बेइजिङ डायरी
बेइजिङमा श्वेत चैत्य सांस्कृतिक सप्ताह सुरू भएको छ। जुन १३ तारिख (जेठ ३० गते शनिबार) बाट सुरू भएको यो महोत्सव प्रत्यक्ष रूपमा नेपालसँग जोडिएको छ।
बेइजिङको केन्द्र भागमा रहेको श्वेत चैत्य नेपाली राष्ट्रिय विभूति अरनिकोले ७५० वर्ष अगाडि बनाएका हुन्। श्वेत चैत्यको नाइटो नेपालसँग जोडिएकाले पनि यो सांस्कृतिक सप्ताह नेपाल लक्षित भएको हो।
आगामी जुन १९ (असार ५ गते शुक्रबार) सम्म रहने यस सांस्कृतिक सप्ताहमा अरनिकोका केही नयाँ सिर्जनाको फोटो सहित एक हजार वर्ष पुराना नेपाली शैलीका मूर्तिहरू पनि प्रदर्शनमा राखिएको छ।
बेइजिङ नगरपालिकाको पुरातत्व ब्युरो, बेइजिङकै क्यापिटल म्युजियम र श्वेत चैत्य व्यवस्थापन समितिले संयुक्त रूपमा आयोजना गरेका हुन्।
सांस्कृतिक सप्ताहको संयोजन कार्य बेइजिङमा रहेको चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रले गर्दै आएको छ। श्वेत चैत्य सांस्कृतिक सप्ताह पहिलो पटक सन् २०२२ मा आयोजना गरिएको थियो। यस पटक आयोजित सप्ताह पाँचौं संस्करण हो।
यस पटकको श्वेत चैत्य सांस्कृतिक सप्ताहको मुख्य उद्देश्य महान नेपाली वास्तुकार अरनिकोले निर्माण गरेको श्वेत चैत्यको ७५० औं वार्षिकोत्सव मनाउनु पनि हो।
यस पटकको प्रदर्शनीमा अरनिको आफैले बनाएका र तत्कालीन तथा त्यसभन्दा अगाडिका नेपाली शैलीका बौद्ध मूर्तिहरू तथा चीनको युआन राजवंशका कलाहरू राखिएका छन्।
बेइजिङमा अरनिकोले बनाएको श्वेत चैत्य
चीनमा कुब्लाई खाँले सन् १२७० मा युआन राजवंश सुरू गरेका थिए। युआन राजवंश सुरू हुँदा अरनिको कुल्बाई खाँको सरकारका कला विभागका प्रमुख थिए।
सांस्कृतिक सप्ताहमै 'युआन राजवंशको कला', 'युआन राजधानी र मिङ–छिङ राजवंशको बेइजिङ केन्द्रीय रेखा', 'अरनिको र पश्चिमी (नेपाली) बौद्ध मूर्तिहरू' र 'नेपाली दरबार स्क्वायर' जस्ता चार वटा विषयमा विशेष चर्चा सत्र पनि हुँदैछ।
साथै सांस्कृतिक सप्ताहको अर्को मुख्य आकर्षणका रूपमा नेपाली खाना महोत्सव र मेहन्दी कला जस्ता विशेष कार्यक्रमहरू पनि यस पटक थप गरिएका छन्।
नेपाली कलाकार अरनिकोको सम्मानमा चीनका सरकारी निकायले आयोजना गर्ने यो सांस्कृतिक सप्ताहले नेपालको पर्यटन प्रवर्द्धन गर्दै नेपाली कलाकौशलको सम्मान पनि गरेको छ।
चालु वर्ष श्वेत चैत्य निर्माण भएको ७५० वर्ष पूरा भएको छ। विगत ७५० वर्षदेखि श्वेत चैत्य नेपाल र चीनबीचको मैत्री सम्बन्धमा जीवन्त राख्दै प्रख्यात धरोहरका रूपमा ठडिएको छ।
पाटन दरबार क्षेत्र र र बेइजिङको श्वेत चैत्य समान कालखण्डमा निर्मित सम्पदा हुन्। पाटन दरबार क्षेत्र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। बेइजिङको श्वेत चैत्य पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रयासमा छ।
श्वेत चैत्य सांस्कृतिक सप्ताह महोत्सवले यी सम्पदाको तुलनात्मक अध्ययन र आदानप्रदानलाई पनि प्रोत्साहित गर्ने उद्देश्य बोकेको छ। पाटन अरनिकोको जन्मस्थान पनि भएकाले यी दुई सम्पदा क्षेत्र आपसमा जोडिएका हुन्।
अरनिकोको सम्झना, चीन–नेपाल मित्रता र सम्पदा संरक्षण तीन आधारमा श्वेत चैत्य सांस्कृतिक सप्ताह आयोजना हुँदै आएको श्वेत चैत्य व्यवस्थापन समितिले बताएको छ।
सन् १२४४ मा नेपालको पाटनमा जन्मिएका अरनिको सन् १२५९ तिब्बतको सिगाच्छे गएर सुवर्ण स्तुप बनाएका थिए।
श्वेत चैत्य प्रांगणमा रहेको म्याओयिङ मन्दिरको छतमा रञ्जना लिपि
त्यहाँबाट उनी १२६२ तिर कुब्लाई खाँको राजधानी शाङतू (हालको भित्री मंगोलिया) गए। कुल्बाई खाँले सन् १२७१ राजधानीलाई तातू (हालको बेइजिङ) मा सारे। कुब्लाई खाँले बेइजिङलाई राजधानी बनाएपछि यसको मुख्य डिजाइन र निर्माणको काम अरनिकोकै अग्रसरतामा भएको थियो।
उनी त्यति बेला कला विभागका प्रमुख भएकाले उनको नेतृत्व र निर्देशन बिना बेइजिङका सम्पदा निर्माण सम्भव थिएन। त्यसमध्ये श्वेत चैत्य अरनिको आफैले बनाएका थिए।
अरनिकोको मृत्य सन् १३०६ मा बेइजिङमै भयो।
अरनिको वास्तुकार, मूर्तिकार र कलाकार थिए। उनी चीनको युआन राजवंश कालको राजदरबारमा सबैभन्दा प्रभावशाली कलाकार मानिन्थे।
अरनिकोले बेइजिङमा श्वेत चैत्यको डिजाइन र निर्माण गरे। सन् १२७१ मा सुरू गरेर १२७९ मा तयार भएको श्वेत चैत्य ५०.९ मिटर अग्लो छ। यसलाई नेपाल–चीनबीचको ७५० वर्षको लामो मित्रता र सांस्कृतिक आदानप्रदानको जीवन्त प्रतीक मानिन्छ।
यस्तै विशाल श्वेत चैत्य उनले ऊथाई शानमा पनि बनाएका छन्।
चीनमा अरनिकोले चलाएको मूर्तिकला शैलीलाई पश्चिमी बौद्ध मूर्ति भन्ने गरिन्छ। नेपाल चीनबाट पश्चिमतिर पर्ने भएकाले यसो भनिएको हो। चिनियाँ भाषामा 'सी थिआन फान सियाङ' भनिने शैली नै अरनिकोले चीनमा बसाएको मूर्तिकला शैली हो।
बेइजिङमा निर्मित अरनिकोको शालिक
अरनिको निर्मित श्वेत चैत्यमा यस पटकको प्रदर्शनीमा अरनिकोले निर्माण गरेको एउटा सम्पदाको चित्र राखिएको छ।
यस अगाडि खासै चर्चामा नआएको उक्त सम्पदाको चित्र देखेपछि त्यसबारे सोधखोज गर्दा अरनिकोले बनाएका केही सम्पदा चीनका विभिन्न ठाउँमा रहेको तथ्य भेटिएको हो।
चीनको हपेई प्रान्तको पाओतिङ सहर अन्तर्गत लाइशुई जिल्लाको उत्तरी भागमा पर्ने तोङकोङक्वान गाउँमा रहेको चिनशान मन्दिर (गुफाभित्र बनाइएको) को चित्र प्रदर्शनीमा राखिएको छ।
यो मन्दिर युआन राजवंशका क्वाङहुई नाइयी छान नामक एक तान्त्रिक गुरूले स्थापना गरेका थिए। उनले स्थापना गरेको मन्दिरमा अरनिकोले केही मूर्तिहरू बनाएका थिए।
अहिले त्यहाँ अरनिकोले बनाएको हजार बुद्ध धातु स्तुप (शरीर स्तुप) र युआन तथा मिङ राजवंशका केही ढुंगे शिलालेखहरू छन्। उक्त हजार बुद्ध धातु स्तुपको कलशमा नेपाली र तिब्बती शैलीका बुद्ध मूर्तिहरू कुँदिएका छन्, जसमा सातौं पृष्ठभागमा साना बुद्ध मूर्तिहरू चार वटा एकै लहरमा छन्।
स्तुपको छेउमा राखिएको अनन्त आयु सहस्र बुद्ध धातु स्तुपको समाधि–लेखमा अरनिकोले 'मन्दिरका मुख्य दाता' का रूपमा उक्त स्तुपको निर्माण कार्यको नेतृत्व गरेको स्पष्ट उल्लेख छ।
यी नेपाली र तिब्बती शैलीका बुद्ध मूर्तिहरू अरनिकोका मूर्तिकला सिर्जनाको महत्त्वपूर्ण प्रत्यक्ष प्रमाण हुन्। उक्त स्तुप अरनिकोको कला शैली र युआन राजवंशको पश्चिमी बौद्ध मूर्तिहरू (शी थिआन फान शियाङ) को वास्तविक स्वरूप अध्ययन गर्न ठूलो शैक्षिक महत्व राख्ने प्रमाण पनि हुन्।
अरनिकोको यो नयाँ कला पत्ता लागेपछि नयाँ क्षमताको पनि पहिचान भएको छ। पहिलेका इतिहासकर्मीहरूले अरनिकोलाई एक कलाकार वा वास्तुकारका रूपमा मात्र चिन्थे। यस शिलालेखले उनी मन्दिरको मुख्य प्रायोजक (दाता) र निर्माण संयोजक पनि थिए भन्ने देखाउँछ।
अरनिकोले बनाएको कुब्लाई खाँको चित्र
उनले आफ्नै युआन दरबारको समर्थन परिचालन गरेर धार्मिक स्थलहरू निर्माण गर्न आर्थिक सहजीकरण र प्रशासकीय भूमिका पनि निर्वाह गरेको बुझ्न सकिन्छ।
अरनिकोले बनाएको यी मूर्तिहरूमा नेपाली मूर्तिकलाको कोमलता, तिब्बती धार्मिक प्रतिमाको गाम्भीर्य र हान चिनियाँ रेखांकनको सन्तुलन देख्न सकिन्छ। यो मिश्रण कला अरनिकोको विशिष्टता हो र उनीसँग मात्र यस्तो क्षमता थियो।
चिनशान मन्दिरको स्तुप सानो तर श्वेत चैत्यकै शैलीमा बनेको छ। दुवै सम्पदामा नेपाली तथा तिब्बती बौद्ध शैली झल्किन्छ।
चिनशानको शिलालेखले यो मन्दिरको निर्माण श्वेत चैत्यभन्दा पनि केही वर्षअघि सुरू भएको देखाउँछ। यसले अरनिकोको चीन आगमनपछिको यो पहिलो परीक्षण कार्य हुन सक्छ।
यो गुफा युआन राजवंशको २४ औं वर्ष (सन् १२८७) मा कुँदिएको हो। यसको दायाँबायाँ सहायक देवी, संरक्षक (धर्मपाल), आकाशगामिनी (अप्सरा), नेपाली शैलीका बुद्ध स्तुपहरू विभिन्न तहमा व्यवस्थित छन्।
मूर्तिकलाको दृष्टिले, विजया बुद्ध माताको शरीरका अंगहरू, आभूषण तथा घाँटीदेखि तलको पहिरन 'नेपाली बौद्ध मूर्ति' शैलीको विशेषता अनुसार जडान र आकृति देखिन्छ। गुफाको किनारा, वस्त्रको रेखांकन, कमलको पगरी चीनको दक्षिणी क्षेत्र (चियाङनान) को ढुंगा मूर्तिकलाको सुक्ष्म रङ तथा कडाइ प्रविधि प्रयोग गरिएको छ।
कमलको आधार मोटो र भरिलो देखिन्छ। यस्तो हुनु युआन राजवंशीय बौद्ध मूर्तिकलाको विशिष्ट संकेत हो।
यो गुफामा नेपाली, तिब्बती र दक्षिण चीनको ढुंगा मूर्तिकला परम्परा एकै साथ समावेश छ। यो दक्षिणी चीनमा पाइने सबैभन्दा ठूलो हान–विदेशी मिश्रित ढुंगे मूर्ति अवशेष हो।
यो गुफाको निर्माण याङ चन्चियाको नेतृत्वमा भएको थियो। यो फइलाइफङ अर्थात् आकाशबाट उडेर आएको पर्वतको नेपाली बौद्ध मूर्ति कलाको सर्वोच्च भौतिक प्रमाण हो।
चिनशान मन्दिर बाहिर रहेको शिलालेख
उक्त शिलालेखमा तीन जना मुख्य दाताबारे उल्लेख छ। सेनाका एक उच्च अधिकारी, एक सरकारी कर्मचारी र 'यस मन्दिरका मुख्य पुण्यदाता अरनिको' भनेर तीन व्यक्तिमध्ये अरनिकोलाई विशेष मानिएको छ।
अझ रोचक के छ भने, त्यो शिलालेखमा अरनिकोको नाम सबभन्दा माथि छ अनि अन्त्यमा पनि राखिएको छ। यसको अर्थ के हो भने उनले प्रारम्भिक चरणमै मन्दिर स्थापनाका लागि पैसाको सहयोग गरेको र पछि स्तुपको निर्माणको पनि सह–प्रबन्ध गरेको भनेर उल्लेख छ।
यो मन्दिरमा भएको शिलालेखले अर्को तथ्य पनि उजागर गरेको छ। शिलालेखका अनुसार हाङचाउको लिङयिन मन्दिर अगाडि एक प्रसिद्ध चट्टान छ।
यो चट्टानमा कुँदिएका मूर्तिहरू चीनको दक्षिण–पूर्वी क्षेत्रको सबभन्दा ठूलो बौद्ध मूर्तिकला समूह हुन्। यी मूर्तिहरू विशेषगरी युआन राजवंशीय शासन अवधि (सन् १२७१-१३६८) मा निर्माण भएका हुन्। उक्त समयका मूर्तिहरू अत्यन्तै विशिष्ट मानिन्छन्।
चीनको दक्षिण पूर्वमा रहेको चच्याङ प्रान्तको सदरमुकाम हाङचौउको 'फइलाइफङ (आकाशतिर उडेको पहाड)' को शिलालेखमा पनि अरनिकोको कलात्मक छाप र युआन राजवंशीय कलाका विशेषताहरू स्पष्ट रूपमा देख्न सकिन्छ।
सो ठाउँको 'चुनशङ फोमु (तारा)' को तीन टाउके र आठ भुजायुक्त प्रतिमामा नेपाल र तिब्बतको मूर्तिकलाको शैली अपनाइएको छ। जसमा 'पश्चिमी बौद्ध मूर्तिको (यहाँ पश्चिमी भनेको नेपाली हो)' शैली, तिब्बती मूर्तिको ढाँचा र चियाङनान (दक्षिणी चीन) को ढुंगा मूर्तिकला प्रविधि एकै साथ समावेश छ।
यो मिश्रित शैली नै अरनिकोको सबैभन्दा ठूलो देन हो।
हाङचाउको यी मूर्तिहरू विशेषगरी नेपाली कलाकार अरनिकोले सुरू गरेको 'शी थियान फान सियाङ' (पश्चिमी बौद्ध मूर्ति) का उत्कृष्ट नमूना मानिन्छन्। यो शैलीले त्यसभन्दा अघि प्रचलनमा रहेको पाल शैली र काश्मिरी शैलीसँगै नेपाली शैली र स्थानीय हाङचाउ शैलीको मिश्रणलाई पूर्णता दिएको छ।
यी मूर्तिहरूमा रहेको पातलो वस्त्र र लचिलो शारीरिक बनावट अरनिकोको प्रभावको मुख्य पहिचान हुन्, जुन बेइजिङको श्वेत चैत्यको निर्माण शैलीसँग मिल्दोजुल्दो छन्।
यी मूर्तिहरूको निर्माणमा याङ लियान चन्चिया थिए। उनी पश्चिमा (शी–स्याका) समुदायका एक विवादास्पद तर शक्तिशाली बौद्ध साधु थिए।
उनी युआन सम्राट कुब्लाई खाँका गुरूकै शिष्य थिए र दक्षिणी चीनको बौद्ध धर्मको सर्वोच्च पदमा नियुक्त पाएको थिए।
उनले सन् १२८२ देखि १२९२ को बीचमा यी मूर्तिहरू कुँद्न लगाएको मानिन्छ। उक्त समयमा तिब्बती बौद्ध धर्म प्रवर्द्धन गर्ने राजनीतिक उद्देश्यले यस्ता मूर्तिहरू चीनभरि बनाइएका थिए।
हाङचाउको यी मूर्तिहरूको शैली र समय अरनिकोको समय र शैलीसँग मिल्ने भएकाले त्यहाँ पनि अरनिकोको योगदान रहेको मानिन्छ।
अरनिकोले चीनमा ४६ वर्षभन्दा बढी समय बिताए। सो अवधिमा उनले तीन वटा विशाल चैत्य, नौवटा ठूला मन्दिर, दुई वटा पूजास्थल र एउटा ताओ मन्दिर बनाएका थिए।
सन् १३०६ मा देहान्त भएका अरनिकोका सिर्जनाहरूको खोजी अझै हुँदैछ र अध्ययन तथा उत्खनन कार्यले नयाँ सिर्जना फेला पर्दैछन्।
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)