जसले व्यवसाय हुर्काए
एलिसा साहका लागि उद्यमशीलता कुनै आकस्मिक निर्णय थिएन।
सानैदेखि पारिवारिक व्यवसायको वातावरणमा हुर्किएकी उनले बुबासँग व्यवसायका विभिन्न कामहरूमा संलग्न हुँदै व्यवसायप्रति रूचि विकास गरिन्।
त्यही अनुभव र निरन्तर सिकाइले उनलाई आज सफल व्यवसायीको रूपमा स्थापित गरेको छ।
उनको कम्पनीको नाम हो 'नेपाल लेदर्स क्राफ्ट'। यसलाई यसको ब्रान्ड नाम 'राइनो लेदर्स' भनेर पनि चिनिन्छ।
'बुबाले सन् २००१ तिरै यो व्यवसाय सुरू गर्नुभएको थियो। पछि हामी छोरीहरू जोडियौं,' एलिसाले भनिन्।
कम्पनीले छालाजन्य सामानहरू— झोला, पेटी (बेल्ट), वालेट, ज्याकेट, ट्रली ब्याग तथा ल्यापटप ब्याग लगायत थुप्रै सामान बनाउँछ।
हाल कम्पनीले खुद्रा बिक्री, अनलाइन व्यापार तथा निर्यातमार्फत आफ्ना उत्पादन विभिन्न देशमा समेत पुर्याइरहेको छ।
एलिसाले मार्केटिङ र फाइनान्समा स्नातकोत्तर तथा एमबिए पूरा गरेकी छन्। पढाइपछि उनी बुबाको व्यवसायमा जोडिएकी हुन्।

शिक्षाले व्यवसाय सञ्चालन, नेतृत्व विकास, वित्तीय व्यवस्थापन र मानव संसाधनबारे आधारभूत ज्ञान दियो। वास्तविक सिकाइ भने व्यावहारिक अनुभवबाट प्राप्त भएको उनी बताउँछिन्।
'शैक्षिक ज्ञान र व्यवहारिक ज्ञान फरक कुरा हो। शैक्षिक ज्ञानले बाटो देखायो, व्यवसायले अनुभव दियो,' उनले भनिन्।
नेपाली उद्योगमा महिलाको नेतृत्व स्थापित गर्नु चुनौतीपूर्ण रहेको एलिसा बताउँछिन्।
समाजमा विद्यमान परम्परागत सोच, महिलाप्रति हुने शंका र व्यावसायिक संरचना व्यवस्थापनका कठिनाइबीच उनले निरन्तर संघर्ष गर्नुपर्यो।
उत्पादन व्यवस्थापनदेखि कर्मचारी नेतृत्वसम्मका हरेक चरण चुनौतीपूर्ण भए पनि ती चुनौतीलाई आफूले अवसरका रूपमा लिएको उनको भनाइ छ।
व्यवसायको सफलता केवल उत्पादन वा बिक्रीमा मात्र निर्भर नभइ मानिसलाई बुझ्ने क्षमता र टिम व्यवस्थापनमा भरपर्छ।
'व्यवसायमा नेतृत्व र टिमवर्क सबभन्दा महत्वपूर्ण पक्ष हुन्छ,' उनले भने, 'यसलाई सन्तुलनमा लैजान सक्यौं भने सफल भइन्छ।'
उनका अनुसार कम्पनीले उच्च गुणस्तरको वास्तविक छालाबाट सामग्री उत्पादन गर्दै आएको छ। बजारमा कृत्रिम छालाका उत्पादनको प्रतिस्पर्धा बढ्दै गए पनि कम्पनीले गुणस्तर, मौलिकता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ।
नेपाल लेदर्स क्राफ्टका उत्पादन अमेरिका, अस्ट्रेलिया, जर्मनी लगायत देशमा निर्यात पनि हुँदै आएको छ।
अस्ट्रेलियामा भने नेपाल लेदर्स क्राफ्टको आफ्नै आउटलेट समेत छ। हाल कम्पनीमा सयभन्दा बढी कर्मचारी कार्यरत छन्।
लेदर क्राफ्ट र एलिसाको व्यवसायिक यात्राबारे हामीले भिडिओ कुराकानी गरेका छौं।
हेर्नुस् भिडिओ-