करिब दुई महिना अगाडि नेपाल युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नयाँ स्नातकोत्तर कार्यक्रमको उद्घाटन भयो— सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर (Master's in Social Innovation and Entrepreneurship)।
हिमाल, पहाड र तराई यात्रा गर्दै, समुदायमा अन्तरघुलित हुँदै र सिक्दै स्नातकोत्तर गर्न सकिने सम्भवतः यो नेपालको पहिलो शैक्षिक कार्यक्रम हो।
यस लेखमा म यस शैक्षिक कार्यक्रमअघि हामीले सञ्चालन गरेको एउटा दुई महिनाको शैक्षिक कार्यक्रमको अनुभव प्रस्तुत गर्दैछु।
सामाजिक नवप्रवर्तन फेलोसिप (Social Innovation Fellowship) भनेर सुरू गरेको यस कार्यक्रमको अनुभव र सिकाइबाट हामी समान किसिमको स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना नजिक पुगेका थियौं।
करिब दुई वर्ष अगाडि एक सहकर्मीले एउटा परिकल्पना सुनाए — नेपालको यात्रा गर्दै सिकाउने शैक्षिक कार्यक्रम डिजाइन गर्न पाए कस्तो होला!
सुरूमा हामी सबै अकमक्क भयौं। मनमनै लागिरहेको थियो — कार्यक्रम त गज्जब हो तर यसका असंख्य चुनौती हुनेछन्।
क्षणभरको उत्साहलाई मानसिक चुनौतीहरूको आगोले डढाइरहेको थियो। हामी डराइरहेका थियौं।
हामीलाई लागिरहेको थियो— युवाहरू बाहिर पलायन हुने प्रवृत्ति भएको समयमा देश घुम्न विद्यार्थीहरू तयार होलान्? बढ्दो सामाजिक सञ्जाल र प्रविधिले एकाग्रताको अवधि (attention span) घटाइरहेको अहिलेको समयमा विभिन्न गाउँ–सहरमा गएर धैर्यपूर्वक त्यहाँको दुःखसुख महसुस गर्दै सिक्न विद्यार्थीहरू तयार होलान्?
हामीसँग अन्य व्यावहारिक सवाल पनि थिए। यात्रा गर्दै अध्ययन गर्न–गराउन एक स्थिर ठाउँमा पढाउनु भन्दा सापेक्ष रूपमा बढी खर्च लाग्छ, त्यो कसरी जुटाउन सकिएला? यात्रा गर्दै अध्यापन गराउने शिक्षकहरू पाइएला? हामी जाने समुदायले कस्तो महसुस गर्ला?
अनेकौं वैचारिक घर्षण र अन्योलका बीच एकदिन हामीले निर्णय गर्यौं, जसरी भए पनि गर्ने हो!
जनकपुरमा 'कायापलट' ले सञ्चालन गरेको एक छलफल कार्यक्रम
हामीलाई लाग्यो — सधैं सरकार र अरूको आलोचना गरेर मात्र हुँदैन। नागरिकको हैसियतले आफू असन्तुष्ट भएको कुरामा नयाँ प्रयोग र पहल गर्नु हाम्रो पनि दायित्व हो।
अन्ततः सन् २०२५ को जनवरीदेखि मार्चसम्म हामीले ३ महिनाको एउटा कार्यक्रम सञ्चालन गर्यौं— सामाजिक नवप्रवर्तन फेलोसिप (Social Innovation Fellowship)।
विद्यार्थीहरूप्रतिको सपना
हामी चाहन्थ्यौं, हाम्रो शिक्षामा नेपाली माटोको सुगन्ध र नेपाली हावाको स्पर्श होस्। नेपालको वास्तविकता र सपना समाहित होस्। नेपालको विविधता र पृथकता प्रतिबिम्बित होस्। हाम्रो शिक्षाको दृष्टि, दृष्टिकोण र अभ्यास वैश्विक र ब्रह्माण्डीय होस् तर यसको जगमा नेपालको माटो होस्।
यसको लागि हामीले आफूलाई प्रश्न गर्यौं— विद्यार्थीहरूप्रति हाम्रो सपना के छ त?
हामीले निकै मन्थन गर्यौं र निष्कर्षको नजिक पुग्यौं। एकै पटक पनि यसलाई हामी हाम्रो अनुभव, अवलोकन र सिकाइबाट परिमार्जन गर्दै जाने छौं।
पहिलो, हामीलाई लाग्यो— शिक्षा प्राप्त गरेको विद्यार्थीले आफूलाई बुझ्न सक्ने हुनुपर्छ।
समाज र ब्रह्माण्ड चिहाउने र बुझ्ने पहिलो द्वार नै आफू हो।
हाम्रो विश्वास हो— हरेक सिर्जना, आविष्कार, नवप्रवर्तन, विकास, शान्ति, सहकार्य र सौहार्दताको सुरूआत आफूलाई चिनेर हुन्छ। आजको देशमा हामी त्यस्तो नागरिक चाहन्छौं, जसले आफ्ना सामर्थ्यहरू, कमजोरीहरू, आफूले पाएको लाभ, आफूले भोग्नु परेको विभेद, आफ्ना आग्रह र पूर्वाग्रह बुझ्न सकून्। अनि, अरूप्रति समानुभूति, प्रेम, कृतज्ञता र करूणा देखाउन सकून्।
दोस्रो, दीक्षित विद्यार्थीले समाज बुझेको हुनुपर्छ।
आफू जन्मे–हुर्केको समुदाय र विश्व समुदाय दुवैप्रति जानकार हुनुपर्छ। समाज बुझ्नु भनेको त्यहाँको तथ्य र तथ्याङ्कबारे थाहा पाउनु मात्र होइन। मानिसहरूसँग सम्बन्ध बनाउनु, उनीहरूको खुसी र पीडा महसुस गर्न सक्नु, उनीहरूको कथा, वर्तमान र इतिहास बुझ्न सक्नु पनि हो। समाजलाई आजसम्म मार्गदर्शन गर्दै ल्याउने संस्था, संस्कृति, परम्परा आदि बुझ्नु पनि हो। अनि, समाजको आजको दिनको सामर्थ्य र चुनौती जरैबाट पहिचान गरेर भविष्यको लागि उन्नत सपना देख्नु हो। सपनालाई वास्तविकतामा परिवर्तन गर्न नेतृत्व लिनु पनि हो।
तेस्रो, विद्यार्थीहरू समयानुकूल र परिवेश अनुरूपको सीपमा पारंगत हुनुपर्छ।
यथार्थ बुझेर र विश्लेषण गरेर मात्र पर्याप्त हुँदैन, सिकेको कुरा व्यवहारमा आएन भने त्यो सिकाइको कुनै अर्थ हुँदैन। सोचलाई व्यवहारमा रूपान्तरण गर्न प्राविधिक वा सामाजिक सीप चाहिन्छ।
चौथो, विद्यार्थीहरूले उद्यमशील सोच बोकेको हुनुपर्छ।
यसको अर्थ हो, समस्यामा समाधान खोज्ने र नेतृत्व लिने हुटहुटी हुनु; आफू र समाजलाई यथास्थितिबाट अगाडि लैजाने मानसिकता हुनु; र सपना देख्ने र सपनालाई साकार बनाउन आवश्यक इच्छाशक्ति र दृढता हुनु।
अनि, यिनै चार आकांक्षाहरू समावेश गरेर हामीले कार्यक्रम तयार गर्यौं।
जनकपुरमा 'कायापलट' ले सञ्चालन गरेको एक कचहरी कार्यक्रम
पाठ्यक्रम निर्माण प्रक्रिया
हाम्रो मार्गदर्शन सिद्धान्त थियो— समुदाय आफैंमा एउटा पाठ्यक्रम हो। कुनै पनि पाठ्यक्रम समुदायभन्दा पर हुनु हुँदैन, बरू समुदायको यथार्थ र सम्भावनामा आधारित हुनुपर्छ।
यही विश्वासबाट हामीले पाठ्यक्रम विभिन्न चरणमा विकास गर्यौं।
सुरूमा, अध्यापन हुने समुदायमा शिक्षकहरू आफै गयौं र त्यहाँ अन्तरघुलन हुने प्रयास गर्यौं।
त्यहाँको बस्ती, बजार, उद्यम, व्यवसाय, शैक्षिक संस्था र अन्य सामाजिक संस्थाहरूको अवलोकन गर्यौं। राजनीतिक–प्रशासनिक नेतृत्वदेखि भुइँतहका मानिसहरूसँग संवाद गर्यौं।
त्यहाँ भइरहेका विभिन्न सांस्कृतिक, आर्थिक र सामाजिक क्रियाकलापहरू (परियोजना, विकास, अभियान) बुझ्ने कोसिस गर्यौं। आफ्ना अनुभव, अवलोकन, सिकाइ र समुदायका सदस्यहरूको सुझावबमोजिम केही पाठ्यवस्तुहरू तयार गर्यौं।
सँगसँगै विभिन्न सिद्धान्तहरू, विश्व परिवेशका विभिन्न अवधारणा र उदाहरणहरू पनि समावेश गर्यौं।
हाम्रो प्रयत्न थियो, प्राज्ञिक मापदण्डभित्र विश्व र स्थानीय समुदाय जोड्ने। बौद्धिक ज्ञान र सीपभन्दा अझै फराकिलो भएर अनुभव र अनुभूतिहरू पनि पाठ्यक्रमको खाकामा समावेश गर्ने।
अन्ततः हामीले तीन विषयवस्तु छनोट गर्यौं।
पहिलो, आफू र समाज बुझ्ने उद्देश्यले अन्तरपक्षीय पहिचान (Intersectional Identity)।
दोस्रो, उद्यमशीलताको सोच र सीप प्रवर्द्धनका लागि सामाजिक उद्यमशीलता (Social Entrepreneurship)।
तेस्रो, सिकेको कुरालाई व्यवहारमा लागू गर्न सीप–उन्मुख परियोजना व्यवस्थापन (Project Management)।
यी विषयहरू छुट्टाछुट्टै भन्दा पनि सँगै जोड्ने हिसाबले तयार गर्यौं। तीन विषयहरूलाई समायोजन गरेर परियोजना कार्य तयार गर्यौं। विषयका शिक्षकहरूबीचको संवाद, समन्वय र सहकार्यमा पाठ्यक्रमले पूर्णता पायो।
अनि, दुई–दुई हप्ता भौगोलिक, सामाजिक र सांस्कृतिक रूपले पृथक पहिचान भएका ४ वटा ठाउँमा जाने व्यवस्था गर्यौं— देशको राजधानी र नेवा सभ्यताको धनी काठमाडौं, मिथिला सभ्यताको धनी र ऐतिहासिक विरासत बोकेको जनकपुर, कृषि नगरको पहिचान बनाएको पाँचखाल र ह्योल्मो सभ्यताको धनी र हिमाली पहिचान बोकेको सिन्धुपाल्चोकको शेर्माथाङ।
हामी चाहन्थ्यौं, यी क्षेत्रहरूमा पनि अधिक विविधता कायम होस्। कोशीदेखि सुदूरपश्चिमसम्मका ठाउँहरू समावेश गर्न सकौं।
तर, पहिलो पहलमा सीमित मानव संसाधन र सीमित आर्थिक स्रोतका बीच हामीले सिमाना जोडिएका तर उल्लेख्य विविधता भएका मधेश र बागमती प्रदेशलाई मात्र समेट्न सक्यौं।
आवेदन र आर्थिक व्यवस्थापन
यस कार्यक्रममा आवेदनको प्रक्रिया सहज थिएन। सम्भावित विद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरूलाई यसको औचित्य बुझाउनु चुनौतीपूर्ण थियो।
पहिलो, यस कार्यक्रमको लक्ष्य शैक्षिक उपाधि (डिग्री) दिने थिएन। यो मूलतः सिकाइका लागि तयार गरिएको थियो।
दोस्रो, आफ्नो घर वा बसोबासको क्षेत्रबाट टाढा भएर नेपालको ग्रामीण र सहरी क्षेत्र घुम्दै अध्ययन गर्नु शारीरिक र मानसिक रूपमा संघर्षपूर्ण हुने थियो।
तेस्रो, यस सिकाइ यात्रा एक स्थानमा आधारित शिक्षण–सिकाइभन्दा सापेक्ष रूपमा खर्चिलो थियो। दुई महिना घरबाट टाढा बस्नुपर्थ्यो। खाने, बस्ने, यातायात र भैपरी आउने विभिन्न अनपेक्षित परिस्थितिको खर्च थियो।
हामीले करिब १ सय जनाको विस्तृत लिखित आवेदन पायौं भने सयौंको रूचि देख्यौं। तीमध्ये ६ जिल्लाबाट १५ जना विद्यार्थीहरू छनोट भए।
आर्थिक पक्षका लागि हामीले विविध मोडल अपनायौं। पारिवारिक आर्थिक पृष्ठभूमि अनुसार कतिले पूर्ण शुल्क तिरे, कतिलाई भने आंशिक र पूर्ण छात्रवृत्तिको व्यवस्था गर्यौं।
हामी चाहन्थ्यौं, अध्ययनप्रति उत्कट आकांक्षा र प्रतिबद्धता भएकाहरूको सपनालाई आर्थिक कठिनाइले अवरोध नगरोस्।
यसका लागि हामीले आफैबाट केही आर्थिक शुल्क संकलन गर्यौं। विदेशमा बस्ने नेपालीहरू, नेपालमा रहेका विभिन्न संस्था र मानिसहरूलाई अनुरोध गर्यौं।
हाम्रो हुटहुटी देखेर र हामीलाई विश्वास गरेर विभिन्न संस्था र मानिसहरूले सहयोग गरे। अनि, विभिन्न स्वरूपमा योगदान गरे। कसैले प्रत्यक्ष आर्थिक सहयोग गरे। कसैले जिन्सी सहयोग गरे। कसैले आफ्नो समयको स्वयंसेवा गरे।
जस्तैः शिक्षकहरूले स्वयंसेवककै रूपमा स्वः स्फूर्त पाठ्यक्रम डिजाइन र कक्षा सञ्चालन गरिदिए। विभिन्न स्रोत व्यक्तिहरूले कुनै आर्थिक अपेक्षाबिना विद्यार्थीहरूसँग कार्यशाला सञ्चालन गरिदिए।
समुदायका साझेदारहरूले निःशुल्क कक्षा सञ्चालनको ठाउँ उपलब्ध गराइदिए। समुदायमा खाना र बसोबासको प्रबन्ध गरिदिनेहरूले आफ्नो सामान्य दरभन्दा अत्यधिक न्यून दरमा व्यवस्था गरिदिए।
समुदायमा हामीले विभिन्न व्यक्ति र संस्थाहरूको सहयोग नपाएको भए हामीलाई लाग्ने आर्थिक भार दोब्बर हुने पक्का थियो। यस पहलमा देश र विदेशमा रहेका नेपालीहरूको खुला मन, उदारता र सहयोग देखेर हामी चकित भयौं।
सबैको सदभाव र उदारता देखेर हामीलाई महसुस भयो — समाज र शिक्षामा परिवर्तन हुनुपर्छ भन्ने चाहना सबैमा रहेछ। त्यही चाहनाबाट नै हामीले अकल्पनीय विश्वास र सहयोग पायौं।
अनि, समाजको सामूहिक इच्छाशक्ति र विवेकप्रति हाम्रो विश्वास झन् बढ्न थाल्यो।
जनकपुरमा मिथिला चित्रकला कार्यशालामा सहभागीहरू
प्रारम्भिक काठमाडौं संस्करण
यस सिकाइ यात्रा सन् २०२५ को जनवरीको पहिलो हप्तामा काठमाडौंबाट सुरू भयो।
काठमाडौंको एक हप्ताको अभिमुखीकरणमा विद्यार्थीहरूले एकअर्कासँग परिचित हुने अवसर पाए। उनीहरूले विषयवस्तुको प्रारूपबारे जानकारी पाए। आफ्ना शिक्षक र स्रोत व्यक्तिहरूसँग पनि परिचित भए।
आफ्ना कोच र मेन्टरसँग पनि प्रत्यक्ष वा अनलाइन भेटघाट गर्ने अवसर पाए।
कार्यक्रममा विद्यार्थीहरूलाई विशिष्टीकृत सीप विकासमा सहयोग गर्न, पेशागत विकास र विभिन्न समस्याको समाधानका लागि हामीले कोच र मेन्टरहरूको व्यवस्था गरेका थियौं।
शिक्षकहरू, स्थानीय समुदायका सदस्यहरू, नेपाल र विदेशमा विभिन्न तह–तप्कामा रहेर उल्लेख्य काम गरिरहेका नेपालीहरूले स्वःस्फूर्त रूपमा कोचिङ र मेन्टरिङका लागि स्वयंसेवा गरिदिए।
काठमाडौंकै संस्करणमा विद्यार्थीहरू विभिन्न समुदायमा जाँदा ख्याल गर्नुपर्ने सांस्कृतिक संवेदनशीलता र भौगोलिक अनुकूलन सम्बन्धी कार्यशालामा सहभागी भए।
मधेस संस्करण
काठमाडौंपछि हामी मधेश प्रदेशको राजधानी जनकपुर पुग्यौं।
जनकपुरमा हामीले राजर्षि जनक विश्वविद्यालयको विश्वविद्यालय क्याम्पससँग सहकार्य गरेका थियौं।
विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार, डिनहरू, क्याम्पस प्रमुख र स्थानीय शिक्षकहरूको सदाशयता र सहयोगबाट हामी चकित भयौं। उनीहरूले हामीलाई खुला रूपमा स्वागत र स्वीकार गरे।
स्थानीय स्रोत व्यक्ति, स्थानीय ज्ञान र समुदायसँग जोडिन हामीले विश्वविद्यालयको टोलीबाट महत्वपूर्ण सहयोग पायौं।
जनकपुरको गंगासागर सरसफाइ अभियान उदाहरणीय लागेर हामीले यसलाई हाम्रो पाठ्यक्रमको एक केस स्टडीका रूपमा राख्यौं। यस अभियानमा संलग्न व्यक्तिहरूसँग अन्तरंग कुराकानी गर्यौं।
यस केस स्टडीलाई ३ वटै विषयबाट हेर्यौं— सामाजिक उद्यमशीलताको रूपमा, आफू र समाजको अवलोकन गर्ने दृष्टिकोणको रूपमा र परियोजना व्यवस्थापनको रूपमा।
हामीले जनकपुर नारी विकास केन्द्रको कथा बुझ्यौं। सीप विकास, उद्यमशीलता र मैथिली संस्कृतिको प्रवर्द्धनमा यस केन्द्रको गर्विलो र उदाहरणीय इतिहास रहेको थाहा पायौं।
निर्माणाधीन मिथिला विकास कोष र सुनौलो बिहानी आदि स्थानीय रूपमा सञ्चालित संस्थाहरूमा भ्रमण गर्यौं।
'आफन्त नेपाल' को सहयोगमा मिथिला चित्रकलाको कार्यशाला गर्यौं। 'कायापलट' नामक युवाहरूको स्थानीय संस्थाले गराउने बहसको कार्यक्रम 'कचहरी'मा सहभागी भयौं।
अन्तिममा विश्वविद्यालय क्याम्पसको सहकार्यमा स्थानीय श्रमदानमा सहभागी भयौं।
पाठ्यक्रमको प्रारूपभित्र योजनाबद्ध रूपमा भएको अन्तरघुलन र विद्यार्थीहरूले स्वःस्फूर्त रूपमा गरेको भ्रमणबाट अनगिन्ती सिकाइ भएको हामीलाई महसुस भयो।
उनीहरू जानकी मन्दिरअगाडि हरदम पाकिरहने पुरी र जलेबीको कथा खोजिरहेका थिए। गंगासागर परिसरमा चिया बेच्ने दाजुको विगत र वर्तमान थाहा पाएर प्रेरणा लिइरहेका थिए।
जनक चोक नजिकको 'हम यहीँ पिते हे' नामक लस्सी पसलको सफलताको व्यावसायिक सूत्र पहिचान गर्दै थिए। पिडारी चोकको डिके ढावाको माछाको कथा सुनाइरहेका थिए। नन्दनी डेरीको सफलता र संघर्षको कथा खोजिरहेका थिए।
जानकी मन्दिर छेउको मस्जिदको कथा पनि बुझिरहेका थिए। सँगसँगै गंगासागरको आरतीमा 'ईएह छी हमर जनकपुर' गीतमा पनि झुमिरहेका थिए। रामानन्द चोकमा रहेको गेटको इतिहास खोजिरहेका थिए। नेपालको इतिहासमा मधेसको योगदानको गहिराइ बुझिरहेका थिए।
विद्यार्थीहरू तातो घाममा पनि अनवरत काम गरिरहने रिक्सा चालकहरूको कथा महसुस गरिरहेका थिए। जनकपुर चुरोट कारखानाको इतिहास खोजिरहेका थिए।
अनि, जनकपुरदेखि जयनगर जाने नेपालको रेलमा ओहोरदोहोर गरेर मधेसको यथार्थ र सम्भावना खोजिरहेका थिए।
समुदायका सदस्यहरूसँथ छेन्चु पर्वको समयमा केही विद्यार्थी र शिक्षकहरू। तस्बिरः नेपाल कम्युनिभर्सिटी
पहाड संस्करण
पहाडमा हामी काभ्रे जिल्लाको पाँचखाल उपत्यका पुग्यौं।
पाँचखाल नगरपालिका र सर्वमंगला बहुमुखी क्याम्पससँग सहकार्य गर्यौं।
पाँचखाल नगरपालिकाले आफूलाई कृषि सहरकाको रूपमा प्रस्तुत गरेको छ। यहाँको सिकाइ यात्रा पनि मूलतः कृषिको सेरोफेरोमा केन्द्रित थियो। कृषिका अलावा स्थानीय संगीत र खानाबारे पनि विद्यार्थीहरूले खोजी गरे।
समाजलाई गहिरिएर बहुआयामिक पक्षबाट हेर्ने क्रममा पाँचखालमा विद्यार्थीहरूले अपांगता सम्बन्धी अध्ययन र मन्थन गरे। उनीहरूले राष्ट्रिय अपांग महासंघका सदस्यहरूलाई भेटे। स्थानीय रूपमा अपांगता भएका व्यक्तिहरूको घरमा गएर समय बिताए।
यो अनुभवले कतिपय विद्यार्थीहरूले आफ्नो दृष्टिकोण हल्लिएको अनुभूति सुनाए। राज्य र समाजको हरेक संरचनामा समता र समावेशिता किन आवश्यक छ भनेर प्रत्यक्ष महसुस गरेको विचारहरू प्रस्तुत गरे।
यहाँ पनि औपचारिक कक्षाहरू र अनौपचारिक भ्रमणले उनीहरूको बुझाइ गहन हुँदै गएको महसुस हुन्थ्यो।
उनीहरू तामाघाट बजारको कथा खोजिरहेका थिए। राष्ट्रिय प्रसिद्धि हासिल गरेकी स्थानीय उद्यमी माइली दनुवारको बंगुर फार्ममा गएर स्थानीय उद्यमबारे बुझिरहेका थिए।
स्थानीय आलु, गोलभेँडा आदि कृषिजन्य उत्पादनको भण्डारण गर्ने उद्देश्यले बनाइएको काफ्लेडी कोल्ड स्टोरेजको कथा बुझिरहेका थिए।
यहाँबाट पनि छुट्नुअघि हामीले सर्वमंगला बहुमुखी क्याम्पससँग सहकार्य गरेर क्याम्पसका केही कामहरूमा श्रमदान गर्यौं।
हिमाल संस्करण
हिमालका लागि हामी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित शेर्माथाङ गाउँ पुग्यौं।
यहाँ जिल्लामा जरा गाडेर काम गरिरहेका हेलम्बु एजुकेसन लाइभलिहुड प्रोजेक्ट र याङ्ग्रिमा इको लजसँग सहकार्य गर्यौं।
मधेस र पहाडको व्यस्त जीवनबाट शेर्माथाङ पुग्दा शान्त वातावरणको महसुस भयो। लाङटाङ राष्ट्रिय निकुञ्जको परिधिभित्र रहेको यस गाउँको जैविक विविधता देख्दा हामी दंग पर्यौं। गाउँमा भएका घरहरू सफा, चिटिक्क र कलात्मक तरिकाले निर्माण भएका थिए। तर, अधिकांश घरहरू खाली थिए।
सानो गाउँमा पनि कलात्मक बौद्ध गुम्बाहरू उल्लेख्य थिए। गाउँको सौन्दर्य, एकता, दुःखसुखमा एकअर्कालाई साथ दिने संस्कृति देखेर हामी भावविभोर भयौं। त्यसमाथि गाउँलेहरूले हामीलाई गरेको स्वागत र सहयोगले हामी भावुक भएका थियौं।
जनकपुर र पाँचखालको भीडभाड र घटेका अनगिन्ती घटनाहरूलाई हामी 'स्लो मोड' मा रिक्याप गरेर पत्र–पत्र केलाउँदै थियौं।
हामी सोच्दै थियौं — हाम्रा सबै गाउँ, टोल र सहरहरू यस्तै सौहार्दपूर्ण र सुदृढ भए कस्तो होला।
हो, हरेक मानव बस्तीमा झैं यहाँ पनि मानिसबीचका वैचारिक घर्षणहरू थिए, द्वन्द्वहरू थिए। तर सुखमा एक भएर उत्सव मनाउने र दुःखमा हातेमालो गरेर दुःख बिसाउने सामूहिक संस्कृति हामीलाई गज्जब लाग्यो।
मलाई लाग्दै थियो — ग्रिसका थोमस मोरले कल्पना गरेको 'युटोपिया' वा भारत वर्षमा बाल्मीकिले उल्लेख गरेको 'रामराज्य' को आधुनिक संस्करण सायद यस्तै हुन्छ होला। गौतम बुद्धको वाणी 'अप्प दीपो भव' (आफ्नो प्रकाश आफै बन) यहाँको समुदायले बाँचिरहेको महसुस हुन्थ्यो।
यो ठाउँ हामी शिक्षक र विद्यार्थी दुवैका लागि शान्तसँग चिन्तन गर्ने ठाउँ बन्यो। यहाँ हामीले धेरैभन्दा धेरै आत्मावलोकन र प्रत्याभूति गर्यौं।
यहाँ हामीले आमा याङ्ग्री हिमालको काखमा रहेको यस गाउँका सम्भावनाहरू खोज्यौं। गाउँलेहरूले देखाएको सामूहिक शक्तिको इतिहास र वर्तमानका कथाहरू पहिचान गर्यौं।
यहाँ जैविक विविधता, संगीत, भाषा र जीवनशैलीबारे बुझ्यौं।
यहाँ हामीले देश र विदेशमा भएका अधिकांश गाउँलेहरू भेला भएर मनाउने छेचु पर्वमा सहभागिताको निमन्त्रणा पायौं। गाउँलेहरूसँगै विश्व शान्तिका लागि कामना गर्यौं।
ह्योल्मोहरूको परम्परागत पोशाक लगाएर लामाहरूको मन्त्रोच्चारणमा सहभागी भयौं। साझा रूपमा खाना बनाउन सहभागी भयौं। स्थानीय स्याब्रू नृत्यमा सहभागी भयौं। यस क्रममा हामीले गाउँकै सदस्यको रूपमा व्यवहार पायौं।
यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण मन छुने अनुभूति थियो। अन्तिममा एउटा सामूहिक दन्त शिविरमा सहभागी भएर श्रमदान गर्यौं।
शेर्माथाङमा छेन्चु पर्वको उत्सव
समापन काठमाडौं संस्करण
कार्यक्रमको अन्तिम हप्ता हामी फेरि काठमाडौँ फर्कियौं।
तीन वटै भौगोलिक क्षेत्रमा आफूले सिकेका कुराबारे बृहत् मन्थन गर्यौं। यी ठाउँमा घुलमिल हुनु अगाडिका आफ्ना पूर्वाग्रहहरूलाई र घुलमिल भएपछिको फेरिएको सोचमाथि मन्थन गर्यौं।
विद्यार्थीहरूको अनुभूति र सिकाइ देख्दा महसुस भयो, यी तीन ठाउँहरूप्रति उनीहरूको माया र सदभाव बढेको छ, उनीहरूले यी तीनै ठाउँको यथार्थ, सामर्थ्य र सम्भावना देख्न सक्ने भएका छन्।
अन्तिममा उनीहरूले 'डिजाइन थिङ्किङ'को प्रक्रियाबाट समूहमा यी तीनै ठाउँका लागि सम्भावनाहरू तयार गरे। आफ्नो सोचलाई एउटा उद्यमको 'प्रोटोटाइप' मा बदल्न उनीहरूलाई आफ्ना शिक्षक, कोच र मेन्टरहरूले सहयोग गर्यौं।
यसरी विभिन्न ठाउँमा आफूले भोगेको र देखेको सामर्थ्य र चुनौतीलाई कसरी सामाजिक उद्यमशीलतामा रूपान्तरण गर्न सकिन्छ भनेर परियोजनाहरू निर्माण गरे।
समग्र सिकाइ
यस सिकाइ यात्राले विद्यार्थीहरूका लागि मात्र होइन, शिक्षक र आयोजकहरूका लागि पनि सिकाइलाई घनीभूत बनायो।
समाजको प्रगतिमा उल्लेख्य योगदान पुर्याएका विभिन्न व्यक्तिहरूको जीवनीमा एउटा साझा कुरा भेटिन्छ, नयाँ ठाउँ र नयाँ मानिससँगको संगत र घुलमिलले उनीहरूको सोच र व्यवहारलाई परिष्कृत गरेको।
यही कुरा हामीलाई पनि महसुस भयो।
समुदायमा पहिलो पटक हामी जाँदा कतिपय पूर्वाग्रहहरू बोकेर गएका रहेछौं। ती पूर्वाग्रहहरू विभिन्न ठाउँबाट आएका रहेछन्— आफूले हेरेको साहित्य र मिडियामा त्यो ठाउँको चित्रण, हाम्रो परिवार, समाज र साथीहरूले भनेका कुरा, आफ्नै जीवनका अनुभव।
तर, जब हामीले मानिसहरू बुझ्दै गयौं, उनीहरूको कथाहरू महसुस गर्दै गयौं, हाम्रा पूर्वाग्रहका पर्खालहरू भत्किन थाले। हामीले समानुभूति राख्न सक्यौं। करूणा देखाउन सक्यौं।
गहिरिएर कथाहरू बुझ्न थालेपछि महसुस हुन थाल्यो, कसैलाई 'जज' गर्ने अधिकार हामीसँग छैन। हामी विभिन्न पारिवारिक, सामाजिक, सांस्कृतिक वा राजनीतिक परिस्थितिका उपज हौं। हामीलाई महसुस भयो, हामीले एकअर्काको कथा सुन्नुपर्छ, बुझ्नुपर्छ।
हामीलाई डर थियो, विभिन्न समुदायमा जाँदा हामी पर्यटकजस्ता मात्र हुने हौं कि!
आफ्नो डर चिर्न हामीले निरन्तर चिन्तन र मनन गर्यौं। एकअर्कासँग आलोचनात्मक रूपमा छलफल र संवाद गरिरह्यौं।
यस यात्रामा हामीलाई एउटा कुराले झल्यास्स भयो — हामी काठमाडौंभित्रका भ्यागुताजस्ता मात्र भएका रहेछौं। हाम्रा सोच र दृष्टिकोणहरू अधिकांश काठमाडौं केन्द्रित रहेछन्।
देशका विभिन्न कुनामा उदाहरणीय र सकारात्मक पहलहरू भइरहेका रहेछन्। त्यसबारे हामीलाई सीमित मात्र जानकारी रहेछ। यसले हामीलाई आत्मग्लानी पनि महसुस भयो।
मोफसलमा अनेकौ चुनौती र कठिनाइका बाबजुद सामाजिक र व्यावसायिक काममा संलग्न विभिन्न व्यक्तिहरू देख्दा हामी प्रेरणाले भावविभोर भयौं। कतिपय उनीहरू मिडियाको आकर्षण वा कसैको कुनै अपेक्षा नगरी चुपचाप आफ्नो सामाजिक, शैक्षिक वा व्यावसायिक धर्म निर्वाह गरिरहेका छन्।
विद्यालयदेखि विश्वविद्यालयसम्म विभिन्न विषयका पाठ्यक्रममा समावेश गर्नका लागि हामीसँग धेरै उदाहरणहरू रहेछन्, जीवनीहरू रहेछन्।
लेख्न र सुनाउन अनेक प्रेरणादायी कथाहरू रहेछन्।
आत्मचिन्तन गर्न झक्झक्याउने इतिहास र वर्तमानमा अनेक निष्कपट र निश्चल मानिसहरू रहेछन्।
हामी पुगेका समुदायहरूमा देख्यौं— इतिहासमा समुदाय आफैले कतिपय विकासको अपनत्व लिएको रहेछ। कतिपय विद्यालय र क्याम्पसहरू समुदायले आफ्नै पहलमा सुरू गरेका थिए।
कतिले आफ्नो जग्गा दान दिएछन्, कतिले पैसा दिएछन्, कतिले शिक्षकका लागि खाने–बस्ने प्रबन्ध मिलाइदिएछन्, कतिले श्रम दिएछन्। समुदायमा कुनै समस्या पर्दा सबै सँगै आएर समाधान निकाल्ने रहेछन्।
इतिहास मात्र होइन, हामीले वर्तमानमा पनि यस्तै पहलका केही झिल्काहरू देख्यौं।
जनकपुरमा 'कायापलट' नामक संस्थाबाट २०–३० वर्षका तन्नेरीहरूले गरेको पहलले हामी उत्प्रेरित भएका थियौं।
सामाजिक मुद्दाहरूको समाधान परम्परागत रूपमा हुने 'कचहरी'जस्तो संवादको मञ्चबाट हुनुपर्दछ भनेर उनीहरूले नियमित संवाद गर्ने रहेछन्।
राजदेवी मन्दिरको उत्तरी गेटको सडकछेउमा उनीहरूले गर्ने सामाजिक संवाद निकै महत्वपूर्ण लाग्यो। तातो घामको पर्वाह नगरीकन क्याम्पसमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरू र अन्य युवाहरू संवादमा जुटेका देखिन्थे।
उनीहरूले शिक्षा, जलवायु, सुशासन, लोकतन्त्र आदिबारे समुदायसँग जोडिएका मुद्दाहरूमा बहस चलाउने रहेछन्। यसमा स्थानीय जनप्रतिनिधि, पत्रकार, प्राध्यापक, अभियन्ता, राजनीतिकर्मी लगायत विभिन्न व्यक्तिहरूले सहभागिता जनाउने रहेछन्। संवादसँगै उनीहरू भुइँतहमा गएर विभिन्न पहल पनि गर्ने रहेछन्।
समाजको चिन्ता गर्दै विभिन्न सामाजिक काममा जुटेका दिवाकर उप्रेती र अजय कुमार महतोजस्ता युवाहरूसँग भेटघाट गर्दा, उनीहरूको सपना, ऊर्जा र अठोट देख्दा हामी निकै उत्साहित र उत्प्रेरित भएका थियौं।
समाजप्रति उनीहरूको बुझाइ, माया र चेत देख्दा हामीलाई लोभ लागेर आएको थियो।
यो एक उदाहरण मात्र हो, हामीले कैयौं व्यक्ति र संस्थाहरू देख्यौं, जो विनम्रतापूर्वक आफ्नो काम गरिरहेका थिए।
यस्ता अनेक कथाहरू छन् जहाँ हामी खुसी भयौं, रोयौँ, भावुक भयौं। उत्प्रेरित भयौं।
विद्यार्थीहरू र शिक्षकहरू सबैको कुरा सुन्दा महसुस भयो, देशको माया लाग्न देश बुझ्नुपर्ने रहेछ। प्राज्ञिक अनुसन्धानमा पनि कापी, कलम, क्यामेरा वा रेकर्डर लिएर अन्तर्वार्ता लिएर मात्र होइन, दुःखसुखमा सँगै भएर, घुलमिल भएर मनको कुरा बुझ्न सकिने रहेछ।
एकअर्कासँग अँगेनो, चौतारी, फाल्चा, चिया पसल आदिमा दुःखसुख बाँडेर झन् बढी बुझ्न सकिने रहेछ।
हामीले देखेका धेरै उदाहरणले हामीलाई महसुस भयो, समुदायमा शक्ति छ। देश र समाज बनाउने नै सामूहिक बल, प्रतिबद्धता र ऊर्जाले हो।
युवा विदेश पलायन भए भनेर रोक्न बल लगाउनु भन्दा हामीले सामूहिक पहल गर्नु आवश्यक छ— देशमा बसिरहेका युवाहरूलाई कसरी देश, समाज र आफूबारे बुझाउन सकिन्छ, कसरी सीप सिकाउँदै उद्यमशील सोच तयार गर्न सकिन्छ, देशभित्रै कसरी सपना देख्न सकिन्छ र सपनालाई यथार्थमा बदल्न सकिन्छ।
शैक्षिक उन्नयनका लागि नागरिक दायित्वको हैसियतले हामीले केही पहल सुरू गर्यौं, अन्य विभिन्न शैक्षिक संस्था र व्यक्तिहरूले पनि विभिन्न पहल गरिरहेका छन्।
तर, समग्र रूपान्तरणका लागि सरकार, शैक्षिक संस्थाहरू र समुदायको साझा संकल्प र पहल आवश्यक छ।
(लेखक नेपाल युनिभर्सिटीका एक सदस्य हुन्। हाल उनी बेलायत सरकारको चेभनिङ छात्रवृत्ति अन्तर्गत युनिभर्सिटी अफ एक्सेटरमा शैक्षिक नेतृत्व र व्यवस्थापन अध्ययन गर्दै छन्।)
एक्स (ट्विटर): @mani_bijaya