नेपालको लोकतान्त्रिक इतिहासमा दलहरूभित्रको शक्ति सन्तुलनको विषय अत्यन्त पेचिलो छ। यही कारण लगभग सबै प्रमुख दलहरू पिरोलिएका छन्, फुटेका छन्।
झनै एउटा दलमा दुई जना नेता, एक जना प्रधानमन्त्री र अर्को पार्टी सभापति रहने त विगतमा दलहरूलाई फापेकै छैन। कांग्रेस, वामपन्थी दलहरू कसैलाई पनि फापेन।
जनताको ठूलो म्यान्डेट सहित सत्तामा गएकै बेला दलहरू आन्तरिक किचलोको शिकार भएका छन्। २०४८ साल र २०५६ सालमा बहुमत पाएको कांग्रेस दुवै पटक आन्तरिक किचलो र शक्ति संघर्षले थलियो। २०५९ सालमा विभाजन नै भयो। २०७४ सालमा झन्डै दुई–तिहाइ मत पाएको नेकपा सत्तामा पुगेपछि तीन टुक्रा भयो। २०६४ सालमा सत्तामा पुगेपछि बढ्दै गएको आन्तरिक मतभेदले नेकपा माओवादी केन्द्र पनि फुट्यो।
यो अभिशप्त इतिहास रास्वपामा पनि दोहोरिन्छ भनेको होइन। नदोहोरियोस् भन्ने कामना हो। तर त्यसका लागि अरू दलको इतिहासबाट पाठ सिकेर आन्तरिक मतभेद र शक्ति संघर्षको व्यवस्थापन गर्ने विधिमा रास्वपाले अहिलेदेखि नै ध्यान दिनुपर्छ।
नेताहरूबीच माया–प्रेम, विश्वास हुञ्जेल ठिक छ। संवाद गरेर विवाद हल गर्ने क्षमता हुञ्जेल ठिक छ।
तर त्यसबाट हल सम्भव भएन भने के गर्ने?
संसदीय लोकतन्त्रमा जुन विधि संसारले मानेको छ, त्यसैलाई मान्ने हो।
सेतोपाटीका प्रधानसम्पादक अमित ढकाल र सिनियर रिपोर्टर मनोज सत्यालले रास्वपाको उदयका सकारात्मक पक्ष र यसको चुनौतीबारे गरेको लामो भिडिओ संवाद बिहीबार सेतोपाटीमा प्रकाशन भएको छ।
त्यो भिडिओ संवादमा आधा घन्टाभन्दा बढी समय नेपालमा राजनीतिक दलहरूभित्रको शक्ति सन्तुलनको विषयबारे चर्चा छ। २००७ सालयताका ७५ वर्षमा किन यो विषय दलहरूका लागि पेचिलो छ, यो विषय सम्बोधन गर्न नसक्दा दलहरू कसरी फुटेका छन् वा फुटको सँघारमा पुगेका छन् भन्ने लामो चर्चा छ। र, रास्वपाले विगतका यी अनुभवहरूबाट सिकेर कसरी आन्तरिक शक्ति सन्तुलन मिलाउन सक्छ, कसरी आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट यसको हल गर्न सक्छ भन्नेबारे छलफल छ।
आजका दिनमा यो प्रसंग सान्दर्भिक हुने भएकाले हामीले् भिडिओबाट यो अंश झिकेर यहाँ प्रकाशन गरेका छौं।