मानिसहरू आजभन्दा भोलि र भोलिभन्दा पर्सि धेरै सुधारशील हुँदै जान्छन्। घटेका अनेकौं परिघटनाहरूले मानिसलाई पाठ सिकाउँछ। केही न केही फरक गर्न उत्प्रेरित गरिरहेको हुन्छ। मानिस दुःखमा आँसु झार्छ र त्यो समय पनि छिट्टै बितिजाओस् भनेर कामना गर्छ। र अरू बेला मस्तले जीवन बाँचिरहेको हुन्छ। उसलाई थाहा नै हुँदैन हरेक सेकेण्ड कुन रफ्तारले बितिरहेको छ। तर जब घाँटीमा प्राण झुण्डिन्छ अनि बल्ल यसो र उसो गर्न पाएको भए, मैले त यसो नगरेको भए पनि हुने रैछ नि भनेर सम्झिरहन्छौं।
हामी जब आपत पर्छ तब मात्र कि सरकार गुहार्छौं कि भगवान गुहार्छौं। गर्मी छ अचानक बत्ती गयो- यो सरकार कता छ? यति बेला भनेर हारगुहार गर्छौं।
परीक्षा बिग्रिएको छ तर पास नभई भा छैन भने हामीले गुहार्ने भगवानलाई हो। भगवान पास गराइदेऊ म फूलपाति चढाउँला वा धुपबत्ती गरौंला।यस्तै यस्तै। हामी जति नै सुध्रिए पनि गाह्रो साह्रो पर्दा मात्र अरूले सहायता गरिदिए हुन्थ्यो भनेर सोच्दा रहेछौं।
हामी जति नै सुध्रिए पनि स्वार्थी हुन छोडेनौं। अरूको पीडा चाहिँ भुसुना र आफ्ना पीडा अजंगको लाग्न थाल्यो। आफ्नो मुश्किल मात्र मुश्किल अरूको मुश्किल त केही होइन पनि सोच्न थाल्यौं। यसरी नै म पनि एउटा आफूलाई एकदम ठूलो लाग्ने मुश्किल दुर्घटनामा परेँ र भगवानलाई पुकारेँ।
सन्दर्भ म चितवनबाट काठमाडौं जानुपर्ने थियो।
भोलिको परीक्षा थियो पानी झमझम परिराखेकै थियो। अरू बेला पानी परिराख्दा रमाउने म तर जब आफू राजमार्गको बाटो तय गर्नुपर्ने हुन्छ डर र त्रास पैदा हुन्छ। त्यो पनि चितवन मुग्लिनको बाटो जहाँ पहिरोले सधैं मिसकल गरिरहन्छ।
हामीले अर्थात् राज्य, नागरिक सबैले वास्ता नगर्दा नगर्दै पनि एकोहोरो मिसकल गर्ने पहिरोलाई हामीले मायाले बाँध्न सकेका छैनौं। तिमी त्यतै पहरातिरै बस तल नझर! भनेर भन्न सकेका छैनौं।
खैर! बाटो त्यति टाढा पनि हैन तर प्लेनमा जानलाई मौसम खराब नै भइराखेको थियो र परीक्षा छुट्ने डर पनि कायमै थियो। अलि चाँडै नै बन्दोबस्त गर्नुपर्ने थियो तर के गर्नु उही हतार अन्तिम समयमा मात्र आएर गर्ने बानी जो छ हाम्रो।
बसमा जाने भएँ म। अघिल्लो दिन आमैले उत्तर दिशातिर बुधबार राम्रो हुँदैन है साइत सारेर जाभन्दा भन्दै अटेरी गरेर हिँडेको मान्छे म।
पानी ओइरिराखेकै थियो। बर्खाको समय थियो। हाइवे दुवैतर्फ खुला नै छ भनेर नेपाल प्रहरीको पेजमा अपडेट पनि हेरेकै थिएँ मैले। त्यसैले काठमाडौं सहजै पुग्नेमा विश्वस्त थिएँ म।
‘असारे महिनामा पानी पर्यो रूझाउने’ गीत बजिराखेकै थियो बसमा। म अलि पछाडि थिएँ। भवितव्य होला भनेर पछाडि बसेको त हैन तर सिट खाली र कम्फर्टेबल पछाडि नै थियो भनौं।
पानी झनै दर्किरह्यो। तर कतै पनि रोकतोक वा पहिरोको नाम निसान थिएन। मुग्लिन पुग्न पुग्न आट्याथ्यो। त्यति नै बेला माथिबाट ठूलो पहिरो आएर बसको अगाडि पट्टिको सिसामा बजारियो। बस घच्चयाक्क रोकियो। गीत बन्द भयो। आमासँग कुरकुरे किन्दिन गन्थन गरिरहेका बच्चाहरूको आवाज बन्द भयो। मेरो टाउको सिटमा ठोक्कियो। केही रगत आयो। आवाजहरू अलि अलि मलिनो सुन्न थालेँ। ज्यान थिलो थिलो भाको थियो।बीचको प्यासेजमा लत्रिन पुगेछु। ज्यान उठाउन सकिरहेको थिइनँ।
पछाडिका मान्छेहरूलाई हतार थियो खै कहाँ पुग्न? ममाथि टेकेर उनीहरू हिँड्न खोज्दै थिए। अब बल्ल बच्चाबच्चीहरू रोएको आवाज सुन्न थालेँ। कानले गौंथलीहरू चिरिबिरी गरे जस्तै मान्यो। कोही दुब्ला कोही मोटा थिए कोही अग्ला थिए ममा जुत्ताका धुलोहरू झार्दै नाघेरै वा टेकेरै हिँडिरहेका थिए तर कसैले हात दिएर उठाउने हिम्मत गरेनन्।
एम्बुलेन्सको साइरन सुनेँ। सुरक्षा टोलीहरू समेत ओहोरदोहोर गरिरहेको थाहा पाएँ। बाहिर पानी दर्किरहेकै थियो। कसैले भित्र अझै एक जना बाँकी हुनुहुन्छ भनेर भनिदियो, त्यो भनिदिने मानिस मलाई भगवान जस्तै लाग्यो। मलाई ती व्यक्ति को हुन्? भनेर चिन्नलाई आँखाले देखेको थिइनँ, न त बुझ्नलाई दिमागले सही काम नै गरिरहेको थियो। मात्र कानले सुनेँ र हृदयले महसुस गरेँ कोही त रहेछ जो मेरो महत्व बुझिरहेछ।
मेरो उद्धार गरिनुपर्छ भनेर चिच्याइरहेछ। मलाई त्यति बेला मात्र मेरो जीवनको मोल थाहा भयो। रगताम्मे भएको टाउको र चोट ग्रस्त शरीरबाट फेरि पहिलाको जस्तै जुर्मुराउन पाए केही त अवश्य गरेर देखाउँथेँ जस्तो भान भयो। मलाई स्ट्रेचरमा तल झारियो। एम्बुलेन्सभित्र हाल्ने तयारी गरिँदै थियो। बाहिर मानिसहरूको भीड रहेछ। छाता ओडेरै मानिसहरू भिडिओ खिच्न र भाइरल हुन तम्तयार बसेका रहेछन्। अगाडि बसेका यात्रु सहित ड्राइभरको घटनास्थलमा नै मृत्यु भएको खबर कानले सुन्यो। अलि गम्भीर घाइतेलाई चितवन लगिसकिएको रहेछ। म मध्यममा परेको रहेछु। थोरै मात्र घाइते भएकाहरू आ-आफ्नो बन्दोबस्त गरिसकेका रहेछन्।
मलाई नजिकैको अस्पताल पुर्याइयो र दुई चार घण्टा इमर्जेन्सीमा औषधि उपचार गरेपछि म जबरजस्ती काठमाडौं आएँ। किनकि भोलिपल्टको परीक्षा थियो मेरो। छुटाउन मिल्दैमिल्दैन्थ्यो। मैले परीक्षा कसरी लेखेँ? के लेखेँ? पढेका कुराहरू कति चाहिँ याद गरेँ? भन्ने मलाई मात्र थाहा छ।
घरबाट तारन्तार फोन आइरहेको थियो अनि त्यो घटनाको बेलिविस्तार सुनाउन साथ मभन्दा प्रताडित घरका हुन्थे। म केही भएको छैन, सब ठिक छ भन्दै टारिदिन्थेँ तर हिँड्न डुल्न अझै पनि गाह्रो भइराखेकै थियो।
आफू दुर्घटनामा परेको बसका घटनास्थलमा मृत्यु भएका बाहेक अरू घाइते सबै जना सकुशल रहून् भन्ने आशा थियो। त्यही आशामा आँखाहरू अनलाइन समाचारहरूमा तानिएका थिए। तर धेरैलाई श्रद्धाञ्जली लेख्न हतार भइसकेको थियो। मानिसहरूलाई कति हतार हुन्छ है! सबै जीवित रहून् भन्ने कामना समेत गर्न सक्दैनन्। गुगलमा भेटिने पूर्वदुर्घटनाका फोटोहरू राखेर फेसबुकमा, तँ भन्दा म के कम भन्दै गोहीका आँसु चुहाउनेहरूको तँछाडमछाड थियो। म बाफको ह्रापमा परेपछि ओल्सिएको साग जस्तै निन्याउरो मुख लगाएर बसेँ। घाइते भएर घर गइसकेको मानिसहरूको लिस्टमा आफ्नो नाम देखेर लाग्यो यो देशमा पत्रिकामा नाम आउन पनि त आफू घाइते हुनुपर्दो रहेछ।
हामी आजकल डराउन छोडिसकेका छौं। हामी न सानोमा हुँदा आमाबुवासँग डराउन जान्या छौं, स्कुलमा पढ्दा न टिचरसँग डराउन जान्या छौं, ठूलो भएर इलम गर्दा न देशको कानुनसँग डराउन जान्या छौं। आफूलाई आपतविपत पर्दा मात्र सम्झिने तिनै भगवानसँग पनि हामी अरू बेलामा डराउन जानेनौं। अब हामी हुँदाहुँदा मृत्युसँग पनि डराउन छोड्यौं। र मजाकमा उत्रिरहेका हुन्छौं। जबसम्म त्यही घटना आफ्नो घरमा घटित हुँदैन तबसम्म कुनै मानिसको अन्तिम धड्कनलाई ब्रेकिङ न्युज बनाएर बिकाउन पछि पर्दैनौं। चाहैकै बखतमा दुःखले सुखको हात भेट्ने पहिल्यैको नेपाली समाजमा मिठास छुट्टै थियो। ईश्वरको डर मानेरै भए नि सही दिशा पकड्ने हाम्रो बानी ठिक थियो। हामी पैसाले धनी हुँदै गयौं होला तर सहभाव, श्रद्धा र मानवीय सौन्दर्यबाट गरिब भइरहेका छौं।