बिहानैबाट बेलुकासम्म मान्छे भुलाउने जुक्ति छ
कोलाहलभित्र एक्लोपनबाट उन्मुक्ति छ
कति सक्रिय छन् सामाजिक सञ्जालहरू
हरपल, हरदम यसैमा आशक्ति छ
आँखा, दिमाग अनि मानसिक थकान हुनाले
कहिलेकाहीँ मान्छेलाई चरम विरक्ति छ।
फोटो, भिडियो, प्रोफाइल र स्ट्याटसहरू समेटेर
एउटा सिङ्गो डिजिटल समाज छ
आवाज विहीन भुइँमान्छेहरूको लागि
सिकायत मिसिएको गुञ्जायमान आवाज छ
भजन, भक्ति र प्रार्थनाको लागि
योग, ध्यान र साधनाका लागि
पूजा, बन्दना, आराधना र नमाज छ।
मोबाइल भित्र
नक्सा, क्यालेन्डर, क्यालकुलेटर र घडी छ
कहिलेकाहीँ चटक, तमासा र रमिता पनि बढी छ
भौगोलिक दूरीमा रहेका आत्मीय मनहरूको लागि
सम्बन्ध र सम्पर्कको मुख्य कडी छ।
गाता नहालिएका थुप्रै किताबहरूको लाइब्रेरी छ
गीत गजल, कथा, कविता र थुप्रै सायरी छ
ग्यालरी, इमेज, भिडियो र डाउनलोड संग्रह गर्दा
मोबाइल भित्रै मान्छेको आफ्नो आफ्नो डायरी छ।
मोबाइल भित्रै,
जम्बो जुम मिटिङ गर्न सक्ने क्यापासिटी छ
विचार, विमर्श, छलफल र निचोड निकाल्न
अनुभव, अनुभूतिका पहाडहरू साटासाट गर्ने
सबैको आ आफ्नै पेसागत कम्युनिटी छ
कुनै प्रश्नको जवाफ हुन्न र दिन्न कहिल्यै नभन्ने
खै आफ्नो हो कि बिरानो हो
चिन्नै नसकेको एउटा च्याट जिपिटी छ।
अब
मोबाइल भित्र के छ भनौँ कि के छैन भनौँ
तर मोबाइल एउटा लत हो संयमित बनौँ
आफू मोबाइल भित्र हराइरहँदा
मोबाइल बाहिर के छुटिरहेको छ, मनन गरौँ।