कसले भन्यो
हामी पछाडि परेका छौँ?
यस्तो आधुनिक देश
कतै देख्नुभएको छ?
हामी नेपाली बोल्न लाज मान्छौँ
अंग्रेजी टुटेफुटे बोल्नुलाई
प्रतिष्ठा ठान्छौँ।
आमालाई ‘ममी’
बुवालाई ‘ड्याडी’
हजुरआमालाई ‘ग्रान्डमा’
हजुरबुवालाई ‘ग्रान्डपा’ बनाइसक्यौँ।
अब सायद
जननी जन्मभूमिलाई पनि
‘मदरल्यान्ड भन्न मात्रै बाँकी छ।
हामी यति आधुनिक छौँ
दौरा–सुरुवाल लगायो भने
‘पुरानो सोच’ भन्छौँ
च्यातिएको जिन्स लगायो भने
‘फेसन आइकन’।
ढाका टोपी लगायो भने
कार्यक्रम खोज्छौँ
विदेशी क्याप लगायो भने
सेल्फी खिच्छौँ
हामी साँच्चै विकसित छौँ।
बिहे नेपाली
तर गीत विदेशी
जन्मदिन नेपाली
तर ‘ह्याप्पी बर्थडे’ अंग्रेजी
चाडपर्व नेपाली
तर फोटो क्याप्सन अंग्रेजी
अनि गर्वका साथ लेख्छौँ
‘प्राउड टु बि नेपाली।’
हामी यति सभ्य छौँ
गाउँमा बुढाबुढी एक्लै छन्
छोराछोरी भिडियो कलमा
सेवा गरिरहेका छन्
बुवाको औषधि
ई–सेवाबाट किनिन्छ
तर बुवाको हात समाउने
कोही हुँदैन।
यसलाई हामी
आधुनिक परिवार भन्छौँ
हामी यति शिक्षित छौँ
किताब कम पढ्छौँ
रिल धेरै हेर्छौँ
तथ्य कम खोज्छौँ
फरवार्ड मेसेजलाई
सत्य मान्छौँ।
हामी यति देशभक्त छौँ
नेपाल बन्द भए
गाली गर्छौँ
तर नेपाली सामान देख्दा
‘ब्रान्ड छैन’ भनेर फर्किन्छौँ
विदेशी ब्रान्ड देख्दा
ऋण काढेर पनि किन्छौँ।
हामी यति संस्कारी छौँ
घरमा नेपाली बोल्दैनौँ
तर
‘संस्कृति जोगाउनुपर्छ’
भनेर गोष्ठी गर्छौँ।
हामी यति सचेत छौँ,
नदी फोहोर पार्छौँ
र
विश्व वातावरण दिवसमा
रुखसँग सेल्फी खिच्छौँ।
हामी यति इमानदार छौँ
नियम सबैले मान्नुपर्छ भन्छौँ
तर
आफ्नो पालो आयो भने
‘चिन्नुभएन मलाई?’
भन्छौँ।
हामी साँच्चै महान् छौँ।
हामी समस्या समाधान गर्दैनौँ,
पोस्ट गर्छौँ
काम गर्दैनौँ,
ह्यासट्याग चलाउँछौँ
परिवर्तन खोज्दैनौँ,
ट्रेन्ड खोज्छौँ
अनि साँझ चिया पसलमा बसेर
देश किन बनेन भनेर
दुई घण्टा बहस गर्छौँ।
सायद
विश्वकै ठुलो विडम्बना यही हो
हामीसँग
सबै कुरा छ
सपना छ,
नारा छ,
भाषण छ,
स्ट्याटस छ,
राष्ट्रवाद छ,
देशप्रेम छ।
नभएको एउटै कुरा
बानी
देश बदल्ने बानी
आफ्नो उत्पादन प्रयोग गर्ने बानी
आफ्नो भाषा बोल्ने बानी
आफ्नो जिम्मेवारी निभाउने बानी।
त्यसैले
फेरि कसैले भन्यो
‘नेपाल किन बन्दैन?’
म भन्छु—
नेपाल नबनेको होइन,
हामी आफैँ
अरूको देश बनाउन यति व्यस्त छौँ
कि आफ्नै देश बनाउने फुर्सद
अहिलेसम्म पाएनौँ।