द कन्भरसेसन– ४८
बत्तिसपुतलीको शिल्पी थिएटरमा केही समयदेखि एउटा क्याफे सञ्चालन भइरहेको छ। काठका टेबल-कुर्सी राखिएको सामान्य डिजाइनको उक्त क्याफेको लाइटिङ आकर्षक छ।
परिस्थितिअनुसार रङ परिवर्तन भइरहने त्यही लाइटिङमुनि दुई जना रंगकर्मी 'सिंगल सट' अमेरिकानाको चुस्की लिँदै कुराकानीमा मग्न छन्।
कुराकानीको विषय उनीहरूको व्यक्तिगत करिअरबाट सुरू हुन्छ र नेपालमा रंगमञ्चको वर्तमान अवस्थादेखि भविष्यसम्म तन्किन्छ।
यो क्याफे रंगमञ्चकै हिस्सा हो। शिल्पी थिएटरका संस्थापक घिमिरे युवराजको निर्देशनमा मञ्चन भइरहेको नाटक 'लस्ट एन्ड फाउन्ड' को निम्ति यो क्याफे सेट तयार पारिएको हो। तपाईंले नाटक हेर्नुभयो भने क्याफेको सेटिङ देख्नुहुन्छ। सेतोपाटी कन्भरसेसनको यो अंक हामीले शिल्पी थिएटरको त्यही क्याफे सेटमा खिचेका छौं।
र, रंगमञ्च क्याफेमा कफी पिउँदै बात् मारिरहेका रंगकर्मी हुन् — घिमिरे युवराज र टेकुस्थित कौसी थिएटरकी संस्थापक तथा निर्देशक आकांक्षा कार्की।
आकांक्षाले आफ्नै घरको कौसीमा सुरू गरेको थिएटरले आज काठमाडौंको रंगमञ्च दुनियाँ अलग्गै पहिचान बनाएको छ भने युवराजले करिब दुई दशकअघि सुरू भएको शिल्पी थिएटरलाई नयाँ स्वरूपमा पुनर्स्थापना गरेका छन्।
फरक फरक संस्थामा आबद्ध रहे पनि आकांक्षा र युवराजको रंगमञ्च अनुभव, संघर्ष र सकस सम्मान छ। उनीहरूले यो भिडिओ कुराकानीमा नाटक सिर्जनाका अनेक पक्षबारे चर्चा गरेका छन्।
पछिल्लो समय नेपाली फिल्ममा ख्याति कमाएका थुप्रै कलाकार जन्माउने श्रेय रंगमञ्चलाई जान्छ। स्टार जन्माउने रंगमञ्चको आफ्नै अवस्था चाहिँ के छ?
हेर्नुहोस्, उनीहरूको कुराकानी सेतोपाटी कन्भरसेसनमा —