म नेपाली कांग्रेस पार्टीको क्रियाशील राजनीतिमा छैन। तर लोकतान्त्रिक आन्दोलनमा समर्पित परिवारको सदस्य हुनुको नाताले यो पार्टीसँग मेरो भावनात्मक सम्बन्धको लामो इतिहास छ।
२००४ सालमा शिक्षा सुधारका लागि गरिएको 'जयतु संस्कृतम्' आन्दोलनमा भाग लिएका कारण श्रीभद्र शर्मा, राजेश्वर देवकोटा लगायतसँगै मेरा स्वर्गीय पिताजी रामप्रसाद भुर्तेललाई सजाय स्वरूप काठमाडौंबाट 'डाँडा कटाइएको' थियो। त्यसपछि उहाँले वनारस पुगेर आन्दोलनलाई निरन्तरता दिनुभएको थियो।
२०२८ सालतिर व्यवस्थाको सामान्य विरोधको अभियोगमा काका दिव्य भुर्तेलले तीन वर्ष र स्वर्गीय दाइ शिव भुर्तेलले एक वर्ष जेलमा बिताउनुपरेको थियो।
२०३५–०३६ सालको सेरोफेरोमा बलबहादुर केसी, विमलेन्द्र निधि, मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, पूर्णबहादुर खड्का लगायत सहकर्मी युवालाई बागडोर हस्तान्तरण गर्दै नेबिसंघको राजनीतिबाट शेरबहादुर देउवाले बिदा लिँदै गर्दा शिव दाइ संघको कार्यवाहक महामन्त्री हुनुहुन्थ्यो।
यो विगतको सम्झना कांग्रेसका लागि जीवन अर्पण गर्नुभएका तपाईंहरूजस्ता निष्ठावान् साथीहरूमाझ आफ्नो योग्यता प्रमाणित गर्न नभएर कांग्रेसप्रति मेरो मनमा पनि उत्तिकै स्नेह, सहानुभूति र चासो छ भन्ने बुझाउन मात्र हो।
पथभ्रष्ट भएर स्थापनाकालीन सपना बिर्सिएको पार्टीको नेतृत्व र संगठनमा आमूल परिवर्तन नभए देश संकटमा फस्ने लक्षण देखिइसक्दा पनि भागबण्डाका लागि दलभित्र स्थापित नेता, गुट, समूहमा विभाजन मेटिएन भने इतिहासले हामीलाई माफ गर्ने छैन।
यही चिन्ताले म यसरी सोझो संवाद गर्न हतारिएको हुँ।
मुलुकको राजनीतिमा सभापति शेरबहादुर देउवाको उत्थान र पतनको कथा जगजाहेर छ।
सत्ता, शक्ति र वैभवबाट टाढा काठमाडौंको अभाव पुलिस, प्रशासनको प्रताडना, जेलजीवन आदिले भरिएको संघर्षपूर्ण विद्यार्थीकालमा उनको मनमा समाज बदल्ने आँट बाहेक अरू केही थिएन। दरबारका लागि ती 'अराष्ट्रिय तत्व' भए पनि समाजमा आदरणीय थिए।
पञ्चायती व्यवस्थाको अवसानपछि भने उनमा आश्चर्यजनक परिवर्तन आयो। उनको यो परिवर्तनले 'मुक्त भएको दासले मालिककै नक्कल गर्छ' भन्ने दर्शन पुनः प्रमाणित गरिदियो। चरम सत्ता र द्रव्यमोहले बदलिएका देउवासँगै कांग्रेसको लोकतान्त्रिक चरित्र पनि ह्रास हुँदै पार्टीमा 'सत्ताबाहेक अरू सबै भ्रम' ठान्ने प्रवृत्ति हावी भयो।
गत भदौ २४ गते सांघातिक आक्रमणमा परेर रक्ताम्य लडेका वयोवृद्ध देउवाको कारूणिक तस्बिर देख्दा मैले गणबहालको गल्लीमा लखरलखर हिँड्दा पनि सम्मान पाउने त्यो 'समाज बदल्न हिँडेको' जोसिलो युवकका बरालिएका पाइलाहरू सम्झिँदै गएँ।
मन्दिर धाएजस्तो एकबिहानै 'प्रभावशाली' दाइहरूलाई 'जय नेपाल टक्र्याउन', आशीर्वाद थाप्न घरघर पुग्ने, अहोरात्र सामाजिक सञ्जालमा विरूदावली गाउने अवसरवादीहरू अहिले गायब छन्।
त्यो संस्कृतिबाट टाढा, देशैभरि छरिएर पार्टीका लागि यथाशक्य दिने तपाईंहरूजस्ता बफादार कांग्रेसजनलाई त्यो दिन देउवाको वृद्ध शरीरसँगै कांग्रेस पनि ढलेको अनुभूतिले व्याकुल बनाएको हुनुपर्छ।
दशकौंदेखि जीवनलाई एक सुरमा हिँडाइरहेको दलीय परम्परा र एउटा अज्ञात सम्भावना बोकेर हठात छोप्न आइपुगेको नौलो यथार्थले तपाईंहरूको हृदयमा स्वाभाविक द्वन्द्व सिर्जना गरेको बुझ्न सकिन्छ।
तर नेपाली युवा र समग्र समाजभित्र विष्फोट भइरहेको आक्रोश र अनिश्चितताले देशकै भविष्य संकटमा परेका बेला तपाईंहरूलाई अनिर्णयको बन्दी बन्ने सुविधा छैन। त्यसैले यो व्याकुल भएर अलमलिने समय होइन। भदौ २३ गते कांग्रेस समेत संलग्न सरकारको गोलीले ढालिएका कलिला भाइबहिनीको बलिदान स्मरण गर्दै देशलाई पार्टीभन्दा धेरै माथि राखेर संकल्प गर्ने बेला हो।
यो पृष्ठभूमिमा आगामी असोज २६ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। त्यसले लिने निर्णयले मुलुक, पार्टी र स्वयं तपाईंहरूकै राजनीतिक भविष्य निर्धारण गर्नेछ। त्यसैले यस पटक केन्द्रमा नेताहरूले निर्णय लिँदै गर्दा सदाझैं हेपेर आम कार्यकर्ताका धारणा उपेक्षा गर्ने दुस्साहस गरे भने सुदूर क्षितिजमा देखिएको उज्यालो फेरि मुस्लो बन्नबाट कसैले रोक्न सक्दैन।
अहिले मुलुक असाध्यै ठूलो विद्रोह र हिंसाको चरणबाट गुज्रिएर परिवर्तनको सँघारमा उभिएको छ। क्षितिजमा देखिएको त्यो उज्यालो हाम्रो सुनौलो भविष्यको सूर्योदय हो। यो सुनिश्चित गर्न तपाईंहरूले अब विधानप्रदत्त अधिकारको ब्रह्मास्त्र चलाउनुपर्छ। यावत विकृतिले मक्किएको पार्टीसत्ता अब ढल्नैपर्छ।
दुई दिनको आन्दोलनले कांग्रेस लगायत सबै दल र तिनका नेतृत्वलाई एकै पटक अस्वीकार गरिदिएको छ। हामीले गुमाएको समय सम्झिए मात्र पनि त्यसको कारण पत्ता लाग्छ।
सोचौं त, राणा शासनको पतन हुँदा जनताको जुन अपेक्षा थियो, आजका युवाको अपेक्षा पनि ठ्याक्कै त्यही नै छ — देशले एउटा लय समात्यो भने हाम्रो जीवनमा पनि गतिशीलता आउँछ। हामी अगाडि बढ्छौं।
तर हरेक परिवर्तनले जति ठूलो आशा जगायो, उति ठूलो निराशाको खाडल खनेर गएको छ। महाराजा होस् कि विप्लवी, नेता होओस् कि प्रशासक, मुलुक हाँक्छौं भनेर ड्राइभिङ सिटमा बसेका मानिसको लालच, ढंग र आचरणका कारण देश एउटा अन्तहीन गोलचक्करमा फसेको छ।
सकिनसकी फेरि प्रधानमन्त्री बन्न ठेलमठेल गरिरहेका वृद्ध पूर्वप्रधानमन्त्रीहरूको ताँती हामीले सहेको धेरै भइसक्यो। तर अहिले अभिभावकले झैं 'अब युवालाई अगाडि बढाऔं' भन्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपतिजस्तो सर्वोच्च पदमा पुगिसकेका मानिसहरू समेत महत्वाकांक्षा बोकेर मैदानमै भिड्न आएका छन्। नेतृत्वको यस्तो अमर्यादित लिप्साले यो व्यवस्थाप्रति अनास्था जगाउँदैन र?
केपी ओली–देउवा–प्रचण्ड (पुष्पकमल दाहाल) को साँठगाँठमा फसेको नेपाली राजनीतिले तिनमा अपराजेयताको भ्रम सिर्जना गरिदिएको थियो। आफ्नो निर्विकल्पताको मातले ग्रस्त 'शीर्ष' नेताहरू न आफ्ना देशका नागरिकलाई नक्कली शरणार्थी बनाएर अन्य देश पठाउन हिचकिचाए, न त्यसरी शरणार्थी भएर जान तयार निरीह र विकल्पहीन मान्छे बनाएको तिनमा आत्मग्लानी छ।
ठगहरू मसिहा बनेर उदाएका छन्। सर्वहाराको गीत गाउनेहरूको त झन् के कुरा गर्नु! उनीहरूको पाखण्ड थाहा थियो, तर यति दुर्गन्ध फैलाऊलान् भनेर कसले सोचेको थियो!
यो तहको स्खलित मूल्य–मान्यताको झोला बोकेर जब तिनै मानिस विकास र समृद्धिका झुटा सपना बाँड्दै भोट माग्न नमस्कार गर्छन्, तिनको निर्लज्ज आँटले एउटा तन्नेरीको मनमा घृणा र गहिरो वितृष्णा जगाउने रहेछ।
यसरी निरन्तर एउटै चक्रपथमा कछुवा गतिमा घिस्रिरहेको देशमा अनन्त उडान भर्ने चाहना भएको युवा अडिन्छ र?
हाम्रा सन्तानलाई देश छाड्ने हतार छ र हाम्रो विडम्बना — उनीहरूलाई 'नजाओ, यहीँ सब ठीक हुन्छ' भनेर रोक्ने आधार पनि छैन।
यद्यपि, सुनौलो भविष्यको खोजीमा विदेशिने विकल्प पनि क्रमशः साँघुरिँदै छ। पपुलिजमको आँधीले संसार बदलिएको छ। जेनोफोबिया, मानवताबिरोधी हिंसा र ठूलो युद्धको सम्भावना झन् बढेर गएको छ। संसारका कुनै पनि विकसित देशलाई अब 'बाहिरका मानिस' चाहिएको छैन। त्यसैले गए नै भने पनि विदेशमा अब हाम्रा छोराछोरीहरू निरापद छैनन्, न तिनको जीविकोपार्जन पहिले झैं सहज हुनेछ।
आँखा अगाडि यस्तो विकल्पहीन भविष्यको दृष्य देखिरहेको युवालाई आशा जगाउन कांग्रेसले भन्यो, 'एमालेसँग गठबन्धन गरेर हामी संविधान परिवर्तन गर्छौं, सब ठीक हुन्छ।'
त्यो दिशामा कांग्रेसले एउटा सिन्को भाँचेन। तर देउवालाई छैटौं पटक प्रधानमन्त्री बनाउने 'उद्देश्य' मा तलमाथि नहोस् भन्ने हेतुले, ओलीको दम्भी शासनका हरेक कृत्यको ढाकछोप मात्र होइन, स्वामित्व नै लिँदै गयो।
केन्द्रीय वा कार्यसम्पादन समिति लगायत औपचारिक मञ्चमा यो गठबन्धनविरूद्ध वा सरकार सञ्चालनको सन्दर्भमा गहकिला फरक मत आएका थिए। तर संख्याको बलमा सभापतिको कब्जामा रहेका सबै ठाउँमा विपरीत विचार प्रस्फुटित हुनै पाएनन्।
पार्टीका महाधिवेशन प्रतिनिधि साथीहरू, तपाईंहरूको तहसम्म त त्यस्ता विषयमाथि कहिल्यै छलफल गराइएको थाहै छैन।
ललिता निवास, गिरीबन्धु चिया बगान, नक्कली भुटानी शरणार्थी, टेरामक्स खरिद, भिजिट भिसा आदि घोटालामा भएका व्यापक नीतिगत निर्णयमा एक–दुई अपवाद बाहेक कुनै 'प्रभावशाली' नेताले जेल जानुपरेको छैन। हरेक राजनीतिक वा प्रशासनिक नियुक्ति, आयोग वा समितिका पद, आकर्षक लाइसेन्स मोलमोलाइमा बेचिनु स्वाभाविक जस्तो हुँदै गयो। ठेकेदारहरू आफ्नै व्यावसायिक क्षेत्रका मन्त्री बनाइए। जनताले रूचाएका कर्मचारीहरू लखेटिए।
बालकोट, बुढानीलकण्ठ, खुमलटार 'निवासहरू' बिचौलियाहरूको बाक्लो आवतजावतले गुलजार भइरहँदा सभापतिको दुई–तिहाई हालिमुहाली रहेको केन्द्रीय समिति यस्तो लसपसको तीव्र प्रतिवाद गर्नेलाई दबाउने र उनका जायज–नाजायज इच्छाहरूको औपचारिक अनुमोदन गर्ने लाचार संस्था बन्दै गयो।
सोच्नुस् त, दम्भी केपी ओलीका सबै कृत्यमा उनीसँगै साझेदारी गरेका शेरबहादुर देउवा भावी प्रधानमन्त्री बन्ने कुराले कुनै युवाको मनमा उत्साह सञ्चार गर्न सक्थ्यो?
कुनै पत्रकारले यस्तै जिज्ञासा राख्दा एक जना 'ठूला' कांग्रेसी नेता टिभीमा बम्किँदै थिए, 'कति युवा युवा गरेको? के नेपालमा युवा मात्रै छन्?'
तिनलाई थाहा नहुन सक्छ, तर नेपाल १६ देखि ४० वर्षका तन्नेरीहरूकै देश हो। तिनको जनसंख्या लगभग आधा छ। प्रयोग गर्न सकिएको भए यस्तो जनसांख्यिकीय लाभ देशका लागि वरदान हुन्थ्यो। तर समग्रमा युवा बेरोजगारी दर करिब २१ प्रतिशत छ र शिक्षित युवामा त त्यो निकै धेरै छ।
त्यसैले मुलुकको समुन्नतिमा योगदान दिन तयार भइसकेका हजारौं किशोरकिशोरी र युवा मनमा गहिरो वितृष्णा बोकेर कामको खोजीमा विदेशिएका छन्। तीमध्ये अधिकांश जोखिमपूर्ण र न्यून आय हुने काम गर्न बाध्य छन्। नत्र भाषा, संस्कृति वा राजनीति केही नबुझेको रूस–युक्रेन युद्धको अग्रपंक्तिमा ज्यानको बाजी लगाउँदै ती किन पुग्छन्?
जो देश बाहिर निस्किन सक्दैनन्, तिनले सामाजिक वा आर्थिक उन्नतिका लागि थोरै अवसर पाउँछन्।
किनकि, २०४६ सालदेखि अहोरात्र घोटिइरहेको हाम्रो नेतृत्वको प्रतापले नेपाल एसियाका गरिबतम देशभित्र पर्छ। थोरै उपलब्ध अवसरमा राजनीतिक वर्ग र त्योसँग पारस्पारिक सम्बन्धले मौलाएको आपराधिक गिरोहको कति हालिमुहाली छ भन्ने यथार्थ जेनजीले अभियान नै चलाएर डिजिटल्ली उजागर गरिदिएका छन्।
शक्ति, सत्ता र स्रोतमा पहुँच भएका केही सीमित परिवारको विशिष्ट जीवनशैली र साधारण मानिसहरूको दुःखान्तबीच देखिएको भयंकर खाडलले नेपालको कहालीलाग्दो आर्थिक असमानता र भ्रष्टाचारको सम्बन्ध छर्लंग पारिदियो। युवा आक्रोश विस्फोटनपछि भ्रष्टाचारको विषयमा हामीलाई अब कुनै ट्रान्सपरेन्सी इन्टरनेसनलले बताइरहनु पर्दैन।
केही छोटेमोटे बाहेक भ्रष्टाचारमा आरोपित 'ठूलो' नेताले अदालतै पुग्नुपर्दैन, पुगे पनि दोषी प्रमाणित हुँदैन। न्यायालय, अख्तियार वा अन्य सबै संवैधानिक निकायमा दलीय भागबण्डा भएकाले नेपालको न्याय प्रणालीको निष्पक्षता शंकास्पद हुँदै गएको छ। प्रचण्ड–देउवा–ओलीको शासकीय 'म्युजिकल चेयर' ले 'मुलुक निर्माणमा दिएको योगदान र राखेका कीर्तिमान' को फेहरिस्त अझै धेरै लामो छ। खासमा हामी विद्रोहको टाइम–बममाथि सुतिरहेका थियौं।
गत भदौ २३ मा त्यो टाइम–बम पड्कियो। निराशा र विकल्पहीनताले क्रोधित युवा यसरी रिसाए, दुर्भाग्यवश उनीहरूले आफ्ना लागि निषिद्ध संसद, सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यसत्ताका सबै प्रतीक एकैचोटि भष्म बनाइदिए। उनीहरूले स्पष्ट बताइदिए कि, आजसम्म शासन गरिरहेका मानिसहरू नालायक थिए, अब तिनको सत्ता उनीहरूलाई स्वीकार्य छैन।
हाम्रो पुर्खाको धरोहर सिंहदरबार माओवादी–कांग्रेस–एमाले सबैको सबै किसिमको शासकीय दुराचारले भ्रष्ट र असक्षमहरूको क्रीडास्थलजस्तो बनिसकेको थियो। नेताहरूको मनोमानी र समानुपातिक निर्वाचन प्रणालीको दुरूपयोगका कारण संसदको प्रभाव र गरिमा घटेको पनि थियो।
संसदमा सबै जातजाति, वर्ग र क्षेत्रका प्रतिभाहरूको समान पहुँच र समावेशी प्रतिनिधित्व सुनिश्चित गराउने त्यति गतिलो लोकतान्त्रिक प्रबन्ध पार्टी नेतृत्वको स्वार्थवश लोकरञ्जनको विषय बन्यो।
समान पहुँच र समावेशिताको विकासका लागि दल वा समाजमा दिएको योगदानको आधारमा वितरण गर्नुपर्ने समानुपातिक सांसद पद हाकाहाकी बेचिएको वा नेताका आफ्ना आफन्तलाई दिइएको देख्दा तपाईंहरूजस्ता योग्य कार्यकर्ताको चित्त दुखेको थिएन र?
दलित, उत्पीडित जाति र क्षेत्रको प्रतिनिधित्व गर्ने समानुपातिक सांसद पदमा घरिघरि शेरबहादुर 'दाइ' कै 'चाटुकार भाइहरू' ल्याइरहँदा के त्यसले ती समुदायमाझ पार्टीको लोकप्रियता वृद्धि गरायो?
आफै चुनाव लड्न सक्षम डा. आरजु राणा वा मञ्जु खाणजस्ता महिलालाई उत्पीडित महिलाको कोटाबाट सांसद बनाउने निर्णयमा सबै कांग्रेसजनको सहमति थियो?
निश्चय नै थिएन।
तर गुटहरूलाई मिलाएपछि वैचारिक मतभिन्नता जसरी पनि पेलेर जान सकिन्छ भन्ने विश्वास नै देउवाको कार्यशैली बन्यो।
हुन त, 'प्रभावशाली नेता' र 'नाथे कार्यकर्ता' को सामन्ती प्रवृत्तिले वडा तहैसम्म गाँजेको पार्टीमा तलका निष्ठावान् कार्यकर्ताको विचार बुझ्न कसले आवश्यक ठान्यो होला र? विधान अनुसार हरेक वर्ष गरिनुपर्ने महासमितिको बैठक कति पटक बसेको छ?
यति कमजोर आन्तरिक लोकतन्त्र भएको पार्टीलाई पनि 'कांग्रेस नभए लोकतन्त्र सकिन्छ' भनेर भोट मागिरहन तपाईंहरूलाई कति असहज थियो, अनुमान लगाउन सकिन्छ।
दक्षिणपन्थी अतिवादको जोखिम
विश्वभरि अर्थ–राजनीतिका जानकारहरू भन्न थालेका छन्, 'कुनै पनि मुलुकका जनतालाई आफ्नो वर्तमान कुरूप र भविष्य निराशाजनक लाग्छ भने त्यो वैचारिक गतिहीनताको लक्षण हो। यस्तो अवस्थामा पपुलिजम र जनद्वेषी जातिवादको मिश्रण नयाँ विचारको रूपमा समाजमा स्थापित हुन्छ।'
नेपालमा त्यसको लक्षण देखिइसकेको छ। जातीय द्वन्द्वको सम्भावना एवं कहिल्यै नदेखिएको प्रतिशोध र व्यक्तिलक्षित हिंसा बढ्दै गएको छ। वर्तमान अन्तरिम सरकारले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सकेन वा शान्ति सुरक्षा दिन असफल भएर बीचैमा राजीनामा दियो भने संविधान र मुलुकले सामना गर्नुपर्ने संकटको कसैले अनुमान गर्न सक्दैन।
के त्यस बेला हुने बहुआयामिक बाह्य शक्तिको चलखेल हामीले थेग्न सकौंला?
सौभाग्यवश, जनताले बनाएको संविधानको सास बाँकी नै भएकाले आन्दोलित युवासँग संवाद र सहकार्य गर्दै यो उथलपुथलबाट कुनै अतिवाद स्थापित हुन नदिई एउटा सार्थक परिवर्तन जन्माउन कांग्रेसले तत्काल अग्रसरता लिनुपर्छ।
तर त्यो भूमिकाका लागि योग्य हुन पहिले कांग्रेस स्वयं युवाका लागि स्वीकार्य राजनीतिक शक्तिका रूपमा रूपान्तरित हुनुपर्छ। यो मुलुकको हरेक युगान्तकारी परिवर्तनको नेतृत्व गरेर कांग्रेसले पटक पटक आफूलाई एउटा दल मात्र नभएर राजनीतिक शक्ति हो भन्ने प्रमाणित गरेको छ। तर देशको संकट मोचन गर्ने त्यस्तो गौरवशाली शक्ति आज नेतृत्वको आचरण र सत्तालिप्साका कारण स्वयं संकटको सर्जक बनेको छ।
त्यसैले, शेरबहादुर देउवाको बहिर्गमन बिना अब कांग्रेस पार्टी राष्ट्रिय राजनीतिको मियो बन्न असम्भव छ।
के आफ्नो गुट, नेता, समूह र व्यक्तिगत स्वार्थ बिर्सेर तपाईंहरू कांग्रेसको आमूल रूपान्तरणका लागि तयार हुनुहुन्छ?
बिपीको 'भुइँफुट्टा वर्ग' वा प्रदीप गिरिको 'गिरोह'
महान रूसी लेखक माक्सिम गोर्कीको कालजयी कविताको एउटा अंश छ — जो घिस्रिन जन्मिएको छ, त्यो कहिल्यै उड्न सक्दैन।
पार्टीको गौरवशाली इतिहासलाई बिपीले इंगित गरेको 'भुइँफुट्टा वर्ग' वा प्रदीप गिरिले ठोकुवा गरेको 'गिरोह' को कब्जाबाट कठोरतापूर्वक मुक्त गर्ने यो अवसर खेर गयो भने वर्षौंदेखि घिस्रिरहेको पार्टीसँगै तपाईं स्वयंको राजनीतिक अस्तित्व पनि निख्रिएर सकिने छ। हामीले जसलाई नायक ठानेर आफ्नो मत र विश्वासको पखेटा लगाइदियौं, देशलाई सबभन्दा चाहिएको बेला ती पद, प्रतिष्ठा र पैसाको संकीर्ण चाहनाभन्दा एक इन्च माथि उड्न नसक्ने अत्यन्त साधारण भुइँफुट्टा प्रमाणित भए।
कांग्रेस पार्टीमा 'शीर्ष' र 'प्रभावशाली' विशेषणधारी सात–आठ जना स्वघोषित 'ठूला' नेता र तिनका गुटहरूको कार्टेल नै बिपीले संकेत गरेको 'भुइँफुट्टा वर्ग' हो।
यद्यपि पार्टीको धरोहर धमिराले खाइरहेको गिरोहजस्तो त्यो वर्गको प्रभाव समाप्त पार्न अब धेरै परिश्रम गर्नुपर्दैन। रिसाएको युवाले हल्लाइदिएको तिनको गुट–साम्राज्यको जग अब एउटा सानो धक्काले पनि गर्ल्यामगुर्लुम ढल्छ।
वास्तवमा, आफ्नो कुनै विशेष क्षमता वा प्रतिभाले ती 'ठूला' भएका होइनन्। तिनले पार्टीको क्रियाशील सदस्यताको व्यवस्थालाई 'आफूलाई चुन्ने मतदाता छान्ने' अत्यन्त विकृत पद्धतिको रूमा विकसित गरेका छन्, जसले पार्टीमा तिनको लोकप्रियता र नक्कली अपरिहार्यताको भ्रम सिर्जना गरिरहन्छ। पार्टीका सबै सदस्यले देशैभरिबाट सर्वोच्च नेता चुन्न पाउने व्यवस्था भएको दिन यो कसिंगर एकैचोटि बढारिन्छ।
त्यस बाहेक आफ्नो राजनीतिक अस्तित्वलाई 'ठूलो' र 'प्रभावशाली' देखाउन उनीहरूले अर्को चतुर फर्मूला आविष्कार गरेका छन् — महाधिवेशनमा पहिलो चरणमा 'देउवाले कांग्रेस ध्वस्त बनाएको' ठहर गरी उनीविरूद्ध सभापतिमा लड्ने र निर्वाचनमा लज्जाजनक पराजय बेहोर्ने। एकक दिनपछिको दोस्रो चरणमा तिनै 'देउवाबाहेक अरू कसैले कांग्रेस र लोकतन्त्रको रक्षा गर्नै नसक्ने' अनौठो बुद्धत्व प्राप्त गर्दै आफूले पाएको एक–दुई सय भोट खन्याएर उनलाई सभापति बनाउने। त्यसबापत् पद, प्रतिष्ठा, अथाह पैसा र आफ्नो सानो गुटको निरन्तरताका लागि चाहिने अन्य सबथोक प्राप्त गर्ने।
आफ्नो अतिशय सत्तामोह साकार तुल्याइदिने यिनै नेताहरूको पालन पोषणका लागि पनि कांग्रेस नेतृत्वलाई जुलुसैले लुट्दा पनि नसकिएको नगद पैसा चाहिएको हो।
पैसाको कुरा गर्दा, मैले एक पटक माओवादीका एक जना इमानदार ठानिने नेतालाई सोधेको थिएँ, 'दाइ, प्रचण्डलाई यतिविधि पैसा किन चाहिएको?'
उनले दिएको जबाफ मेरा लागि नितान्त नौलो थियो, 'त्यो त सिम्पल छ नि! हाम्रा नेतालाई बासी पैसा चल्दैन!'
मैले अवाक हुँदै 'बुढानीलकण्ठ निवास' सम्झिएँ। देशका कुख्यात 'फिक्सर' हरूसँगको बाक्लो उठबसले एकपछि अर्को भ्रष्टाचार काण्डमा नबिराई नाम आउन थालेपछि कांग्रेस नेतृत्वबारे लोकले गरेको अनुमान क्रमशः सत्य साबित हुँदै गयो। तिनले जतनले सञ्चित गरेको 'बासी' पैसासँगै पार्टीको भविष्य खरानी हुँदै गर्दा के तपाईंहरू पनि त्यो सबैलाई 'एआई जेनेरेटेड भिडिओ' ठानेर आत्मरतिमा रमाउन सक्नु हुन्छ?
अमानवीय अपमान सहेका घाइते सभापतिविरूद्ध अहिले नै आलोचना गर्नु वा अभियान चलाउनु अशोभनीय र असंवेदनशील हुन्छ भनेर भावनात्मक 'ब्ल्याकमेल' गर्ने नेताहरू तिनै हुन्, जसलाई घाइते सभापति स्वयं एकपछि अर्को गर्दै उत्तराधिकारी तोक्न व्यस्त हुनुहुन्छ।
यसरी 'उत्तराधिकार' प्राप्त गरिरहेका 'प्रभावशाली' नेतागण थरीथरीका भूराजनीतिक षड्यन्त्रको भाष्य तयार गर्दै यस्तो बेला नेतृत्वलाई बलियो बनाउनुपर्ने नक्कली रोदनमा व्यस्त छन्। घाइते र अशक्त हुनुको मर्यादा सभापति स्वयंले तोडिसकेपछि, अरू कसैले संवेदनशील भएर संकोच मान्न जरूरी छैन।
खासमा कांग्रेसको सभापति यति निर्बलियो किन भए, त्यसको लेखाजोखा गर्ने समय अहिले नै हो। अब देउवा जति दिन कांग्रेसको नेतृत्वमा रहन्छन्, कांग्रेस पार्टी उति नै कमजोर र असान्दर्भिक हुँदै जानेछ। र, मुलुकमा अतिवादी राजनीति हावी हुँदै जानेछ।
भदौ २३ को जेनजी विद्रोहलाई सहानुभूतिपूर्वक बुझ्ने प्रयास गर्दैगर्दा भदौ २४ को अत्यधिक लुटपाट, हिंसा र आगजनीमा भएको घुसपैठ र आतंकको तीव्र भर्त्सना गर्दै दोषीलाई कडाभन्दा कडा सजाय दिने माग कांग्रेस पार्टीले गरिसकेको छ। निर्दोष कार्यकर्ताका घर, व्यवसाय आदिमा व्यापक क्षति पुगेको छ। स्थानीय सरकारका संरचना ध्वस्त भएका छन्। निजी क्षेत्र अझै त्रासमा बाँच्न बाध्य छ। समग्र अर्थतन्त्र नै घाइते भएर लडेको छ।
आन्दोलनपछि अपराधका प्रमाण संकलन गरिरहेको प्रशासनलाई गृह मन्त्रालयको निर्देशनले अपराधीहरूलाई त्राण दिएर अतिवाद र दण्डहीनता प्रोत्साहन गरेको आभास हुन्छ। यस्तोमा आतंकमा संलग्न कसैले उन्मुक्ति पाउँदैन भन्ने सुनिश्चितताका लागि पनि कांग्रेसले पहल गर्न जरूरी छ।
तर फेरि पनि आफ्नो दलभित्रको अलमलबाट मुक्त नभई त्यो अभियानको नेतृत्व लिन सक्ने अवस्थामा कांग्रेस पार्टी छैन।
अन्त्यमा, यो पृष्ठभूमिमा आगामी असोज २६ गते हुने केन्द्रीय समिति बैठकमा मुलुकको वर्तमान अवस्था, आसन्न निर्वाचन, पार्टीको आगामी महाधिवेशन र नेतृत्व परिवर्तनका एजेन्डामा छलफल हुने निश्चित छ।
पार्टीलाई तत्काल युवाको भाषा र आकांक्षा बुझ्ने नयाँ नेतृत्व चाहिएको छ। तर विगतको अनुभवका आधारमा केन्द्रीय समितिको वर्तमान समीकरणले त्यसको तिखो प्रतिवाद गर्ने पनि उत्तिकै निश्चित छ। त्यसको सम्बोधन नेतृत्व परिवर्तनको एकल एजेन्डामा केन्द्रित विशेष महाधिवेशनले मात्र गर्न सक्छ।
त्यसैले प्रतिनिधि साथीहरू, तपाईंहरूकै मतले चुनिएका केन्द्रीय सदस्यलाई फोन वा सामाजिक सञ्जालमार्फत यो वास्तविकताको बोध गराउनुस्। फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्समा सार्वजनिक अपील गरेर दबाब दिनुस्।
केन्द्रीय समितिले विशेष महाधिवेशन गर्ने निर्णय गरेन भने विधानमा तपाईंहरूजस्ता ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बाध्य गराउने व्यवस्था छ। नेतृत्व स्वेच्छाचारी भयो भने तह लगाउनै विधानले तपाईंलाई यो अधिकार दिएको हो।
विधिवतः हस्ताक्षर बुझाउँदा पनि माथि व्याख्या गरिएको भुइँफुट्टा वर्गले केन्द्रीय समितिमा अझै जालझेल गरेर विशेष महाधिवेशनको प्रस्ताव पारित हुन दिएन भने तपाईंहरूजस्ता हजारौं कांग्रेसजनको मुठ्ठिदानले निर्मित बिपी स्मृति भवनको प्रांगणमा ऐतिहासिक महाधिवेशन आयोजना गरेर नेतृत्व परिवर्तन गर्दै पार्टी कब्जा गर्नुस्!
पार्टीको आवरणमा वर्षौंदेखि टाँसिएर कटकटिएको मयलरूपी गिरोहले कांग्रेसको इतिहास, आदर्श, विधान र मुलुककै संविधान एवं अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कुरूप बनाएको छ। त्यसलाई धोएर पार्टीलाई सफा गर्ने यो अवसर खेर गयो भने फेरि अर्को नआउन पनि सक्छ।
तिनलाई बढारेर पार्टीको गौरव पुनर्स्थापना गर्ने उद्यम महत्वकांक्षा हो भने, अब त्यो महत्वकांक्षा देखाउने आँट गर्नुहोस्।
तपाईंहरूलाई नियतिले आफ्नो जीवनभरको राजनीतिक निष्ठालाई सार्थक तुल्याउँदै एउटा सुनौलो इतिहास रच्ने अवसर दिएको छ।
सफलताको कामना!
तपाईंहरूको शुभचिन्तक,
जुगल भुर्तेल
झापा
***
एक्स- @JugalBhurtel