सुनसान कच्ची बाटोमा
हतारिँदै
हर्न बजाउँदै
धुलो उडाउँदै
आए
मोटरका लावालस्कर
फुत्त झरे मानिसका
ताँती
छिरे आँगन
माइलीका
सघाए बिस्कुन उठाउन
तरकारी केलाउन
केहीले भिरे
आसीको खुर्पेटो
काटिदिए घाँस
झारिदिए रुखका पात
माइलाले भने
बुझिस् धने
अब यो बाटो पिच गर्ने रे!
घाँस काट्ने मेशिन ल्याउने रे!
सहरमा काम गर्ने0
अनि राति
गाउँमा बस्न आउने रे!
गाउँका दुख पहिले सुन्ने रे!
गाउँलाई सहर हैन स्वर्ग बनाउने रे!
पहिलेकाले नगरेका रे!
अबकाले साँच्चै गर्ने रे!
माइलाको रे मा
धने झस्क्यो
उसको कानमा परेका थिए
यी शब्द पहिले पनि
गम्यो! गम्यो! गम्यो!
उसले बल्ल सम्झ्यो
परारैको चुनाव
औँला भाँच्यो
गन्दै गयो
एक, दुई, तीन
ए! ए! ठ्याक्कै
पाँच वर्ष पो भएछ
धनेले बुझिहाल्यो
गाउँमा चुनाव आएछ।