विद्यालयको अन्तिम घण्टी बजेको दिन उसको मन उत्साह, जिज्ञासा र अनगिन्ती सपनाले भरिएको थियो। अब कलेज पढ्न पाइने भयो। उसको जीवनको नयाँ अध्याय सुरु हुँदै थियो। उसले कल्पना गरेको संसार फराकिलो, स्वतन्त्र र सम्भावनाले भरिएको थियो।
तर कलेजको मूलढोका भित्र प्रवेश गरेपछि उसले बुझ्यो— कल्पना र वास्तविकताबिच निकै ठुलो दूरी रहेछ।
कक्षातिर जाँदा प्राङ्गणमा विद्यार्थीहरूको भीड देखिन्थ्यो। साना–साना समूह बनेका हुन्थे र छलफल चलिरहेको हुन्थ्यो। ती छलफलहरू अधिकांश राजनीति केन्द्रित हुन्थे, विशेषतः पञ्चायती व्यवस्थाको विरोधमा।
विद्यालयमा घण्टी बज्ने बित्तिकै सबै विद्यार्थी कक्षामा पुगिसक्थे। तर यहाँ घण्टी केवल एउटा आवाज जस्तो मात्र थियो— सुन्ने र नसुन्ने दुवैका लागि उस्तै।
कक्षामा शिक्षक पढाइरहेका हुन्थे, तर विद्यार्थीको कक्षामा आउने–जाने क्रम चलिरहन्थ्यो। शिक्षकहरूमा पनि पढाउने उत्साहभन्दा दायित्व निर्वाह गर्ने बाध्यता बढी देखिन्थ्यो।
कलेज परिसर ज्ञान आर्जन गर्ने थलोभन्दा बढी राजनीतिक दलहरूको गतिविधि केन्द्रजस्तो लाग्थ्यो।
यद्यपि सबै विद्यार्थी उस्तै थिएनन्। केही अत्यन्त लगनशील थिए। नियमित पुस्तकालय जान्थे, प्रशासन र शिक्षकहरूको उदासीनताको विरोध गर्थे र पढाइप्रति गम्भीर थिए।
त्रिचन्द्र कलेजमा भर्ना भएको भोलिपल्टदेखि नै केही विद्यार्थी अस्वाभाविक रूपमा ऊसँग नजिकिन खोज्न थाले। सुरुमा उसले त्यसलाई सामान्य मित्रता ठान्यो। तर बिस्तारै थाहा भयो— उनीहरू उसलाई आफ्नो विद्यार्थी संगठनमा आबद्ध गराउन खोजिरहेका रहेछन्।
रसिद काट्नुपर्ने रहेछ। तर कसको?
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, नेपाल विद्यार्थी मण्डल, नेपाल विद्यार्थी फेडरेसन; यति मात्र होइन, अनेरास्ववियुभित्र पनि विभिन्न धार रहेछन्।
उसले सबैलाई भन्थ्यो— ‘अहिले हतार छैन।’
ऊ आफ्नो ध्यान पढाइमै केन्द्रित गर्ने प्रयासमा थियो।
कलेजमा स्पष्ट दुई धार थिए,
पहिलो— पढाइलाई प्राथमिकता दिने, अनुशासित र भविष्य निर्माणमा केन्द्रित विद्यार्थीहरूको।
दोस्रो— राजनीतिक परिवर्तनबिना पढाइको अर्थ छैन भन्ने धार। यो पछिल्लो धारका विद्यार्थीहरूको तर्क थियो— जनताको प्रत्यक्ष सहभागिताबिना सञ्चालन हुने व्यवस्था रहुन्जेल व्यक्तिगत भविष्य सुरक्षित हुन सक्दैन।
उसको चाहना पहिलो धारमै रहने थियो। त्यसैले पनि कुनै संगठनमा नलाग्ने निर्णय गरेको थियो उसले। कहिलेकाहीँ उसको मन दुबिधामा पर्दथ्यो र त्यसै बेला उसलाई उसको दाज्युको सम्झना आउँथ्यो।
उसको बालाई उच्च शिक्षाको महत्त्व त्यति थाहा थिएन, त्यसैले कान्छालाई अब नपढाउने भन्नुभएको थियो। तर दाज्युले विरोध गर्दै भन्नुभएको थियो— ‘भाइलाई जसरी पनि उच्च शिक्षा पढाउनुपर्छ।’ अन्ततः दाज्युले सबै परिवारको मन जित्नुभयो र उसलाई काठमाडौँ ल्याएर कलेजमा भर्ना गरिदिनुभएको थियो।
उसको दाजुले उसलाई कलेजमा भर्ना गरेर फर्किने बेला भन्नुभएको थियो— ‘कतै नबरालिई राम्रोसँग पढ्नु है।’
त्यो वाक्य उसको मनमा गहिरो गरी बसेको थियो।
तर जीवन सधैँ आफ्नै योजनाअनुसार कहाँ चल्दो रहेछ र?
क्रमशः साथीहरू, छलफल, वातावरण र समयले उसलाई पनि विद्यार्थी राजनीतितिर तान्यो। अन्ततः थाहै नपाई उसको नाम अनेरास्ववियुमा लेखियो। समय बित्दै जाँदा ऊ अनेरास्ववियुको सक्रिय कार्यकर्ता नै बन्न पुगेछ।
त्यही समयमा एउटा घटनाले देशभरको विद्यार्थी आन्दोलनलाई नयाँ मोड दियो।
२०३५ सालको चैत्र २४ गते, ऊ लगायत केही विद्यार्थीहरू कीर्तिपुरमा फुटबल खेल हेरेर छात्रावास फर्किएका बेला खबर आयो— पाकिस्तानका निर्वाचित प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई सैनिक शासकले मृत्युदण्ड दिएको छ।
त्यसको विरोधमा पाकिस्तानी दूतावासमा विरोधपत्र बुझाउने प्रस्ताव आयो।
उसलाई सुरुमा यो उचित लागेन। अर्को देशको घटनामा किन हामीले आन्दोलन गर्ने?
तर छलफल बढ्दै गयो। अन्ततः मौन जुलुस निकाल्ने निर्णय भयो।
भोलिपल्ट विद्यार्थीहरू जम्मा भए। जुलुस दूतावासतर्फ अघि बढ्यो। तर प्रहरीले बाटो रोकेर लाठीचार्ज गर्यो। धेरै विद्यार्थी घाइते भए, धेरै पक्राउ परे।
त्यही दिनबाट आन्दोलनले नयाँ रूप लियो। अब मुद्दा केवल भुट्टोको फाँसी रहेन, यो पञ्चायती व्यवस्थाविरुद्ध दबिएको विद्यार्थी असन्तोषको विस्फोट बन्न पुग्यो।
शैक्षिक सुधार, विद्यार्थी अधिकार, अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक बन्दीको रिहाइ; यी मागहरूमा आन्दोलन केन्द्रित बन्यो।
केही दिनमै आन्दोलन देशव्यापी हुने लक्षण देखियो।
दिनमा जुलुस, नाराबाजी, पक्राउ र घाइते व्यवस्थापन; राति पर्चा छाप्ने, भित्ते लेखनको काम हुन्थ्यो। अहिलेको जस्तो पर्चाहरू निकाल्न सहज थिएन ,पर्चा पहिले हातले लेखिन्थ्यो अनि लिथो मिसिनमा राखेर धेरै प्रति बनाइन्थ्यो वा टाइपराइटरबाट लेखिन्थ्यो। पर्चा लेख्ने, छाप्ने र वितरण गर्ने र भित्ता लेख्ने काममा ठुलो समूह स्वतःस्फूर्त रूपमा परिचालन भए।
काठमाडौँमा मात्र आन्दोलन चर्काएर प्रभावकारी नहुने ठहर गरी यसलाई देशव्यापी बनाउनु पर्ने भयो। यसको लागि ऊ लगायत धेरैलाई पर्चाको मुठो बोकाएर आआफ्नै जिल्लामा आन्दोलन विस्तार गर्न पठाइयो।
ऊ झोला बोकेर गाउँ पुग्यो।
गाउँमा मानिसहरू सोध्थे— ‘व्यवस्था बदलियो भने के हुन्छ?’
उसले उत्साहका साथ भन्थ्यो— ‘बहुदल आउँछ। कोही भोको रहने छैन। गाउँमै विद्यालय, अस्पताल, बाटो पुग्छ।’
उसलाई त्यो बेला राजनीति केवल व्यवस्था परिवर्तन मात्र होइन; नयाँ जीवनको सपना लाग्थ्यो। त्यही क्रममा उसको सम्पर्क प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग पनि भयो।
आन्दोलन देशव्यापी रूपमा चर्किँदै गयो। आन्दोलन व्यवस्थाको विरुद्ध जान सक्ने आकलन गरेर सरकारले विद्यार्थीका अधिकांश मागहरू पूरा गर्ने भयो।
विद्यार्थीहरू दुई खेमामा विभाजन भए। एक थरी सम्झौता गर्नुपर्छ भन्नेमा थिए। उनीहरूको तर्क थियो— स्वतःस्फूर्त आन्दोलन एउटा निश्चित बिन्दुमा पुगेपछि तलतिर झर्दै जान्छ; समयमै उपलब्धिलाई संस्थागत गरिएन भने यो जोखिमपूर्ण हुनसक्छ। तर अर्को थरी विद्यार्थी समूह भने सम्झौतारहित आन्दोलन अगाडि बढाइनु पर्छ भन्ने थियो।
विवाद तीव्र भएकै अवस्थामा नेबिसंघ र अनेरास्ववियुको एक समूहबाट विद्यार्थीहरू सरकारसँग सम्झौता गरेर आए। यसको तीव्र विरोध भयो।
सम्झौता गर्न जाने विद्यार्थी नेताहरूमाथि दुर्व्यवहार भयो; कालोमोसो लगाएर सडकमा घुमाइयो।
त्यही रात जेठ १० गते राजाले जनमत संग्रहको घोषणा गरे। ४८ दिनदेखि अविराम चलेको आन्दोलनले विश्राम पायो। आन्दोलनकारीले त्यसलाई विजयको रूपमा लिए। अब त झन् उसले पढाइलाई निरन्तरता दिने कुरै भएन। ऊ बहुदलको पक्षमा ज्यान छोडेर लाग्यो।
एक वर्षपछि चुनाव भयो।
परिणाम आयो— ‘सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा।’
बहुदलले हार्यो।
कसैले परिणाम स्वीकार गरे, कसैले धाँधली भने।
तर उसको सपना सधैँको लागी माटोमा मिले जस्तो भयो। तर पनि ऊ निराश भएन। उसको पछाडि नेपाल कम्युनिस्ट पार्टी थियो र उसले पार्टीबाट संघर्ष निरन्तर अगाडि बढाउने निर्देशन पाई रहेको थियो।
कहिलेकाहीँ उसलाई कलेज ज्वाइन गरेर पढाइलाई निरन्तरता दिनुपर्ने हो कि जस्तो पनि लागेको थियो। तर जुन पार्टीमा रहेर ऊ काम गर्दै थियो; त्यो पार्टीले बुर्जुवा शिक्षा बहिष्कार गर्ने नीति लिएको रहेछ। त्यसपछि उसको पढाइ सदाको लागि त्यहीँ रोकियो।
संघर्षका दिन, महिना, वर्ष बिते। झन्डै एक दशकपछि बहुदलीय व्यवस्था पनि आयो। तर उसले प्रत्यक्ष अनुभव गर्यो— सत्ता परिवर्तन र समाज परिवर्तन एउटै कुरा रहेनछ।
बहुदलीय व्यवस्थामा पनि जसरी पनि सरकारमा पुग्नु नै प्रमुख राजनीति बन्यो। वाचा गर्ने र बिर्सने कला नेतृत्वको योग्यता बन्यो। जनताको सेवा गर्नेभन्दा छलछाम गर्ने र आफ्नू दुनु सोझ्याउनेको बोलबाला बढ्यो। सिद्धान्तभन्दा प्रचार बलियो भयो।
अनि ऊ जस्ता सिद्धान्तका कुरा गर्ने इमानदार मानिसहरू इतिहासका भीडमा हराए।
अहिले ऊ जीवनको उत्तरार्धमा आफ्ना हराएका सपनाहरूलाई सम्झनाको आँखीझ्यालबाट नियाल्ने प्रयत्न गर्दै छ,
यदि भुट्टोको फाँसी नभएको भए...
वा त्यसलाई उसले आफ्नै संघर्षको सुरुवात नबनाएको भए...
वा समयमै राजनीतिका छल, कपट र भ्रम उसले बुझ्न सकेको भए उसको जीवन यात्रामा आफूलाई कस्तो मोडमा बिसाउँदथ्यो होला।