अन्धकार रातमा चम्केका ताराहरूले देउसी-भैलो खेले जस्तै देखिन्थ्यो। बाहिर सडक पेटीमा केही खानेकुराको खोजीमा कुकुर ग्याङ टोलीहरू जसका मालिक थिएनन्, उनीहरू ङ्यारङुर गरेको सुनिन्थ्यो। बेलाबेला भिडन्तको रस्साकस्सी चल्दा सडकमा राइडसेयरिङ गर्नेहरू मडारिँदै बत्तिँदै गलत लेनमा पुग्थे। अन्तरमनमा सानो टेलिफिलिम चलेजस्तै हुन्थ्यो। डर पैदा हुन्थ्यो।
शुकलाल देब्रे कोल्टे फर्कियो। दाहिने नयनबाट अश्रुधारा बग्दै देब्रे गाला छपक्कै भिजिसकेको थियो। सिरान मुन्तिरको २० रुपैयाँको नोटमा समेत नुनिलो आँसुले स्पर्श गरिसकेको थियो। बेलाबेला सिरकको छेउले आँसु सोहोर्थे। हिक्कहिक्क र सुँक्कसुँक्कलाई सुनसान वातावरणमा प्रसार हुन ऊ सचेत थियो, मानौँ वातावरण नखलबलिउन्।
बत्तीमा लागेका धुवाँ/धुलोले मैलो प्रकाशमा टहराभित्रका जीवनका कथाहरू मधुरो नै थिए। निराश र थकानमा अडेर जेनतेन जीवित शरीर घिसारेर बाँचिरहेका थिए। दूध उम्लेर पोखिएको बाक्लो लेदोले ग्याँस चुल्हो हेरीसाध्ये थिएन। ठाउँ-ठाउँ उद्रिएको भुइँमा बिछ्याइएका टाटहरू गति छाडेका थिए। जमिनका माटाहरू देखिन थालेका थिए।
बाउआमा भुइँमा गुल्टिएका थिए। छियाछिया परेका मयलले कलेटी परेको सेता भन्न नमिल्ने खोलले लपक्क छोपेको काला भुवादार सिरकले गरिबीको प्रस्ट झल्को दिन्थ्यो। उचिरा गएका र दरिलो देखिने नाडीका रौँ हल्लिने गरी कहिले पाखुरा त कहिले गालामा प्याट्ट हान्थे बाउ चाहिँ। लामखुट्टे रगत चुसिसकेर उडिसकेको हुन्थ्यो, हिर्काइ बेकार बन्थ्यो।
बेलाबेला निन्द्रामा धताउँथे। निन्द्रामा अनेक थरी भन्दै लाजले पानी पिउँथ्यो घटघटी। उता आमाको पेटीकोटले छेकेर झ्यालको पर्दाको काम गरेको थियो। बेलाबेला हल्लेर पल्लो सहरी गगनचुम्बी महललाई अँगालेर बसेको सडक बत्तीको मनमोहक दृश्य देखिन्थ्यो।
शुकलाल निदाएको छैन अर्थात् निदाउन सकेको छैन। स्कुल भत्केको ४ दिन भयो। बस्ती शान्त भएको छैन। पत्रिकाले कोठाको भित्ता रङिएको थियो। एक कुनामा पहेँलो डोजरले गाउँमा सडक खनेको समाचारको टुक्रामा गएर आँखा अड्किन्छ अनि त्रसित मुद्रामा त्यो टुक्रालाई अर्को पत्रीकाले छोपेको थियो उसले। चारखुट्टे खाट मुन्तिर लुकाएर राखेको उसको पहेँलो खेलौना डोजरले मुन्टो बाहिर निकालेको थियो। जबरजस्त उसले भित्र हुइँकाइदियो।
सबैभन्दा मनपर्ने खेलौना जेसिबी एक्स्काभेटर हो उसलाई। बेलाबेला अर्को टहरामा सेताम्मे मैदाको धुलो उडाउँदै स्ट्राइकरले रानीलाई प्वालमा छिराउँदै भन्थ्यो- ‘भविष्यमा म डोजरको ड्राइभर बन्छु, पछि मालिक’ फिल्मी शैलीमा मुन्टो बटार्दै साउथ इन्डियन मुभीको नक्कल गर्थ्यो।
सिमेन्टको भारी बोकेर ल्याएको पैसामा अडेको सानो परिवारको एक्लो छोराको सहरका अनेक चाहना पूरा गर्न उनीहरू असमर्थ देखिन्थे तर अनेक बहाना बनाउँदै उस्का चाहनालाई डाइभर्ट गर्दै आएका थिए। परन्तु खेलौना पसल अगाडि देखाएको हरकत उसको बाउले बिर्सेका थिएनन्।
३ महिना अघि लडिबुडी गर्दै शुकलालले भन्यो- ‘बा! मलाई रिमोटवाला डोजर चाहियो।’ बाउ खङ्रङ्ङ भएको थियो। एक बोरा चामल र तीन धार्नी आलु आउने पैसा त्यसको लागत हो र त ऊ बहानाबाजी बनाउँदै थिए। चिसो भुइँमा लमतन्न सुतेपछि उसको केही लागेन।
मानसपटलमा एक निर्धो, बेसहारा, आत्मसमर्पणले गलेका बाउका हतोत्साह प्रस्ट झल्कन्थ्यो। चामल र आलु किन्न ठिक्क पारेको रकमले अन्ततः रिमोटवाला डोजर खरिद गर्यो। शुकलाल बाउको हातबाट फुत्केर टहरा वरिपरिका उस्का साथीहरूलाई खेलौना देखाउन दौडिए। एकैछिन भरिए सडक केटाकेटीको डोजर हेर्न।
शुकलाल निदाउन प्रयास गर्थ्यो। जबरजस्त सुत्न चाहन्थ्यो। सिरकको छेउ चुस्दै घुर्न चाहन्थ्यो। परन्तु निन्द्रा देवीले बास लिन मानेको थिएन। एक्कासि बाहिर हावाबाट कतै थाल बजेजस्तो, जस्ताका छानामा केही खसेजस्तो आवाज आयो। ऊ निलो कालो भयो, सास रोकिएला जस्तो भयो। मन ढक्क फुल्यो।
पल्ला कोरिडोर छेउ खोलामा उसको साथी रञ्जनको टहरा घरलाई कच्याककुचुक पारेर सडकमा हुत्त्याएको दृश्य आयो। रञ्जनको आमा बहिनी च्याप्दै रुँदै हिँडेकी थिइन्। बाउ सडक छेउमा बसेर टोलाइरहेका थिए। रञ्जन सिसा कलम, ज्यामितीय बाकस र उस्का खेलौना खोज्दै थिए। आँखामा कता-कता डर कता कता आक्रोशले टिलपिलाएका थिए।
बाउसँग झगडा गरेर किनेको डोजर उसको पनि थियो। साथीले छोयो भने र अलि धसारेर खेल्यो भने प्याट्ट टाउकामा हान्थे। आफ्नो बाउआमा भन्दा प्यारो थियो उसको खेलौना डोजर। भात खाँदा पनि अर्को हातले च्यापेर खेलाइरहेको हुन्थ्यो। राति सुत्दा च्यापेर सुत्थे।
रञ्जन किताब र झोला खोज्दै थियो। ढुंगा र धुलोले लपक्क लिपिएको गातामा नरम कलिलो हातले पुछ्दै पढ्यो- रञ्जन मगर, कक्षा ३, विषय नेपाली। राष्ट्रिय दैनिक पत्रीकाको गाताले लिपिएको उसको किताबमा डोजरको चित्र थियो। भरखर साँवा अक्षर चिन्न थालेका उसले लेखेको कुरामा रुचि थिएन। चित्रका कारण गाता हालेका थिए। तर त्यहाँ लेखेको थियो-’भत्काइयो सुकुम्वासी बस्ती,भयो अलपत्र!’
बिचरा ऊ कसरी बुझोस्! स्कुल जाने फर्कने अनि डोजर खेल्ने यसरी चलेको थियो पढाइ। होमवर्क गर्नु पर्छ भनेर चेत थिएन। आफू नजिकैको डोजरको निर्दयी सुँडलाई लाग्ने गरी किताब झटारो हान्यो। च्यापिएको डोजरको खेलौना हुत्त्यायो। मुख बङ्गाउँदै र ओठ बिगार्दै पर पुगेर भन्यो, ‘मेरो घर भत्काउने डोजर थु!
शुकलालको घर अहिलेसम्म भत्केको थिएन। रञ्जनको घरको भत्काइले नै त्रासमा थियो ऊ। सपनामा घर भत्केको देख्थ्यो। बेलाबेला बाउले उठेर पानी छ्याप्थे। रञ्जनलाई होल्डिङ सेन्टर लगेको थियो। शुकलाल र रञ्जन एउटै कक्षामा पढ्थे। रञ्जन भन्दा शुकलाल अनि ठुलो हो उमेरले, दुवै ३ कक्षाका सबैभन्दा कमजोर मानिन्थे। सधैँ होमवर्क नगर्ने लद्दुमा गनिन्थे। कुखुरा नबनेको दिन कम हुन्थे।
उनीहरू छुट्टिए। स्कुलको नाम निसाना रहेन। रञ्जनको टहरा एक कोठे घर क्षणभरमा ढल्यो। डोजर चलाउने मानिसको मतलब थिएन न राज्यको मानिसको। ऊ बुझ्ने बेला भएकै थिएन। यी बिगार्ने र भत्काउने दोष डोजरलाई दिएको थियो।
बिस्तारै मुन्टो उधोमुन्टो बनाउँदै खाट मुन्तिर हेर्यो। सिरकले छोपिएका शरीरमा खाटमा टाउको झुन्डियो। रिमोट डोजर देखेर ऊ डरायो। भयले निलो कालो भयो। ओठतालु सुक्यो। उसलाई लाग्यो- ‘अब मेरो घर नि छिट्टै भत्किन्छ।’
जुरुक्क उठ्यो अनि खाटमा स्वाट्ट मुन्टो छिराएर लम्पसार पर्यो। कुनामा जम्मा भएर बसेका खेलौना सोहोर्यो। अन्य खेलौनाबाट डोजर छुट्टायो। पर हुत्त्यायो। जस्ताले बारेको फेदैमा लाग्यो, आवाज आयो ‘ड्वाङ्ग’।
बाउआमा बिउँझिए। हतारिएर ‘शुकलाल के भयो?’ बाउआमाको अङ्गालोमा बेरिए।
सुँक्क-सुँक्क गर्न थाल्यो।
‘बाबु के भयो? किन रोइस्?’ बाउको बलियो नाडीले च्याप समात्दै ढाडमा धाप मार्दै सोध्यो- ‘तँ सुतेको छैनस्?’
‘अहँ!’ शुकलालले धरमराएको दबेको स्वरमा भन्यो।
‘बाबा मलाई डोजर मन पर्दैन, म खेलौनाको डोजर फाल्छु ल अब!’
बाउ स्तब्ध भयो। नियन्त्रित हुँदै सोध्यो, ‘किन? के भो?’
मैले किताबका हरेक डोजरका चित्रहरू च्यातिसकेको छु। रञ्जनको घर भत्काउने राक्षस डोजर अब मलाई चाहिएन। मेरो स्कुल भत्काउने डोजर मलाई चाहिएन। आक्रोशित हुँदै भन्यो, ‘अब म डोजर ड्राइभर पनि बन्दिनँ।’
बाउले सम्झाउँदै भन्यो, ‘हेर छोरा! हामी सुकुम्वासी हौँ, हामीलाई नयाँ घरमा सरकारले लान्छ के अब बुझ्यौ?’
नयाँ घर बाहेक अरू कुरा उसले बुझेन। नयाँ घर भन्दा उसले खेलेको फोहोर माटोले छोपिएका भुइँमा प्रेममय सम्बन्ध जोडिएको थियो। उसको मनमा डोजरप्रतिको चिसो हटेको थिएन। बाउ भन्दै थिए, ‘हामी अवैधानिक स्थानमा छौँ, यहाँ खाली गर्न लागेको हो बाबु। अब हामीलाई नयाँ घरमा सरकारले लान्छ!’
‘अब ४ दिनपछि हाम्रो घर भत्किन्छ’ बाउले भने।
शुकलाल सुकुम्वासीको अर्थ त के शब्द उच्चारण समेत गर्न जान्दैनथ्यो। उसले यति बुझेको थियो, नयाँ घरमा सर्न पुरानो घर भत्काइएको हो। पूर्ण विश्वास भने लागेको थिएन किनकि घर भत्काउँदा रञ्जनका बाउआमा सडकमा लतारिँदै डोजरवालासँग हात जोडिरहेका थिए भने उस्का आमा सडकमा डाको छोडेर रोएका थिए।
उसलाई लाग्यो बाउ केही कुरा लुकाउँदै छन्। चित्त बुझेको मनमा आशंकाको डोरीमा पिङ खेल्न थाल्यो। बिहान झिसमिसमै खोलामा रिमोटवाला डोजर हुत्त्यायो। डोजर हिलोमा लतपतियो। एकैछिनमा हरायो। खुसी हुँदै घर फर्क्यो।