्दिनँ? म बुझ्छु,’ म ढिप्पी कस्दै थिएँ।
एकछिन हामी शान्त हुन्छौँ।
ऊ रुन थाल्छे।
म उसलाई फकाउन भन्छु— ‘तिम्रो स्वर यति सुन्दर छ। यति मधुर स्वर हुने मान्छे कसरी निराश हुन सक्छ?’
मेरो तारिफले अनायासै मेरो अर्को पाटो पनि उजागर गरिदिन्छ, सायद। अब म सच्याउन खोज्छु।
ऊ आँखाभरि आँसु लिएर भन्छे— ‘तिमी मलाई देख्दैनौ रहेछौ।’
म हतारिँदै भन्छु— ‘म देख्छु। किन देख्दिनँ?’
ऊ मलाई अश्रुमिश्रित आँखाले हेरिरहन्छे, मलाई लाग्छ अब ऊ मलाई घृणा गर्छे।
त्यसपछि हाम्रो भेट भएन।
ऊ बिहे गरेर काठमाडौँतिरै बसी। ममीले पनि मेरो बिहे गरिदिनुभयो र मलाई यहाँ पठाइदिनुभयो। मैले नाइँ भन्नै सकिनँ।
‘तिमी भूलमा पर्यौ,
म पनि झुक्किएँ,
यो भेटघाटलाई,
एक सङ्गम भनी…’
सरला पहिलो गीत यस्तै बजाइदिन्छे।
म सिरानीमा गाला टाँसेर उसलाई सुनिरहन्छु।
‘यी चिल्ला गालामा पछि दाह्री पलाउँछन्,’ ठूलोआमा मेरा गालामा म्वाइँ खाँदै भन्नुहुन्थ्यो।
म हतारहतार गाला पुछ्थेँ।
बेलाबेला मेरो नाडी आफ्नो हातले नाप्दै म दुब्लाएकोमा पिर मान्नुहुन्थ्यो। ठूलोआमाको काखबाट निद्राको बास्ना आउँथ्यो।
अहँ, यसरी हुँदैन! म जुरुक्क उठ्छु र टेलिफोनको तार जोड्न थाल्छु।
आजकल सबैजना जुलुसमा गएका हुन्छन्, फोन लाग्न सक्छ। म नम्बर डायल गर्छु। फोन लागि पनि हाल्छ।
‘हामीसित नयाँ कलर जोडिइसक्नुभएको छ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ।’
‘हेलो?’
सरलाको आवाज मसँग कुरा गरिरहेको छ।
म अकमकिँदै जवाफ फर्काउँछु।
‘कहाँबाट को बोल्दै हुनुहुन्छ?’
म सोच्न थाल्छु।
एकछिन हामी शान्त हुन्छौँ।
ऊ फेरि सोध्छे— ‘हेलो?’
मसँग यसको जवाफ छ। र म जवाफमा ‘हेलो’ भन्न सक्छु। तर जब ऊ मेरो परिचय माग्छे, म केही बोल्न सक्दिनँ।
‘कहाँबाट को बोल्दै हुनुहुन्छ?’
म हतारहतार फोन राख्छु। र एकछिन त्यसैलाई हेरेर बस्छु।
म के भनेर आफ्नो नाम ढाँटूँ? फेरि मुनि केटाहरू पनि सुनिरहेका होलान्। उनीहरूले मेरो स्वर चिन्न सक्छन्।
सरला मेरो गल्तीप्रति माफी माग्दै अर्को गीत बजाउँछे।
‘मेरो हजुरलाई के दिऊँ नि भेट,
तारा दिऊँ कि जून दिऊँ कि,
…इन्द्रेणीको सेट…’
पश्चात्ताप पुनः आवश्यकता पूर्ति गर्न आइपुग्छ।
खासमा तल केटाहरूका अगाडि मेरो छवि सधैँ गम्भीर छ। म जे भए पनि उनीहरूको साहु हुँ। मैले एफएममा बोल्दा उनीहरूलाई हाँसो उठ्ला। अनि भोलिदेखि उनीहरूले मलाई जिस्काउन थाल्लान् कि?
आफ्नो निकम्मापनदेखि आजित हुँदै म त्यसै खुट्टाले सिलिङ छुन खोजेजस्तै गर्छु। तर कसोकसो अनियन्त्रित हुँदै मेरो टाउको भुइँमा बजारिन पुग्छ।
‘अहँ… दुखेन।’
मलाई कसैले हेरिरहेको छ जस्तो भान हुन्छ र म त्यसो भन्छु।
अब टाउको बल्ल दुख्न थाल्छ।
मलाई डर लाग्छ। ‘कतै मेरो होस त हराएन?’
सरला…
रेडियोमा अब कुनै बच्चाको स्वर सुनिन्छ।
‘हेलो।’
बच्चा अड्किँदै बोलिरहेको छ।
‘हे…लो…’
म एकछिन ध्यान दिएर सुन्छु।
नौ वर्षको बालक र सरला बोलिरहेका छन्।
बालक स्पष्ट बोल्न सक्दैन, तैपनि बोल्ने कोसिस भने गरिरहेको छ।
‘इटा…हरी…’
ऊ आफ्नो ठेगाना यसरी बताउँछ।
मलाई एकाएक ग्लानि महसुस हुन्छ।
उषा काममा गएकी होली। यो सबै उसकी सानीमाको काम हुनुपर्छ। उसलाई यस्तो गर्दा खुब रमाइलो लाग्छ।
मलाई कताकता लाज लागेर आउँछ।
एफएममा जिन्दगी क्रमबद्ध हुँदैछ जुन जिन्दगीमा अब म सहभागी छैन। तर मैले प्रयास नगरेको भने होइन। देशका सबै महँगा अस्पतालमा म उसलाई लिएर डुलिसकेको थिएँ। उषा र म उसलाई लिएर विदेश पनि गएका थियौँ— बैङ्गलोर, दिल्ली, कोलकाता…
उषाले मलाई दोष दिनु पनि बेकार छ। ऊ निदाएको बेला पनि मैले कति पटक छोरालाई बाथरुम लिएर गएको छु। उसले नमान्दा–नमान्दै पनि कति खेलौना म उसलाई त्यसै किनिदिन्थेँ।
…उनले बुवासँग गुनासो गर्नुको पनि खासै अर्थ छैन। बुवा जस्तो गौ प्राणीसँग…
‘यो गीत तिमी कसलाई सुनाउन चाहन्छौ नि?’ सरलाको आवाज साँच्चै मीठो छ।
‘मे…रो… सबैभन्दा मिल्ने सा…थीलाई?’ ऊ बोल्न ठूलो सङ्घर्ष गर्छ।
मेरो मुटु चर्किएलाझैँ हुन्छ।
सरला उसलाई उसको मिल्ने साथीको नाम सोध्छे।
‘साकार पोखरेल,’ ऊ जवाफ दिन्छ।
आँखाबाट आँसु खस्नै लाग्दा मलाई अब हाँस उठ्न थाल्छ।
तीन वर्षअघि नै स्कुल छोडेर गएको साथीलाई ऊ आजपर्यन्त सम्झिरहेको छ। जोसँग उसले क्लासमा फाइट गरेको थियो र मलाई बारम्बार गएर उसलाई पिटिदिन आग्रह पनि गर्थ्यो।
सरलाले पनि मलाई यसरी सम्झिदिए हुने…
‘साथीलाई मात्र?’ सरला सोध्दैछे…
एकाएक म घाँटीमा केही अड्किएझैँ महसुस गर्न पुग्छु।
जब सरलाले उसलाई सोध्छे, उसले मेरो नि नाम लिन्छ।
‘मेरो बाबालाई,’ ऊ सकी–नसकी भए पनि वाक्य पूरा गर्न उद्धत छ।
भक्कानिँदै ऐनामा हेर्छु— एकाएक लाज लागिदिन्छ।
छ्या-छ्या म के भएको??
‘छि! के बुढो मान्छे जस्तो रोको?? लाज हुन्छ’ ममीले सानोमा भनेको, मलाई झट्ट याद आउँछ।
म ऐनामा हेर्दै अब मुस्कुराउन थाल्छु।
तर अब… यही बेला लाइन गइदिन्छ।
सरलाले कुन गीत बजाई, म थाहा पाउँदिनँ।