उनी जन्मिँदा घरमा खासै रौनक छाएन
उत्सव भएन, भोज-भतेरको निम्ता गएन
तर पनि एउटा वाक्य हावामा तैरियो— ‘छोरी पो रहिछ।’
यो वाक्यले उनको नामभन्दा पहिले नै
जीवनको मूल्य निर्धारण गरिदियो- दोस्रो दर्जा!
लक्ष्मीको लिङ्ग निर्धारणमा उनको कुनै भूमिका छैन
पुरुषलाई आकाश छुन सिकाउने समाजले
उनलाई घरको साध नाघ्न सिकाएन
उचाइको मापन त उनको हिस्सामा पर्दै परेन!
पछि भाइको जन्म भयो
जे-जे उनको पालामा भएन सबै भयो
घरको भकारी रित्तो भयो र खुसीले ऋणको आयतन बढायो।
एउटै माटोमा हुर्केका
एउटै घामले तताएको
एउटै पानीले तिर्खा मेटेका
तर ती दुई जीवन मध्ये
एउटालाई आकाशतिर फैलिन दिइयो
अर्कोलाई बारम्बार छाँटियो सुरुदेखि
कारण केही थिएन,
केवल त्यो जीवनको लिङ्ग फरक थियो!
आफ्नै हेरचाह गर्न नसक्नेले
भाइलाई रेखदेख गर्न थालिन्
उसका सपनालाई पखेटा दिइयो
उनका सपनालाई जिम्मेवारीको डोरीले बाँधियो।
उनी बुझ्न सक्दिनन्-
किन एउटै आँगनमा जन्मिएका
दुई जीवनका बाटो यति फरक हुन्छन्?
समयसँगै उनले देखिन्—
विभेद एक शब्द मात्र होइन,
यो व्यवहारमा लतपतिएको छ
नजरमा लुकेको छ
अवसरको ढोकामा अदृश्य भोटे ताल्चा बनेको छ
जसले आवाजलाई कमजोर ठान्छ
क्षमतालाई कम आँक्छ
सम्झाइरहन्छ बारम्बार
सपना देख्नुअघि लिङ्ग सम्झनु पर्ने विवशता
र,
कोरेको छ रुढीवादीको चिसो हिउँमा
उम्रिएको वसन्त जीवनको सीमा!
परदेशिएपछि छोरोले गाउँ बिर्स्यो
बुढेसकालको साँझ गाढा बन्दै गयो
घरका ढोकाहरू अझै ऊ फर्किने प्रतीक्षामा खुला छन्
तर
परदेशको उज्यालोले तिरमिराएर
जन्मघरको धुरीबाट उड्ने धुवाँ नदेख्नेको जिम्मेवारी
लक्ष्मीले पूरा गरिन् दैनिक
हिमशैलमा उम्रिएको वसन्तको धूपी बनेर!