दर्पण र दिपिका नर्सरीदेखि एउटै विद्यालयमा पढेका थिए। उनीहरूको घर धेरै नजिक नभएता पनि स्कुल जाने एउटै बस थियो।
दिपिका दुई-चुल्ठी रिबनले बाटेर भुटुन खाने तेल कपालमा चिपिक्कै दलेर कोरिबाटी गरेर स्कुल जान्थिन्। सिँगान बेलाबेला स्याक्क-स्याक्क झारिरहने भएकोले उपल्ला क्लासकाहरूले उसलाई सिँगानी दिपिके भनेर जिस्काउँथे। ठुलाहरूले बसमा जिस्काएको देख्दा सँगैका साथीहरू सबैले उनलाई 'सिँगानी' भनेर नामै राखिदिएका थिए।
दर्पण चाहिँ सरकारी जागिरेको छोरो। युकेजी नपुग्दै उसको अगाडिको दाँत झरेको थियो। लगाउने हाफ पाइन्ट बेलाबेला तल सुल्किरहने र बेल्ट टाइट गर्दा पनि नहुने हुँदा ऊ प्रायः पाइन्ट समातेरै बस्थ्यो। उसलाई पनि बसमा सँगै हुने साथीहरूले 'थोते दर्पणे' भनेर नाम राखिदिएका थिए।
दर्पण र दिपिका बाल्यकालदेखि नै सँगै पढ्ने, खेल्ने, आमाले टिफिन पठाएको खाजा बाँडेर खान्थे। एक आपसमा उनीहरू असाध्यै मिल्दथे। पहिला दर्पणको घर आउँथ्यो र बसबाट ऊ बाई-बाई भन्दै झर्थ्यो। दिपिका दर्पण नहुँदा अरू साथीहरूसँग त्यति नजिक हुन्न थिइन्।
एवं रितले दिनहरू बित्दै गए। उनीहरूको दोस्तीयारी झन्-झन् झाँगिँदै गइरहेको थियो। बिस्तारै उनीहरू टिनएजमा प्रवेश गरे। स्वाभाविकै हो, विपरीत लिङ्गीप्रति किशोरावस्थामा मनमा संवेगात्मक उद्वेलन छाउनु।
उनीहरूले पनि क्लास ९ मा पढ्दा दिपिकाले दर्पणको जन्मदिनको दिन स्कुलकै ग्राउन्डमा त्यही फुलेको गुलाबको फूल चुँडेर दिँदै, ‘म तिमीलाई असाध्यै माया गर्छु, जुनी-जुनीसम्मै हामी सधैँ एक अर्काको नै बन्नुपर्दछ है’ भनेर आँखाभरि टिलपिल आँसु पार्दै ‘आई लभ यु काले, हामी पछि गरेर बिहे गर्ने है’ भनेर प्रेम प्रस्ताव राखिन्।
दर्पणले पनि खुसी हुँदै स्वीकार गर्यो। त्यस दिनदेखि उनीहरूको याराना दोस्तीयारीबाट प्रेमी-प्रेमिकामा परिणत भयो।
उनीहरूको प्रेम सम्बन्धमा बारेमा स्कुलमा अरू साथीभाइहरू पनि जानकार थिए। साथीहरूले जिस्काउँथे, उनीहरू लाजले भुतुक्कै हुन्थे। कुनै दिन एकजना स्कुलमा अनुपस्थित भएको बेला उनीहरूलाई असाध्यै खल्लो हुन्थ्यो। पढ्न मनै लाग्दैन थियो। त्यो दिन दिन पनि एक वर्ष झैँ लामो महसुस हुन्थ्यो। उनीहरूको त्यो किशोरावस्थाको पवित्र प्रेम यति गहिरो थियो कि, वास्तवमै उनीहरूको माया प्रेम मुना-मदन वा रोमियो जुलियट भन्दा कम्ती थिएन होला।
त्यस बेला उनीहरू साइकलमा स्कुल जाने-आउने गर्थे। दिपिकालाई लिन उसको घरको बाटोसम्म पुग्थ्यो अनि छुट्टीपछि घर नजिक पुगिन्जेलसम्म गफ गर्दै जान्थे र लामो समयको लागि छुट्टिने लागेको झैँ त्यो एक दिनको लागि छुट्टिँदा पनि मन भारी बनाएर बिदा हुन्थे।
एसएलसी दिएपछि उनीहरू अब दैनिक भेट नहुने पो हो कि भनेर पूर्ववत् रूपमै सल्लाह गरी एउटै कलेज, एउटै विषय पढ्ने, सँगै बाच्ने, सँगै कसम खाएका थिए। पढाइ सकेर सँगै जागिर खाने अनि बिहे गर्ने सम्मको योजना बनाइसकेका थिए। यतिसम्म कि उनीहरूले जन्मने बच्चाको नाम समेत त्यति बेलै जुराइसकेका थिए।
एसएलसीको रिजल्ट आयो। दर्पणको धेरै राम्रो अङ्क आयो भने दिपिकाको औसत मात्र। घर परिवारकालाई मनाएर उनीहरू सहर जाने पनि टुङ्गो लाग्यो। दुवै जना काठमाडौँ गए पनि। विडम्बना प्राप्ताङ्कको कारणले उनीहरू दुईलाई एउटै कलेजले भर्ना लिन मानेन। केही सिप नलागेपछि उनीहरू अलग-अलग कलेजमा भर्ना गरे।
११ पढ्दा ताका सम्म उनीहरूको सम्बन्धमा हार्दिकता र आत्मीयतामा कुनै कमी आएको थिएन। जब १२ मा पुगे, तब दर्पणको सङ्गत कलेजका अलि आवारा केटाहरूसँग हुन थाल्यो। बिस्तारै उसमा रक्सी र नशालु पदार्थ सेवन गर्ने आदत बस्न लाग्यो। पढाइ पनि बिस्तारै बिग्रँदै गयो।
उता दिपिकाको क्लासमा पनि एक धनी केटा (मोहित) सँग भेट भयो। रूप, रङ्ग र जीउडालमा मोहित दर्पणभन्दा ह्यान्डसम थियो। ऊ पैसावाला पनि थियो। बिस्तारै उनीहरू पनि साथी बन्दै गए। उसले दिपिकालाई आफ्नो महँगो बाइकमा राखेर घुमाउन लैजान्थ्यो। उपहारहरू दिन्थ्यो। महँगो रेस्टुरेन्टमा खाजा खुवाउन लैजाने, सपिङ गरिदिने, फिल्म हेर्न लैजाने, एकदमै केयर गर्थ्यो।
बिस्तारै दिपिकाले दर्पणलाई भुल्दै गई र मोहितमा नै दर्पणको प्रतिबिम्ब देख्न थाली।
उता दर्पणलाई कसैले दिपिका त अर्कैसँग डेटमा छे भनेर सुनाइदियो। उसले दिपिकालाई भेटेर सबै कुरा सोध्यो। दिपिकाले ‘हो, वि आर इन रिलेसनशिप, सो फर्गट यस्टर्डे’ भन्ने जवाफ दिएर हिँडिन्।
दर्पण पागल जस्तो चिच्याएर रिसले आगो भएर मुरमुरिँदै कोठामा आइ करायो, भाँडाकुँडा मिल्काउँदै बहुला झैँ रुँदै, बरबराउँदै चिच्याउन थाल्यो। त्यसपछिका दिनहरूमा उसमा ड्रग्सको डोज झन् बढ्दै गयो।
दिपिकाको फोटो सहित छातीमा खोपिएको नामको ट्याटु कम्पासले बिगारेर उसले पुरै केरकार गर्दा उसको छातीमा घाउ नै घाउ थियो। उसले दिपिकालाई किन धोका दिएको भनेर फोन गरेर नानाभाती बोलेर थर्काउने हुँदा उसले फोनै उठाउन छोडिसकेकी थिई।
हिजोसम्म उनीहरू एक-अर्काको अंगालोमा बाँधिएर, संसारका सारा कोलाहललाई बिर्सेर जब बस्थे, लाग्थ्यो यो समय यहीँ रोकियोस्। एकअर्काको ढुकढुकीको आवाज उनीहरूको लागि संसारकै सबैभन्दा मीठो संगीत थियो। त्यति बेला दुवैका ओठहरूले कति सहजै भनिदिन्थे, ‘तिमीबिना म त मरिहाल्छु नि!’
उनीहरूले ती शब्दहरूलाई ढुङ्गाको अक्षर सरह मानेर आफ्नो मुटुमा सजाएँ। लाग्थ्यो, उनीहरूको प्रेम यति बलियो छ कि यसलाई न त समयले हल्लाउन सक्छ, न त परिस्थितिले नै बदल्न सक्छ। तर ती केवल पलभरका आवेग र कलिला बाचाहरू मात्र रहेछन्।
समय सधैँ सोचे जस्तो कहाँ चल्दो रहेछ र! जब जिन्दगीले एउटा कठिन मोड लियो, तब थाहा भयो कि बाचा गर्नु र निभाउनुमा आकाश-जमिनको फरक हुँदो रहेछ। विडम्बना, जसले एकअर्का बिना सास फेर्न पनि गाह्रो हुन्छ भन्थे, तिनीहरू नै आज भिन्न दिशामा हिँडिरहेका छन्।
समयको त्यो निर्मम बहावले उनीहरूलाई यसरी छुट्टाइदियो कि हिजोका ती प्रगाढ सम्बन्धहरू आज केवल सम्झनाका धुलाम्मे पानाहरू मात्र बनेका छन्। दुवैले आ-आफ्नो नयाँ बाटो रोजे, नयाँ जिन्दगीको सुरुवात गरे।
हो, बाचा कसम टुट्नाले उनीहरू कोही पनि मरेनन्। दिपिका आफ्नो संसारमा हाँसिरहेकै छिन् भने उता दर्पण भीडमा आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्दै बाँचिरहेकै छ। मान्छे मर्न त भौतिक शरीर नै ढल्नुपर्दो रहेछ, जुन उनीहरूको हकमा लागु भएन। बस्, परिस्थितिसँग सम्झौता गरेर अगाडि बढ्ने निधो गरे।
तर दर्पण कहिले काहीँ एकान्तमा मनले सोध्छ- 'के साँच्चै हामी बाँचेका छौँ त?'
जिन्दगी रोज्नुको अर्थ केवल सास फेर्नु मात्र त होइन होला नि। फेरि मन बुझाइँदै आफूलाई सान्त्वना दिँदै भन्छ- ‘संसारको रीत नै यस्तै रहेछ, मान्छेहरू छुट्छन् र फेरि कसै न कसैको सहारामा बाँच्न सिक्छन्। तर विडम्बना के भयो भने, हामी त बाँच्यौँ तर त्यो पवित्र र निश्चल प्रेमले भने अकालमै मृत्यु रोजिदियो।
हाम्रो अहंकार, बाध्यता र समयको खेलले त्यो अमर भनिएको भावनाको हत्या गरिदियो। हिजोका त्यो लैला-मजनु आज आज दुई किनारमा बहिरहेको डुङ्गा झैँ आ-आफ्नो जिन्दगी त काटिरहेका छन्, तर त्यो सुन्दर प्रेम भने सधैँका लागि इतिहासको चिहानमा पुगिइसकेको छ।’