मलाई लाग्थ्यो, स्मरणशक्ति दिमागसँग मात्र हुन्छ।
होइन रहेछ।
शरीरका मांसपेसी, घाँटीका नसा र मुटुका भित्तासँग पनि स्मरणशक्ति हुँदो रहेछ।
माघ २५ गते मुम्बईको वानखेडे रंगशालामा नेपाल र इंग्ल्यान्ड बीचको क्रिकेट प्रत्यक्ष हेरेपछि मलाई यस्तो अनुभूति भएको हो।
वानखेडे रंगशालामा उफ्रिएका मेरा खुट्टाका मांसपेसीमा, जोडजोडले चिच्याएका घाँटीका नसामा र ढक्क फुलेको मुटुको भित्तामा त्यो दिनको सम्झना अझै ताजा छ।
अनि ताजै छ — १८ औं, १९ औं र २० औं ओभरको खेल जहाँ लोकेश बम बेलायतका प्रभावशाली बलर जोफ्रा आर्चरसँग आमनेसामने थिए।
१७ औं ओभर सकिँदा खेल नेपालको हातबाट बिस्तारै चिप्लिँदै थियो। आवश्यक रनरेट १६ पुग्न लागेको थियो।
म आफैसँग फुसफुसाउँदै थिएँ — रनरेट धेरै चढिसक्यो, धेरै भइसक्यो!
इंग्ल्यान्डको टोली पनि आफ्नो जीतप्रति थप आश्वस्त हुन थालेको थियो। उनीहरूको अनुहार र 'बडी–ल्याङ्वेज' मा आत्मविश्वास धपक्क चढेको थियो। आफूहरू हाबी हुन थालेको १८ औं ओभरमा बलिङ गर्न क्याप्टेन ह्यारी ब्रुकले आफ्ना प्रभावशाली बलर आर्चरलाई पठाए।
आर्चर अहिले विश्वकै प्रभावशाली बलरमध्ये पर्छन्। ओडिआई वरीयतामा उनी संसारकै दोस्रो नम्बरमा छन्। अनि इंग्ल्यान्ड टोलीका सबभन्दा घातक बलर।
सन् २०१९ को १० औं विश्वकप क्रिकेट बेलायतले जितेको थियो। त्यो विश्वकप फाइनलको निर्धारित ओभरमा बेलायत र प्रतिद्वन्द्वी टोली न्युजिल्यान्डको स्कोर बराबर (२४१ रन) भयो। त्यो सुपर–ओभरमा बलिङ गर्न बेलायतले आर्चरलाई नै पठाएको थियो। बेलायतले त्यो वर्ल्डकप जित्यो।
उनै आर्चरसामु ब्याटिङ गर्न क्रिजमा थिए नेपालका दुई ब्याटर — लोकेश बम र आरिफ शेख।
आर्चरले पहिलो बल वाइड फाले। त्यसपछिको बलमा आरिफले छक्का प्रहार गरे। आर्चरको 'इगो' मा थोरै धक्का लाग्यो। अर्को बलमा आर्चरले बदला लिए; आरिफ क्याच–आउट भए।
त्यसपछिको बलमा गुलसन झाले एक रन लिए। अनि स्ट्राइकमा आए २५ वर्षीय लोकेश।
आर्चरले पाँचौं बल पनि वाइड फाले। छैटौं बलमा लोकेशले शानदार छक्का प्रहार गरे। नेपाली दर्शकको गर्जनले वानखेडेको आकाश गुञ्जियो।
खेलमा एक्कासि ज्यान आयो।
सातौं बल फ्याँक्न आर्चर घाइते बाघझैं दौडिए। उनले यस पटक बलमा 'भेरिएसन' ल्याउँदै 'स्लो बाउन्सर' फाले।
लोकेशले आर्चरको त्यो चाल सुरूमै पढे र उनी 'ब्याकफुट' मै अडिएर बसे। बललाई पुनः आकाशतिर उडाउँदै उनले दोस्रो छक्का प्रहार गरे।
अन्तिम बलमा पनि लोकेशले एक रन लिए। एउटै ओभरमा आर्चरलाई नेपाली ब्याटरहरूले २२ रन हाने। आर्चरको जीवनकै यो सबभन्दा महँगो ओभर हो यो।
त्यसपछि अन्तिम दुई ओभरमा जम्मा २४ रन मात्र चाहिने भयो।
त्यो बेला वानखेडे रंगशाला मात्र रोमाञ्चित भएन, काठमाडौंको टुँडिखेल लगायत थुप्रै ठाउँमा राखिएका ठूला स्क्रिन वा रेस्टुरेन्ट, आफ्नै घरका टिभी अगाडि बसेका लाखौं नेपालीका रौं ठाडा भए। मुटुको धड्कन तेज भयो। क्रिकेट हेरिरहेका संसारभरका नेपालीको दिमागमा 'एड्रेनालिन' सुट गर्यो। एड्रेनालिन भनेको शरीरमा पैदा हुने त्यो तीव्र जोस हो, जसले मानिसको मुटुको ढुकढुकी बढाउँछ र शरीरमा एक किसिमको ऊर्जावान लहर पैदा गर्छ।
त्यही ढुकढुकीसँगै हामी सबै नेपाली लोकेशसँग एकाकार भयौं। नेपाली टोली र नेपाली पहिचानसँग एकाकार भयौं।
खेलको, अझ क्रिकेट र फुटबल जस्ता सामूहिक खेलको जादु नै यही हो। तिनले एकै क्षणमा सिंगो राष्ट्रलाई एउटै ढुकढुकीमा बाँधिदिन्छन्।
नेपाल र बेलायत बीचको त्यो रोमाञ्चक दोस्रो इनिङको डेढ घन्टा हामी सबै नेपालीले आफूलाई बिर्सियौं, आफ्ना निजी तनाव र दुःख बिर्सियौं, हाम्रा राजनीतिक विभाजन बिर्सियौं र बिर्सियौं हाम्रा सामाजिक पूर्वाग्रह र विकार।
नेपालले ब्याटिङ गरूञ्जेल हामी सबै एक किसिमको 'मेडिटेटिभ स्टेट' (ध्यानमग्न अवस्था) मा जस्तै थियौं। यस्ता क्षणले हाम्रो व्यक्तिगत जीवन र राष्ट्रको जीवनमा ठूलो अर्थ राख्छन्।
नेपालसँग विश्व रंगमञ्चमा देखाउने वा देखिने कुनै 'हार्ड पावर' वा 'सफ्ट पावर' छैन। त्यस्तो मुलुक बेलायतजस्तो महाशक्तिसँग क्रिकेटको मैदानमा आमनेसामने भएको र उसलाई टक्कर दिएको क्षण हाम्रो राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय पहिचानका लागि सानो कुरा होइन।
नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लगातार ढोका ढकढक्याउन थालेको छ। सहभागिता जनाउने मात्र होइन, प्रतिस्पर्धा गर्न थालेको छ।
सन् २०२३ मा एसिया कपमा नेपालले भारतविरूद्ध बनाएको २३० रन र एक–से–एक भारतीय ब्याटरहरूमाथि नेपाली बलरले पारेको दबाब, सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनको पराजय र यसपालि मुम्बईमा हाम्रा खेलाडीहरूले जसरी बेलायतीहरूको होस उडाए, त्यो कम्तीमा पनि एउटा कुराको बलियो प्रमाण हो — नेपाली टोलीको उदय अब 'इरिभर्सिबल' (अपरिवर्तनीय) हो।
तर यसो भन्दैमा हामीले दुइटा कुरा बिर्सिन हुन्न — हामी कसरी यहाँसम्म आइपुग्यौं र यहाँबाट अगाडि बढ्न के चाहिन्छ?
आइतबार वानखेडे रंगशालामा भिड्ने दुई टोलीबीच र त्यहाँका हरेक खेलाडीबीच लगानी र 'एक्सपोजर' को कत्रो खाडल थियो भन्ने हामीले भुल्नु हुँदैन।
जोफ्रा आर्चर त्यसै विश्वकै शक्तिशाली क्रिकेटर बनेका होइनन्। बार्बाडोसमा जन्मिएका उनले सानैदेखि राम्रो क्लब, राम्रो खान्की र तालिम पाए। उनको देश बार्बाडोसले छुट्टै विश्वकप खेल्दैन। थुप्रै स–साना क्यारेबियन मुलुकहरू मिलेर 'वेस्ट इन्डिज' टोली बनाउँछन् र क्रिकेट खेल्छन्। वेस्ट इन्डिज छुट्टै देश होइन।
सन् २०१४ मा भएको यू–१९ विश्वकप टोलीमा वेस्ट इन्डिजबाट छनोटमा नपरेपछि आर्चर सन् २०१५ मा बेलायत आए। उनका बाबु बेलायतका नागरिक हुन् भने आमा बार्बाडोसकी। त्यसैले पनि आर्चरलाई बेलायत आउन सजिलो भयो।
उनी बेलायत आएर ससेक्स (Sussex) क्लबमा आबद्ध भए।
ससेक्स (Sussex County Cricket Club) क्रिकेट जगतमा एउटा राजसी र ऐतिहासिक विरासत भएको क्लब हो। यसलाई एउटा क्लब मात्र होइन, क्रिकेटको विश्वविद्यालय मानिन्छ। यो क्लबले खेलाडीको हरेक 'मुभमेन्ट' लाई क्यामरा र सेन्सरबाट विश्लेषण गर्छ। उनीहरूको 'बायोमेकानिक्स' र 'डेटा' अध्ययन गर्छ र त्यही अनुसार तालिम दिन्छ। खेलाडीको क्षमतामा थप निखार ल्याइदिन्छ।
जोफ्रा आर्चरको बलिङ गति र एक्सनलाई ससेक्सकै ल्याबहरूले निखारेका हुन्।
ससेक्सबाट खेल्न थालेपछि आर्चरको क्षमता यसरी प्रस्फुटित भयो, बेलायतले उनलाई सन् २०१९ को विश्वकपमा खेलाउन चाह्यो। तर विदेशी नागरिकले बेलायतको नागरिकता लिएको सात वर्षपछि मात्र आफ्नो देशको टिमबाट खेल्न पाउने नियम थियो। त्यो नियम बेलायतले सन् २०१८ मा तीन वर्षमा झार्यो र आर्चरले विश्वकप बेलायती टोलीमा डेब्यू गरे।
आर्चरले अहिले बेलायती राष्ट्रिय टोलीमा आबद्ध भएवापत वार्षिक साढे १४ करोड रूपैयाँ तलब पाउँछन्। यसबाहेक सन् २०२५/२६ का लागि इन्डियन प्रिमियर लिग (आएपिएल) मा आबद्ध भएबापत उनले वार्षिक २० करोड रूपैयाँ पाउँछन्।
वानखेडेमा जोफ्रा आर्चरलाई आच्छुआच्छु पारेका लोकेश बम धनगढीका स्थानीय हुन्।
उनका बाबुको सपना छोरा इन्जिनियर बनोस् भन्ने थियो। खेलेर जिन्दगी चल्दैन, पढेर जागिर खानुपर्छ भन्ने उनलाई लाग्थ्यो। लोकेशलाई भने सानैदेखि क्रिकेटको भूत चढेको थियो।
लोकेशसँग जुत्ता र ब्याट किन्ने पैसा थिएन। तर नेपालको राष्ट्रिय टोलीबाट कुनै दिन क्रिकेट खेल्छु भन्ने भोक भरपुर थियो।
धन्य, धनगढीमा सुवास शाही थिए जसलाई क्रिकेटको विकास गर्ने धुन चढेको थियो। उनले धनगढी क्रिकेट एकेडेमी खोलेका छन् र धनगढी प्रिमियर लिग (डिपिएल) चलाउँछन्।
त्यही एकेडेमीमा प्रारम्भिक तालिम लिएका हुन् लोकेश र नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले। दीपेन्द्र र लोकेश मात्र होइन, आज हामी सबै नेपाली धनगढी क्रिकेट एकेडेमीप्रति अनुगृहीत हुनुपर्छ। नेपाली समाजले सुवास शाहीजस्ता मानिस कहाँ पाउनु, जो निजी सम्पत्ति खर्च गरेर क्रिकेटको विकासमा लागेका छन्।
तर धनगढी क्रिकेट एकेडेमी र बेलायतको ससेक्स क्लबबीच के तुलना! उनीहरूले दिने तालिम र सुविधाबीच के तुलना! लोकेशले आज नेपाली राष्ट्रिय टोलीमा आबद्ध हुँदा मासिक रूपमा पाउने ३५ हजार रूपैयाँ र आर्चरले पाउने करोडौं पारिश्रमिकबीच के तुलना!
र, पनि आइतबार वानखेडे रंगशालामा आर्चर र बम आमनेसामने हुँदा दुवै जना अब्बल क्रिकेटरका रूपमा खडा थिए। बमले तिनै आर्चर र अरू बेलायती बलरहरूलाई १९५ को स्ट्राइक रेटले रन हाने र नेपाललाई जीत नजिक पुर्याए।
त्यो दिन लोकेशले मात्र खेलेर नेपाली टिमले शक्तिशाली बेलायती टोलीलाई आच्छुआच्छु पारेको होइन। बेलायतविरूद्ध १८० रन बनाउने र उनीहरूको ७ विकेट लिनेमा त्यो दिन खेलेका हरेक नेपाली खेलाडीको हात छ।
कुशल भुर्तेलको विस्फोटक सुरूआत, दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले ५४ बलमा बनाएको ८२ रनको साझेदारी, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछानेले लिएका विकेट — सबैको योगदान छ।
यी सबै क्रिकेटरका कथा लोकेशका जस्तै हुन्।
राष्ट्रिय टोलीका हाम्रा सबै खेलाडीहरू अभाव र कमसल तालिमका बाबजुद अन्तर्राष्ट्रिय स्तरका क्रिकेटर बनेका हुन्। उनीहरूका आँखामा नेपाललाई विश्वकपमा जिताउने जुन सपना र पेटमा जुन आगो छ, त्यो नै उनीहरूको ऊर्जा हो। सकेसम्म संसारभरिका रंगशालामा नेपाली टिमलाई हौसला दिन पुग्ने नेपाली फ्यानहरूको माया उनीहरूको प्रेरणा हो।
हामीलाई थाहा छ — नेपालले आफ्ना खेलाडीलाई बेलायतले जस्तै सुविधा र तालिम दिन सक्दैन। खेलाडीहरूले पनि त्यो मागेका छैनन्।
तर हामीलाई यो पनि थाहा छ, नेपालले अहिले क्रिकेटको विकासका लागि जे जति लगानी गरिरहेको छ, त्योभन्दा धेरै गर्न सक्छ। र, हिजो पनि गर्नुपर्थ्यो।
हामीले २०७४ सालमा सेतोपाटीमा क्रिकेटको विकासबारे विशेष शृंखला प्रकाशित गरेका थियौं। त्यही बेला हामीले खेलाडीहरूलाई मासिक एक लाख तलब दिऊँ, अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाऔं र क्रिकेटलाई कर्पोरेट क्षेत्रसँग जोडौं भनेर लेखेका थियौं।
पछिल्ला वर्षहरूमा केही काम पक्कै भएका छन्। मुलुकले क्रिकेटलाई पूरै हेला गरेको पनि होइन।
तर कीर्तिपुर मैदानको स्तरोन्नति गर्न र जाबो फ्लडलाइट हाल्न हामीले यति वर्ष कुर्नुपर्ने थिएन। चितवन, नारायणगढको रंगशाला आफैले नबनाएर धुर्मुस–सुन्तली फाउन्डेसन (सीताराम कट्टेल र कुन्जना घिमिरे) लाई बनाउन दिने क्रुर ठट्टा राज्यले गर्न हुँदैन थियो!
धुर्मुस–सुन्तलीसँग रंगशाला बनाउन चाहिने के कुरा थियो — उनीहरूसँग पैसा थियो कि, प्राविधिक ज्ञान थियो कि, व्यवस्थापकीय क्षमता थियो कि उनीहरू सुवास शाहीझैं क्रिकेटको विकास गर्ने 'पागलपन' भएका मानिस हुन्?
नेपालले क्रिकेटको एउटा रंगशाला बनाउने नसक्ने अनि धुर्मुस–सुन्तलीले बनाउन सक्ने भन्ने हुन्छ? राज्यले उनीहरूलाई भरतपुरको रंगशाला किन सुम्पियो र बेफिक्र बस्यो?
हिजो जे भयो भयो, अब भोलिको कुरा गरौं।
बेलायतसँगको खेलपछि भारत र संसारभरका धेरै प्रसिद्ध क्रिकेटर र टिमहरूले नेपाली टोलीको प्रशंसा गरे।
त्यो प्रशंसा सुनेपछि कप्तान रोहित पौडेलले भनेको कुरा महत्त्वपूर्ण छ।
उनले भने, 'हामीलाई प्रशंसा होइन, ठूला टिमहरूसँग खेल्ने एक्सपोजर चाहिएको छ।'
नेपाली टोलीले आफ्नो क्षमताबाट कुनै पनि क्रिकेट महाशक्तिसँग द्विपक्षीय म्याच खेल्ने हक कमाइसकेको छ। अब राज्यले त्यसका लागि लबिङ गर्नुपर्छ। आइसिसीसँग कुरा गर्नुपर्छ। भारत, पाकिस्तान लगायत मुलुकसँग कूटनीतिक तवरले पनि कुरा गर्नुपर्छ।
यहाँबाट नेपाली टिमलाई अगाडि बढाउन के के गर्नुपर्छ, राज्यले कम्मर कस्नुपर्छ।
किनभने, हामी नभुलौं — हाम्रो राष्ट्रिय एकता प्रवर्द्धन गर्ने नेपाली क्रिकेटभन्दा बलियो अर्को संस्था हामीसँग छैन। हामी सबै नेपालीले अविभाजित रूपमा मान्ने र माया गर्ने एक मात्र संस्था राष्ट्रिय क्रिकेट टिम नै हो।
सौभाग्यवश्, हाम्रो राष्ट्रिय टोलीमा नेपाली समाजको विविधता प्रतिबिम्बित छ। यो जति बलियो हुँदै जान्छ, यसले हाम्रो राष्ट्रिय एकतालाई त्यति नै बलियोसँग बाँध्दै लैजान्छ।
नेपाललाई संसारसामु चिनाउने तागत भएको हामीसँग केही छ भने, त्यो क्रिकेट नै हो। संसारका महाशक्तिहरूसँग एकै लहरमा उभ्याउने तागत भएको अर्को कुनै कुरा हामीसँग छैन।
खेलको 'सफ्ट पावर' कति बलियो हुन्छ भन्ने एउटा अन्तर्राष्ट्रिय उदाहरण हेरौं — सन् १८९५–९६ तिर अर्जेन्टिनाको अर्थतन्त्र अमेरिकाको भन्दा ठूलो थियो। तर पछि खस्किँदै गयो। आज आर्थिक वा सामरिक शक्तिका रूपमा अर्जेन्टिना विश्व रंगमञ्चमा कतै छैन।
तर आज पनि अर्जेन्टिनासँग फुटबलको यति तगडा 'सफ्ट पावर' छ कि, ऊ संसारभर प्रसिद्ध छ। डियेगो म्याराडोना र लिओनल मेसीको नाम गगनचुम्बी भवनदेखि झुपडीसम्म संसारभर लिइन्छ।
क्रिकेटले भोलि नेपाललाई अर्जेन्टिना बनाउँछ भन्ने होइन, तर 'नेपाल' भनेर चिनाउने तागत पक्कै राख्छ।
यसमा हामी सबै मिलेर काम गरौं।
***