बेलायतको युनिभर्सिटी अफ एक्सेटरमा अध्ययन गरिरहँदा मलाई रोचक र महत्त्वपूर्ण लागेको एउटा पक्ष हो — विश्वविद्यालयको बहु–आस्था केन्द्र (multi–faith center)।
यो केवल धार्मिक अभ्यास गर्ने ठाउँ मात्र होइन रहेछ। विविध आस्था, विचार र जीवनदृष्टिहरू समन्वयन गराउने साझा मञ्च रहेछ।
एक दिन विश्वविद्यालय परिसरमा हिँडिरहँदा सूचना पाटीमा टाँसिएको एउटा पोस्टरले ध्यान खिच्यो।
त्यसमा लेखिएको थियो— हरेक शुक्रबार मध्याह्न १२ देखि १२ः३० सम्म आऊ र बुद्धिस्ट मन्त्रोच्चारण (Buddhist Chanting) अनुभव गर।
नयाँ परिवेश, फरक संस्कृति र शैक्षिक माहोलमा हराइरहेको महसुस भइरहेका बेला यो पोस्टर देख्दा खुसी र उत्साह महसुस भयो।
एउटा शुक्रबार त्यही सूचना पछ्याउँदै विश्वविद्यालयको बहु–आस्था केन्द्र पुगेँ। मन्त्रोच्चारण गर्ने हलमा पुग्दा करिब १५ जना सहभागी थिए।
विश्वविद्यालयमा बौद्ध धर्मकी धार्मिक सल्लाहकारले मलाई हेर्दै भनिन्, आजको कार्यक्रममा नयाँ पाहुनालाई पनि स्वागत छ।
नेपालबाट भन्ने थाहा पाएपछि उनले मलाई लुम्बिनी र नेपालमा बौद्ध धर्मको अभ्यासबारे सोधिन्। लुम्बिनीको ऐतिहासिक र आध्यात्मिक महत्वबारे बताएँ। त्यो संवादले मलाई आफ्नै पहिचानप्रति अझ सचेत बनायो।
मन्त्रोच्चारण सुरू हुनु अगाडि सबैले अगाडि टेबलमा मूर्ति जस्तै राखिएको एउटा कागजको पानामा हेरेर हात जोडे। त्यसलाई ‘गोहोन्जोन' भनिने रहेछ, जसलाई ज्ञान र निर्वाणको प्रतीक मानिने रहेछ।
उक्त कागजमा बुद्ध, बोधिसत्व र रक्षक शक्तिहरूको नामहरू आकर्षक अक्षरमा लेखिएको थियो।
अनि मन्त्रोच्चारण सुरू भयो।
सबैले एउटै लयमा मन्त्रोच्चारण गरिरहेका थिए — नाम म्योहो रेङ्गे क्यो (Nam–myoho–renge–kyo)।
सँगसँगै उनीहरूले पद्म सूत्रमा आधारित केही अंशहरू पनि पाठ गरे, जसलाई 'गोङ्ग्यो' भनिने रहेछ।
त्यो क्षण कुनै औपचारिक धार्मिक क्रियाभन्दा बढी सामूहिक ध्यान, ऊर्जा र एकताको अनुभूति जस्तो लाग्यो।
यस कार्यक्रम पछाडि थाहा भयो, यो निचिरेन बौद्धमार्ग (Nichiren Buddhism) को मुख्य अभ्यास रहेछ।
निचिरेन बौद्धमार्ग महायान बौद्ध परम्पराको १३ औं शताब्दीमा जापानमा विकसित भएको एक शाखा रहेछ जसका विचारहरू भारत र नेपालबाट चीन हुँदै जापान पुगेका बौद्ध शिक्षामा आधारित रहेछन्।
निचिरेन नामका भिक्षुले हरेक मानिसमा आफ्नै जीवनमै निर्वाण प्राप्त गर्ने क्षमता हुन्छ भन्ने शिक्षा दिएका रहेछन्। साथै, त्यो सम्भावनालाई पद्म सूत्र (Lotus Sutra) मा आधारित श्रद्धा र अभ्यासमार्फत जागृत गर्न सकिन्छ भन्ने उनको मुख्य विचार रहेछ।
यस अभ्यासका लागि 'नाम म्योहो रेङ्गे क्यो' मन्त्र उच्चारण गरिने रहेछ।
यसको अर्थ लगभग यस्तो रहेछ — म आफूलाई पद्म सूत्रको रहस्यमय नियमप्रति समर्पण गर्छु।
मन्त्रोच्चारण सकेपछि सबै सहभागी सँगै खाना खाने रहेछन्। अनि, जीवन, जगत, धर्म र अध्यात्मका अनेकन कुरा गर्ने रहेछन्। यसमा विद्यार्थी, प्राध्यापक र स्थानीय सहरका मानिसहरू पनि सहभागी हुने रहेछन्।
हरेक हप्ता विश्वविद्यालयमा हुने यो मन्त्रोच्चारण र त्यसपछिको अभ्यास मेरा लागि रोचक अनुभव भयो। औपचारिक कक्षाहरू, शैक्षिक मापदन्ड र असाइन्मेन्ट्स भन्दा बाहिर गएर मनमा लागेका कुराहरू सुन्ने र सुनाउने ठाउँ निकै अर्थपूर्ण लाग्यो।
यस बुद्धिस्ट मन्त्रोच्चारणसँगै मैले बहु–आस्था केन्द्रको अरू ठाउँहरू पनि अवलोकन गरेँ।
त्यहाँ एक स्थान बनाइएको रहेछ जहाँ जुनसुकै धार्मिक आस्था भएका वा कुनै पनि धार्मिक आस्था नभएका विद्यार्थी वा प्राध्यापकहरू पनि आएर ध्यान वा प्रार्थना गर्न सक्ने रहेछन्। ईस्लाम धर्मावलम्बीका लागि छुट्टै प्रार्थना कोठा पनि रहेछ।
यस बहु–आस्था केन्द्र आफ्नो आस्था वा अनस्थाबारे अभ्यास र संवाद गर्ने स्थलका रूपमा स्थापना गरिएको रहेछ। यहाँ आफ्ना चाडपर्वमा कार्यक्रमहरू आयोजना गरेर उत्सव मनाउन पनि सकिने रहेछ।
त्यहाँ धार्मिक सल्लाहकारहरू पनि रहेछन्, जसले विद्यार्थीहरूलाई व्यक्तिगत समस्या, भावनात्मक तनाव वा आध्यात्मिक प्रश्नहरूमा सुन्ने र मार्गदर्शन गर्ने काम गर्ने रहेछन्।
यस केन्द्रले विभिन्न विद्यार्थीहरूले मनाउने चाडपर्वका लागि पनि सहजीकरण र सहयोग गर्ने रहेछ।
त्यस्तै मानसिक स्वास्थ्यको प्रवर्द्धनका लागि 'माइन्डफुलनेस' सँग सम्बन्धित विभिन्न कार्यशालाहरू, ध्यान र विभिन्न सिर्जनात्मक क्रियाकलापहरू आयोजना गर्ने रहेछ।
विश्वविद्यालयका विद्यार्थीबीच सम्बन्ध विस्तारको 'कनेक्सन क्याफे' भनेर साप्ताहिक रूपमा आयोजना गर्ने रहेछ, जहाँ विभिन्न विद्यार्थीहरू आएर आफ्नो संस्कृतिबारे कुराकानी गर्छन्, आफ्ना प्रश्न र अन्योलहरूमा एक अर्कासँग मन्थन गर्छन्।
यस केन्द्रले विभिन्न धार्मिक वा वैचारिक आस्थाबारे बेला बेला बहस आयोजना गर्ने रहेछ। विभिन्न धर्म, विचार र दर्शनको संसारलाई हेर्ने दृष्टिकोणबारे छलफल पनि सन्चालन हुने रहेछ।
वार्षिक रूपमा यस केन्द्रले इच्छुक विद्यार्थीहरूलाई आफ्नो परिसरमा उपलब्ध धार्मिक स्थल वा केन्द्रहरूको भ्रमणमा पनि लग्ने रहेछ।
विश्वविद्यालयको बहु–आस्था केन्द्रमा गएर यसको गतिविधि हेर्न थालेपछि लाग्यो, त्यो त एउटा भौतिक भवन मात्र होइन रहेछ, विद्यार्थी र प्राध्यापकहरूको विविधतालाई सम्मान गर्ने, सम्बोधन गर्ने र त्यसलाई सामर्थ्यको रूपमा प्रवर्द्धन गर्ने ठाउँ थियो।
त्यो त आफू र अरूलाई बुझ्ने ठाउँ पनि थियो। यो संवाद, सहिष्णुता, आत्मअन्वेषण र मानवीय सम्बन्धको साझा स्थान थियो।
लोकतन्त्रको एक प्रमुख मुल्य बहुलता र विविधताको विश्वविद्यालयले गरेको यो अभ्यास अनुपम लाग्यो।
नेपालमा आफूले अध्ययन र अध्यापन गरेका शैक्षिक संस्थाहरूमा शिक्षक र विद्यार्थीहरूले एक–अर्काको धार्मिक आस्थाबारे कुराकानी वा छलफल गर्ने संरचनागत मन्चहरू खासै देखेको छैन।
हामी भन्दछौं, शिक्षा समुदाय र जीवनसँग जोडिएको हुनुपर्छ।
धार्मिक आस्था र पहिचान विद्यार्थीहरूसँग परिवारबाट जोडिएर आएको हुन्छ। बेलायतको यस विश्वविद्यालय जस्तै विद्यार्थीहरूसँग जोडिएको यस महत्त्वपूर्ण विषयमा विद्यालय र विश्वविद्यालयहरूमा छलफल र मन्थन गर्ने मन्चहरू सिर्जना गर्नु पनि आवश्यक छ।
यसले समाजमा जनसंख्या र प्रभुत्व कम भएका धार्मिक आस्थाका विद्यार्थीहरूलाई पनि शैक्षिक संस्थासँगको अपनत्व बढाउन भूमिका खेल्छ।
त्यस्तै एक अर्कालाई बुझ्न, एक अर्काप्रति समानुभूति राख्न र समग्र सामाजिक सदभावका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
***
एक्स (ट्विटर)- @mani_bijaya
(लेखक विजयमणि पौडेल चेभनिङ छात्रवृत्ति अन्तर्गत हाल बेलायतको युनिभर्सटी अफ एक्सेटरमा 'शैक्षिक नेतृत्व र व्यवस्थापन' अध्ययन गर्दैछन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)