सुपरिचित साहित्यकार, मित्र महेशविक्रम शाहले फोन गर्दै सोधे, 'कता बेपत्ता साथी? अझै चुनाव सकिएन?'
यो निर्वाचन सकिएको तेस्रो दिनको कुरा हो। र, कुरा हो एकाबिहानैको।
मैले भनेँ, 'मतदान त सकियो तर परिणामको रमिता जारी छ।'
उनले गुनासो गरे, 'तिमी साहित्यकार कम र विश्लेषक धेरै भयौ साथी।'
'म के गरूँ यार?' मैले आफ्नो दुविधा राखेँ।
उनले सम्झाए, 'आफ्नो कित्ता क्लियर गर।'
मलाई धेरै मित्रहरूले लेखनमा ध्यान दिन र राजनीतिको लफडामा नपर्न सुझाव दिएकै थिए। मेरो नयाँ उपन्यास 'इथा' आउने खबर पाएका साथीहरूले त मलाई राजनीति चटक्कै छोड्न समेत सुझाए।
यद्यपि, मैले राजनीति त्यति धेरै समातेको पनि थिइनँ, जति साथीहरू ठान्थे।
त्यो दिन महेशजी रमाइलो मुडमा रहेछन्।
भने, 'म तिमीलाई सित्तैमा सुझाव दिएर थाकिसकेँ यार। अब यसो गर, तिमी कफी खुवाऊ, बदलामा म तिमीलाई थप सुझाव पिलाउँछु।'
भेटमा उनले मलाई फेरि उही भने, अर्थात् साहित्यमा मेरा सम्भावनाहरू देखाए।
र सोधे, 'जाने हैन त टीकापुर?'
जब उनले 'जाने हैन त टीकापुर' भनेर मलाई प्रश्न गरे, तब पो मैले सम्झिएँ, टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण सन्निकट थियो। जसको म प्रारम्भदेखिकै एक सक्रिय सहभागी थिएँ र थिएँ आयोजक संस्था, टीकापुर साहित्य समाजको एक आजीवन सदस्य।
कुराकानीको प्रसंग अगाडि बढाउँदै महेशजीले थपे, 'हेर साथी, चुनाव सकियो। यो बीचमा मान्छेहरू अनेक तर्क, तर्कना, एजेन्डा, पक्षधरता र उम्मेदवारको नाममा विभाजित भए। अब यो विभाजन रोक्नु र्छ। र, त्यसका लागि आवश्यक पर्छ, समाज जोड्ने साहित्य।'
उनको कुरा सुनेपछि मलाई टीकापुर साहित्य महोत्सवको त्यो नारा सम्झना आयो, जो थियो 'साहित्यमार्फत सामाजिक सदभाव।'
बश्, त्यसपछि मैले आजको लेख साहित्य महोत्सवमा केन्द्रित गर्ने निर्णय गरेँ। जसको मुख्य सन्दर्भ हुनेछ, टीकापुर र टीकापुर साहित्य महोत्सव।
नेपालको साहित्यिक परम्परा बहुआयामिक छ। वैदिक ऋचा, पुराणदेखि लोकगीत, मिथक, कथा, कविता र आधुनिक उपन्याससम्म आइपुग्दा यसले केवल सौन्दर्यबोधको संसार मात्र निर्माण गरेको छैन, समाज, इतिहास, संस्कृति र राजनीति सबैलाई समेटेर एउटा बौद्धिक सभ्यता समेत निर्माण गरेको छ।
यस्तो सभ्यता, जहाँ मुन्धुम, त्रिपिटक र वेदका रूपमा किरात, बौद्ध र आर्यावर्तका ज्ञान, परम्परा र मानवीय मूल्यहरू त सिञ्चित छन् नै, सँगै छन् विश्व साहित्यबाट परावर्तित अनमोल प्रकाश ज्योतिहरू।
जसले दिएको छ, हाम्रो साहित्यलाई एक मौलिक सौन्दर्य र जीवनधारा।
जसले बनाएको छ हाम्रो सभ्यतालाई कलापूर्ण र इन्द्रेणी रंगधारा।
हाम्रो यही ज्ञान परम्परा र सभ्यतालाई सार्वजनिक संवादको रूप दिने माध्यमका रूपमा पछिल्ला वर्षहरूमा साहित्य महोत्सवहरू आयोजना भइरहेका छन्।
तिनै महोत्सवहरूमध्ये एक उम्दा सिर्जनानात्मक प्रयत्न हो, टीकापुर साहित्य महोत्सव, जसको तेस्रो शृंखला २०८२ चैत १३–१५ गते सुदूरपश्चिमको सुन्दर नगरी टीकापुरमा आयोजना हुँदैछ।
के हो साहित्य महोत्सव?
साहित्य महोत्सव, लेखकहरूको जमघट वा पुस्तक विमोचनको कार्यक्रम मात्र होइन, न हो फगत कुरा गर्ने वा कुरा काट्ने अखाडा। यो एउटा बौद्धिक पर्व हो जहाँ शब्द, सौन्दर्य, विचार, संस्कृति र अनुभवहरू एकै ठाउँमा भेटिन्छन् र चलायमान हुन्छन्।
अर्थात्, साहित्य महोत्सव यस्तो ज्ञानशाला हो, जहाँ भेटिन्छन् लेखक, पाठक, पत्रकार, अनुसन्धानकर्ता, कला पारखी र साधक, विद्यार्थी र जिज्ञासु नागरिक। र, सँगै विमर्श गर्छन् जीवन र जगतका उज्याला र अँध्यारा प्रश्नहरूमाथि। रमाउँछन् जीवनको सुन्दरतासँग र खोज्छन् सभ्यताका अनमोल रत्नहरू।
यो अर्थमा साहित्य महोत्सवहरू आधुनिक सार्वजनिक (बौद्धिक) जीवनका महत्त्वपूर्ण मञ्चहरू हुन्। जसले ज्ञान, कला र सौन्दर्य चेतनालाई नयाँ शैली र आकारमा अगाडि बढाउँछन्।
यसर्थ भन्न सकिन्छ, साहित्य महोत्सवः विचारको सार्वजनिक चौतारी हो र हो साहित्यको कञ्चन सरोवर।
साहित्य मूलतः व्यक्तिको निजी सिर्जनात्मक क्रिया हो, तर यसको प्रभाव सामाजिक हुन्छ। त्यो कसरी भने, लेखकले आफ्नो अनुभव, कल्पना र दृष्टिकोणलाई जब शब्दमा व्यक्त गर्छ, पाठकले त्यसलाई आफ्नो जीवन र जगतसँग जोड्छ। त्यसपछि लेखक र पाठकबीचको सम्बन्ध एक सामाजिक क्रिया बन्न पुग्छ।
त्यही सामाजिक क्रियाको एउटा भव्यतम् यज्ञ हो, साहित्य महोत्सव। जहाँ लेखकका शब्दहरूसँग पाठक एकाकार हुन्छन् र त्यसमा समाजलाई आबद्ध गर्छन्।
साहित्य महोत्सवको अर्को महत्त्वपूर्ण पक्ष भनेको विचारको बहुलता हो।
किनभने, साहित्य महोत्सवहरूमा विभिन्न विचारधाराका लेखक र चिन्तकहरू एउटै मञ्चमा आउँछन्।
त्यसपछि राजनीति, इतिहास, संस्कृति, पहिचान, भाषा, लिंग, वातावरण, पर्यटन, प्रवास र लोकतन्त्रका मुद्दाहरूमा गम्भीर बहसहरू हुन्छन्, र निष्कर्ष बन्न पुग्छन् — फरक भाषा, एउटै भाव। फरक शब्द, एउटै धार।
पछिल्ला वर्षहरूमा नेपालमा भइरहेको साहित्य महोत्सवको विस्तार निकै आकर्षक र लोभलाग्दो देखिन्छ। संख्यात्मक रूपमा त यो उल्लेखनीय छ नै, गुणस्तरमा समेत उल्लेख्य उचाइ हासिल गरेको छ। अर्थात्, आफ्ना भौगोलिक सीमाहरू विस्तार गरेको छ र फैलिँदै गएको छ।
केही उदाहरण हेरौ।
पोखरामा आयोजना हुने 'नेपाल लिटरेचर फेस्टिभल' यस सन्दर्भमा सबभन्दा चर्चित र प्रभावशाली महोत्सव हो। यसले नेपाली लेखकहरूलाई आफ्ना सीमाहरू भत्काउँदै अन्तर्राष्ट्रिय लेखकहरूसँग संवाद गर्ने अवसर प्रदान गरेको छ। नेपाली पाठकलाई विश्व साहित्यसँग परिचित गराएको छ। यो महोत्सव हाम्रो साहित्य उत्सवको एक ऐतिहासिक र गौरवपूर्ण साक्षी र साझेदार हो।
त्यसैगरी कर्णाली महोत्सव, 'कुडा कर्णाली' हाम्रो सन्दर्भको अर्को एक उम्दा साहित्यिक यज्ञ हो। यसले कर्णाली क्षेत्रको जीवन, संस्कृति, सभ्यता र इतिहास केन्द्रमा राखेर विचारको एक अलग आयाम निर्माण गरेको छ। यो यस्तो उत्सव हो जसले कर्णाली जस्तो भौगोलिक रूपमा विकट क्षेत्रको आवाजलाई राष्ट्रिय विमर्शमा ल्याउने काम गरेको छ। जहाँ कर्णाली मात्र बोल्दैन, कर्णालीले अरूको पनि सुन्छ र सिक्छ।
मधेसको र विशेषतः मिथिलाको सांस्कृतिक पहिचान केन्द्रमा राखेर आयोजना हुने 'मिथिला साहित्य महोत्सव' ले मैथिली भाषा, मिथिला सभ्यता र मधेसको सामाजिक यथार्थलाई बहसको केन्द्र बनाएको छ।
हाम्रा लागि आजको साहित्य, कला र विचारको यो अर्को एक ज्ञानयज्ञ हो।
यसैगरी यो प्रसंगमा जोड्नैपर्ने अर्को नाम हो, किताब जात्रा। यसले हाम्रा पुस्तक, लेखक र हामीले अवलम्बन गरेको जीवनशैलीको प्रवर्द्धन त गर्छ नै, यसलाई देश–विदेशका विभिन्न मञ्चसँग जोड्छ पनि।
परिणाम, यस्ता क्रियाकलापहरूले हाम्रो भौगोलिक, भाषिक र सांस्कृतिक विविधताको सौन्दर्यीकरण गर्छन् र तिनलाई एकीकृत गर्दै सबैको साझा बनाउँछन्।
अतः भन्न सकिन्छ — हाम्रा हरेक महोत्सवहरू राष्ट्रिय महोत्सवहरू हुन्। र, हुन् साहित्य चेतनाका साझा क्यानभासहरू।
त्यसैले नै यी महोत्सवहरू हाम्रो विचार, ज्ञान, कला र सौन्दर्यका साझा उत्सवहरू हुन्। यिनले हाम्रो ज्ञान परम्परा आलोकित गर्छन्। र, सिद्ध गर्छन् कि, साहित्य जीवनको सक्रिय हिस्सा हो।
यसैगरी (साहित्य) महोत्सवहरूको अर्को विशेषता के छ भने, यसले स्थानीयता (क्षेत्र) लाई केन्द्रमा ल्याउँछ र केन्द्रलाई स्थानीय तहमा पुर्याउँछ। यसले स्थानीय भाषा, संस्कृति, साहित्य र इतिहासलाई केन्द्रमा ल्याउँछ र केन्द्रका भाषा, संस्कृति, साहित्य र इतिहासलाई स्थानीय तहमा पुर्याउँछ।
अतः हाम्रा महोत्सवहरू सांस्कृतिक र सामाजिक लोकतन्त्रका अभ्यास पनि हुन्।
अब कुरा गरौं, टीकापुर साहित्य महोत्सवको।
के हो टीकापुर साहित्य महोत्सव?
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्वर्द्धन, उन्नयन र विकास गर्ने उद्देश्यले २०७९ माघ २९ गते सुदूरपश्चिमको सुन्दर नगरी टीकापुरमा टीकापुर साहित्य समाज स्थापना भयो। यो गैरनाफामूलक सामाजिक, साहित्यिक संस्था हो।
साहित्यकार महेशविक्रम शाहको अग्रसरतामा स्थापना गरिएको यही संस्था नै टीकापुर साहित्य महोत्सवको मुख्य आयोजक संस्था हो। यसमा आबद्ध छन् देशकै स्थापित साहित्यकार, कलाकार, पत्रकार, रंगकर्मी र समाजसेवीहरू।
पहिलो संस्करण २०७९ चैत २५ देखि २७ सम्म त्रिदिवसीय टीकापुर साहित्य महोत्सवका रूपमा आयोजना गरिएको थियो। दोस्रो संस्करण आयोजना भयो २०८१ फागुन २४, २५ र २६ गते। दोस्रो संस्करण 'पहलमानसिंह स्वार साहित्य विशेष संस्करण' का रूपमा आयोजना गरिएको थियो।
यो महोत्सवको तेस्रो संस्करण हुँदैछ २०८२ चैत १३–१५ गते। यो 'थारू साहित्य, सांस्कृतिक उत्सव' का रूपमा आयोजना हुँदैछ।
महोत्सवका पछिल्ला दुई संस्करणहरू निकै रोमाञ्चकारी, ज्ञानवर्द्धक र उल्लेख्य थिए।
रोमाञ्चक यसकारण कि, महोत्सवका सहभागीहरूलाई उडाएर, गुडाएर र तैराएर टीकापुर पुर्याइएको थियो। र, त्यो यात्राको सर्वाधिक रोमाञ्चक अनुभव थियो कर्णाली नदीमा नौका विहार।
लगभग २२ किलोमिटरको दुरी नौका विहार गर्दै पाँच घन्टामा पार गर्नु र पानीमा रमाउनु, त्यो यात्राको एक अदभूत मजा थियो।
साथमा नगर पर्यटन, स्थानीय खाना, स्थानीय संगीत, स्थानीय स्वाद — सबै कुरामा स्थानीय रङ र सुगन्ध!
यो महोत्सव ज्ञानवर्द्धक यस अर्थमा थियो — 'शब्द र विचारहरूको सम्मेलन' नाम दिइएको त्यो महोत्सवमा देशकै सुविख्यात लेखक र विचारकले समकालीन साहित्यको मात्र नभएर समकालीन समाजको जटिलता, संकट र सौन्दर्यमाथि गहन बहस गरेका थिए। र, भएका थिए प्रतिष्ठित विद्वानहरूबाट विद्वत प्रवचन, सम्भाषण, दर्जनौं समानान्तर सत्र, भेटघाट र अन्तरक्रियाहरू।
थप भन्न पर्दैन कि, सुदूरपश्चिम सांस्कृतिक रूपमा अत्यन्त समृद्ध क्षेत्र हो। यहाँको लोकपरम्परा, संगीत, भाषा र जीवनशैली विशिष्ट छ। यो क्षेत्र खसभाषाको प्रभाव क्षेत्र त हो नै, साथै टीकापुर आफैमा थारू भाषा, संस्कृति, सभ्यता र लोक परम्पराको आधारभूमि पनि हो।
यति समृद्ध हुँदाहुँदै पनि यहाँको ज्ञानधारा, साहित्य र चेतना प्रवाहलाई देशभर विस्तारित गर्न कतिपय सन्दर्भमा नसकिरहेको अवस्थामा, यो महोत्सवले यसलाई देशभर फैलाउने र देशलाई यहाँ एकीकृत गर्ने दोहोरो प्रयत्न गरेको छ। अतः यो महोत्सव विशेष र उल्लेख्य छ।
यो महोत्सवको अर्को आकर्षण स्थानीयता प्रवर्द्धन गर्नु हो। यहाँको खानपान प्रवर्द्धन गर्नु हो। मौलिक नाचगान विस्तार गर्नु हो। र, नयाँ पुस्तालाई ज्ञान विमर्शमा एकाकार गर्नु हो।
यो महोत्सवको अर्को अभिभाज्य पक्ष हो देउडा प्रवर्द्धन।
सुदूरपश्चिमको सांस्कृतिक जीवनमा देउडाको विशेष स्थान छ। त्यहाँ देउडा केवल गीत होइन, सामूहिकताको प्रतीक हो। त्यसैले महोत्सवमा देउडा, पश्चिमेली लोकगीत, गजल, कविता वाचन र सांस्कृतिक प्रस्तुति अभिभाज्य बन्छन्।
यसरी टीकापुर महोत्सवमा गीत, संगीत र साहित्य केवल पुस्तक, कोठे विमर्श वा मनोरञ्जनमा मात्र सीमित हुँदैन, यो उत्सवको रूपमा प्रस्तुत हुन्छ। र, उठाउँछ, कलापूर्ण, समृद्ध र मानवतावादी समाजको जग।
यो महोत्सवको अर्को विशेषता के भने, यसले विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूलाई महोत्सवमा जोड्न प्रयत्न गर्छ। टीकापुरका युवाहरूले मनपरेका लेखक भेट्न पाउँछन्, उनीहरूको लेखन यात्रा सुन्न पाउँछन्। लेखकहरूले पनि युवा पाठकहरू भेटेर स्वयंभित्र ऊर्जा संग्रह गर्छन्।
कर्णाली नदीको पश्चिम किनारमा अवस्थित योजनाबद्ध सहर टीकापुर आफैमा ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थान हो। तर कुनै बेला यो सहर द्वन्द्वको चपेटामा पर्यो र केही वर्ष छिन्नभिन्न भयो। मनहरू भाँचिए र सामाजिक सदभावको उज्यालोमा कालोमैला बादल लाग्यो।
तर अहिले समय फेरिँदै गएको छ। गीत, संगीत र साहित्यले मान्छेको मनलाई कञ्चन, जागृत र उदार बनाउँदै लगेको छ। मानवीय भावनाले संकीर्णतालाई परास्त गर्दै लगेको छ र महोत्सवले मनको अँध्यारो हटाउँदै छ।
यसरी, टीकापुर साहित्य महोत्सवले स्थानीय संस्कृति र साहित्यिक विमर्श यसरी जोड्ने काम गरिरहेको छ, जसरी नदी किनारलाई जोड्छ पुलले। र, मान्छेको मनलाई यसरी उज्यालो बनाउने कोसिस गरेको छ, जस्तो घनघोर अँध्यारोमा चम्किन्छ, पूर्णचन्द्रको मधुर ज्योत्स्ना।
विगत तीन वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सवले सुदूरपश्चिमलाई राष्ट्रिय साहित्यिक नक्सामा जोड्ने प्रयास गरेको छ र देशलाई पुर्याएको छ टीकापुर।
त्यसैले भन्न सकिन्छ, टीकापुर साहित्य महोत्सवको खास विशेषता नै साहित्यलाई स्थानीय लोक संस्कृतिसँग जोड्नु हो। र, लोक संस्कृतिको प्रवर्द्धनमार्फत समाजको सौन्दर्य चेतना प्रवर्द्धन गर्नु र मान्छेलाई एकताबद्ध र उदार बनाउनु हो।
अन्तिम कुरा के छ भने, आजको समयमा साहित्य महोत्सवहरू साहित्यिक, सांस्कृतिक कार्यक्रम मात्र होइनन्, तिनीहरू सामाजिक बौद्धिकताका महत्त्वपूर्ण परिघटनाहरू हुन्। यिनले मानवीय संवाद सशक्त बनाउने, कला चेतना प्रवर्द्धन गर्ने र विचारको बहुलता एउटै मञ्चमा ल्याएर एकताबद्ध गर्ने काम गर्छन्।
पोखरा, टीकापुर, कर्णाली, मिथिला र काठमाडौं लगायत देशभर हुने यस्ता साहित्यिक महोत्सवहरू केवल एक थान कार्यक्रम होइनन्; यी हुन् हाम्रो सांस्कृतिक आत्मविश्वास, साहित्यिक सम्भावना र राष्ट्रिय संवादका उत्सवहरू।
त्यसैले आउनुहोस्, यो बसन्तमा टीकापुर साहित्य महोत्सव हेर्न जाऔं।
जो विशेष हुनेछ र हुनेछ अविस्मरणीय पनि।
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab