कहिलेकाहीँ मानिस मर्दैन। ऊ केबल बाँच्न छोड्छ।
बाहिरबाट ऊ हिँडिरहेको हुन्छ, बोलिरहेको हुन्छ, मुस्कुराइरहेको पनि देखिन्छ। तर भित्रभित्रै ऊ धेरैअघि मरिसकेको हुन्छ। शिरिष पनि त्यस्तै मानिस थियो।
उमेर जम्मा तीस वर्ष। तर उसका आँखाले पचास वर्षको थकान बोकेका थिए। ऊ बिहान उठ्थ्यो, काममा जान्थ्यो, फर्कन्थ्यो, खाना खान्थ्यो र सुत्थ्यो। दिनहरू बितिरहेका थिए, तर जीवन अघि बढिरहेको थिएन।
एक समय थियो, ऊ सपना देख्थ्यो। डाक्टर बन्ने, देश, समाज र परिवारका लागि पनि केही योगदान गर्ने। तर, समयले उसलाई विस्तारै सपनाबाट टाढा लग्यो।
बुवाको असामयिक मृत्यु। आर्थिक अभाव। विश्वास गरेको साथीको धोका। त्यस दिनदेखि शिरिषले रङहरू देख्न छोडेको थियो। उसका लागि संसार कालो थियो।
कालो बिहान।
कालो दिन।
कालो रात।
र
कालो भविष्य।
ऊ कहिलेकाहीँ ऐनामा आफूलाई हेथ्र्यो र सोच्थ्यो– 'मानिस यति धेरै थाक्न पनि सक्छ?'
त्यसपछि एउटा बिहान आयो। जुन बिहान अरू बिहानजस्तो थिएन।
शिरिष दैनिक जस्तै सार्वजनिक यातायातमा अफिस जाँदै थियो। सहरको भीड, हतार, धक्का, पसिनाको गन्ध र बिहानको चिसो सबै कुरा उस्तै थिए। ऊ झ्यालतिर फर्केर चुपचाप उभिएको थियो। मनमा कुनै विशेष कुरा थिएन। अफिस पुग्नु थियो, काम गर्नु थियो, फर्किनु थियो। जीवनको गति यतिमै सीमित थियो।
बसभित्र मानिसहरू खचाखच थिए। कोही मोबाइलमा थिए, कोही निदाइरहेका थिए, कोही झ्यालबाहिर हेर्दै थिए। शिरिषको छेउमा एक युवती बसेकी थिइन्। साधारण पहिरन, काँधसम्म झरेको कपाल, हातमा एउटा फाइल र अनुहारमा बिहानैको थकान। उनी पनि अरू यात्रुजस्तै शान्त थिइन्।
बस केहीबेर अघि बढेको मात्र थियो, पछाडिबाट एक अधबैँसे पुरूष अगाडि सरेर ती युवतीको छेउमा अस्वाभाविक रूपमा टाँसिन थाल्यो। सुरुमा त्यो सामान्य भीडजस्तो लाग्यो। तर केही क्षणमै उसको व्यवहार असहज बन्यो। उसले जानाजानी शरीर ठेल्दै, हातले बाटो नपुग्ने बहाना गर्दै, ती युवतीलाई बारम्बार छुन खोज्यो।
युवतीले एकपटक सानो स्वरमा भनिन, 'कृपया अलि पर बसिदिनुहोस्।' तर त्यो पुरूषले सुनेन। बरू झन् मुस्कुराउँदै भन्यो, 'बसमा ठाउँ छैन, के गर्ने?' उसको स्वरमा मजाक थिएन, दम्भ थियो।
शिरिषले त्यो दृश्य हेर्यो। केही क्षण ऊ चुप रह्यो। उसको पुरानो बानी थियो, सबै कुरा सहेर बस्ने, झगडा नगर्ने। तर, त्यो बिहान केही फरक भयो।
ती युवतीको अनुहारले डरले रातोपिरो भएको थियो। त्यो डर शिरिषले सहजै अनुभव गर्यो।
उसले पनि त धेरै वर्षदेखि आफ्नै मनभित्र बोकेर हिँडिरहेको थियो, असहायता, अपमान र मौनताको डर। पुरूष फेरि नजिक सरेपछि शिरिषले पटक कडा स्वरमा भन्यो—'अलि पर बस्नुहोस्। उहाँलाई असहज भइरहेको छ।'
बसभित्र एकाएक सन्नाटा छायो।
त्यो पुरूषले शिरिषतिर हेरेर भन्यो,'तिमी को हौ बीचमा बोल्ने?' शिरिषको मुटु जोडले धड्कियो। तर उसले आँखा झुकाएन। 'मानिस,' उसले भन्यो, 'र तपाईंले गलत गरिरहनुभएको छ।'
त्यो वाक्यसँगै बसभित्रका केही यात्रुहरू पनि उठेर कराउन थाले, चालकले पनि उक्त विषयको जानकारी पायो अनि उक्त पुरूष झर्किँदै पछाडि सरेर अर्को सिटतिर गयो।
ती युवतीले लामो सास फेरिन्। उनका हात हल्का काँपिरहेका थिए।
शिरिषले केही भन्न खोजेन। ऊ फेरि झ्यालतिर फर्कियो। तर, अब उसको मन पहिलेको जस्तो थिएन। केही भत्किएको थियो। केही जागेको थियो।
बस केहीबेरपछि स्टपमा रोकियो। ती युवती उठिन् र ओर्लिनुअघि शिरिषतिर फर्केर भनिन्, 'धन्यवाद।' ती दुई शब्द सामान्य थिए। तर शिरिषका लागि ती शब्दहरू धेरै वर्षपछि कसैले दिएको सम्मानजस्तै थिए। उसले हल्का टाउको हल्लायो।
युवती ओर्लिइन्। शिरिषले उनको अनुहार फेरि हेर्न पाएन। तर त्यो बिहानको घटना उसको मनमा बसिसकेको थियो।
केही दिनपछि ऊ फेरि त्यही सार्वजनिक यातायातमा चढ्यो। त्यही बिहान, त्यही भीड, र त्यही हतार। तर, यसपटक एउटा परिचित अनुहार देखियो।
उही युवती, उही शान्त आँखा। उही साधारण तर आत्मविश्वासी अनुहार। उनी पनि शिरिषलाई देखेर मुस्कुराइन्।
'अहो, फेरि भेट भयो है,' उनले भनिन्।
शिरिषले सोध्यो 'तपाईंले सम्झनुभयो?'
'त्यो दिन तपाईंले मलाई बचाउनुभयो। यस्तो कुरा बिर्सन सजिलो हुँदैन।'
शिरिषले हल्का मुस्कुराउँदै भन्यो, 'त्यो ठूलो कुरा थिएन। 'ठूलो कुरा नै थियो,' उनले दृढ स्वरमा भनिन्। 'धेरै मानिसले देख्छन्, तर बोल्दैनन्। तपाईंले बोल्नुभयो।'
त्यो वाक्यले शिरिषलाई भित्रसम्म छोयो। उसले पहिलो पटक महसुस गर्यो, कहिलेकाहीँ एउटा सानो साहसले पनि जीवनको दिशा बदल्न सक्छ।
उनको नाम थियो, आर्या। बस। त्यसभन्दा बढी केही होइन। तर कहिलेकाहीँ एउटा नामले नै मानिसको जीवनमा नयाँ अध्याय सुरु गरिदिन्छ।
नम्बर आदान प्रदान भयो। त्यसपछि भेटहरू बढ्न थाले। कहिलेकाहीँ बसमै, कहिलेकाहीँ अफिस नजिकको चिया पसलमा, कहिलेकाहीँ बाटो काट्दा। आर्याले धेरै प्रश्न सोधिनन्। तर उनी बोल्दा शब्दहरूमा अचम्मको न्यानोपन हुन्थ्यो। उसले वर्षोदेखिको पीडामा मल्हम लागेको अनुभूति गर्दथ्यो।
एक दिन उनले सोधिन, 'तपाईं सधैँ यति चुपचाप किन हुनुहुन्छ ?'
शिरिषले केहीबेर सोचेर भन्यो, 'सायद धेरै कुरा बोल्दा पनि कसैले सुन्दैन भन्ने बानी परिसकेको छ।'
आर्याले उसको अनुहार हेरिन्। 'त्यसैले त बोल्नुपर्छ। सुन्ने मानिसहरू अझै बाँकी छन्।'
शिरिष चुप लाग्यो। सायद धेरै वर्षपछि कसैले उसको अनुहार होइन, उसको मौनता पढेको थियो। कसैले उसको मौनताभित्र लुकेका दुखका पहाडहरु बुझ्ने कोशिस गरेको थियो।
त्यसपछिका दिनमा शिरिषले जीवनलाई उज्यालो देख्न थाल्यो। उसको जीवनमा कोही हरियो मानिस आयो। जसले सुकेको विरुवामा पालुवा पलाउने आशा देखायो। त्यसैले उसले आर्याको नाम मायाले राखिदियो 'हरियो मान्छे '।
उनीहरू कहिलेकाहीँ कफी खान्थे। कहिलेकाहीँ नदी किनार हिँड्थे। कहिलेकाहीँ केही नबोली घण्टौँ एउटै बेन्चमा बस्थे। हावाको स्पर्श, एकअर्काको दरिलो साथ र झाँगिएको प्रेमलाई अनुभूति गर्थे।
आर्याले कहिलेपनि शिरिषको विगतको घाउ कोट्याउँदिनथिन् हरियो मान्छे जसरी। जसले तपाईंको जीवनमा आशा, शान्ति र हिम्मतको हरियाली कहिल्यै सुक्न दिँदैन। उनी केवल नयाँ सपना देखाउन खोज्थिन्। शिरिषको जीवनमा वसन्तको वहार ल्याइदिन खोज्थिन।
एक दिन शिरिषले आर्यालाई सोध्यो, 'तिमीलाई हरियो रङ मन पर्छ?'
आर्याले टाउको हल्लाएर भनिन, 'ठीकै'।
शिरिषले सडक छेउको एउटा सानो बिरुवा देखाउँदै भन्यो, 'यो बिरुवा हेर त'।
आर्याले हेरि।
धुलोले ढाकिएको, सुक्नै लागेको बिरूवा। तर, बीचबाट एउटा नयाँ हरियो पात पलाएको थियो।
'थाहा छ?' शिरिषले भन्यो 'प्रकृतिले कहिल्यै हार मान्दैन। मानिस किन मान्छ ?' हो त्यस्तै तिमी पनि मेरो जीवनमा पालुवा बनेर आयौँ। समाजबाट उपेक्षित भएको मेरो आवाज तिमीले सुनिदियौँ। मेरो जीवनमा वसन्तको वहार आयो, जीवन रंगीन भयो, धन्यवाद प्रिय आर्या, तिमीजस्तो नारी सबैले पाऊन्' भन्दै शिरिष भावुक भयो।
आर्याले उसको जीवन बदल्ने कुनै ठूलो काम गरिनन्। उनले उसलाई पैसा दिइनन्।
जागिर मिलाइदिइनन्। समस्या हटाइदिइनन्। उनले केवल एउटा काम गरिन, जब संसारले उसलाई बेकार भनिरहेको थियो, उनले भनिन, 'म तिमीभित्र अझै धेरै उज्यालो देख्छु। 'त्यो विश्वास शिरिषले आफूमाथि कहिल्यै गरेको थिएन।
महिनौँ बिते। शिरिष आफ्नो पुरानो डायरी निकालेर फेरि लेख्न थाल्यो। तर, यो पटक निराशा होइन, आशाका कुरा। नयाँ शब्दहरू जन्मिए। उजाड वाक्यहरूमा फेरि फूल फुले।
उसले फेरि आमासँग धेरै कुरा गर्न थाल्यो। दैनिकी परिवर्तन गर्न थाल्यो, आत्मविश्वास पनि बढ्ँदै गयो। एक दिन उसले ऐनामा आफूलाई हेर्दा धेरै वर्षपछि आफ्नै मुस्कान देख्यो।
उसले बुझेको थियो, आर्या उसको जीवनमा प्रेमिका भएर आएकी थिइनन्। उनी त एउटा ऋतु भएर आएकी थिइन्। वसन्त भएर।
एक साँझ उनीहरू शहरबाहिरको सानो बाटो हुँदै घर फर्किरहेका थिए। घाम अस्ताउँदै थियो। हरिया पातहरू सुनौलो प्रकाशले चम्किरहेका थिए।
आर्याले बिस्तारै भनिन, 'मानिसहरू भन्छन्, जीवनमा धेरै रङ हुन्छन्।'
'तिमीलाई कुन रङ सबैभन्दा मन पर्छ?' शिरिषले सोध्यो।
उनी मुस्कुराइन्।
'हरियो।'
'किन?'
'किनकि हरियो भनेको आशा हो। घाउ निको हुँदै गएको रङ हो। फेरि बाँच्न सिकेको रङ हो।' शिरिष धेरैबेर केही बोल्न सकेन।
उसले पहिलो पटक महसुस गर्यो, उसको जीवन साँच्चै कालोबाट हरियो हुँदै थियो।
र त्यो परिवर्तन कुनै चमत्कारले होइन, एउटा मानिसको धैर्य, उसको विश्वास, उसको साथ र उसको निस्वार्थ उपस्थितिले सम्भव भएको थियो।
त्यो रात शिरिषले आफ्नो डायरीमा एउटा वाक्य लेख्यो –'कसैलाई प्रेम गर्नु भनेको उसको हात समात्नु मात्र होइन। प्रेम त त्यो शक्ति रहेछ, जसले एउटा कालो जीवनलाई फेरि हरियो बनाइदिन्छ।'