एकादेशमा एउटा
बुख्याचाको बस्ती हुन्छ
त्यहाँ बुख्याचाहरूको भिड नि
हुन्छ
छेउमा के-के जाती नामका दरबार
जस्ता महलहरू नि हुन्छन्,
वरिपरि मन्दिर, मस्तिज
धेरै हुन्छन्,
बाटोहरू दरबार वरपर टिलिक्क
टल्किएका आधुनिकता बोकेका
क्याफे, रेस्ट्रोदेखि डान्सबारसम्म
अनगिन्ती झल्मलाई रहन्छन्!
लाखौँ करोडौँका सवारी गुड्छन्
तिनको छेउमा एउटा
छाक टार्नको लागि दुई बोतल
पानी र दुई मुठा साग
दुई कप चिया र एक मुठी काफल
बेच्ने केही गरिबीको आगोमा
पिल्सिएको प्राणी चलमल गर्न
मनाही छ
बेच्दै गर्दा अस्ति रोडमै पोखाइयो
केही सामानहरू
त्यससँगै मिसिए आँसु र हृदयको
अस्वाभाविक चीत्कार
किनकि
बेच्ने प्राणीको बाँच्ने अन्तिम अस्त्र थियो
एउटा झुपडीमा पर्खाइमा थिए
बिरामी सदस्य, माम बुबु भन्ने
कलिला बच्चाहरू
त्यो साँझ त्यो बस्तीमा धेरैको
दियो धिपधिपाउन सकेन
अन्धकारले लखेट्यो
मानवता अपहरण भयो
उ पर अबोध गरिबले
पिल्सिएका
बुख्याचाहरूको पुनः चीत्कार सुनियो
कुनै अर्को शासकले वर्षौँ पहिले
पैसा लिएर नै बेचेको जमिनमा
बनेको घर-जग्गा गैर-कानुनी भयो रे!
बुझ्दै जाँदा किन्ने
हजुरबुबा अनि बेच्ने जिजुबुबा समेत
पदबाट मात्र नभई धर्तीबाट समेत
बिदा लिइसके रे
अब कहाँ जाने उजुरी गर्न
भोको पेट लिएर
उसै पनि भोको पेटले बर्खाको भेलसँग
पैठेजोरी खेल्न नसक्दा
पोहोर मात्र सुन्तलीको सिंगो गाउँ
नै बगर बनेको थियो
आज अर्को बस्ती भित्र
चीत्कार आइरहेछ
बिना भेल, बिना बर्खा
बिना पहिरो वा बाढीको
सिंगो जीवन बगाउने भेल
यो कुनै प्राकृतिक नभएकोले
पनि यति क्रूर देखिएको छ
सत्ता परिवर्तनको भेलले
जो कोहीको आँसुको मूल्य
र मानवताको मूल्य
कुन सहरले तोक्न सक्छ?
कुन बस्तीमा
मानवताको उपहास गरी
सुन्दर महल ठडिन सक्छ?
रित्तो हृदय, भत्किएका बस्तीबाट
निस्किएका
भोकाएका देहले कसरी
शताब्दी पहिले छोडिएको
बाँझो जमिन फोर्न सक्छ?
पुर्खाले हिँड्ने बाटो त झारले पुरिएर
आफ्नै घरको काँडा र सिस्नु फाँडेर
बास बसाउन जाँदा
छेउकै जंगलको राजाले राज गरेको
घनघोर मान्छे कम बसेको
बस्ती सहरले निलेर कंकाल मात्र
बाँकी भएको एक दुई जनाले
कसरी सृजना गर्न सक्छ
किनकि
मनका र तनका बलिया सीमापारि
जुगौँ मन्दिरको आवाजले घन्किने
सहर एक्कासि बुख्याचाको
बस्तीमा परिणत हुन सक्छ
जहाँ आँसु झुटो मानिन्छ
विवेकहीन बुख्याचाले हाँकेको
घर पनि त एउटा कोमल
स्त्रीको लागि
जिउँदै श्मशान सरी हुन पुग्दछ
जहाँ मर्म, वेदना र पीडाको
कुनै औचित्य हुँदैन!
आशा गरौँ
बुख्याचाहरूको सहरमा
छिटै ईश्वर प्रकट हुनु हुनेछ
निर्जीव मन मस्तिष्कमा मानवताको
हृदय प्रत्यारोपण भई शीतलताले भरिएको
रक्त-कोशिका प्रवाह हुने छ।